नोभेम्बर महिनाको पहिलो साता बित्दै जाँदा केही पुरूषको अनुहार फेरिन थाल्छ। दाह्री बाक्लिँदै जान्छ, जुँगा लामा हुँदै जान्छन्।
सामान्यतया हरेक हप्ता दाह्री काट्नेहरू पनि यो महिना रेजर चलाउँदैनन्। कतिपयले त आफ्नो जुँगा कस्तो आकारमा बढ्दै छ भनेर ऐनाअगाडि उभिएर हेर्न थालेका हुन्छन्!
तपाईंले पनि आफ्नो वरिपरि यस्ता पुरूष देख्नुभएको होला। किन नकाटेको भनेर सोध्दा 'नो सेभ नोभेम्बर' भनेको सुन्नुभएको होला।
के हो त नो सेभ नोभेम्बर?
नोभेम्बरमा विश्वका धेरै देशमा पुरूषहरू दाह्रीजुँगा पालेर एउटा विशेष अभियानमा सहभागी हुन्छन्। यसको उद्देश्य पुरूष स्वास्थ्य, क्यान्सर, मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथामबारे जनचेतना फैलाउनु हो।
नो सेभ नोभेम्बर र 'मुभेम्बर' नामले चिनिने यी अभियानले दाह्रीजुँगालाई स्वास्थ्यबारे कुरा गर्ने माध्यम बनाएका छन्।
एउटा अभियानमा दाह्रीजुँगा र शरीरका रौं नकाटेर क्यान्सर प्रभावितप्रति ऐक्यबद्धता जनाइन्छ भने अर्कोमा जुँगा पालेर पुरूष स्वास्थ्यबारे छलफल गर्न प्रेरित गरिन्छ।
नो सेभ नोभेम्बर अभियानमा सहभागी हुनेहरूले नोभेम्बर महिनाभरि दाह्री, जुँगा तथा शरीरका रौं खौरिँदैनन्। सामान्यतया दाह्रीजुँगा काट्न र शरीरका रौं हटाउन खर्च हुने रकम बचाएर क्यान्सर सम्बन्धी सचेतना, अनुसन्धान तथा सहयोगका लागि दान गर्न प्रोत्साहित गरिन्छ।
क्यान्सरको उपचारका क्रममा कतिपय बिरामीको कपाल र शरीरका रौं झर्छन्। आफूले पनि एक महिना रौं नकाटेर उनीहरूप्रति ऐक्यबद्धता जनाउनु यस अभियानको अर्को उद्देश्य हो।
यो अभियान सन् २००९ मा अमेरिकाको इलिनोइसमा सुरू भएको थियो। म्याथ्यु हिल नामका व्यक्तिको कोलोन क्यान्सरका कारण मृत्यु भएपछि उनको परिवारले सम्झना स्वरूप यो अभियान सुरू गरेको थियो।
परिवारले सामाजिक सञ्जाल फेसबुकमार्फत मानिसहरूलाई नोभेम्बरभरि रौं नकाट्न र त्यसमा खर्च हुने रकम क्यान्सर सम्बन्धी काममा सहयोग गर्न आग्रह गरेको थियो। बिस्तारै यो अभियान अमेरिकाबाहिर पनि फैलियो।
यस अभियानमा सहभागी हुन दाह्री बाक्लै हुनुपर्छ वा जुँगा मिलाएर राख्नुपर्छ भन्ने छैन। कसैको दाह्री राम्रोसँग पलाउँछ, कसैको कम। कसैको त जुँगा मात्रै देखिन्छ।
मुख्य कुरा एक महिनासम्म रौं नकाट्नु र अभियानको उद्देश्यबारे अरूलाई पनि जानकारी दिनु हो।
मुभेम्बर– जुँगा पाल्ने अभियान
मुभेम्बर पनि पुरूष स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय अभियान हो। यसको नाम अंग्रेजी शब्द 'मस्टास' (जुँगा) र 'नोभेम्बर' जोडेर बनेको हो।
यस अभियानमा सहभागी हुने पुरूषले नोभेम्बर महिनाभरि जुँगा पाल्छन्। जुँगालाई पुरूष स्वास्थ्यबारे कुराकानी सुरू गर्ने माध्यम बनाइन्छ।
यसको सुरूआत सन् २००३ मा अस्ट्रेलियाको मेलबर्नबाट भएको थियो।
ट्राभिस गारोन र लुक स्लाटरी नामका दुई साथीले जुँगा पाल्ने पुरानो शैलीलाई फेरि लोकप्रिय बनाउने विषयमा कुराकानी गरेका थिए। त्यसपछि उनीहरूले आफ्ना ३० जना साथीलाई नोभेम्बर महिनाभरि जुँगा पाल्न आग्रह गरे।
सुरूमा रमाइलो र फेसनका रूपमा थालिएको यो गतिविधि पछि पुरूष स्वास्थ्यबारे जनचेतना फैलाउने अभियानमा परिणत भयो। सन् २००४ देखि यसले पुरूष स्वास्थ्यका लागि औपचारिक रूपमा आर्थिक सहयोग संकलन गर्न थाल्यो। विशेषगरी क्यान्सर, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा यसले जोड दिँदै आएको छ।
यी अभियानमा हलिउड, बलिउड कलाकारदेखि गायक र खेलाडीसम्म जोडिएका छन्। हलिउड अभिनेता विल पोल्टर, डेभिड ओयेलोवो, स्टीफन फ्राइ र केभिन कोनोलीले विभिन्न वर्षमा अभियानलाई समर्थन गरेका छन्।
भारतका केही टेलिभिजन कलाकारले पनि यो अभियानमा सहभागिता जनाएका थिए। सन् २०१९ मा अभिनेता शशांक व्यास, मृणाल जैन, अर्जुन बिजलानी, सञ्जय गगनानी र मोहम्मद नाजिमले नो सेभ नोभेम्बरलाई समर्थन गरेका थिए।
यो अभियानको रमाइलो पक्ष के छ भने, नोभेम्बर महिनामा जुँगा पाल्नेहरूबीच कसको जुँगा राम्रो वा अनौठो भन्ने चर्चा पनि चल्छ। कसैले जुँगालाई मिलाएर आकर्षक बनाउँछन्, कसैले चाहिँ जस्तो पलाउँछ त्यस्तै छाडिदिन्छन्।
जुँगा बाक्लो पलाउनेहरूलाई त यो आफ्नो जुँगा देखाउने अवसर पनि हुन सक्छ। तर, जुँगाको आकारभन्दा ठूलो कुरा त्यसले सुरू गराउने स्वास्थ्य सम्बन्धी कुराकानी हो।
नेपालमा पनि पछिल्ला वर्षमा नो सेभ नोभेम्बर, मुभेम्बर प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। सामाजिक सञ्जालमा दाह्रीजुँगा सहितका तस्बिर राख्ने, साथीहरूलाई पनि अभियानमा सहभागी हुन आग्रह गर्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने चलन देखिन थालेको छ।
काठमाडौंमा यस वर्ष पनि नो सेभ नोभेम्बरका अवसरमा विभिन्न गतिविधि भइरहेका छन्।
एन्ट फाउन्डेसन र नो सेभ नोभेम्बर नेपालको आयोजनामा नोभेम्बर २३ मा 'रन फर रिजिलियन्स: नो सेभ नोभेम्बर ५के' दौड कार्यक्रम भएको थियो। क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सरबाट प्रभावित व्यक्तिहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले सो दौड भएको थियो। यसअघि साइकल र मोटरसाइकल र्याली पनि भएका थिए। नोभेम्बर २८ मा पनि 'लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस' भन्ने नारासहित कार्यक्रम हुँदैछ।
यसरी दाह्रीजुँगा पाल्ने व्यक्तिगत चलनलाई सामाजिक अभियानसँग जोड्ने प्रयास भइरहेको छ।
हेर्दा सामान्य लाग्ने यो गतिविधिले पुरूष स्वास्थ्यबारे खुलेर कुरा गर्ने अवसर दिएको छ। नोभेम्बरमा दाह्रीजुँगा पालेर अभियानमा सहभागी हुनु मात्रै यसको उद्देश्य होइन, आफ्नो स्वास्थ्यप्रति सचेत हुनु र आवश्यक पर्दा समयमै सहयोग लिनु पनि हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)