नबिल बैंकले आफ्नो २५६औं बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो।
शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको हो।
शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरूलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए।
शैक्षिक कर्जा लगायत चाहिने अरू सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सिइओ ढुंगानाले बताए।
उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएको जनाए।
विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरूलाई सरल बंैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए।
नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्वार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ।
शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटीलगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ।
त्यस्तै, विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ।