Ncell
Setopati
x
Deepal
Setopati
x
Deepal
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, फागुन २४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पुरानो साइकल

Nmb
Nmb
देवेन्द्र बागलुङे `कान्छा`

देवेन्द्र बागलुङे `कान्छा`

gibl
gibl
gibl
gibl
देवेन्द्र बागलुङे 'कान्छा'।
देवेन्द्र बागलुङे 'कान्छा'।
Tata box 1
Tata box 1

पीताम्बर सानैमा डल्ले डल्ले तर निकै बलिष्ठ थियो। आमा रनमायाको पाँच बहिनीमुनि भएपनि एउटा छोरो पाउने निकै ठूलो धोको बाँकी नै रहिरहेको र उता जेठी छोरी रमिताको पनि भाइ खेलाउने रहरका बीच जन्मेको थियो ऊ।

अन्तिममा जन्मेको सन्तान भन्ने थाहा पाएर होला, घरमा आमा बाबुले 'डल्ले खुर्सानी' भनी बोलाए पनि स्कुलमा केसी सरले जिस्काएर 'कान्छी बेते' भन्थे। त्यो सुनेर माया मिस मुसुमुसु हाँसिरहन्थिन्।

लडी खेल्न र घुँडे खेल्न भने पछि हुरुक्कै हुन्थ्यो। खेलमा रोइकराइ गरेर पनि जित्नै पर्ने स्वभाव। हाफ छुट्टीमा खेल्न निस्कियो। धान काटी घरमा भित्र्याइसकेपछिका स्कुलमाथिका उदाङ्गो खेतका गह्रा र फोगटाका कान्ला चढ्दै सिरानमा पुग्यो, अनि कुकुरमुन्टी खेल्दै तल आइपुग्यो। भोकले भित्र-भित्रै सारङ्गी बजाउँथ्यो। तर कान्लाका भित्ता नाघ्ने जोसले भोक नै भित्ता लागिसकेको हुन्थ्यो।

ठूल्दिदीले भाइलाई किताब बोकेर स्कुल लैजान सजिलो होस् भनी बुनिदिएको उनीको निलो झोलाको फित्ता चुँडिएपछि जाडोमा त्यसैलाई टोपी बनाउँदै लगाएर जान्थ्यो ऊ।

'हेर हेर झोलाको टोपी लाएको' केटीहरूले हौसिंदै जिस्क्याउँथे।

कैलो कपाल अनि टुप्पोमा छेस्काको जस्तै चुच्चो परेको त्यही झोलाको टोपी देखेर केटाकेटीहरु एकै स्वरमा कराउँथे। 'अम्रिकाने देशको टोपी लाउँछ छेस्को, नाम के हो त्यसको?' बीचमा एउटाले उफ्रिदै उत्तर दिन्थ्यो 'पीताम्बरे।'

ढुङ्गे छानाको घर पाली अड्याउन पिढीँमा ठड्‍याइएको ज्यामिरको थाम हत्केलाले ठोक्दा घुमघुम आवाज निस्कन्थ्यो। त्यही थाम बजाउँदै उही ताल छोपेर चैते दशैँमा बागलुङमा लाग्ने मेला भर्न जाँदा बाबु रंगध्वजले छोरीहरुका लागि तिज र रत्यौलीमा घन्काउन ल्याइदिएको मादल बजाउन जान्ने भएको थियो। गानबजानमा दिलचस्पी भएर नै पछि-पछि त ऊ डम्फु र पञ्चेबाजाका सहनाई बाहेकका सबै बाजा बजाउन सिपालु हुँदै गएको थियो।

Premier
Premier

सात कक्षामा पढ्दाको कुरा। कहिलेकाहीँ स्कुलको कक्षा कोठामा अन्तिम सिटमा बसी अघिल्लो सिटमा बस्ने केटीहरुलाई पुच्छर बनाउँदै जामा र प्यान्टका पेटीघरमा सुटुक्क अल्झाइदिएर सरले बाहिर हेरेको बेला खुसुक्क वल्लो सिटमा आइ बस्थ्यो। रोक्का सरले अलिबेर पछि मात्र पत्तो पाएर 'के जात्रा हो यो?' भन्थे। र, मज्जैले रिसाउँथे।

'कसले हो हँ उपद्रो मच्चाउने, त्यसको ढाँड सोझ्याइदिन्छु?'

