बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सफल बनाउन आफ्नो प्रस्ताव अघि सारेका छन्।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले मंगलबार आयोजना गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी परामर्श कार्यक्रममा बस्नेतले यात्रु आफै आउँछन् र विमानस्थल चल्छ भनेर बस्न नहुने बताए।
विमानस्थल सञ्चालनसँगै यात्रु संख्या बढाउने रणनीति पनि बनाउनुपर्ने उनको भनाइ छ। यसका लागि हवाई सेवा, होटल, पदयात्रा लगायत पर्यटन व्यवसायलाई एकअर्कासँग जोड्नुपर्ने उनले बताए।
बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक रूपमा सफल बनाउन निम्न ५ सर्त अघि सारेका छन्।
पहिलो– काठमाडौंको तुलनामा प्रतिस्पर्धी हवाई भाडा।
बस्नेतका अनुसार पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले काठमाडौंको तुलनामा महँगो भाडा तिर्नुपर्ने अवस्था हुनु हुँदैन। पोखराबाटै विदेश जान सकिने सुविधा हुँदाहुँदै हवाई भाडा महँगो पर्ने हो भने यात्रुले काठमाडौंकै बाटो रोज्न सक्छन्।
त्यसैले पोखराबाट स्वदेशी वायुसेवा कम्पनीमार्फत नियमित र किफायती अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने बस्नेतको भनाइ छ।
दोस्रो– दैनिक कम्तिमा ३० उडान।
विमानस्थल सञ्चालनलाई आर्थिक रूपमा सम्भव बनाउन दैनिक कम्तिमा ३० वटा उडान आवश्यक पर्ने बस्नेतले बताएका छन्।
दैनिक १५ घन्टा विमानस्थल सञ्चालन गर्ने हो भने प्रत्येक घन्टा औसत दुईवटा उडान हुनुपर्छ। यस हिसाबले दैनिक ३० वटा अवतरण र ३० वटा प्रस्थान गरी विमानस्थलमा ६० पटक जहाजको आउजाउ हुनुपर्छ।
पर्याप्त उडान नभएसम्म विमानस्थलको पूर्वाधार पूर्ण क्षमतामा उपयोग हुन नसक्ने उनको भनाइ छ।
तेस्रो– पोखरामा वार्षिक १५ लाख विदेशी पर्यटक।
आन्तरिक यात्रुमा मात्र भर परेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कठिन हुने बस्नेत बताउँछन्। त्यसका लागि पोखरामा मात्रै वार्षिक १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राख्नुपर्ने उनको प्रस्ताव छ।
अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै विदेशी पर्यटकलाई पोखरा आउने वातावरण बनाउन पर्यटन क्षेत्रले पनि उत्तिकै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ।
चौथो– पोखरालाई केन्द्र बनाएर वायुसेवा कम्पनी सञ्चालन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउन यसैलाई केन्द्र बनाएर क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी विकास गर्नुपर्ने बस्नेतले बताएका छन्। यस्तो वायुसेवा कम्पनीलाई जहाज उडाउने व्यवसायमा मात्र सीमित राख्न नहुने उनको भनाइ छ।
हवाई सेवा, होटल, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिलाई एकैठाउँ जोडेर विदेशी पर्यटक निम्ति आकर्षक भ्रमण प्याकेज तयार गर्नुपर्ने उनले बताए।
यसले एकातिर वायुसेवा कम्पनीलाई नियमित यात्रु उपलब्ध गराउँछ भने अर्कातिर होटल तथा अन्य पर्यटन व्यवसायको कारोबार पनि बढाउँछ।
पाँचौं– पर्यटन व्यवसायमा जोखिम व्यवस्थापन।
बस्नेतले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिमलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।
बाढी, पहिरो तथा हिमाली क्षेत्रमा उत्पन्न हुने विपदले पर्यटकको सुरक्षाका साथै पर्यटन व्यवसायमा असर पार्न सक्छ। यस्तो जोखिम सामना गर्न वायुसेवा कम्पनी र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ।
पर्यटकको सुरक्षा सुनिश्चित गर्न आपतकालीन उद्धार तथा जोखिम व्यवस्थापनको योजना पनि तयार पार्नुपर्ने उनले बताए।
पोखरामा कम भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने
बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा यसअघि देखिएका केही प्राविधिक समस्या समाधान हुँदै गएको पनि बताएका छन्।
पोखरा विमानस्थलमा यसअघि जहाज अवतरणका लागि ३१०० देखि ३८०० मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्थ्यो। कम भिजिबिलिटीका कारण करिब १५ प्रतिशत उडान रद्द हुने वा अन्यत्र मोड्नुपर्ने अवस्था रहेको बस्नेतले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रविधिमा आधारित उडान तथा अवतरण प्रणाली लागू गरेपछि यो समस्या धेरै हदसम्म समाधान हुने उनको भनाइ छ।
यो प्रणालीले जहाजलाई निर्धारित हवाई मार्गमा सटिकतासाथ उड्न र अवतरण गर्न सघाउँछ।
बस्नेतका अनुसार यो प्रणाली उपयोग गर्न सक्ने जेट विमानहरू १५०० मिटरभन्दा कम भिजिबिलिटीमा पनि पोखरा विमानस्थलमा अवतरण गर्न सक्छन्।
यसबाट उडान अन्यत्र मोड्नुपर्ने दर दुई प्रतिशतमा झर्ने अपेक्षा गरिएको उनले बताए।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न कुन प्रकारका जहाज उपयुक्त हुन्छन् भन्ने विषयमा पनि प्राविधिक अध्ययन भइरहेको उनले जानकारी दिए। यस्तो मूल्यांकनमा फ्लाई दुबईले सञ्चालन गर्दै आएको बोइङ ७३७ म्याक्स–८ जहाज उपयुक्त देखिएको उनको भनाइ छ।
बैंकमा थुप्रिएको पैसा पर्यटनमा लगाउने प्रस्ताव
बस्नेतले बैंक तथा वित्तीय संस्थामा लगानी हुन नसकेको रकमलाई पर्यटन क्षेत्रको विकासमा परिचालन गर्न सकिने बताएका छन्।
उनले बैंकिङ प्रणालीमा करिब २० खर्ब रूपैयाँ निष्क्रिय रहेको उल्लेख गर्दै त्यसलाई प्रतिफल दिने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।
पोखरालाई केन्द्र बनाएर क्षेत्रीय वायुसेवा कम्पनी स्थापना गर्ने र त्यसलाई होटल लगायत पर्यटन व्यवसायसँग जोड्ने हो भने बैंकिङ क्षेत्रमा थुप्रिएको रकम परिचालन गर्ने अवसर सिर्जना हुने उनको भनाइ छ।
यसबाट विमानस्थलको व्यावसायिक सम्भावना बढ्नुका साथै गण्डकी प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना हुने उनले बताए।
स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने क्षेत्रमध्ये पर्यटन प्रमुख रहेको भन्दै बस्नेतले गण्डकी प्रदेशमा निर्माण भइसकेका विमानस्थल तथा पर्यटकीय पूर्वाधारको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।
***