भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर विधिवत् रूपमा उदघाटन गरिएको साढे चार वर्ष पूरा भयो।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ साल माघ १ गते शिलान्यास गरी निर्माण सुरू गरेको अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल जेठ २ गते उदघाटन गरी व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो।
उदघाटनकै दिन कुवेतबाट उडान भरेको जजिरा एयरवेजको जहाज र नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले अवतरण गर्दा लुम्बिनीको पर्यटन बजार गुलजार हुने भन्दै निजी क्षेत्र उत्साहित बनेको थियो।
दैनिक आठ–दस वटा ठूला अन्तर्राष्ट्रिय जहाज आउने सपना देखेका स्थानीय व्यवसायीहरू अहिले भने निराश बनेका छन्।
यसलाई त्रिभुवन विमानस्थलको विकल्पसमेत ठानिएको थियो। तर, पछिल्लो साढे ६ महिनायता यहाँ एउटा पनि विमान अवतरण भएको छैन।
यहाँबाट पछिल्लो पटक २०८२ चैत ११ गते थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरेको थियो। १४ जना यात्रु लिएर बैंककबाट भैरहवा अवतरण गरेको उक्त जहाजले भैरहवाबाट १०६ जना यात्रुसहित उडान गरेको थियो।
सञ्चालनमा आएको साढे चार वर्षमा यो विमानस्थलमा १२२२ वटा सेड्युल तथा चार्टर उडान भएका छन्। ती उडानबाट हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन्। विभिन्न मुलुकबाट ३१ हजार ९३२ यात्रु यो विमानस्थलमा ओर्लिएका थिए भने ३७ हजार ४४५ जना यहाँबाट बाहिरिएका थिए।
विमानस्थलका सूचना अधिकृत पवन अग्रहरी बनियाँका अनुसार यति बेला कुनै पनि विमान कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि तालिका बनाएका छैनन्।
'सेड्युल फ्लाइटका लागि कुनै पनि कम्पनीले तालिका बनाएका छैनन्। अक्टोबर १२ मा भारतको दिल्लीबाट एउटा चार्टर फ्लाइट आउने कुरा छ। त्यसको पनि प्रस्ताव स्वीकृत भइसकेको छैन,' बनियाँले भने।

पाँच सय बिघा जमिन अधिग्रहण गरी निर्माण गरिएको यस विमानस्थलमा सरकारले करिब ३६ अर्ब रूपैयाँ खर्च गरेको छ। जग्गा अधिग्रहण गर्दा मुआब्जा वितरणमा मात्रै २२ अर्ब रूपैयाँ खर्च भएको थियो।
बाँकी रकम धावनमार्ग, कन्ट्रोल टावर लगायत विभिन्न संरचना निर्माण र उपकरण खरिदमा खर्च गरिएको थियो।
एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर बनाइएको विमानस्थल सञ्चालन नभए पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ।
त्यस्तै, यहाँ नागरिक उड्डयन प्राधिकरणका स्थायी, अस्थायी तथा करारका प्राविधिक, प्रशासनिक तथा सुरक्षाकर्मीसहित एक सयभन्दा बढी कर्मचारी कार्यरत छन्।
उनीहरूको तलबभत्ता, विद्युत र खानेपानीको महसुल लगायत दैनिक सञ्चालन तथा अन्य प्रशासनिक कामका लागि वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च हुन्छ।
ठूलो टर्मिनल भवन, रनवे लाइटिङ, एसी, राडार र सञ्चार उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। जसका कारण विद्युत महसुलमा मासिक लाखौं रूपैयाँ खर्च हुन्छ।
एक्स–रे मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टम, फायर फाइटिङ गाडीहरू र रनवेको नियमित प्राविधिक जाँच, मर्मत तथा सरसफाइ र बगैंचा व्यवस्थापनका लागि पनि ठूलो रकम खर्च भइरहेको छ।
विमानस्थल सञ्चालनमा नआउँदा सरकारको लगानी मात्र होइन, निजी क्षेत्रको पनि अर्बौं रूपैयाँ डुब्ने अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ बताउँछन्।
उनका अनुसार विमानस्थल निर्माण हुने सुनिश्चिततासँगै निजी क्षेत्रले होटल, उद्योगजस्ता व्यवसायमा लगानी गरेको थियो। तर अहिले लगानीको प्रतिफल पाउनु त टाढाको कुरा, गरेको लगानीसमेत डुब्ने स्थितिमा पुगेको छ।


'विमानस्थलको विषयमा सरकारको विश्वास गर्दा हामी ठगिएका छौं,' श्रेष्ठले भने, 'सञ्चालनका लागि निजी क्षेत्रले गर्नुपर्ने केही काम बाँकी छ भने सरकारले हामीलाई भनोस्। तर विमानस्थल सञ्चालन हुनुपर्यो।'
सिद्धार्थ होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष किशोर जोशी सरकारले विमानस्थलसँगै आवश्यक संरचना र सेवाहरू उपलब्ध नगराउँदा सञ्चालनमा आउन नसकेको बताउँछन्।
सरकारले यो विमानस्थलबाट उडान गर्न चाहने विमानलाई पार्किङ, इन्धन लगायतमा छुट दिएको छ। तर अत्यावश्यक भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा र म्यानपावर कम्पनी लगायतका सेवा उपलब्ध छैनन्।
'यसले गर्दा सरकारी छुट छुटमै सीमित भएको छ,' उनले भने।
सरकारले दुई वर्षपहिले नै श्रम कार्यालय स्थापना, वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण, भिसा कार्यालय स्थापना, आकस्मिक रूपमा राहदानी नवीकरण तथा जारी गर्न कार्यालय स्थापना गर्ने लगायतका निर्णय गरेको थियो।
त्यसयता चुनावी सरकारसहित तीन वटा सरकार बने पनि ती संरचना तयार भएका छैनन्।
२०८१ मंसिरमा त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्दा केही विमान भैरहवामा अवतरण र उडान गरिएको थियो।
त्यसअघि कहिले भिजिबिलिटी त कहिले अन्य कारण देखाउँदै भैरहवा आउन आनाकानी गरेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू त्रिभुवन विमानस्थलमा उडान बन्द गरिएपछि भैरहवा आउन तयार भएका थिए।
त्यति बेला एकै दिनमा चार–पाँच वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदा पेसा–व्यवसायमा संलग्न व्यक्तिहरूमा उत्साह भरिएको थियो।
विमानस्थल वरपर साना होटल तथा अन्य व्यवसाय फस्टाउन थालेका थिए। सयौं ट्याक्सी र अटोरिक्साले काम पाएका थिए।
तर अहिले विमानस्थल यति सुनसान छ, यहाँ अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा पीडादायी कथा जस्तो बनेको छ।
आन्तरिक उडानका क्रममा ठूलो जहाज आकाशमा देखिँदासमेत रूपन्देहीवासीले कतै अन्तर्राष्ट्रिय उडान त भइरहेको छैन भनेर हेर्ने अवस्था बनेको छ।