सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपि हिमाल र ल्हायुल पिकमा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, यूएनडीपी र नेपाल पर्वतारोहण संघको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड’ तालिमका क्रममा प्रशिक्षार्थी र प्रशिक्षकहरूले आरोहणको तयारी गरेका हुन्।
काठमाडौंमा दुई साता सैद्धान्तिक तालिम पूरा गरेका १४ प्रशिक्षार्थीले अब अपि क्षेत्रमा प्रयोगात्मक तालिम लिनेछन्।
प्रशिक्षणका क्रममा उनीहरूले ल्हायुल पिक आरोहण गर्ने र त्यसपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्ने कार्यक्रम छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले टोलीलाई बिदाइ गर्दै यस अभियानले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा ऐतिहासिक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसले स्थानीय समुदायमा पर्यटनमैत्री सेवा विस्तार र दीगो पर्यटनमा टेवा पुग्ने बताए।