गत भदौ २४ गते साँझ ६ बजेतिर टिकटकर अंशु बर्माको मोबाइल फोनमा लगातार घन्टी बज्यो। खल्तीमा रहेको मोबाइल निकालेर हेरे।
त्यो घन्टी टिकटकमा आएको म्यासेज अथवा नोटिफिकेसन थिएन। 'चिया–बगान' मा आगो लागेको भिडिओको थियो। छरछिमेकीले उनलाई चिया–बगान जलेको भिडिओ खिचेर पठाएका थिए।
चिया–बगान उनी सहित चार जना लगानीकर्ताको साझेदारीमा भर्खरै खुलेको चिया पसल थियो।
'एक छिन त केही सोच्नै सकिनँ। छिमेकीले चिया–बगान जलेको भिडिओ पठाइरहेका थिए,' अंशुले भने, 'हतारिँदै सिसिटिभी हेरेँ, साँच्चै चिया–बगान दनदनी बल्दै थियो। मेरो शरीर काम्न थाल्यो। के गर्ने, के नगर्ने सोच्नै सकिनँ।'
उनी त्यस बेला ललितपुरको मेघा अस्पतालमा थिए। अघिल्लो दिन जेन–जी प्रदर्शनमा घाइते भएकाहरूको उपचार सहयोगका लागि दिनभर त्यहीँ रहेको उनले बताए।
आन्दोलनले गर्दा बाहिर निस्किन सक्ने अवस्था थिएन। चिया–बगान जलेको खबर पाएर पनि उनी पुग्न सकेनन्। भोलिपल्ट बिहानै गए। सबै जलेर खरानी भएको थियो।
उनले भने, 'बाँस त सबै खरानी भएछ। जल्ने जति जलिहाल्यो। कफी मेसिन, फ्रिज, टिभी, मुडा, टेबल, भाँडा चाहिँ चोरेछन्।'
अंशुको टिमले चिया–बगान खोल्न ६० लाख रूपैयाँभन्दा बढी लगानी गरेको थियो। गत भदौ २० गते मात्र यसले सेवा सुरू गरेको थियो। सेवा सुरू भएको चार दिनमै आन्दोलनकारीले चिया–बगान जलाइदिएको उनले बताए।
त्यति ठूलो लगानीमा सुरू गरेको व्यवसाय प्रारम्भिक दिनमै ध्वस्त भए पनि अंशुको टिमले हिम्मत हारेन। उनीहरूले करिब एक सातामै आफ्नो सपनाको चिया–बगान सञ्चालनमा ल्याए।
'एक सातामै चिया बगान पुरानै स्वरूपमा ल्याएका छौं। गोदाम बन्दै थियो। त्यसको हिसाब निकाल्न नपाई खरानी भयो,' उनले भने, 'अहिले पनि उत्तिकै लगानी गरेर सञ्चालनमा ल्यायौं। साथीहरूले तिहारपछि सुरू गरौं भनेका थिए। मैले बिजोग हेर्न सकिनँ।'
अनाहकमा व्यवसाय खरानी हुँदा अंशु दुःखी छन्। किन र कसले आगो लगाएको हो भन्ने थाहा पाएका छैनन्। सिसिटिभी फुटेज हेर्दा आगो लगाउने केही व्यक्ति चिनेकै हुन् जस्तो उनलाई लागेको छ। त्यो फुटेजसहित प्रहरीमा उजुरी दिएका छन्।
जसले जे रिसले आगो लगाएको भए पनि आफूहरू फेरि उठ्ने उनको भनाइ छ।
अंशु चर्चित टिकटकर हुन्। उनको आम्दानीको मुख्य स्रोत पनि टिकटक नै हो। उनी टिकटकमा राम्रै जमेका छन्।
उनले भने, 'कोभिड महामारीको लकडाउनमा समय बिताउन टिकटक चलाउन थालेको थिएँ। राम्रै आम्दानी हुँदो रहेछ। त्यसलाई बढाउँदै लगेँ।'
अंशुका अनुसार उनले टिकटककै आम्दानीबाट उनले दुई वर्षअघि महेन्द्रनगरमा 'नोट–बुक' उद्योग खोलेका थिए। त्यो उद्योग उनका बुबाले सम्हालेका छन्। अंशुले एउटा इस्टिच्युटमा साझेदारी पनि गरेका छन्।
उनको पछिल्लो लगानी चिया–बगानमा हो।

अंशु सुदूरपश्चिम कञ्चनपुरको महेन्द्रनगरका स्थाथी बासिन्दा हुन्। उनले महेन्द्रनगरमै कक्षा बाह्रसम्मको पढाइ पूरा गरे। त्यसपछि कानुन विषय पढ्ने र वकिल बन्ने सपना लिएर सन् २०१९ को मध्यतिर काठमाडौं आएका थिए।
कीर्तिपुरमा कोठा भाडामा लिएर बसे। कानुनमा स्नातक तहको पढाइका लागि प्रवेश परीक्षाको तयारी सुरू गरे तर कोभिडका कारण लकडाउन भएपछि घर फर्के। त्यही समयमा उनले टिकटक चलाउन सुरू गरेका हुन्।
कानुन पढ्ने धोको छँदै थियो। उनी फेरि काठमाडौं आए। हाल उनी स्नातक तह तेस्रो वर्षका विद्यार्थी हुन्।
पढाइकै सिलसिलामा भेटिएका साथीहरूबीच व्यवसायको योजना बनेर चिया–बगानको काम सुरू भएको थियो।
'हामी साथीहरू भेट गरिहन्थ्यौं, चिया गफ भइरहन्थ्यो,' अंशुले भने, 'सानो चिटिक्कको चिया पसल खोल्नुपर्छ भन्ने कुरा भइरहन्थ्यो। त्यसै अनुसार योजना बनाएर लगानी गरेका थियौं।'
योजना अनुसार डिजाइन तयार भएपछि उनीहरूले कीर्तिपुरमा १६ आना जग्गा भाडामा लिए। काम सुरू गरेको तीन सातामा डिजाइन अनुसार बाँसको कटेज तयार भयो।
उनले वरिपरि गिटी बिच्छ्याए। सामान्य बाँस र बेतका मुडा, टेबल राखे। खरको छानो हालेर गाउँको झल्को दिए।
अनि चिया–बगान नाममा चिटिक्कको चियापसल तयार भएको थियो।

यसरी सुरू भएको चिया पसलमा आन्दोलनका नाममा तोडफोड, लुटपाट र आगजनी होला भन्ने अंशु र उनका साथीहरूले कहिल्यै, कुनै हिसाबले कल्पना गरेका थिएनन्।
देशमा व्यवसायको सुरक्षा नहुने हो भने नयाँ लगानीकर्ता आउँदैनन्, अहिलेका लगानीकर्ताले लगानी विस्तार गर्दैनन् भन्ने अंशुलाई लागेको छ।
सामाजिक सञ्जालप्रति राज्य संयन्त्रको धारणा ठीक छैन भन्ने पनि उनलाई लागेको छ।
'विदेशमा सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई राज्यले सम्मान गर्छ, हाम्रोमा खेदो गर्दा रहेछन्,' उनले भने. 'व्यवसायीलाई हेर्ने नजरमा पनि सुधार गर्न जरूरी छ।'
