म कर्णाली हुँ
मेरो आफ्नै परिभाषा छ
आफ्नै भाषा र भाष्य पनि
मेरो आफ्नै पहिचान छ
आफ्नै गुणगान छ।
म छु र यहाँ देश छ
म छु र यहाँ विदेश छ
सायद म छु र यहाँ विकास छ
अनेकौँ उल्झनहरूको निकास छ।
दिनेहरूले मलाई अनेकौँ परिचय दिएका छन्
विश्वको मञ्चहरूमा मलाई भोको भनेर उभ्याइन्छ
विकासका बहसहरूमा मलाई गरिब भनेर चिनाइन्छ।
जब लेखिन्छन् नीति दस्ताबेजहरूका पृष्ठभूमि
अशिक्षा, कुपोषण पछौटेपन मेरो
परिचय भएर अग्रपङ्क्ति आउँछन्
म चुपचाप हुन्छु, शान्त अविरल सुनिरहन्छु
लेखिएका कथाहरू र बोलिएका गाथाहरू।
मैले देखिरहेको छु
मलाई भोको देखाएर आफ्ना पेट भर्नेहरू
मेरो गरिबीको सिँढी चढेर सम्पन्नताको उडान भर्नेहरू
मेरो अशिक्षामा टेकेर आफ्नै शिक्षाको ज्योति छर्नेहरू
मेरो कुपोषित चित्रमा आफ्नो पोसिलो अनुहार भर्नेहरू
देखिरहेको छु, अनवरत देखिरहेको छु।
मेरो कथा कहिल्यै लेखिएन प्राकृतिक उपहारको
मेरो कथा कहिल्यै पोखिएन राजनीतिक उपहासको
शिरमा सिउरिएका फूल झैँ स्थिर बसेका
कराइचुली, चाखुरे अनि कान्जिरोवाका कथाहरू
छातीभित्र मुटु झैँ बसिरहेका
रारा र फोक्सुन्डोका कथाहरू
मेरो नशा भएर रगत झैँ बगिरहेका
निर्मल भेरी र कर्णालीका कथाहरू
अहँ कहिल्यै लेखिएनन्
अहँ कहिल्यै देखिएनन्
बुकी फूलले सजिएका
पाटनका कथाहरू
पाषाण छेद गरेर निस्किएका
शिलाजितका महिमाहरू
बस्, गरिबी मेरो मानक बनाइयो
भोकमरी, अशिक्षा मेरा पहिचान बने
मेरा आफ्नैले आफू परिचित हुन्
निःसन्देह दिएका मेरा परिचय हुन्।
म दुनियाँलाई उज्यालो बनाउँदै
विश्वको प्यास मेट्न उत्साहित भएर
श्वेत फोहोरा सहित बगिरहँदा
किनारमा ठडिएको बन्द बोतल भित्रको
पानीले समेत जिस्काउँछ।
म अवाक्, निःशब्द र फेरि किनारसँग ठोकिँदै
परिचय विहीन हुँदै, विलीनतातर्फ
अगाडि बढिरहने, म कर्णाली हुँ
हो, म कर्णाली हुँ।