स्थान : भान्साकोठा
समय : बिहान ८:०० बजे
पात्र : अनुपा
(आज लकडाउन अर्थात् गृहबन्दीको १६ औँ दिन। अफिस नगएको पनि उत्ति नै दिन भइसकेछ। घर अगाडिको अरनिको लोकमार्ग फाट्टफुट्ट सवारी साधन बाहेक प्रायः बन्द र सुनसान छ। धेरैजसोका घरमा घरबेटी बाहेक बहालमा बस्नेहरू सबै गाउँघरतिर आ-आफ्ना घर गइसकेका छन्।
अनुपा भान्सामा बिहानको खाना तयारी गर्न लागिरहेकी छे। भान्सामा पहेलिएको ब्रोकाउली, मट्यांग्रन जत्रा दुई/चार गेडा आलु लिएर तरकारी काट्न ठिक्क पारिएको छ। मन अस्थिर छ। कोरोना भाइरस अर्थात् 'कोभिड-१९'ले उब्जाएको विश्वव्यापी आतंकबीच उसका मनमा अनेक त्रास र आशंका व्याप्त छ।
बिहानको खाना बनाउने समय भइसक्दा पनि सुरू गरिहाल्न जाँगर उसलाई चलेको छैन। मनमा अनेक कुरा खेलाउँदै ऊ हातमा मोबाइल खेलाएर भान्सा कोठाको डाइनिङ कुर्सीमा बसिरहेकी छे। औँलाले फेसबुकमा न्युज फिड तलमाथि गरेपनि मनमा अनेक तर्कना मडारिइरहेका छन्।)
(मनमनै) छ्या! दिक्कलाग्दो यो समय कसरी कटाउने होला। अझ आठ दिन थपियो यो लकडाउन। मैले त पहिलो चोटि सुनेको है यो 'लकडाउन' भन्ने शब्द पनि। हुनत, फेरि नथपेर पनि के गर्नु?
देशको हालत यस्तो भइसक्यो। कत्ति खतरनाक रहेछ यो कोरोना भाइरस। सुरु सुरुमा त मलाई आ यो के हो र जस्तो पो लाग्थ्यो। हामीलाई कहाँ लाग्छ त यस्तो रोग। सित्तैं किन मानिस आतंकित भएका होलान् भन्ठान्थेँ।
तर अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स लगायत कतिपय मै हुँ भन्ने देशमा त भयावह स्थिति पो छ त। विदेशमा रहनुभएका मेरा बुबा-ममी, दाजु-भाउजू लगायत आफन्तहरूलाई पनि केही पो भयो कि। उहाँहरूसँग दिनहुँजसो कुराकानी हुँदा पनि मन ढुकढुक भइरहन्छ।
विदेशीहरूलाई त यस रोगले सोत्तरै पार्दैछ। झन् हामी त स्वास्थ्यप्रति पटक्कै सचेत छैनौं। हात धुनुको महत्त्व र कसरी धुने भनेर भर्खर सिक्दैछौँ, अरू सावधानीको कुरा त परै भयो।
तरकारी केलाउनुपर्यो क्यारे। (छरिएका आलु र ब्रोकाउली समेट्न थाल्छे)। के खानु तरकारी? अस्ति दुई छाक गुन्द्रुक पकाएँ। हिजो मस्यौरा र मुलाको सिन्की। अब आज यही पकाउनुपर्यो भनेको त्यही पनि यस्तो पहेंलो भइसकेको ब्रोकाउली।
