भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीले धर्ना सुरू गरेका छन्।
निजी क्षेत्रका संघसंस्था तथा उद्योगी व्यवसायीहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिँदै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेका हुन्।
विमानस्थल निर्माण सम्पन्न भएपछि नै पूर्णक्षमतामा विमान उडानको माग गर्दै आएका उद्योगी व्यवसायीले सबै अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि विरोध सभासहित धर्ना दिएका हुन्।
उद्योग व्यापार संगठन रूपन्देहीको अगुवाइमा उद्योगी व्यवसायीहरूले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना र प्रदर्शन गरेका थिए।
उक्त विरोध सभा सहितको धर्नामा रूपन्देहीका विभिन्न व्यवसायीक संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए।
विमानस्थल सञ्चालनको लागि विभिन्न माग लेखिएका प्लाकार्ड बोकेर सहभागी भएका व्यवसायीहरूले सरकारको गैरजिम्मेवारीका कारण उडान सुरू गरेका विमान कम्पनीहरूले पनि यहाँको उडान रोकेर काठमाडौंकेन्द्रित गरेको आरोप लगाए।
विमानस्थलका विषयमा पटक-पटक भएका छलफलमा सरकारले गरेका प्रतिबद्धता र वाचा पूरा गरी अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन उनीहरूले सरकारलाई आग्रह गरे।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले के कारणले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएको हो भन्नेबारे सरकारले निजी क्षेत्रलाई जानकारी दिनुपर्ने बताए।
‘दुईवटा बलिया राजनीतिक दलहरू मिलेर बनेको सरकारले विमानस्थल सञ्चालन गर्न सक्दैन भने अब कुन सरकार आएर सञ्चालन गर्न सक्छ त्यसको जबाफ सरकारले नै दिनुपर्छ,’ पोखरेलले भने।
पोखरेलले वैशाखको गर्मीमा सडकमा जम्मा भएर आन्दोलन गर्नु आफूहरूको रहर नभई बाध्यता भएको बताए।
निजी क्षेत्रको माग तत्काल सुनेर विमानस्थलमा उडानलाई निरन्तरता दिन उनको आग्रह छ।
‘निजी क्षेत्रले निरन्तर गरेको अर्बौंको लगानी निराशा र पीडामा परिणत हुने हो भने निजी क्षेत्रले भोलि कुन क्षेत्रमा लगानी गर्छन्, एक जनाको लगानी डुब्ने परिस्थितिमा पुग्दा त्यसले हजारौं रोजगारीको चक्रलाई असर पुर्याउँछ, त्यो कुरा सरकारले बुझ्न जरूरी छ,’ उनले भने।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए।
ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको जनाउँदै उनले अब सबै संघसंस्थाले सहकार्य गरेर आन्दोलन चर्काउने चेतावनी दिए।
‘विमानस्थल सञ्चालन नहुनुमा कतै सरकारकै योजना त होइन भन्ने आशंका उब्जिन थालेको छ, यदि होइन भने सरकारले छिटोभन्दा छिटो विमानस्थल सञ्चालन गरोस्,’ आचार्यले भने।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनु परेको बताए।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपानेले निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दासमेत विमानस्थल सञ्चालनमा सरकारले खेलाँची गरिरहेको र अर्बौं लगानी जोखिममा पर्दा पनि राज्यले नदेखेझै गर्नु विडम्बनापूर्ण रहेको बताए।
धर्नामा सहभागी व्यवसायीहरूले आफूहरूको मागको बेवास्ता नगर्न चेतावनी दिए। उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरे।
उद्योगी व्यवसायीले गत वर्ष पनि दवावपूर्ण कार्यक्रम गरेपछि केही समय विमान कम्पनीहरूले भैरहवाबाट उडान गरेका थिए।
हिउँदमा हुस्सु र कुहिरोको बहाना देखाउँदै उडान रोकेका विमान कम्पनीहरूले पछिल्लो पटक गत चैत्र १८ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई, कतार एयरवेज र नेपाल एअरलाइन्सले उडान गर्दै आएका थिए।