नेपालको वर्षौदेखिको मागअनुसार भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले विशेषत हवाई उड्डयन तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्।
तर, भारतसँग नेपालले मागेको हवाई रूट यही मात्रै हो त? हिजो भएको सहमति कार्यान्वयन गर्न प्राविधिक परामर्शमा कस्ता अडचन आउन सक्छन्? यो रूट सञ्चालनमा आएमा भैरहवा र पोखरा विमानस्थलसहित नेपालको समग्र हवाई उड्डयन र पर्यटन क्षेत्रमा कति लाभ पुग्छ?
नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै भारतसँग पश्चिमबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो। विशेषगरी भैरहवा, महेन्द्रनगर र नेपालगन्ज हुँदै अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश गर्न दिनुपर्ने नेपालको माग थियो।
अहिले पश्चिमबाट नेपाल आउने अन्तर्राष्ट्रिय विमानले सिमरा हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ। त्यसपछि पश्चिमतर्फ फर्केर भैरहवा वा पोखरा पुग्नुपर्छ। यसले उडान दूरी बढाएको छ। समय र इन्धन खर्च पनि बढाएको छ।
सोमबार जारी नेपाल–भारत संयुक्त वक्तव्यमा हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउने उल्लेख छ। यससँगै भारतबाट नेपाल आउने विमानले पनि भैरहवा हुँदै प्रवेश गर्न पाउनेछन्। यसअघि उक्त रूटबाट नेपालबाट भारततर्फ मात्रै विमान उड्न पाउने व्यवस्था थियो।
नेपालले मागेका सबै प्रवेशमार्ग भने प्राप्त गरेको होइन। भैरहवा रूट दुईतर्फी बनाउने सहमति भएको हो। महेन्द्रनगर र नेपालगन्जबाट प्रवेशमार्ग उपलब्ध गराउने माग अझै बाँकी छ। त्यस्तै, नेपालले भैरहवा–कुशीनगर, पोखरा–वाराणसी र नेपालगन्ज–दिल्ली लगायतका सिधा हवाई सेवाको प्रस्ताव पनि गरेको थियो। यी विषयमा कुनै घोषणा भएको छैन।
काठमाडौं–भैरहवा–लखनउमा दुई तर्फी हवाई रूटमा राजनीतिक तहमा सहमति भए पनि तत्कालै सञ्चालनमा आउने छैन। नेपाल र भारतका प्राविधिक अधिकारीबीच हवाई ट्राफिक व्यवस्थापन, विमानको उडान उचाइ र सञ्चालन प्रक्रियासम्बन्धी विषय टुंग्याउन बाँकी छ।
संयुक्त वक्तव्यमा पनि सहमतिलाई अन्तिम रूप दिन प्राविधिक परामर्श गरिने उल्लेख छ। साथै, दुवै देशबीच छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि यही प्रक्रियाबाट टुंग्याउने भनिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार विगतमा भारतीय पक्षले अनौपचारिक छलफलमा विमानको उडान उचाइसम्बन्धी सर्त राख्न सक्ने संकेत गरेको थियो। भारतले नेपाल प्रवेश गर्ने विमानलाई निश्चित उचाइमा मात्रै उडान गर्नुपर्ने सर्त राखेमा रूटको उपयोग सीमित हुन सक्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री नेपालबाट बाहिरिने विमानलाई रूट प्रयोग गर्न सहज भए पनि नेपाल भित्रिने विमानका लागि उचाइको कडा सर्त राखिए अपेक्षित लाभ नपुग्न सक्ने बताउँछन्।
नागरिक उड्यन प्राधिकरणका अधिकारीहरू उडान फिटको सर्त यदि भारतले राख्यो भने समस्या पर्न सक्ने तर्क गर्छन्। विगतमा अनौपचारिक छलफलमा यति फिटभन्दा माथिको उचाई भएमा समस्या नहुने कुरा राख्ने गरेका थिए।
'नेपाल प्रवेश गर्ने विमानलाई भारतले ३९ हजार फिटजस्तो निश्चित उचाइको सर्त राख्यो भने समस्या आउन सक्छ। नेपालले चाहेको उडान उचाइमा प्रवेश गर्न पाउने व्यवस्था हुनुपर्छ,' एक अधिकारीले भने।
क्षेत्रीका अनुसार रूट दुईतर्फी बनाउने सहमति हुनु सकारात्मक भए पनि प्राविधिक परामर्शमा टुंगिने विषयले यसको प्रभावकारिता निर्धारण गर्नेछ।
'रूट पाएर मात्रै पुग्दैन, त्यसलाई कसरी सञ्चालन गर्न दिने भन्ने प्राविधिक व्यवस्था पनि महत्त्वपूर्ण हुन्छ,' उनले भने।
कति हुन्छ समय र खर्च बचत?
प्राविधिक प्रक्रिया पूरा भएर रूट सञ्चालनमा आएमा यसको पहिलो लाभ उडान दूरी र समय घट्नु हो। अहिले सिमरा हुँदै भित्रिने विमानले भैरहवा वा पोखरा पुग्न थप दूरी पार गर्नुपर्छ। नयाँ रूट प्रयोग गर्न पाएमा यो बाध्यता हट्नेछ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक क्षेत्रीका अनुसार भैरहवा पुग्ने विमानले झन्डै १९ मिनेट र पोखरा पुग्ने विमानले करिब १४ मिनेट उडान समय बचत गर्न सक्छ। उनका अनुसार यसबाट दुवै विमानस्थलको सञ्चालनमा सहयोग पुग्नेछ।
'भैरहवा र पोखरा दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई यो रूटले ठूलो सहयोग पुर्याउँछ। उडान दूरी र समय घट्दा एयरलाइन्सको खर्च पनि कम हुन्छ,' क्षेत्रीले भने।
उडान समय घट्दा इन्धन खपत कम हुन्छ। पाइलट र चालक दलको ड्युटी समय पनि घट्छ। यसले विमान कम्पनीको सञ्चालन खर्च घटाउन सक्छ। भारतीय आकाश प्रयोग गरेबापत तिर्नुपर्ने शुल्कमा समेत बचत हुन सक्छ।
प्राधिकरणका अधिकारीहरूका अनुसार सिमरा हुँदै भैरहवा वा पोखरा पुगेर फर्किने साँघुरो आकारका विमानलाई एउटा राउन्ड ट्रिपमा करिब तीन हजार अमेरिकी डलरसम्म अतिरिक्त खर्च पर्ने गर्छ।
पूर्व महानिर्देशक क्षेत्रीले सञ्चालन खर्च घट्दा एयरलाइन्सलाई नयाँ गन्तव्यमा उडान विस्तार गर्न पनि सहज हुने बताउछन्। खर्च घटेको अवस्थामा हवाई भाडामा समेत सहुलियत दिन सकिने सम्भावना रहन्छ।
यो रूट सञ्चालनको अर्को महत्त्वपूर्ण लाभ भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नु हो। भैरहवा लुम्बिनीको प्रवेशद्वार हो। अन्तर्राष्ट्रिय उडान सहज भएमा भारतसहित विभिन्न देशबाट आउने बौद्ध पर्यटकलाई सीधै भैरहवा ल्याउन सकिन्छ।
यसले लुम्बिनी क्षेत्रका होटल, ट्राभल कम्पनी, यातायात व्यवसायी र अन्य पर्यटन व्यवसायलाई लाभ पुग्न सक्छ। अहिले भैरहवा र आसपासका क्षेत्रमा होटल तथा पर्यटन पूर्वाधारमा लगानी भए पनि पर्याप्त पर्यटक आगमन हुन सकेको छैन।
अन्तर्राष्ट्रिय उडान नियमित भएमा होटलको अकुपेन्सी बढ्न सक्छ। पर्यटकको बसाइ अवधि र खर्चसमेत बढ्ने अपेक्षा व्यवसायीको छ। विशेषगरी बौद्ध धर्मावलम्बी पर्यटकलाई लक्षित गरी लुम्बिनीमा पर्यटन प्याकेज बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहज हुनेछ।
यस क्षेत्रमा होटल व्यवसायमा लगानी गरेका व्यवसायी पनि सहमतिपछि उत्साहित छन्। विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सके अहिले सुस्त रहेको होटल तथा पर्यटन क्षेत्र चलायमान हुने उनीहरूको अपेक्षा छ।
पोखरा विमानस्थलका लागि पनि यो सहमतिले सकारात्मक आधार तयार गरेको छ। यद्यपि, यसले पोखराका लागि छुट्टै प्रवेशमार्ग उपलब्ध गराउँदैन। तर भैरहवा रूट सञ्चालनको अनुभव र भारतसँगको प्राविधिक सहकार्यले पोखराका लागि थप हवाई रूटको माग अघि बढाउन सहज बनाउन सक्छ।
राजनीतिक तहमा भएको सहमति कार्यान्वयन हुनु पहिलो सर्त हो। त्यसपछि एयरलाइन्सको व्यावसायिक रूचि, यात्रूको माग र विमानस्थलका सेवा सुविधाले नियमित उडान निर्धारण गर्नेछन्। हवाई रूटमा सहमति हुनु उपलब्धि भए पनि त्यसलाई नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटक आगमन र व्यावसायिक गतिविधिमा रूपान्तरण गर्नु आगामी काम तथा रणनीति हुन्।