स्वयम् कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारबाही हुने भएको छ।
संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण, पहिलो संसोधन विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलीसरह अपराध ठहर भई कारवाही हुने बताए।
समितिले दण्ड सजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ। कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।
बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए। उनीहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजश्व असुली नहुने तर्क गरेका थिए।