बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको आर्या फार्मा ल्याबले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ।
कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटका बाढी प्रभावित समुदायलाई लक्ष्य गरी सात दिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ।
यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरको औषधिजन्य सामग्री सहयोग गरेको थियो।
सोही अभियानलाई निरन्तरता दिँदै कम्पनीले विपद्बाट प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो।
आर्या फार्मा ल्याब र चितवन मेडिकल कलेजबीच भएको सहकार्यअनुसार शिविर विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्ष्य गरी सञ्चालन गरिनेछ।
शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
शिविरमा स्थानीयवासीलाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइनेछ।
उपचार आवश्यक देखिएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था समेत मिलाइने कम्पनीले जनाएको छ।
बाढीपछि प्रभावित परिवारहरू स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइमा रहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ।
कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेसम्मका गतिविधिले विपद्को कठिन समयमा प्रभावित परिवारसँग उभिने र उनीहरूको स्वास्थ्य तथा पुनःस्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता झल्काउँछ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आर्या फार्मा ल्याबले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ।