बुटवलको तिनाउ पुल तर्ने बित्तिकै पुरानो बटौली बजार पुगिन्छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने पुरानो बटौली बजारमा परम्परागत रूपमा सञ्चालन हुँदै आएका विभिन्न व्यापार अहिले पनि चलिरहेका छन्।
त्यसैमध्ये एक हो सिद्राको व्यापार।
वर्षौंदेखि सिद्राको व्यापार हुँदै आएकाले पक्की पुल पार गरेर सडकको उत्तरतर्फ लागे पछिको पहिलो टोललाई अहिले पनि सिद्रे टोलका नामले चिनिन्छ।
दस–पन्ध्र वर्ष पहिलेसम्म पुरानो र साँघुरो बाटोको दायाँबायाँ थुप्रै सिद्राका पसलहरू भेटिन्थे। काठको फलेक लगाएका पुराना घरका कोठामा मात्र होइन, बाटोको दायाँबायाँ प्लास्टिकको छाप्रोमुनि बोरामा सिद्रा राखेर सिद्रा बेच्ने किन्नेको बाक्लै भिड देखिन्थ्यो।
अहिले भने बिक्री गर्ने पसल मात्र होइन, व्यापार पनि घट्दै गएको छ।
दुई–चार वटा पसलमा बोरा र ढकियामा विभिन्न साइज र प्रकारका सिद्रा बिक्रीका लागि सजाएर राखिएका छन्। तिनाउ पारीको खस्यौली (अहिलेको बुटवल) बजार विस्तार नहुँदासम्म पुरानो बजारमा सिद्राको व्यापार गर्दै आएका बाबुबाजेको व्यापारलाई दुई–चार जना व्यापारीले अहिलेसम्म धानिरहेका छन्।
सिद्रे टोलको त्यही गल्लीमा बिहानदेखि साँझसम्मै सिद्राको बास्ना फैलिइरहेको हुन्छ। कोही सिद्रामा भएको फोहोर फट्कारेर सफा गरिरहेका हुन्छन् त कोही बिक्री गरिरहेका हुन्छन्।
सिद्राका फुटकर व्यापारी र स्वाद मन पराउनेहरूले छानी–छानी सिद्रा किनिरहँदा स्वाद मन नपराउनेहरू भने नाक–मुख छोपेर बाटो ओहोरदोहोर गर्छन्।

बजारमा सुन्दरी, माल्ही, कौवा ठोंडे, ट्यागना, बुदुना, ढवही, पुठिया, चलवा, सिधरी, रैया लगायत १२–१५ प्रकारका माछाका सिद्रा पाइन्छन्। माछाका भुरालाई सुकाएपछि सिद्रा बनाउने गरिन्छ।
यसरी बनाएको सिद्रा माछाको जात र प्रकार अनुसार किलोको २ सयदेखि ६ सय रूपैयाँसम्म पाइने गर्छ। सानो आकारमा पाइने सुन्दरी माछा सबभन्दा महँगो, किलोको ६ सय रूपैयाँ पर्छ। सिधरी सबभन्दा कम २ सयदेखि साढे २ सय रूपैयाँमा पाइन्छ।
यहाँ सिद्रा उत्पादन नहुने भएकाले बुटवलका व्यापारीहरूले भारतबाट कपिलवस्तु हुँदै बुटवल ल्याएर बेच्छन्। सिद्राका पारखी र फुटकर व्यापारीले भने बुटवलमा किनेर विभिन्न जिल्लामा लैजान्छन्।
बुटवल पाखा पानीका राधेश्याम चमारले सिद्राको व्यापार सुरू गरेको २५ वर्ष भयो।
बुटवल–२ पुरानो बटौली बजारमा 'न्यू तिनाउ सप्लायर' खोलेर उनले बुटवलमा मात्र होइन, पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङसम्मका व्यापारीलाई थोक मूल्यमा सिद्रा बेच्छन्।
