आज बिहानैदेखि गाडी कुदेको आवाज छैन, मानिसहरुको आवतजावत पनि छैन। वातावरणमा सन्नाटा छाएको छ। सदाझै बिहानै होहल्ला गर्दै उठेर दुध र पाउरोटी बोकेर ढोका ढक्ढकाउँदै आउने जेठाजु पनि उठेका छैनन्।
टोलाउँदै झ्यालबाट बाहिरतिर हेर्दा सबै सुनसान छ गाउँघर जस्तै। अनायसै गाउँको याद आयो-0 बा, आमा, स-साना भाइबहिनी। ठूलो भाइ अम्बरे सबेरै उठेर भकारो सोर्दै होला। बहिनी जुनिता आफूभन्दा ठूलो डोकोमा गाग्री राखेर फेदीको धारामा लाइन लागि होला।
बिर्खे र मैया अझैँ सुतिरहेका होलान्। अनि बा मकैको खोस्टामा बेरिएको सुर्तीमा आगो झोसेर आँगनको डिलमा बसेर टोलाउँदै लामो-लामो सर्को तान्दै होलान्। आमा सदाझैँ फत्फताउदै कुखुरा, बाख्राको स्याहार सुसारमा होलिन्।
अहो! मैले घर छोडेको पनि आज त ठ्याक्कै दुई बर्ष भईसकेछ। अब त गाउँ फर्केर जान पनि मन छैन। सहर भनेको सहरै रहेछ, मेरा सपनाका रहरहरु पूरा गर्ने सहर।
गाउँमा एक पोका चाउचाउ खान बाको हाट जाने दिन कुर्नु पर्दथ्यो। सहरमा त जति बेला जे खान मन लाग्यो त्यही पाइने। वर्षैपिच्छे आमा सुत्केरी हुने। कति स्याहार्नु हैरान, फेरि पो बच्चा पाइन् कि? आ जेसुकै होस्।
(फेरि सम्झन्छे) अहो! कस्तो गाह्रो होला, आमालाई सुत्केरी भएको १५ दिनदेखि खेतला जान्थिन्। के गर्नु फरि खेतलापात नगरे घरमा चुलो नबल्ने। बालाई रक्सी खान र तास खेल्न पाए पुगिहाल्थ्यो।
आ.. मलाई त यहीँ सुखै छ। अहिलेसम्म केही काम गर्नु पर्दैन, सबै बलेले गरिहाल्छ। दिदीले पनि त आमाले झैँ माया गर्छिन। एक महिना भयो सुत्केरी भएको, मासु त छाक टुटेको छैन। जेठाजु पनि भनेसम्मका छन्।
त्यो दुःख सम्झदा त घर छोडेको नि ठिकै भएछ। छोरो एक वर्ष नहुँदासम्म काममा नजानु भनेका छन्। अब बले गाउँ जाँदा ठूलो भाइलाई पनि लिएर आउ भन्नु पर्ला। यहाँ काम पाइहाल्छ, पैसा पनि प्रशस्तै हुने रहेछ।
गाउँमा जति काम गरेनि पैसा देख्न पाइन्नथ्यो। खान, लाउन, घुम्न आहा! कति आनन्द, सहरको मज्जा छुट्टै छ। आएदेखि एक पटक नि गाउँ फर्किएको छैन। आमाले भन्थिन् म हिडेपछि गाउँभरी हल्ला भयो रे। कुन चाहिले बेच्ने भयो उम्रदैकी तीन पातेलाई, पढ्दा-पढ्दै हिँडि आदि।
हुन पनि हो। सँगैका साथी पढिरहेका होलान्। आफूलाई त पढ्न मन नै नलाग्ने, घरको कामले कति नै फुर्सद थियो र? पढ्नलाई पनि डेढ घन्टाको बाटो धाएर स्कूल जानु, भाइ-बहिनीको स्याहार, घरको काम। होमवर्क गर्न नभ्याउने। दिनहुँ सरको पिटाई। अहो! सम्झदा पनि आङ सिरिङ्ग हुन्छ।
छोराको रुवाईले पुड्की झसंग हुन्छे। बले कराउँछ- 'हैन कता गयौ, छोरा रोयो भन्या।'
