यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट 'करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ।
कम्पनीले कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो।
यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरेको हो।
आज यस नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरूलाई 'करेन्ट मार्ट' मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कपनमा अवस्थित यस 'करेन्ट मार्ट'को उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरे।
उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरू, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस नवनिर्मित 'करेन्ट मार्ट' मा उपभोक्ताहरूले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्।
यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन्।
त्यसैगरी, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन्।
उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाहले भने, 'बानेश्वर शाखामा उपभोक्ताहरूले करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौंका अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको हो।'
'कपन र यस आसपासका उपभोक्ताहरूले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ। साथै आजको १०प्रतिशत छुटको अफरबाट भरपुर फाइदा लिन पनि हामी सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्दछौँ,' उनले थपे।
कम्पनीले 'करेन्ट' ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ।
आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।