राधेश्याम पहिले हाटबजारमा लगेर आफै फुटकरमा सिद्रा बेच्थे। बजार लाग्ने दिनमा बोरामा राखेर १०–१५ किलो सिद्रा बिक्थ्यो। पछि घरबाटै सिद्राको गोदाम चलाउन थाले। त्यसयता बिक्री अझ बढ्यो।
'हाटबजार लगेर दिनभरि ग्राहक कुर्दै बेच्न मुस्किल पर्थ्यो। आफैले गोदाम सुरू गरेपछि सजिलो भएको छ,' उनले भने।
कपिलवस्तुको मायादेवी–८ नन्दननगरका मनवर हुसैन ५५ वर्षका भए।
कपिलवस्तु घर भए पनि मनबरका बुवा दिल अहमद हुसैन बुटवलमा सिद्राको व्यापार गर्थे। मनवर बुवाले सुरू गरेको त्यही पसलमा सिद्रा खेलाउँदै हुर्किए। पछि बुबालाई सघाउँदै व्यापार सिके।
करिब १० वर्ष पहिले दिलको मृत्यु भएपछि सिद्राको व्यापार उनी एक्लै सम्हाल्दै आएका छन्। बुबाले घर भाडामा लिएर गरेको व्यापारलाई मनवरले भाडामा लिएको खाली जमिनमा प्लास्टिकको छाप्रो हालेर निरन्तरता दिइरहेका छन्।
भारतको फरिन्दाका ७२ वर्षीय हबिब उल्लाह पनि बुटवलका पुराना सिद्रा व्यापारी हुन्। हबिबका बुवा विसमिल्लाह पनि यही काम गर्थे। बुबाको मृत्युपछि उनले सम्हालेका हुन्।

व्यापार घट्दै गए पनि पुर्खाको व्यापार अहिलेसम्म धानिरहेको उनले बताए।
'पहिले त यही वरपर धेरै पसल थिए, अहिले सिद्रा बिक्री गर्ने चार जना मात्र छौं। व्यापार पनि पहिले जस्तो छैन,' हबिबले भने।
जाडो याम सिद्रा व्यापारका लागि उपयुक्त मानिन्छ। सिद्राको तातो झोल पिउँदा तराईको कठ्यांग्रिँदो चिसो र शितलहरको असर हटाउँछ भनिन्छ।
चैत–वैशाखदेखि साउन–भदौसम्म ठप्प जस्तै हुने सिद्राको व्यापार असोजदेखि फागुनसम्म बढ्छ। पछिल्ला वर्षहरूमा भने जाडोमा पनि पहिले जस्तो व्यापार हुन छोडेको व्यापारीहरू बताउँछन्।
राधेश्यामका अनुसार दस वर्ष पहिलेसम्म वर्षमा दुई सय क्विन्टलसम्म सिद्रा बिक्थ्यो। अहिले मुस्किलले एक सय क्विन्टल बेच्छन्।
'सिद्रा त ६ महिनाको व्यापार हो। यसैबाट वर्ष धान्नुपर्छ। व्यापार पहिलेजस्तो छैन,' उनले भने।
अर्का व्यापारी मनवर पनि पहिलेजस्तो व्यापार हुन छाडेकाले छोराहरूलाई यसमा नलगाएको बताउँछन्।
'हाम्रो जीवन जसरी चल्यो, छोराहरूको यसरी त चल्दैन। उनीहरू भारतमा रोजगारी गर्छन्,' उनले भने।
पहिले पहाडी जिल्लाहरूबाट नुन, तेल र लत्ताकपडा किन्न बुटवल आउनेहरूले सिद्रा किनेर लैजान्थे। अहिले गाउँ गाउँमा पसल खुलेका छन्। त्यसैले अरू व्यापारजस्तै सिद्राको व्यापार पनि घटेको उनले बताए।
त्यस्तै व्यावसायिक रूपमा सुरू भएको माछा पालनका कारण पनि सिद्राको व्यापार घटेको मनवर बताउँछन्।
'पहिले सजिलै माछा किन्न पाइँदैन थियो। माछा खान मन हुनेले सिद्रा भए पनि खान्थे, अरू रोजाइ थिएन। अहिले जताततै माछा पाइन्छ। पहिले स्वाद मानेर खान्थे। अहिले गह्नाउने सिद्रा किन खानुपर्यो भन्छन्,' उनले भने।