'आए, आए', जवाफ दिन्छे।
'आजदेखि लकडाउन भयो। कहिलेसम्म हो, साहुले पैसा पनि दिएको छैन। अब त के देलान् र? काम नि नभएपछि गाह्रो हुने भयो' बले एक्लै बोल्छ।
सुनेर पनि कुरो बुझिन। 'के भयो र? किन हो काम नहुने?' पुड्कीले सोधि।
'कोरोनाले क्या। आजबाट लकडाउन' बलेले उत्तर दियो।
अझ कुरो बुझिन। कुरो घुमाई 'ए त्यहि भएर हो दाइ नउठेको। बाबुलाई भोक लाग्यो दुध ल्याउनु पर्ने।'
म ल्याउँछु भन्दै बले पसल जान्छ। पुड्की फेरि सोच्छे- के भाको रहेछ? कसैले बन्द गर्यो होला? आ जेसुकै होस्।
उ छोरो स्याहार्न थाल्छे। विस्तारै यता-उता कोठामा बस्नेको चहलपहल सुरु हुन्छ। कुराकानी सुन्छे। बलेले भनेको शब्द फेरि उसको कानमा पर्छ। उसलाई बल्ल याद भयो कोरोना, लकडाउन। त्योभन्दा बढी चासो पनि थिएन उसलाई।
घरबेटी दिदी कौसीमा झर्छिन्। ठूल्ठूलो स्वरमा बोल्छिन्- 'अब सबै पसलहरु बन्द हुन्छ, सामान पाइदैन। अहिल्यै जोहो गर्नु। यस्तो बच्चा सुत्केरी छ, भोलि पाइहाल्छ भनेर नबस्नु। अप्ठ्यारो सबैलाई पर्छ, मागेर पाइदैन। गाउँ जान नि पाउँदैनौ सबै बन्द भयो के गर्ने हो? विचार गर्नु। त्यो बच्चाको बिजोक होला।'
हैन, ठूलै कुरो पो रहेछ कि के हो त्यो कोरोना भन्ने? पुड्की झन् दोधारमा पर्छे। फेरि आफ्नै काममा व्यस्त हुन्छे।
एक हप्तासम्म सबै ठिकै थियो। खानामा कुनै कमी थिएन। दाइले सँगै काम गर्ने पाँच जना केटा पनि कोठामा ल्याएका थिए। काम थिएन, दैनिक मासु, रक्सी र चुरोटको धुवाँले साँघुरो कोठा बसिनसक्नु भएको थियो।
सधैँ बिहान ६ बजे काममा निस्केर बेलुका ७ बजे घर फर्कन्थे सबै जना। दिदीले मिठो खाना बनाएर खुवाउँथिन्, दिनभरको कुरा हुन्थ्यो, थकाईले सबै जना चाडै सुत्थे। आनन्द थियो। अहिले काम छैन। पैसा सकियो, दाइ-दिदीबीच ठाकठुक पर्न थाल्यो।
मलाई र बलेलाई पैसाको विषयमा केही थाहा छैन। चाहिएको सबै कुरा पुगेको थियो, दाइले अह्राएको काम गर्यो। केही महिनादेखि म काममा गइनँ तर पनि राम्ररी चलेकै थियो। दाइले यति धेरै रक्सि पिएको पनि देखेको थिइनँ। आजभोलि दाइ पनि बढी नै पिउँछन्, केटाहरु आएदेखि दिदी हाम्रो कोठामा सुत्छिन्, केटाहरु भुइँमा लस्करै पल्टन्छन्।
केही दिनदेखि दिदीको अनुहारमा हाँसो छैन, निन्याउरो छ अनुहार। सधैँ कामबाट थाकेर आउँदा उनको हाँसोले रमाइलो हुन्थ्यो, थकाई नै मेटिन्थ्यो, ठूलो मन छ उनको। सबैलाई आमाको माया दिएकी थिइन्।
उनकै निराश अनुहारले मेरो मन नरमाइलो भएको छ। कोठामा सबै सामान सकिएको छ। कहिले नगरपालिकाले दाल चामल बाँडेका छ भन्ने सुनेर दौडन्छन्। एक बोरा चामल १० जना लाई कति दिन नै पुग्छ र?
