जर्मनीको फ्र्याङ्कफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान अपहरणको चेतावनीपछि जयपुरमा आकस्मिक अवतरण गरिएको छ।
बुधबार बिहान भएको घटनापछि विमानस्थलमा सुरक्षा जाँच गरिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) का स्रोतका अनुसार, बोइङ ७८७–९ विमान एआई २०३० का पाइलटले अपहरणसम्बन्धी चेतावनी दिएपछि विमानलाई जयपुर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।
विमान सुरक्षित रूपमा अवतरण गरेपछि सुरक्षा जाँचका लागि छुट्टै स्थानमा राखिएको थियो।
विमान आकाशमै हुँदा पाइलटले संकेत नम्बर '७५००' प्रसारण गरेका थिए।
उक्त कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने अन्तर्राष्ट्रिय संकेत नम्बर हो।
पाइलटबाट आएको सङ्केत हवाई ट्राफिक नियन्त्रण कक्षले प्राप्त गरेपछि विमानको मार्ग परिवर्तन गरिएको डिजिसिए स्रोतले जनाएको छ।
तर प्रहरी स्रोतले भने विमानमा बम रहेको धम्की आएपछि आकस्मिक अवतरण गरिएको बताएको छ।
मालवीय नगरका सहायक प्रहरी आयुक्त शिव दयालले फ्र्याङ्कफर्ट–दिल्ली उडानमा बमको धम्की आएको जानकारी विमानस्थल अधिकारीहरूले प्रहरीलाई गराएको पिटीआईलाई बताएका छन्।
विमान अवतरण गरेपछि सुरक्षा निकायले त्यसलाई छुट्टै स्थानमा लगेर जाँच गरेका थिए। प्रारम्भिक विवरणअनुसार, दुवै पाइलट र यात्रुलाई सुरक्षा निगरानीमा चरणबद्ध रूपमा विमानबाट बाहिर निकालिएको थियो। यात्रु र उनीहरूको सामानसमेत जाँच गरिएको थियो।
सुरक्षा कारबाहीमा आतंकवादविरोधी दस्ता (एटिएस), विमानस्थल सुरक्षा निकाय र स्थानीय प्रहरी सहभागी थिए।
नयाँदिल्लीमा राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) लाई पनि तयारी अवस्थामा राखिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
डिजिसिएले घटनाबारे अनुसन्धान गरिरहेको छ।
चेतावनीको वास्तविक प्रकृति र त्यसको कारणबारे थप विवरण आउन बाँकी छ।
समाचार तयार पार्दासम्म एयर इन्डियाले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। अधिकारीहरूबाट अनुमति पाएपछि यात्रुहरू पुनः विमानमा चढ्ने बताइएको छ।