थाइल्यान्डको भिसा प्रक्रियामा देखिएको जटिलताका कारण नेपाली पर्यटक तथा ट्राभल व्यवसायीले ठूलो आर्थिक जोखिम व्यहोर्नु परेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बताएको छ।
नाट्टाले समस्या तत्काल समाधान नभए थाइल्यान्डका लागि पर्यटकीय गतिविधि स्थगित गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
नाट्टाले जारी गरेको प्रेस विज्ञप्तिमा थाइल्यान्डको विद्यमान पर्यटक भिसा प्रणालीका कारण नेपाली यात्रु तथा ट्राभल एजेन्सीहरूले अव्यावहारिक झन्झट, भिसा निर्णयमा अत्यधिक ढिलाइ र सोबाट सिर्जित आर्थिक क्षति व्यहोर्नु परेको उल्लेख छ।
विज्ञप्तिअनुसार भिसा स्वीकृत हुने वा नहुने विषयमा निश्चितता नहुँदा यात्रु तथा व्यवसायी दुवै जोखिममा परेका छन्।
विशेषगरी थाई एयरवेज र थाई लायन एयरलगायतका एयरलाइन्सका टिकटमा उच्च रद्द शुल्क लाग्ने वा टिकटको रकम फिर्ता नहुने व्यवस्था हुँदा भिसा अस्वीकृत भएमा यात्रुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको नाट्टाको भनाइ छ।
त्यस्तै, अनलाइन बुकिङ प्लेटफर्म तथा व्यावसायिक रिजर्भेसन प्रणालीमार्फत गरिएको बुकिङलाई पर्याप्त नमान्ने र सम्बन्धित होटलबाट छुट्टै कन्फर्मेसन लेटर माग्ने प्रक्रियाले पनि यात्रु तथा व्यवसायीलाई थप असहज बनाएको नाट्टाले जनाएको छ।
आर्थिक जोखिम र कूटनीतिक पहलको माग
नाट्टाले भिसा प्राप्त गर्नुअघि नै अग्रिम रकम भुक्तानी गर्नुपर्ने, बुकिङमा थप सर्तहरू पालना गर्नुपर्ने तथा भिसा अस्वीकृत हुँदा वा समयमा निर्णय नआउँदा रकम फिर्ता नहुने अवस्थाले नेपाली यात्रु तथा व्यवसायीमाथि अन्यायपूर्ण आर्थिक जोखिम सिर्जना गरेको जनाएको छ।
नेपालका ट्राभल व्यवसायीले थाइल्यान्डको पर्यटन प्रवर्द्धनमा लामो समयदेखि योगदान पुर्याउँदै आए पनि त्यसअनुसार सहज र समयबद्ध भिसा सेवा नपाएको नाट्टाको गुनासो छ।
नाट्टाले भिसा प्रक्रियामा पारदर्शिता कायम गर्न, निर्णय प्रक्रियालाई समयबद्ध बनाउन र नेपाली यात्रु तथा व्यवसायीमाथि मात्रै आर्थिक जोखिम थोपर्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ।
साथै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई थाई सरकार तथा रोयल थाई एम्बेसीसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
थाइल्यान्डलाई 'ब्ल्याकलिस्ट डेस्टिनेसन' बनाउने चेतावनी
समस्या समाधान नभए नेपाली यात्रु, ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीको हित संरक्षणका लागि थाइल्यान्डलाई नेपाली पर्यटकका लागि 'ब्ल्याकलिस्ट डेस्टिनेसन' घोषणा गर्ने नाट्टाले चेतावनी दिएको छ।
त्यस्तो अवस्था आएमा नाट्टाले थाइल्यान्डका नयाँ टुर प्याकेजको बिक्री, वितरण तथा प्रवर्द्धन स्थगित गर्ने, विज्ञापन र डिजिटल मार्केटिङ रोक्ने, नयाँ ग्रुप बुकिङ तथा टुर सिरिज सञ्चालन बन्द गर्ने र नेपाली यात्रुलाई अन्य सुरक्षित, सहज तथा वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्यतर्फ प्रोत्साहित गर्ने जनाएको छ।
नाट्टाका अनुसार नेपाली पर्यटकले सम्मानजनक, समयबद्ध र न्यायोचित भिसा प्रक्रिया पाउनु स्वाभाविक अधिकार हो।
भिसा प्रक्रियामा निश्चितता नहुँदा यात्रु र व्यवसायी दुवै प्रभावित हुने भएकाले समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने संघको माग छ।
नाट्टाले स्पष्ट पारेको छ, 'भिसाको ग्यारेन्टी छैन भने जबर्जस्ती आर्थिक जोखिम पनि स्वीकार्य छैन।'
नाट्टाका महासचिव राजकुमार देवकोटाद्वारा जारी विज्ञप्तिमा नेपाली यात्रुको रकम, समय र सम्मानको रक्षा गर्न तथा नेपाली पर्यटन व्यवसायीको लगानी र हित संरक्षण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