फेरि कसैले खाना खुवाउँदै छ भन्ने सुनेर सबै जना त्यतै दौडन्छन्। मेरो लागि पनि प्याक गरेर ल्याईदिन्छन्। कहिले घरबेटीले पसलमा नबिकेर बाँकी रहेको तरकारी दिन्छन्। त्यसैमा झोल राखेर खायो, पेट नभरिएर होला बच्चा रातभर रुन्छ।
दुध किनेर खुवाउने पैसा पनि कति जनासँग मागिसकियो, माग्ने ठाउँ पनि बाँकी छैन। घरबेटीले पनि भाडा दिन सक्दैनन भनेर होला, नराम्रो व्यवहार गर्न थालीसके। कहिले पानी हुँदैन त कहिले बत्ति अफ गर्दिन्छन्। गाउँ गए हुन्छ, काम बिना किन बस्छौ भनेर कराई रहन्छन्।
आज बिहानैदेखि दिदी रुदै कराईरहेकी छन्। 'घर हिँड, कुम्लो ठिक पार, यसरी कतिन्जेल बस्ने? म त बस्न सक्दिन, बचाएर राखेको अलि-अलि पैसा पनि रक्सि र मासु खाएर सक्यौ, सधै कस्ले दिन्छ र खाने? सबै घर जान लागेका छन् रे, हरे कस्तो दिनमा बुद्धि बिग्रिएर यस्तो भिखारीसँग बिहे गर्न पुगेछु।
छोरी नभएको भए हिडिसक्थेँ, माइती फर्केर जाने बाटो आफैँले बन्द गरेँ, बाबुआमा पनि कति निष्ठुरी रहेछन्, यस्तो विपदमा पनि सम्झेनन्। अझै तिनको रीस मरेन', आदि आदि।
घर सम्झने वित्तिकै मेरो मन डरायो, शरीर काप्यो, हात खुट्टा खत्रक्क भए। टाउको ठूलो पहाडै आएर किचे जस्तै भयो। अहो! कस्तो आपत्ति, कसरी घर जानु? २/४ घन्टाको कुरा भए पो। बसमै एक दिनको बाटो। बस छोडेर पनि ६ घन्टा हिड्नु पर्छ।
घर गएर पनि के गर्ने? के खाने? न बस्ने बास छ न त गरेर खाने ठाउँ छ। पेटभरी मिठो मसिनो खान र वर्षमा एक जोर राम्रो लाउन पाएको भए, बा-आमाको माया पाएको भए, किन पढने, खेल्ने उमेरमा घर छोडेर हिड्न पर्थ्यो र?
दिदी कराईरहेकै थिइन्। उनलाई के थाहा बलेका दाजु-भाइको पीडा? दाइले धेरै कुरा लुकाएर, आफूले सहेर दिदीलाई सुख दिने प्रयत्न गरिरहन्थे तर आज नचाहँदा/नचाहँदै सबै कुरा खुलेको छ।
यी दुई दाजुभाइले आमाको माया पाएनन्। सानैमा आमा बितिन्, बाले अर्की आमा बिहे गरे। केही समय राम्रै थियो। पैसाको दुःख गाउँमा, केही कमाउन भन्दै गाउँका धेरै जना भारत जान्थे। सँगै यिनका बा पनि भारत गएका कहिल्यै फर्केर आएनन्। मरे बाँचे अझसम्म थाहा छैन।
सानीआमाले नि अर्को बिहे गरिन्। थोत्रो घर लडिसक्यो, एक/दुई सुर्का पाखो बारी वर्षभरीमा कोदो-मकै एक बाली हुन्छ। एक महिना पनि खान पुग्दैन, त्यस्तो हालतमा के मुख लिएर गाउँ फर्कनु।
दिदी सहरमा जन्मिएकी, दाइ गाउँबाट आएर काम गर्न त्यही घरमा बसेको। केही वर्षपछि प्रेम भएछ, दुबै भागेछन्। त्यसपछि परिवारले अझसम्म बोलाएका छैनन्।
यति ठूलो सहर, ठूल्ठूला घर, गाडी, लाउने खाने खेल्ने रमाउने सबै कुरा एकै ठाउँ। साँच्चै सपनाको सहर अनि मनभरी पालेका रहर क्षणभरमा चक्नाचुर भए। दुबैले सक्दो काम गर्ने, पैसा कमाउने। छोरोलाई सहरमा बोर्डिङ स्कुलमा पढाउने, हामीले जस्तो दुःख गर्नु नपरोस्,
भाइबहिनी पनि सहर ल्याउने। आमालाई पनि राम्रो लाउने, मिठो खाने रहर पुर्याईदिने सारा सपना, साँच्चै सपना मात्र भए। न त बस्ने घर न त काम गर्ने ठाउँ, न गाउँ न सहर, हामी गरिब ज्याला-मजदुरीमा बाँच्नेलाई सुख कहिल्यै नहुने रहेछ।
यति ठूलो सहरका मान्छे तर मन कति सानो हुँदो रहेछ। कोरोना हामी गरिबका लागि कहर बनेर आएछ। मनभरी अनगिन्ती पीडाहरु साथ डेढ महिनाको बच्चा च्यापेर बिहानको झिसमिसेसँगै नचाहेरै पाइलाहरु अघि बढछन्।
सुनसान सडक, कुकुरको भुकाई गन्तव्य विहीन यात्रा। पुनः एक पटक फर्केर हेर्छे, पूरा नभएका रहरका सपनाको सहर।