जैविक विविधता, गाउँले जीवनशैली र संस्कृतिसँगै धौलागिरी–अन्नपूर्ण हिमशृङ्खलाको अनुपम दृश्य अवलोकन गर्न सकिने नयाँ पदमार्ग 'धौलागिरी आइसफल ट्रेक' को अध्ययन सुरू भएको छ।
धौलागिरी हिमालको आइसफलसम्म पुग्ने यो ट्रेकिङ मार्गको सम्भाव्यता अध्ययन गर्न पर्यटन विज्ञ, स्थानीय अगुवा सहितको टोलीले बेनी, रूइसे डाँडा, खोला खर्क, सबाङ धुरी, कालिभरा, आइसफल, सुङ्गथला हुँदै पुनः बेनीसम्मको क्षेत्रमा अध्ययन गरिरहेको छ।
टोलीमा पर्यटन विज्ञ ज्ञानेन्द्र घले, ध्रुरवकुमार पाइजा, रिम पाइजालगायत छन्।
यो अध्ययन नेपाल पर्यटन बोर्ड, रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोग तथा म्याप हाउसको प्राविधिक समन्वयमा सञ्चालन भएको हो।
पूर्वमन्त्री थम माया थापा र रघुगङ्गा गाँपालिका अध्यक्ष भवबहादुर भण्डारीको सक्रियतामा पदमागर्ग अध्ययन भएको जनाइएको छ।
'धौलागिरी आइसफल ट्रेक' बाट म्याग्दीको पर्यटनमा नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ।