नेपाल आयल निगमले ग्यासको पर्याप्त मौज्दात रहेको जानकारी दिएको छ।
निगमले काठमाडौं उपत्यकामा एलपि ग्यासको अभाव भएको भन्ने उपभोक्ताको चासोप्रति ध्यानाकर्षण रहेको जनाएको हो।
‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने एलोकेसनको परिमाण ४९,५०० मेट्रिक टन रहेकोमा नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेटिङक टन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ मेट्रिक ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरूले आयात गरी आम उपभोक्ता माझ बिक्री वितरण गरेको व्यहोरा अनुरोध छ। उपरोक्त परिमाण ग्यासको जाडोयामको माग धान्न पुग्ने परिमाण भएको व्यहोरा समेत अनुरोध छ,’ निगमले सूचनामार्फत् भनेको छ।
हाल बजारमा केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराइ बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको निगमले बताएको छ।
‘केही समयभित्रै सामान्यीकरण हुने व्यहोरा समेत आम उपभोक्ता वर्गमा जानकारी गराउदछौं। बजारमा एलपिजीको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्येनजर गरी निगमले फ्रेबुअरी २०२६ का लागी साविकको परिमाणमा दुई हजार मेट्रिक टन थप गरी इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न पठाइसकेको व्यहोरा जानकारी गराउदछौं,’ निगमले भनेको छ।
निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न पनि आग्रह गरेको छ।