जर्मनीको फ्र्यांकफर्टबाट दिल्लीका लागि उडेको विमान सहजै गन्तव्यमा पुग्ने यात्रुको अपेक्षा थियो।
तर, दिल्ली अवतरण गर्नै लाग्दा चालक दलले विमान सुरक्षाको कारणले जयपुरतर्फ मोडिएको सूचना दियो।
किन विमानको बाटो बदलियो भन्नेबारे यात्रुहरू अनभिज्ञ थिए।
जयपुर विमानस्थलमा ओर्लिएपछि अग्निनियन्त्रक र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्दा उनीहरू झन् झस्किए।
कसैले इन्जिनमा खराबी आएको अनुमान गरे, कसैले कुनै गम्भीर सुरक्षा खतरा भएको आशंका।
पछि मात्र उनीहरूले थाहा पाए− विमान अपहरण भएको वा गैरकानुनी हस्तक्षेप भएको संकेत दिने अन्तर्राष्ट्रिय संकेत प्रसारण भएको थियो।
भारतको राजधानी दिल्लीका लागि उडेको एयर इन्डियाको एआई २०३० उडानमा बुधबार बिहान देखिएको यही घटनाले यात्रुहरूलाई केही घन्टा अनिश्चिततामा राख्यो।
जर्मनीको फ्र्यांकफर्टबाट उडेको बोइङ ७८७–९ विमानमा २९३ यात्रु र चालक दलका १३ सदस्य थिए। विमान दिल्ली पुग्ने निर्धारित समय नजिकिँदै गर्दा चालक दलले जयपुरमा अवतरण गर्नुपर्ने जानकारी दिएको थियो।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार यात्रुहरूलाई विमान जयपुरतर्फ मोडिनुको कारणबारे विस्तृत जानकारी दिइएको थिएन। उनीहरूलाई सुरक्षा जाँचका लागि जयपुरमा अवतरण गर्नुपर्ने मात्र भनिएको थियो।
विमानभित्र दुई घन्टा, बाहिर सुरक्षाकर्मीको घेरा
भारतीय मूलका ४० वर्षीय जर्मन नागरिक गुरजीत सिंह खाल्सा पनि यही उडानमा थिए।
उनका अनुसार विमान बिहान करिब साढे ९ बजे जयपुरमा अवतरण गरेपछि यात्रुहरूलाई कम्तीमा दुई घन्टासम्म विमानभित्रै बस्न भनिएको थियो।
'सुरक्षा जाँच गरिनेछ भन्ने घोषणा गरिएको थियो। करिब साढे ११ बजे कप्तानले अब विमानबाट बाहिर निस्कनुपर्ने बताए,' खाल्साले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
विमानबाट बाहिर निस्कँदा उनले चारैतिर सुरक्षाकर्मी देखे। केही यात्रुलाई राहदानी देखाउन भनियो। खाल्सा पनि जाँचमा परे।
'मेरो नामका कारण ममाथि सधैँ अतिरिक्त निगरानी हुने गर्छ। त्यसैले यो मेरा लागि नयाँ थिएन,' उनले भने।
त्यसपछि सबै यात्रुलाई पर्खन भनियो। उनीहरूको साथमा रहेको दर्ता गरिएको सामानसमेत सुरक्षा जाँचका लागि स्क्यान गरियो। अर्को दुई घन्टा प्रतीक्षा गरेपछि यात्रुहरू फेरि विमानमा चढे र दिल्लीका लागि उडे।
जयपुरमा एक अधिकारीले आफूलाई बमको धम्की आएको जस्तो अवस्था रहेको बताएको पनि खाल्साले सुनाए। तर यात्रुहरूलाई विमान अपहरणको आशंकाबारे तत्काल औपचारिक जानकारी दिइएको थिएन।
कसैले इन्जिन बिग्रिएको ठाने, कसैलाई सुरक्षाको चिन्ता
दिल्ली घुम्न आफ्नी साथीसँग आएका २५ वर्षीय मेडिकल विद्यार्थी यानिसका लागि पनि विमानको आकस्मिक अवतरण अप्रत्याशित थियो।
'विमान तल झर्दै गर्दा चालक दलले सुरक्षा कारणले जयपुरतर्फ मोडिन लागेको बतायो,' उनले भने।
जयपुरमा अवतरण गरेर बाहिर निस्कँदा उनले अग्नि नियन्त्रकहरू देखे। सुरुमा विमानको इन्जिनमा खराबी आएको हुन सक्ने ठाने। तर फरक पोसाकमा रहेका सुरक्षाकर्मीहरू देखेपछि भने विमान कुनै सुरक्षा खतरामा परेको हुन सक्ने उनलाई लाग्यो।
