फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरू गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुने आशमा छन् पोखरेली व्यवसायीहरू।
सुरूमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीहरू थप विश्वस्त भएका हुन् ।
फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरूआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताए।
'आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो,' उनले भने।
चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रूको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रूको संख्या बढ्ने पर्यटन व्यवसायी श्रेष्ठले बताए।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षसमेत रहेका उनले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबैपक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताए।
फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण र साँझ ७:१५ बजे दुबई प्रस्थान गर्दै आएको छ।
गत सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रू दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार ४२३ यात्रू दुबई प्रस्थान गरेको जनाइएको छ।
फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायी लगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित रहेको पाइएको छ।
टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा आशा जागेको छ।
यस उडानबाट आउने यात्रूलाई लक्षित गरी होटल, रेष्टुराले विभिन्न सहुलियत योजना ल्याएका छन्।
फ्लाई दुबईले हाल १६५ यात्रू क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो।
यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ।
त्यसबाट दीर्घकालिन रूपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरू गरेको हो।
दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो।
सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ।
विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ।
यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ।