फ्रान्ज काफ्का विख्यात अस्तित्ववादी स्रष्टा थिए। उनले प्रतिपादन गरेको अस्तित्ववादी दर्शनलाई उनको निधनपछि काफ्काई (वा काफ्काएस्क) भनेर नामकरण गरिएको छ। काफ्काई कुनै सैद्धान्तिक अवधारणा विकास र परीक्षण गरेर निर्माण गरिएको दर्शन होइन, खास अवस्थामा व्यक्तिको जीवनमा भोगाइले सिर्जना गर्ने मानसिक अवसादितता, एकांकीपन र त्यसले व्यक्तित्व विकासका आयामहरूमा पार्ने प्रभावको अवस्थाबाट निकालिएको निष्कर्ष हो।
अतिदमनकारी व्यवहारबाट जब व्यक्ति आफ्ना विषयमा यो वा त्यो, यसरी वा त्यसरी कुनै व्यवहार गर्न नसक्ने अवस्थामा पुग्छ र एउटा अँध्यारो सुरुङको यात्रा गर्न बाध्य हुन्छ त्यसपछिको परिणाम भनेको व्यर्थता, बेतुकी, अवसादितता, एक्लोपन र काल्पनिक अवास्तविकता हो। व्यक्ति आफ्नोपन र पहिचानलाई यतिसम्म दबाउन बाध्य हुन्छ कि ऊ आफैँलाई संसारको सबैभन्दा निरर्थक, निकम्मा र महत्ताहीन ठान्न पुग्छ। बोध गर्छ, त्यस कारण अस्तित्वमा छ तर महत्ताहीन छ, त्यसकारण अस्तित्वको कुनै अर्थ छैन। त्यसैले खास अवस्थामा सबै व्यक्तिसाथ काफ्काई रहन्छ। सबैको दिमागमा काफ्काई रहन्छ।
फ्रान्ज काफ्काका अस्तित्ववादी कृतिहरू दर्शनका आधारमा लेखिएका थिएनन् तर ती दर्शनमा देखिए। जीवनमा उनले न आफू कुनै दर्शन वा सिर्जना गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई चिनेका थिए न कुनै खास व्यक्तित्व नै थियो। थियो त केवल अति अभिभावकत्व र त्यसले थिचेको, चेप्टिएको, निरर्थक र शून्यवादी मानिस थियो।
अस्तित्ववादीहरू जीवनलाई आफ्नै सङ्क्षेत्रबाट लिन्छन्, भोग्छन् र अस्तित्वको लागि मनदेखि संघर्ष गर्छन्। अस्तित्ववादीहरू विचार र आग्रहबाट जीवनमा अर्थ खोज्दैनन्, जे छ त्यही जीवन हो। अर्थभन्दा पनि अनुभव, क्रिया र भावात्मक रूपमा जीवन जिइरहेका हुन्छन्। अस्तित्वको कुनै आदर्श र अर्थ छैन, कोही श्रेष्ठ र अर्को हीन छैन। आफ्नै मूल्य र नैतिकताको जीवन भोग्छ। अर्थहीन संसारमा अर्थ खोज्छ। स्थिति विपर्ययमा जीवन बाँच्छ र जीवन हुनुको बोधलाई उराल्छ।
तर यसो भन्दैमा अस्तित्ववादीको मत मान्यतामा पनि एकरूपता भने पाइँदैन। सात्र्र, नित्जे, कामु र किर्केगाडबीच पनि अस्तित्वबोध र प्रयोगमा भिन्नता पाइन्छ। अल्वेयर कामु फ्रेडरिक नित्जेलाई आफ्नो आदर्श र प्रेरणास्रोत मान्दछन् तर उनीहरू दुईमा पनि अस्तित्वको अर्थमा फरक पाइन्छ। फ्रान्ज काफ्का व्यावहारिक भोगाइ र स्थितिको विपर्ययले अस्तित्ववादी बनेका हुन्, अरूहरू चिन्तन र व्याख्याबाट।
काफ्काको काफ्काई (अस्तित्ववादी दर्शन) बुझ्नका लागि उनको बाल्यावस्था बुझ्नु जरुरी छ, किनकि बाल्यावस्थामा भएको अति अभिभावकीय (निर्देशात्मक) व्यवहारबाट नै काफ्काई विकास भएको छ। परिवार, विशेषतः बुबा हर्मन काफ्काको व्यवहार बालमैत्री थिएन, बालक काफ्काले बालसुलभ व्यवहार पाएनन्, बचपन बेचैनी, डर र त्रासमा बित्यो। उनका पिता हर्मन काफ्का छोरो फ्रान्ज काफ्का आफूजस्तो किन बनेन भन्ने चिन्तामा उनीप्रति कठोर व्यवहार गर्थे। उनको अघिल्तिर जहिले पनि बुबाको भीमकाय शरीर, कठोर व्यवहार र निर्देशात्मक वचन उपस्थित हुन्थ्यो। यहाँसम्म कि सपनामा पनि त्यही बिम्बले उनलाई लखेटिरहन्थ्यो, सताइरहन्थ्यो।
नौ वर्षको हुँदा उनी ज्वरो आएर सुतिरहेका थिए, उनलाई प्यास लागेछ। उनले आमाबुबासँग रुँदै पानी मागेछन्। बुबाले बेस्सरी हप्काएछन्। उनले रोएर पानी मागिरहे। रिसाएका बुबाले बरन्डामा निकालेर कोठाको चुकुल लगाइदिए। बालक काफ्कालाई पानी तिर्खा त लागेको थियो, त्योभन्दा बढी बुबाआमासँग बस्न चाहेका रहेछन्। यही उनको अपराध थियो, जसका कारण रुँदै रातभर बरन्डामा बिताउन बाध्य भए। बिना अपराध उनले दण्डित हुनुपर्यो। यो नै उनको जीवनको भयानक टर्निङ प्वाइन्ट बन्न पुग्यो। भनौँ काफ्काईको सन्दर्भ भूमि। उनले आफ्नो पीडा डायरीमा लेखेका रहेछन्– ‘मेरो लेखाइ तिम्रै बारेमा हो, म मेरा कथामा तिमीप्रतिको शिकायतमा रोएको छु, तिम्रो छातीमा टाउको राखेर रुन सकिनँ’।
त्यसपछि काफ्का आफ्नो बुबाको अति आज्ञाकारी छोरो भए। उठ भने उठ्ने बस भने बस्ने, त्यो आज्ञाकारिता थिएन, भयङ्कर भय थियो। जिन्दगीभरि नै त्यो भय कायम रह्यो। बुबा हर्मन काफ्का ठुलो कद, मोटोघाटो शरीर, अग्लो उचाइका थिए, स्वर पनि ठुलो थियो; विपरीतमा फ्रान्ज काफ्का दुब्लो, मरन्च्यासे, ख्याउटे, पुड्के र मसिनो स्वरका अन्तर्मुखी स्वभावका थिए। फ्रान्जको अघिल्तिर जहिले पनि ठुलो कद भएको अजङ्गको शरीर उभिएर ठुलो शब्दले हप्काएको बिम्बले तर्साइरह्यो।
सबै अभिभावक आफ्ना सन्तानलाई अनुशासन र असल आचरणमा राख्न चाहन्छन्; नियत सबैको राम्रो हुन्छ तर तरिका भने फरक हुन्छन्। आवश्यकताभन्दा बढी अनुशासन, आदेश र थिचोमिचो हुँदा बालमनोविज्ञान बिग्रन्छ। यो नै काफ्काई दर्शनको जगमध्ये एउटा हो।
आमाबुबा आफ्ना सन्तानको चेहरामा सपना देख्छन्, आकाङ्क्षा र अपेक्षा राख्छन्। राम्रो बनाउने नाउँमा, असल मानिस बनाउने नाउँमा आदेश निर्देश गर्छन्। अति र गलत अभिभावकत्वले बालमनोविज्ञान थिचिन पुग्छ र व्यक्तित्व विकास ठीक विपरीत दिशातर्फ मोडिन्छ। बालक काफ्का बुबा काफ्काको अति अभिभावकत्वले कमजोर, अन्तर्मुखी र बारम्बार बिमारी हुने अवस्थामा पुगेको छ। बुबा हर्मन काफ्का बहिर्मुखी स्वभावका थिए, उग्र महत्वाकाङ्क्षी थिए, दुःखबाट व्यवसायमा माथि पुगेको मानिस थिए, आफ्नो छोरोलाई आफूजस्तै बनाउन चाहन्थे। उनको हप्काइ, डरलाग्दो गाली र कठोर आदेशको असर उल्टो पर्यो। परपीडक व्यक्तित्व र दबङ स्वभावका मानिस आफ्नो महत्त्व देखाउने र अरूलाई निरर्थक सम्झने मनोविज्ञानमा हुन्छन् भन्ने काफ्काई दर्शनको अर्को विशेषता थियो। बुबा हर्मन काफ्काको व्यवहारबाट त्यो पुष्टि भएको छ।
अरू सन्तान (बहिनीहरू) जन्मेपछि हर्मनको दायित्व पनि बढ्यो किनकि अरू सन्तानलाई पनि आफूजस्तै बनाउने सम्पत्ति र सामर्थ्य चाहिने भयो। छिटो कमाउन सकोस्, धेरै कमाओस् भन्ने आशयले होला, छोरामाथि अति निर्देशात्मक बन्दै गए। त्यसपछि फ्रान्ज मनोवैज्ञानिक रूपमा झनै विस्थापित र दमित भए। घरमा सबै सन्तानलाई समान व्यवहार नगर्ने अभिभावक हुँदा कम माया पाउने वा माया नपाउने बालक झनै बेचैनी र विक्षिप्ततामा पुग्छ भन्ने काफ्काईको अर्को सन्दर्भ हो।
बालक फ्रान्ज काफ्काको मनमा उब्जिएको भावना- ‘म होचो, दुब्लो र पातलो छु, बुबा अग्लो, हट्टाकट्टा छन्, मलाई जसरी पनि सताउन सक्छन्’
‘उनी मेरा बुबा हुन्, त्यसकारण ममाथि हुकुम चलाउन र मेरो भावनामाथि शोषण गर्ने अधिकार राख्छन्’
‘बुबा हुनु शक्तिशाली हुनु हो’
‘कोही व्यक्ति उमेरका कारण अर्कोभन्दा श्रेष्ठ हुन सक्छ’
‘शक्तिशाली मानिस कमजोरसँग नोकरजस्तो व्यवहार किन गर्छन्’
‘हर प्रकारको शक्ति बुबाजस्तै हुन्छन्?’ लगायतका सवालहरू फ्रान्ज काफ्काका मनमस्तिष्कमा सँधैभरि उब्जिँदै रहे। उनले देखेको बुबा सशक्त शक्तिको रूप हो। बुबाको चरित्रलाई सामान्यीकरण गरेर सबैतिर शक्तिको अतिअभिभावकत्व, क्रूरता र तानाशाही देखे, आफूलाई भने निकै निरर्थक, बेकामी, महत्ताहीन ठाने।
हर्मन काफ्का शक्ति र शासनका प्रतीक हुन्, फ्रान्ज काफ्का चाहिँ शक्तिहीन र कमजोर वर्गको प्रतिनिधि। उनले जतासुकै आफैलाई आख्यानीकरण गरिरहेका छन्, कृतिका शब्दशब्दमा ‘बुबा बिम्ब’ छ। त्यही बिम्ब र त्यसले सिर्जना गरेको भावलाई सामान्यीकरण गरेर हेर्दा संसार नै यस्तै देखिन्छ; कोही महत्वहीन पारिएका छन्, कोही चाहिँ प्रभुत्वशाली। अस्तित्ववादको जड यही हो, यसैबाट मोक्ष पाउन अस्तित्ववादी स्रष्टाहरू प्रकाशित हुन्छन्। काफ्का यसरी नै प्रकाशित भएका छन्। उनका सबै कृतिका प्रमुख पात्रमा आफैँ पुगेका छन्।
बुबाको व्यवहार र पारिवारिक वातावरणका कारण अन्तर्मुखी स्वभावका काफ्का लेख्थे। मानसिक एक्लोपनलाई भुल्न पनि लेख्थे। उनका कृतिहरू लेख्ने आशयले भन्दा पनि आफैँ भुल्ने साधन थिए, अक्षर उनका आत्मीय साथी थिए। सायद ती लेखाइले उनका मनभित्र गुम्सिएका भावनालाई पोखेर केही भए पनि हलुका महसुस गर्थ्यो होला।
जब कुनै व्यक्तिले सत्ता (शक्ति) को अवसर पाउँछ, कमजोर (श्रम गर्ने) लाई निरङ्कुश र नकारात्मक व्यवहार गर्छ। यो नै काफ्काईको निचोड हो। उनी जतासुकै रहेको शक्तिलाई सत्ता देख्छन् र जहाँ पनि त्यसले तानाशाही लादेको पाउँछन्। जस्तो कि घरको मालिक (बुबा) कुनै सदस्यको इच्छा केही सम्झिँदैन, आफ्ना इच्छा जसरी पनि पूरा गर्छ। त्यस अवस्थामा परिवारका सदस्य तनावपूर्ण, त्रासयुक्त र दमित अवस्थामा पुग्छन्। त्यस्तै कार्यालयका हाकिम, कम्पनीका मालिक, देशका शासक, दलको नेता सबै सत्तावादीहरू अरूमा भय, त्रास र अनिश्चितता पैदा गरेर नै सत्तामा रहिरहन्छन्। सत्ताका साथ निरङ्कुशता गढेर रहन्छ। यो काफ्काईको अर्को सार हो।
जुन बुबाका कारण उनको जीवनमा तनावपूर्ण, निरर्थकता र महत्ताहीन रह्यो, त्यसैको निष्कर्ष उनले जतासुकै देखे। काफ्काको पूरै जीवन निरर्थक, तनावपूर्ण, भयभीत र अनिश्चय अनि रुग्णतामा बित्यो। उनका कृतिहरूमा बुबालाई एक शब्द पनि उल्लेख गरेका छैनन् तर पिता नामको सत्ताको अनुवाद अलग-अलग ढङ्गले गरेका छन्। परिवारमा बुबा भएजस्तै बुबासत्ता कहिले कार्यालयमा हाकिमका नाममा, कहिले अदालतमा न्यायाधीशका रूपमा, कहिले भ्रष्ट शक्तिशाली नेताका रूपमा त कहिले आदर्श ईश्वरका रूपमा देखिन्छ। हाकिम, न्यायाधीश, शासक र ईश्वर काफ्काका बुबाका अलग अलग रूप हुन्। भनौँ, बुबा उनका लागि ईश्वर, शक्ति, सत्ता, तागत र निरङ्कुशताका प्रतीक थिए। तर उनी बुबाका विषयमा कुरा गर्न, कथा सुनाउन केही गर्ने तागत राख्दैनथे, केही भन्नु सत्ताको शिकायत गर्नु सरह थियो।
बुबाको व्यवहार र भौतिक स्वरूपका कारण काफ्का शारीरिक रूपमा झनै रुग्ण र दुब्लो बन्दै गए। बारम्बार बिमार भइरहन्थे। कहिले माइग्रेन, कहिले दिक्दारी, कहिले डिप्रेसनका शिकार हुन्थे। यही अवस्थाका कारण उनलाई क्षयरोगले समात्यो। ४१ वर्षको छोटो उमेरमा नै मृत्यु पनि भयो, स्वस्थ जीवन कहिल्यै जिउन पाएनन्। मन अनि शरीर सधैँ बिमारीमा हुन्थे। मनले शरीरलाई बिमार बनाउँथ्यो, शरीरले मनलाई बिमार बनाउँथ्यो। यसैका कारण उनको मानसिकता र साहित्य बेस्सरी प्रभावित भयो। परिणामतः काफ्काई दर्शन जन्मिन पुग्यो।
मानिसलाई अस्तित्व र महत्तामा पुर्याउने अर्को विषय प्रेम र यौन हो। सबै दर्शनले प्रेम र यौन जीवनत्वमा लिएका छन्। अस्तित्ववादीहरू यी दुई कुराबिना जीवनलाई निस्सार देख्छन्, यी कुरा नहुँदा अस्तित्वमा भौतारिएको देखिएको छ। काफ्काको जीवनमा महिला र यौन सम्बन्ध सुमधुर थिएन। उनका जीवनमा आएका कैयौँ प्रेमिकाहरूसँगको प्रेमले पूर्णता नपाउँदा उनी निराश थिए। मिलिना र फेलिससँग निकै राम्रो प्रेम थियो। फेलिसलाई लेखिएका चिठी मात्र पाँच सयभन्दा बढी थिए भनिन्छ। बुबाको कारण विवाहको अवस्थामा पुगेनन्। यौनप्यासका लागि वेश्यालय जान्थे र त्यहाँ जीवनको अर्को निरर्थक रूप देखेर फर्किन्थे, झनै निराश बन्थे।
अन्तिम प्रेमिका डोरा डायमन्टसँग त बर्लिनमा डेरा लिएर केही समय सँगै पनि बसेका थिए। क्षयरोगका कारण यो प्रेमले पनि पूर्णता पाएन। यसर्थ उनका जीवनलाई भत्काउने तीन कारकहरू थिए: बुबाको अतिअभिभावकत्व, खराब स्वास्थ्य र असफल प्रेम। अतिअभिभावकत्वले उनको निजत्व र स्वतन्त्रतालाई दमन गर्यो र व्यक्तित्व विकास हुन दिएन। दोस्रो, खराब स्वास्थ्यले सामर्थ्यहीनता र दुर्बल भावना पैदा गर्यो र तेस्रो प्रेमको अभावले जीवनलाई थप निराश बनायो। यी तीन कारणले काफ्काई वा व्यग्र व्यर्थताको दर्शन विकास हुन पुग्यो।
सानैदेखि फ्रान्ज काफ्कामा लेखक बन्ने, साहित्य पढ्ने इच्छा थियो। बुबा भने कानुन पढाउन चाहन्थे। बुबाको इच्छा विरुद्ध जाने हिम्मत थिएन, कानुन पढ्न थाले। तर साहित्य पढ्ने, लेख्ने चाख भने मारेनन्। कलेजमा उनको सङ्गत साथी म्याक्स ब्रडसँग भयो, जो आफैँ पनि लेखक थिए। उनले लेखनलाई निरन्तरता दिइरहन प्रोत्साहन गरिरहे। सायद ब्रडसँग काफ्काको सङ्गत नभएको भए काफ्काजस्तो महान् लेखक विश्वले पाउने थिएन। जति नै निराश हुँदा पनि लेख्न पढ्न छाड्नु हुँदैन भन्ने ब्रडको सुझाव काफ्कालाई गड्न पुग्यो।
बुबाको नकारात्मक व्यवहार, असफल प्रेम सम्बन्ध र जतासुकै निष्पट अँध्यारो सुरुङयात्रामा पनि उनले लेख्न छाडेनन्। आफू लेख्न पनि सक्छु, राम्रै लेख्छु भन्ने बोध उनीमा थिएन। आफ्नो जीवनलाई महत्ताहीन ठान्नेले राम्रो लेख्छु भन्ने बोध नगर्नु स्वाभाविक थियो। तर उनले एक प्रसङ्गमा भनेझैँ जसरी मुर्दालाई चिहानबाट अलग गर्न सकिँदैन, त्यसरी नै मलाई पनि लेखनबाट अलग गर्न सकिँदैन। उनले लेखिरहे तर उनलाई लागिरह्यो त्यो लेखाइको कुनै अर्थ छैन।
जीवनलाई अर्थहीन देख्ने, परिस्थितिले खेदेका मानिसलाई एकपछि अर्को दुःख आइ नै रहन्छ, जति दुःख आउँछ त्योभन्दा बढी त्यसको बोध हुन्छ र मनोभावनालाई ती दुःखद स्थितिले ङ्यार्याकङुरुक पारेर उठ्न दिँदैन र व्यक्ति गुम्फित हुन्छ। ठीक यही स्थिति फ्रान्ज काफ्काको जीवनमा छ। बुबाको व्यवहार, शारीरिक अवस्था र प्रेमसम्बन्धमा मात्र स्थिति प्रतिकूल थिएन, जागिरमा पनि त्यही स्थिति दोहोरियो। कलेज सकेपछि वकिल फर्म र बिमा कम्पनीमा काम गरे। धेरै खटे तर जीवन धान्ने पैसा जुरेन।
