नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा दुई जना निर्विरोध निर्वाचित भएका छन्।
मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिनसम्म प्रदेश १ बाट राजेन्द्र राउतकोमात्र कार्यकारिणी समिति सदस्यमा उम्मेद्वारी परेको नेपाल उद्योग वाणिज्य महासंघले जानकारि दिएको छ।
त्यस्तै द्विराष्ट्रिय तर्फबाट सन्दिप अग्रवाल पनि निर्वाचित भएका छन्।
राउत यससअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य रहिसकेका छन्। हाल उनी नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष छन्।
महासंघमा प्रत्येक प्रदेशबाट एकजना कार्यकारिणी सिमितमा निर्वाचित हुने व्यवस्था रहेको छ। राउत वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल प्यानलका हुन्।
त्यस्तै अग्रवाल नेपाल-इन्डोनेशिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन्। द्विराष्ट्रिय समूहबाट एकजना कार्यकारिणी सिमितमा निर्वाचित हुने व्यवस्था रहेको छ।
महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल र किशोर प्रधानले प्यानल घोषणा गरिसकेका छन्।
महासंघको विधानअनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एक/एक जना उपाध्यक्ष हुन्छन्। ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एकजना उपाध्यक्ष चयन गर्छन्। सबै समूहमा रहेका मतदाताहरुको सयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुन्छन्।
वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरकफरक मतभार निर्धारण गरिएको हुन्छ। सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा बिजयी हुन्छन्। यदि पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउछ उही बिजयी हुन्छ।
विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ।
महासंघको आगामी कार्यकालमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने छन्।
महासंघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रुपमा हुन्छन्। त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने सात जना सदस्य निर्वाचित हुन्छन्। प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ।
जिल्ला नगर वाणिज्य संघबाट १८ जना सदस्य निर्वाचित हुन्छन् भने वस्तुगतबाट १४ जना। द्विराष्ट्रियबाट एकजना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। एशोसिएट्सबाट १९ जना सदस्य निर्वाचित हुन्छन्। संस्थापक सदस्यहरुबाट पनि एकजना निर्वाचित भएर सदस्य हुने छन्। अध्यक्षले पाँचजना मनोनय गरेका सदस्यहरु पनि कार्यकारीणी समितिमा हुने छन्।
कार्यकारीणी समितिमा निर्वाचित सदस्यले कोषाध्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था रहेको छ।