कति महँगो। किलोको ७० रे। तैपनि किनेर ल्याएँ। बरु हामीले त यही भने पनि खान पाएका छौँ। बिहान एक छाक खाएपछि भरे के खाने होला भनेर सोच्नु पर्नेहरूको हालत के भइरहेको होला।
खै जताततै राहत बाँड्न थालेको समाचार आइरहेको छ, तर जसलाई चाहिएको हो उसले नपाएर हुनेखानेले नै हात पारेको अनि गरिब मजदूरका परिवार र बालबच्चा भोकभोकै परेको खबर पनि त्यतिकै सुनिन्छ।
सहरमा भोकले मरिने डरले दैनिक मजदूरीबाट पेट पाल्न बाध्य श्रमिकहरू तीन चार सय किलोमिटरसम्म टाढा रहेको आफ्नो घर पनि पैदलै हिँडेका छन् रे। लकडाउन घोषणा र हरेक चोटि यसको समयावधि थपेसँगै बच्चा र झोला झुन्ड्याएर लम्किरहेका मानिसका ताँती मेरै घरको छतबाट पनि देख्दै आएको छु।
ती घर पुग्न त भ्याउलान्? कि बाटैमा...। सम्झँदै मन जिरिंग हुन्छ। तिनले राहत पाएका वा पाउने आशा लिएका भए किन पो त्यो जोखिम उठाउँथे होलान् र। आफ्नो गाँस जुटाउन सक्नेले त गरिबले पाउनुपर्ने राहतमा र्याल नचुहाए हुने नि है।
तर ती लोभीपापीसँग कसै गरी नसकिने। पाँच वर्ष अघिको भू-कम्पमा पनि बाँडिएका राहत र सरकारी सुविधा यसैगरी पहिले हुनेखानेले नै उछिट्याएका थिए। उनीहरू अघाएपछि मात्र गरिबले पाएका हुन् क्यारे। अहिले पनि अवस्था उस्तै देखिँदैछ।
गरिब श्रमिक/मजदुरका लागि न अरू कसैले बोलिदिन्छ, न बाँड्ने ठाउँमा तिनका आफ्ना मान्छे हुन्छन्। (कसैले फेसबुकमा पोष्ट गरेको फोटो हेर्दै) अझ राहत बाँड्नेको नखरा हेरन, एक-एक प्याकेट बिस्कुट, चाउचाउ र दुई चार किलो दाल-चामल बाँडेका छन्। त्यो पनि १० जनाले समातेर फोटो खिचेका। कत्ति न दानवीर देखिनुपर्ने, ढोँगीहरू ।
अफिस चल्दा कामको बोझले थकाई लाग्दा आठ/दश दिन घरमै ढुक्कले आराम गरेर बस्न पाए क्या रमाइलो हुन्थ्यो भनेझैं लाग्थ्यो। तर धेरै फुर्सद हुँदा पनि समय कटाउन पनि सजिलो त कहाँ रहेछ र। त्यो पनि घरमै बन्दी भएर।
न पढाइमा ध्यान केन्द्रित गर्न सकिने, न फिल्म हेर्ने धैर्यता हुने। यसो आफ्नो बारी वा बगैँचातिर निस्केर काममा समय बिताउँ भने पनि बल्ल-तल्ल तीन आना घँडेरी किनेर पूरै ढाकेर घर बनाइएको छ। कहिल्यै आउँदिनस् भनेर गुनासो गरिरहने आफन्तकहाँ यही मौकामा गएर भेटघाट गर्न पाए पनि हुन्थ्यो नि। त्यो पनि नमिल्ने।
हप्तौँ घरमै यसरी गुम्सिएर बस्नु पर्दाको उकुसमुकुसले दिमागै 'आउट' होला जस्तो पो भइसक्यो। यसो शरीर हेर्यो दिनदिनै मोटाउँदै गएजस्तो लाग्छ। कोरोनाभन्दा हानिकारक कतै यो लकडाउन त हुने होइन ।
सरकार घरभित्रै बस्न भनेको भनेकै छ, टोलका मानिसहरूको र्याउर्याउ हेरिनसक्नु छ। छिन छिनमै बाहिर निस्केर चोकमा रमिता हेर्न पुगिहाल्छन्। बेलाबेलामा प्रहरीको लखेटाइमा परेर भागदौड भएको देख्न पाइन्छ।
कोही साथीहरू भेला गरेर तास खेल्ने र नाचगान गर्ने पनि गरिरहेका देखिन्छन्। स्यानिटाइजर लाएर तास समातेपछि केही हुँदैन भन्दै खेल्छन् रे। चाडबाड आए जस्तो पो भएको छ मान्छेलाई यो महामारी ।
मान्छेले यो सब आफ्नै लागि भनिएको हो भनेर मात्रै बुझिदिए पनि त प्रशासनले आफ्नो सुरक्षा फौजलाई मान्छे लखेट्नेभन्दा अन्यत्रै काममा लगाउन पाउँदो हो। के गर्नु ढाडमा सुम्ला उठ्ने गरी प्रहरीको लौरी भेट्दा पनि नचेत्ने मानिस देखेर पो ताज्जुब लाग्छ।
ठूला मान्छे त यस्ता छन्। केटाकेटीको के कुरा गर्नु झन्। गाउँघरतिर त बरु आँगन र बारी, करेसातिर दौडन पाउँछन्। यो सहरमा कोठामै थुनिनु परेपछिको तिनको छट्पट्टी देख्दा दया लाग्छ।
टोलका केही केटाकेटी बेलाबेलामा बाहिरतिर चुलबुल गरेको देखिन्छ। त्यो देखेपछि छोरोलाई खपिनसक्नु हुन्छ। झ्यालबाट बाहिर हेर्छ र घरी घरी बाटोतिर निस्कन खोज्छ। आफू उसलाई घरअगाडि समेत जान दिन सक्दिनँ। समाएर भित्रै हुल्छु। अनि उही त हो, बाबा ममीको मोबाइल खोस्न आइहाल्छ।
त्यसबाट छुटकारा दिलाउन यसो कथा भनिटोपल्यो उसैसँग लुँडो र क्यारेमबोर्ड खेल्यो। त्यो पनि कतिञ्जेल गर्नु र? एकदुई घण्टा वा एकदुई दिन भए पो। उसको बाबाले पनि यसो पालो दिए त हुने नि। जुनसुकै बेला अफिसको काम भन्या छ, पढ्ने सामग्री वरिपरि छरेर ल्यापटप खोलेर बस्याछ। अफिसले 'वर्क फ्रम होम' भन्या छ रे।
बच्चालाई यहि मौकामा घरायसी कामकाज गर्न सिकाउनु भन्ने किसिमका विज्ञका सुझाव पढेकाले अलिअलि त्यो पनि प्रयास गरियो। तर समयक्रमसँगै विस्तारै सिक्दै जानु र यहि मौका छोपेर सिकाईहाल्न खोज्नु कहाँ एकै हुन्थ्यो र।
त्यो पनि अलि ठूला केटाकेटीलाई भए त हुन्थ्यो, सातआठ वर्षकोलाई सिकाउने कुरै के नै पो हुन्छ र। बिहान आठै बजे स्कूल बस चढाइदिएर बेलुका छ बजे लिन गएको जस्तो सजिलो त कहाँ रहेछ र, उफ्!
