स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्सले चितवनको भरतपुरमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ।
४ अर्ब ७५ करोड रूपैयाँ लगानीसहित अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने निर्णय गरिएको कम्पनीका निर्देशक सुरजभक्त पौडेलले जानकारी गराएका छन्।
विगत ३५ वर्षदेखि स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको यो उद्योगले जीवन रक्षक तथा दीर्घरोग उपचारमा प्रयोग हुने क्याप्सुल, ट्याब्लेट, झोल औषधि, मलहम, ड्राइ पाउडर लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिइएको छ।
ती औषधिको अनुसन्धान, उत्पादन र गुणस्तर परीक्षणका लागि अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न उद्योग सञ्चालनमा रहेको बताइएको छ।
विश्वका विभिन्न मुलुकबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक र अन्य जनशक्ति गरी करिब ६७५ कर्मचारी हाल कार्यरत रहेकोमा नयाँ परियोजनामा थप साढे ५ सय जनाले रोजगारी पाउने बताइएको छ।
कम्पनीका अर्का निर्देशक आयुषभक्त पौडेलका अनुसार नयाँ लगानी विस्तार गर्नुअघि यो उद्योगमा ४ अर्ब ५४ करोड रूपैयाँको लगानी छ।
वार्षिक साढे २ अर्ब रूपैयाँको कारोबार गर्ने यो उद्योगले आगामी दिनमा औषधि निर्यात गर्ने तयारी गरेको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए।
'नेपालमा हरेक वस्तुको उत्पादन लागत बढी हुने गर्छ, अत्याधिक कर लगायतको धेरै कारणले हाम्रो उत्पादन लागत बढी नै हुने गरेको छ। तर, हामीले प्रतिस्पर्धी क्षमता बढाउदै विदेशी बजारमा नेपाली औषधि पुर्याउनु पर्छ। नयाँ परियोजना सञ्चालनमा आएसँगै औषधि निर्यातको तयारी हो,' शर्माले भने।
रोजगारी सिर्जना, उद्योगमा लगानी, पूर्वाधार विकास लगायतका आर्थिक सूचकले नेपाल दक्षिण एसियामा नै कमजोर देखिए पनि आफूहरू उद्योग विस्तारको यात्रामा रहेको शर्माले बताए।
नयाँ परियोजना सञ्चालनको क्रममा औषधि उत्पादन गर्ने नयाँ प्रविधि पनि भित्र्याउने कम्पनीले जनाएको छ।
३५औं वार्षिकोत्सवको अवसरमा कम्पनीले औषधिको गुणस्तर अझ सुदृढ गर्दै राष्ट्रलाई औषधिमा आत्मनिर्भर बनाउन थप योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
देउराली जनताले प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउने नेपालको पहिलो र एकमात्र उद्योगका रूपमा पहिचान बनाएको दाबी गरिएको छ।
कम्पनीले अन्तर्राष्ट्रिय स्तरका गुणस्तर व्यवस्थापन, वातावरणीय मापदण्ड तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका औषधि उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेको आधारमा विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको जानकारी गराइएको छ।
यसले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाएको कम्पनीको भनाइ छ।