खर्च धान्न अतिरिक्त समय काम गरे, अतिरिक्त पारिश्रमिक पाएनन्। जुन कुरा आफ्नो बुबाको दबङ, जिद्धी र दुर्व्यवहार थियो, त्यही कुरा काम गरेका संस्थाहरूमा पनि देखे, भोगे। दिमागमा घुमिरह्यो, पिता एउटा शक्ति हो। जुन जुन कार्यालयमा व्यवहार गरे, पिताशक्ति अर्को रूपमा आइ नै रह्यो। कार्यालयहरूमा कागजी कामको जटिलता र जञ्जाल देखे। कर्मचारीतन्त्रको भुलभुलैयाले लखेट्यो। निष्कर्ष निकाले, कार्यालयमा सामान्य समस्यालाई जटिल बनाउनु ब्युरोक्रेसीको आदत रहेछ।
उनको उपन्यासमा ब्युरोक्रेटिक जटिलताको दार्शनिक चित्रण छ। उनको कथा पोसिडियनमा ग्रिक देवता कागजमा यति भुल्यो, रमायो कि ईश्वर पनि त्यहाँ आएर ईश्वरत्व भुल्थ्यो। काफ्काले आफूले नोकरी गरेको कार्यालयमा कर्मचारीतन्त्रको पोसिडियन शैलीलाई कृतिहरू मेटामोर्फोसिस, द ट्रायल, क्यासल र अमेरिकामा प्रतीकात्मक रूपमा देखाएका छन्। मुगलकालीन कवि सुरदासले प्रशासनलाई जसरी उल्लेख गरे, काफ्काले भने आफैँले भोगे।
उनको विख्यात कृति ‘द ट्रायल’ मा प्रतीकात्मक रूपमा आफैँ छन्। यहाँको मुख्य पात्र जोसेफ के बिना अपराध दण्डित छ। कसैले जोसेफ के विरुद्ध अफवाह फैलाउँछ, ऊ अनाहकमा गिरफ्तारीमा पर्छ। न्यायालयमा यतिविघ्न कागजी जञ्जालमा फस्छ कि ‘के मैले अपराध त गरेको छैन’ भन्ने आफैँप्रतिको ग्लानिबोधको स्थितिमा पुग्छ। जसरी काफ्का नौ वर्षको उमेरमा बुबाबाट बिना अपराध दण्डित भएका थिए, त्यत्तिकै दण्ड स्वीकारेका थिए। ‘द ट्रायल’ मा जोसेफ के त्यसरी नै दण्डित भए। काफ्कालाई पिता नामको सत्ताले बिना अपराध दण्ड दियो, जोसेफ केलाई राज्य नामको सत्ताले त्यसरी नै दण्डित गर्यो। सत्ता फरक थियो, परिणाम एकै थियो– बिना अपराध सजाय। पिताले सन्तानलाई अनुशासनमा राख्ने नाममा अहङ्कारले सजाय दियो, न्यायालयले पनि न्यायग्राहीलाई न्याय दिने नाममा अन्याय गरी सजाय दियो। दुवै अर्थमा जीवन बर्बादीमा छ।
काफ्काको सबैभन्दा प्रख्यात कृति ‘मेटामोर्फोसिस’ हो। उनले यस कृतिको पहिलो पङ्क्तिमा भनेका छन्– ‘जब बिहान ग्रेगर साम्सा भयङ्कर सपनाबाट ब्युँझियो, उसले आफूलाई एउटा किरामा परिणत भएको पायो। उसले आफूलाई सम्झियो कि आफ्नो बुबाको जुत्ताबाट कुल्चिएर त मर्दिनँ। फेरि उसले उसका आफ्ना बारेमा बाहिर भनेका कुरा सुन्यो, त्यो किरा ग्रेगर साम्सा होइन, त्यसलाई मार्नुपर्छ। मानौँ त्यो किरा मर्नुसँग संसारलाई कुनै घाटा छैन।’ काफ्काको साम्सालाई प्रतीक बनाएर भनिएको लाक्षणिक भनाइ उनको बाल्यकालमा बुबाबाट पाएको व्यवहारको रिफ्लेक्सन हो। जसरी बुबाका लागि काफ्का निरर्थक थिए, किरा समान थिए, त्यसैको प्रतिनिधित्व मेटामोर्फोसिसमा ग्रेगर साम्सा हो। उनी बिम्ब बनाएर भनिरहेका छन्, म छोरोको अर्थमा होइन किराको अर्थमा छु।
उनको अर्को कृति ‘जजमेन्ट’ मा पितासत्ताको भयानक डरलाग्दो र त्रासदीपूर्ण कथा छ। यस कथाको नायक बुबासँग घरमा बसिरहेको छ, उसको छिट्टै विवाह हुनेवाला छ। तर बुबा बिमारी भएर बिछ्यौना परेकाले ऊ हरतरह स्याहारसुसार गरिरहेको छ। एकदिन बुबा बिछ्यौनाबाट उठेर आफूलाई केही पनि नगरेको भनी भारी गाली गर्छ र भन्छ ‘तँजस्ता धोकेबाजले त खोलामा डुबेर मर्नुपर्छ।’ नायक बुबाको यस प्रकारको अनाहकको गालीले विक्षिप्त हुन्छ, आफूले अपराध गरे गरिनँ समेत नसोची दौडेर केही परको खोलामा हामफालेर मर्छ। यहाँ पनि लेखकले बाल्यावस्थामा बुबाबाट भएको व्यवहारको प्रतिनिधित्व छ। जसरी लेखकले कुनै गल्ती नगरे पनि बुबाले दिएको सजायलाई आज्ञाकारी भएर स्वीकार गरे, जीवन बर्बाद पारे, त्यसरी नै जजमेन्टको नायक पनि गलत आरोपमा पनि आज्ञाकारी भएर जीवनबाटै बिदा हुन्छ।
सत्ता आफ्नै आशयमा फैसला गर्छ, न्यायनिसाफ चाहिँ गर्दैन। आफ्नै धारणा पूरा गर्ने कार्यलाई निसाफ (न्याय) भन्छ। न्याय माग्नेले न्याय पाउँदैन तैपनि स्वीकार्नुको विकल्प छैन। यो थिति नबसेको मुलुकको साझा अवस्था हो। काफ्काई दर्शनको यो मुख्य सार हो।
हाम्रा जीवनमा यस्ता स्थिति आइ नै रहन्छन् कि हामी कार्यालयमा ब्युरोक्रेटिक भुलभुलैयामा फस्छौँ, कागजको जञ्जालले ज्यान लिन बेर लगाउँदैन, शक्तिशालीको मनचिन्ते फैसला मान्नुपर्छ, अत्याचारलाई न्याय मान्ने बाध्यता छ। चारैतिर अत्याचार छ तैपनि सत्ता न्याय गरेको भनिरहन्छ। त्यो सत्ता परिवारमा, समाजमा, कार्यालयमा, कम्पनीमा, न्यायालयमा, सरकारमा जतासुकै छ। तर सबै सत्ताको मारमा चेपिएको, थिचिएको, शोषित जीवन दीनहीन अस्तित्वमा घिरिघिरि बाँचिरहेको छ। मोक्षका ढोका थुनेर मोक्ष खोज्ने भोगिएको प्रवृत्ति काफ्काई हो। यो फ्रान्ज काफ्काको वैयक्तिक भोगाइको आख्यानीकरण हो। त्यसैले यसमा लेखकीय अन्तर्बोध छ। कथाहरू मिथकीय जस्ता देखिए पनि ती वास्तविक हुन्।
उनका केही कृतिहरू जीवित हुँदै छापिए तर तिनले खासै मान्यता पाएनन्। उनी स्थापित बनेनन्। आफू स्थापित हुनमा पनि उनलाई खासै चासो थिएन। किनकि उनले लेख्नका लागि, स्थापित हुनका लागि, वाहवाहीका लागि लेखेका थिएनन्। ती त अक्षरमार्फत आफैँ पोखिएका जीवन थिए, व्यग्र व्यर्थतामा त्यत्तिकै लेखिएका अक्षर थिए, मनभित्रका गुम्फन थिए। आफ्नै लेखाइप्रति पनि उनको असहमति र असन्तुष्टि थियो। त्यसैले काफ्का द ट्रायल, क्यासल र अमेरिका परिमार्जन गरी पूर्ण गर्न चाहन्थे।