अत्यावश्यक सामान र दू'ध, तरकारी किन्न नजिकैको पसल जान पनि डर लाग्छ हउ। पसलेले नै यो अपराधी भाइरस शरीरमा बोकेर बसेका छन् कि। सामानसँगै झोलामा भाइरस बोकेर आइने हो कि भन्ने पिर। न देखिने, न त छामेर थाहा पाइने।
नडराएर पनि के गर्नु भेट्यो कि सक्किगो। कस्ता कस्ता मै हुँ भन्ने देशको त बाह्र बजिरहेको छ यतिखेर। हामीकहाँ त अन्य कुनै स्वास्थ्य समस्या परेर अस्पताल गयो भने पनि अस्पतालले ढोका थुनेर बस्छ रे। स्वास्थकर्मीहरू भागाभाग गर्छन् रे। सामान्य ज्वरोको उपचार पनि पाउन सकिरहेका छैनन् रे बिरामीले। कठै बरा।
हे दैव, कस्ता दिन आए। बिरामी देखेर डाक्टर र नर्स भाग्नु पर्ने। एक मनले सोच्दा त ती कस्ता गैरजिम्मेवार भएका होलान् भन्ने लाग्छ। फेरि विचार गर्छु उनीहरूलाई पनि त ज्यानको माया त लागि हाल्छ। उनीहरूको न्यूनतम सुरक्षाको व्यवस्था त हुनु पर्छ नि।
स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक सामग्रीको व्यवस्था गर्न राज्यलाई यतिखेर हम्मेहम्मे परिरहेको छ। यता कोरोना भाइरसले देशलाई गाँजिसक्यो, उता चाहिने सामग्री र उपकरण ल्याउने कुरामै अनावश्यक ढिलासुस्ती भइरहेको छ।
धन्न अरूले भनेझैँ हामी नेपालीको रक्षा त पशुपतिनाथले नै गरेका हुन् कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। विचरा पशुपतिनाथ आफैँ पनि लकडाउनबाट पीडित छन् र पो यतिखेर।
विश्व अहिले एकतिर कोरोनाविरुद्ध जुधिरहेको छ भने अर्कातिर अर्थशास्त्रीहरू यसको आतंकबाट कहिले मुक्ति पाइन्छ र यसले आर्थिक रूपमा यो ब्रह्माण्डलाई के कति मात्रामा तहसनहस पारेर जान्छ भन्ने हिसाबकिताब गर्नमा व्यस्त छन्। पहिलेका महाव्याधीले झैँ यसले पनि आर्थिक व्यवस्थाका साथै, शासन व्यवस्था र राजनीतिक प्रणालीमा यसले के कस्तो फेरबदल ल्याउने हो भनेर अर्काथरी विद्वान् घोत्लिन थालेका छन्।
यी सबै हेर्दा/सुन्दा त यो कोरोना भाइरस लरतरो जन्तु होइन रहेछ। आँखाले समेत नदेखिने यो ताण्डब मच्चाउँदै खुल्लमखुल्ला हिँड्दो छ, मानव भने ऊबाट बँच्न निरीह भएर घरभित्र लुकिरहेको छ। जब यसमाथि मानव जातिले विजय हासिल गर्ला, तब साँच्चै नै नयाँ आशाको किरण देखा पर्ला।
अरू जे-जे भए पनि लकडाउनका केही सकारात्मक पाटा पनि छन्। सडकबाट आउने ट्याँट्याँ टुँटुँ गाडीका आवाजले कान खाएको छैन। यो उराठलाग्दो र हावाहुरी चल्ने मौसममा पनि धुवाँधुलो र प्रदुषण गायब भएको देख्दा खुबै आनन्द लाग्ने। सधैँ तुवाँलेले ढाक्ने वरिपरिका डाँडा छ्याङ्गै देखिएका छन्।
उपत्यकाभित्र बसेर यति गाढा निलो आकाश नदेखेको कति भइसकेको थियो। यहि बेलामा देख्न पाइयो। प्रदुषण नहुने बित्तिकै रुघाखोकी लाग्ने तथा घाँटी र टाउको दुख्ने सबै समस्याबाट छुटकारा पाइएको छ। कोरोनाको यस्तो आतंक पनि हुनु अनि यहि बेलामा कोरोनाका लक्षणसँग मिल्ने त्यस्ता समस्या आए कस्तो हुँदो हो मनस्थिति।
यो कोरोना कहरको सकारात्मक नतिजास्वरूप प्रदुषण नियन्त्रणको महत्त्व हाम्रा नीतिनिर्माताले सिकिदिए त गज्जबै हुन्थ्यो। अनि, कोरोना आतंकको समाप्तिसँगै मनुष्यमा रहेको अतिशय लोभ, मोह र अहंकार पनि भष्म भइदिए कस्तो हुँदो हो यो संसार। ए, समय त घर्की सकेछ। अब त खाना बनाउनु पर्यो। (उ खाना बनाउनतिर लाग्छे)