केही समयपछि उनकी साथीकी आमाले सम्भावित विमान अपहरणबारेको समाचार पठाइन्। त्यसपछि उनीहरूका परिवारमा चिन्ता बढ्यो।
'उहाँ निकै चिन्तित हुनुभएको थियो। हामीले आफूहरू सुरक्षित रहेको बतायौँ। त्यसपछि सबै कुरा सहज ढंगले अघि बढ्यो,' यानिसले भने।
जर्मनीमा बस्ने र परिवार भेट्न दिल्ली आएकी ४३ वर्षीया यात्रु सुनिता रानीले पनि चालक दलले यात्रुहरूलाई आत्तिन नदिन खोजेको बताइन्।
'चालक दल हामीलाई नआत्तियोस् भन्ने चाहन्थ्यो। पछि बमको धम्कीसम्बन्धी हल्ला सुनेँ। तर हामीलाई जयपुरमा सुरक्षा जाँचका लागि अवतरण गर्नुपर्नेबाहेक अरू केही भनिएको थिएन,' उनले हिन्दुस्तान टाइम्ससँग भनिन्।
अपहरणको संकेत दिने ‘७५००’ कसरी प्रसारण भयो?
यो घटनाको केन्द्रमा विमानबाट प्रसारण भएको एउटा संकेत थियो− ट्रान्सपोन्डर नम्बर ७५००।
उड्डयन क्षेत्रमा प्रयोग हुने ट्रान्सपोन्डरको यो संकेत विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको अवस्थासँग सम्बन्धित छ।
विमानबाट यस्तो संकेत प्रसारण भएपछि हवाई यातायात नियन्त्रण (एटीसी) ले त्यसलाई सुरक्षा सतर्कताका रूपमा लिएको र विमानलाई जयपुरतर्फ मोडिएको घटनाबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
यद्यपि, विमान अपहरण भएको वा कसैले विमान नियन्त्रणमा लिन खोजेको पुष्टि भएको छैन। प्रारम्भिक अनुमानअनुसार प्राविधिक गडबडीका कारण उक्त संकेत प्रसारण भएको हुन सक्छ।
विमानमा समस्या आएको हो वा हवाई यातायात नियन्त्रण प्रणालीमा गडबडी भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। घटनाको कारण पत्ता लगाउन भारतको नागरिक उड्डयन महानिर्देशनालयले अनुसन्धान गर्ने अधिकारीहरूले बताएका छन्।
विमान जयपुरमा सुरक्षित अवतरण गरेपछि सम्बन्धित सुरक्षा निकायले विमान र चालक दलको जाँच गरेका थिए। आवश्यक जाँचपछि विमानलाई दिल्ली उड्न अनुमति दिइएको थियो।
दिल्ली फर्कियो विमान, अनुसन्धान बाँकी
एयर इन्डियाले बुधबार जारी गरेको विज्ञप्तिमा अक्टोबर १४ मा फ्र्यांकफर्टबाट दिल्लीका लागि उडेको एआई २०३० विमान सम्भावित सुरक्षा जोखिमका कारण जयपुरतर्फ मोडिएको जनाएको थियो।
'विमान जयपुरमा सुरक्षित अवतरण गरेको थियो। सम्बन्धित सुरक्षा निकायले आवश्यक जाँच गरेपछि विमान र चालक दललाई सुरक्षित ठहर गरेका छन्। सबै यात्रु विमानबाट बाहिर निस्किएर सुरक्षा जाँचमा सहभागी भएका थिए र त्यसपछि पुनः विमानमा चढेका थिए,' एयर इन्डियाले भनेको छ।
विमान अन्ततः बुधबार दिउँसो करिब ३ बजेर १५ मिनेटमा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा पुगेको थियो।
यात्रुहरूका लागि घटना त्रास र अन्योलमा बितेको केही घन्टापछि टुङ्गिएको थियो। तर विमानबाट अपहरणको संकेत दिने कोड किन प्रसारण भयो भन्ने प्रश्नको जवाफ भने अझै मिलिसकेको छैन। नागरिक उड्डयन महानिर्देशनालयको अनुसन्धानपछि मात्रै त्यसको वास्तविक कारण खुल्नेछ।