इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रूपैयाँ योगदान गरेको छ।
उक्त सहयोग इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुऱ्याएको छ।
विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुऱ्याएको छ।
यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ।
प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो।
विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पुऱ्याउनु यस पहलको मुख्य उद्देश्य रहेको बताइएको छ।
इनड्राइभले भोटेकोशी विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँगै रहेको जनाएको छ।
यस सहयोगमार्फत इनड्राइभले तत्काल राहतमा मात्र नभई प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्कन सहयोग पुग्ने पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुऱ्याउने उद्देश्य राखेको छ।