मृत्यु हुनुअघि काफ्काले नछापिएका कृतिका पाण्डुलिपि, डायरी र चिठीहरू आफ्ना एक मात्र आत्मीय साथी म्याक्स ब्रडलाई दिँदै भनेका थिए– ‘म यी कृतिबाट असन्तुष्ट र निराश छु। मेरो मृत्युपछि यी सबैलाई नहेरी जलाइदिनू।’ उनी चाहन्थे उनी मरेपछि उनका सबै कथाहरू उनीसँगै मरून्। ब्रडले साथीलाई हुन्छ त भने, साथीको अन्तिम इच्छा पूरा गर्दिनँ भन्न सक्ने अवस्थामा थिएनन् तर सच्चाइमा त्यसो नगरी साथीको मृत्युपछि उनका सबै कृति क्रमशः प्रकाशित गरेर काफ्काको विचार र विश्व वाङ्मयलाई ठुलो गुन लगाए। एक महान् मानिस, विशिष्ट स्रष्टा जसले आफूलाई चिनेका थिएनन्, उनको ज्ञान र दर्शनबाट विश्व लाभान्वित हुन पुग्यो। काफ्काका यी कृतिहरू पछि विश्व साहित्यको इतिहास दुई भागमा विभाजन गर्न सकिने भयो, एउटा काफ्का पूर्व र अर्को काफ्का पछि। भारतका निर्मल वर्मा, नेपालका पारिजात, प्रेमा शाहहरूमा उनको लेखनीको बेस्सरी प्रभाव परेको छ।
हामीमध्ये कतिले आफूलाई महत्ताहीन ठानेर बर्बाद पारेका छौँ। आफ्ना सन्तानलाई राम्रो गर्ने नाममा बर्बाद गरेका छौँ। राम्रो गर्ने नाममा संस्थालाई अमानवीय बनाएका छौँ। उचित प्रक्रियाका नाममा ब्युरोक्रेटिक सञ्जालबाट अनुचित गरेका छौँ। प्रणालीका नाममा बेथिति बसाएका छौँ। न्यायका नाममा अन्याय गरेका छौँ। सेवाका नाममा शासन गरेका छौँ। यी सबै सत्ताका प्रवृत्तिलाई विद्युतीय झड्का दिने स्रष्टाका रूपमा फ्रान्ज काफ्का देखिएका छन्। काफ्काका कृति अक्षर होइनन्, जञ्जालीकृत जटिल जीवनको वस्तुगत चित्र हो, समाजप्रतिको असहमति हो। यी असहमतिका स्वरहरू अर्थहीन होइनन्, अर्थवान् छन्, अस्तित्ववादी छन्।
अस्तित्ववादीहरूको साझा मतमा मानिस विशेष परिस्थितिको परिणाम हो। मानिस पूर्वनिर्धारित अस्तित्व बिना नै जन्मन्छ अनि कर्म, स्वतन्त्रता र जिम्मेवारीले जीवनको अर्थ दिन्छ। अस्तित्ववादीहरू जीवनको कुनै अर्थ देख्दैनन् र निराश हुन्छन्। व्यग्र व्यर्थतामा जीवन जिइरहेका हुन्छन्, आफू हुनुको झिनो बोधले जीवनलाई घिच्याइरहेको हुन्छ। यही बोध वा हुनुको बोध नै अस्तित्व हो। जसरी काफ्का (लेखनीमा मात्र होइन, आफ्नै जीवनमा पनि) व्यर्थता (एब्सर्डिटी) भित्र अर्थ खोजिरहेका छन्। जाँ पल सात्र्रले भने झैँ अर्थहीन विश्वमा अर्थ खोज्नु (सर्च फर आन्सर इन अन आन्सरलेस वर्ल्ड) अस्तित्वबोध हो। अस्तित्ववादीका लागि जीवनको अर्थ खोज्ने कुनै निर्धारित विधि र निर्देशिका छैन, आफ्नै चेतना, विवेक र मूल्यमा बाँचिरहेको हुन्छ। आफ्नै निर्णय र निजत्वको चयन गर्ने सामर्थ्य र स्वतन्त्रता नराखेसम्म जीवनको अर्थ भेटिँदैन।
व्यक्तिको चयन नै एकमात्र यथार्थ हो, यसैले मात्र उसलाई आधिकारिकता र मूल्य दिन्छ। फ्रान्ज काफ्का र उनका आख्यानीकृत पात्रहरू रुचि र बौद्धिकतामा रहेर जीवनको विवेचना गरिरहेका छैनन्, परिस्थिति र भोगाइ नै यस खालको छ कि त्यसले व्यग्र बेचैनीका साथ सकी नसकी मोक्ष मूल्य खोजिरहेका छन्।