नेपाली महावाणिज्यदूतावास दुबईले युएईस्थित नेपाली समुदायसँग श्रम, कानुनी र सेवा प्रवाहका विषयमा केन्द्रित अन्तरक्रिया गर्दै सुधारका लागि सुझाव संकलन गरेको छ।
महावाणिज्यदूतावास दुबईको आयोजनामा तथा नेपाली समाज युएईको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युएईमा रहेका नेपाली कामदारका प्रमुख समस्या र सेवा प्रवाह सुधारका विषयमा विशेष जोड दिइएको छ।
कार्यक्रममा सहभागी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले श्रम, कानुनी, आवास, स्वास्थ्य र बीमा सम्बन्धी समस्याहरू उठाउँदै ती समस्या समाधानका लागि ठोस पहल आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले कामदारमैत्री नीति, प्रभावकारी कानुनी सहजीकरण र सहज सेवा प्रवाहमा जोड दिएका थिए।
महावाणिज्यदूतावासले कन्सुलर सेवा, पासपोर्ट, श्रमसम्बन्धी सहजीकरण तथा आपतकालीन सहयोगबारे जानकारी गराउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव माग गरेको थियो।
कार्यक्रममा प्रादेशिक, जिल्ला, जातीय, धार्मिक तथा नगरस्तरीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समग्रमा कार्यक्रमले दूतावास र युएईस्थित नेपाली समुदायबीच समन्वय मजबुत बनाउने तथा कामदारका समस्या समाधानमा सहकार्य बढाउने अपेक्षा गरिएको छ।