हामी लकडाउमा मस्त घरमा बस्दा
कोरोनाको संकोच गरिरहेका छौँ
प्रिय डाक्टर नर्सहरु
प्रिय प्रहरी, राष्ट्रसेवक कर्मचारीहरु,
युद्धमा खटिनु भएको छ।
दिनमा हजारौँ मानिससँग
भेट गर्नु हुन्छ, सेवा गर्नु हुन्छ
आफ्नो ज्यानको मतलव छैन
जनताको ज्यान बचाउन
हमेशा लागि पर्नु भएको छ।
हामी आभारी छौँ, ऋणी छौँ
आभार बाहेक केही दिन सक्दैनौँ
तपाईहरुको काम कर्तव्यको
जति तारिफ गरे पनि कम हुन्छ,
हामी जनताले बुझेका छौँ
तर सरकारले बुझ्दैन।
यो देशमा गरिब, दुखिको सेवा गर्ने
डाक्टरले आन्दोलन गर्नुपर्छ
अनशन बसिदिनु पर्छ
त्यति गर्दा पनि सरकार
सुन्दैन, देख्दैन र महशुस गर्दैन।
यो नेपाल हो, यहाँ जे गर्न पनि पाइन्छ
नेता, मन्त्री, त्योभन्दा माथि बन्न
कुनै असाधारण क्षमता चाहिदैन
कुनै निश्चित योग्यता चाहिदैन
सिर्फ केही शीर्ष भनिनेहरुको
एक टिके आशिर्वाद भए पुग्छ
म त्यहि देशको मान्छे हुँ।
कुनै अचम्म मान्नु पर्दैन
यो चमत्कार हिजो भर्खर
सुरु भएको हैन,
पहिले देखिन हावी थियो
अझै जरा फैलिरहेको छ
कोही जुरुर चाहिएको छ
जसले जरा उखेल्न सकोस्।
एउटा सिपाही बन्न
अनेक प्रक्रिया पूरा गर्नुपर्छ
निजामति कर्मचारी बन्न
लोकसेवा पास गर्नुपर्छ
तर नेपाल भन्ने देशमा
मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति
अन्य विशिष्ट पदग्रहण गर्न,
सिर्फ टिका लगाई दिए पुग्छ।
टिकेहरुले देश चलाईरहेका छन
हामीले जबरजस्त गर्व गर्दिनु पर्छ।
अहिलेसम्म भएको त्यहि हो
यहाँ राम्रो पत्रकारको कलम खोसिन्छ
राम्रा विशेषज्ञ चिकित्सकलाई
बाहनाबाजी गरी हत्कडी लगाइन्छ
मजदुरको नाममा चर्को भाषण सुनाइन्छ
भर्याङ उनीहरुको शीर बनाइन्छ।
ओ! सुतेको सरकार
उठ् अब, अझै निन्द्रा पुगेन।
विपदमा गरिबले आँशु झारेका छन्
मजदुरहरु भोकै हिँडेका छन्
राहतको नाममा पीडा थापेका छन्,
तर सरकार मस्त निन्द्रामा छ
न भोकाहरु देख्छ, न गरिब देख्छ
न पीडाको महशुस गर्छ।
यो पार्टी र त्यो पार्टी
मेरो मान्छे र तेरो मान्छे
राहतमा समेत धाधली गरेका छन्
कुहिएको चामल बाडेका छन्
राम्रो चामलमा आँखा गाडेका छन्
ओ! सरकार निन्द्रा पुगेन
उठ् अब अनुगमन गर।
महामारीको युद्धमा खटेको
भोक-तिर्खा, रात-बिहान नभनी
ज्यानको बाजी थापेर
युद्धको मैदानमा उत्रेको
एउटा विशेषज्ञ चिकित्सकलाई
डाक्टरलाई कारबाही सिफारिस गर्ने,
जनतालाई सचेत गराउनेलाई
पुरस्कृत गर्ने हो कि कारबाही?
ओ! मन्त्री, आऊ जनताको कसिमा
र देउ चित्तबुझ्दो जवाफ।
स्वास्थ्य मन्त्रीको दातमा ढुंगा लाग्यो
ढुंगामा हलो अड्काउने काम गर्यो
विपदको बेलामा जाल थाप्यो
ग्लानीले पश्चताप त गर्नु नै छ
दम्भ र अहंकार हट्नु नै छ।
लगाई दे हत्कडी
राम्रा डाक्टरहरुलाई
राम्रा पत्रकारहरुलाई
राम्रा प्रहरीहरुलाई
राम्रा मन्त्रीहरुलाई
राम्रा कर्मचारीहरुलाई
सचेत नागरिकहरुलाई
त्योभन्दा अगाडि
एक पटक ठन्डा दिमाखले सोच!
आत्मालाई साक्षी राखेर सोध
मैले डाक्टरलाई कारबाहीको
सिफारिस गरेर गल्ती त गरिन,
मनले उत्तर दिएन भने
अझै सुत र फेरि उठेर सोच।
ओ! प्रिय डाक्टर नर्सहरु
नडराउ, डगनमगाउ
तिम्रो योगदानको हिसाब राखिने छ
असत्यमाथि सत्यको
विजय पक्का हुन्छ
धैर्यवान बन, नतिजाको प्रतिक्षा गर।