Ncell
Ncell

उनी कड्किन्थे। तर पछिल्ला सिटमा बस्ने सबैको एकै मत। सबै तै चुप, मै चुप। पीताम्बर निकै ठूलो काम तमाम गरेझैं सरले अत्तोपत्तो नपाउने गरी भद्र भएर बस्न खप्पिस थियो। पुच्छर हालेको साथीलाई 'हनुमानजी' भन्दै कक्षा कोठा बाहिर निस्कदाँ सबैले गिज्याएर गलल्ल हाँस्थे। पीताम्बर खुसीले पुलकित हुँदै बुरुक्क उफ्रन्थ्यो।

माथिल्लो कक्षाका कोही-कोही सिनियर केटाहरुले रकेट बनाएर कहिले राम्रा राम्रा कलकलाउँदा रमणीहरुको नाम लेखेर तिनीहरुको बीचमा खस्ने गरी स्वाट्ट पारेर उडाएको देख्थ्यो उसले।

एक दिन विज्ञानको कक्षा चल्दै गर्दा उसले रम्भाकुमारीको पछाडि कुर्कुच्चासम्म पुग्ने गरी लामो पुच्छर हाल्देको धेरै समयसम्म पत्तै पाइने। पछि घर फर्कने बेला साथीहरु एकार्कालाई हेर्दै कानेखुसी गर्दा पो सुइको पाएर खङ्ग्रङ्ग पर्दै लाजले मुख रातोपिरो बनाएकी थिइ। कक्षामा सबैभन्दा सोझी केटीमा पर्थी रम्भाकुमारी।

उट्पट्याङ पनि कति जानेको। मुजा पर्ने ठाउँमा उध्रेको सुर्के झोलाको डोरी समाउँदै स्कुलबाट फर्कँदै गर्दा पत्यानीको चउरमा आइपुग्दा 'तरुनीलाई बोलाउन जानेका छौ दाइ?' भन्दै तेह्र वर्षको बच्चो मेरो गुरु बन्न बहुतै लालायित बन्दै सिकाउन खोज्थ्यो मलाई।

'तरुनीका पछि लाग्ने, जिभ्रो दुई औँलाले च्यापेर सुइट्ट सिठ्ठी मार्ने, त्यसपछि तिनेरुले पछि फर्केर हेर्छन् अनि कान कोट्याएझैँ गरेर बुढी औँला कानभित्र घुसारी अघिल्तिर घुमाउँदै बाँकी पन्जाले इङ्गित गर्दै हेर, यी यसरी बोलाउनुपर्छ' भन्दै इसारा गर्ने तरिका बताउँथ्यो।

स्कुलनेर शमीको भीमकाय रुख थियो। त्यही रुखबाट झरेका पातहरु टिपेर बजाउन सिकेको थियो उसले। उतिबेला चलेको बमबहादुर कार्कीको 'माया हो पात बजाउँदै झरे है ‌ओराली…' बोलको गीत र ऊ बेला भाका मिलाइ मिलाइ रुन नआए पनि रुनुपर्छ भनेर बिहेका लागि केटीहरुले सिकेको बेहुली रुने लय 'ए मेरी आमा, ए मेरा बाबा...' को ठ्याक्कै पारा ल्याउँथ्यो।

ठूलाखेतकी ठूलीआमा त 'हैन कता बेहुली रुँदैछे' भन्दै हेर्न डढेलोको डाँडामा निस्किन्थिन्। पीताम्बरलाई देखेपछि 'तलाई बजिया' भन्दै आफ्नो काममा लाग्थिन्। कति चाँडै पुस्तान्तरण हुन्छन् नजाती कुराहरु। कति छिट्टो सिको गर्न सक्छन् बच्चाहरु अघिल्लो पुस्ताका गलत बोलीचाली, आनीबानी र आचरणहरु।

पर्यटकहरु निकै घुम्न आउने बाटोमा पर्ने भैरवी गाउँ। सेतो हिउँले नै नुहाएर जूनमा सुकाएको जस्तो छाला, खैरो र हल्का रातोरातो कपाल, भुईँफुट्टा मान्छेका लागि आकाश नै छोएजस्तो देखिने अग्लो कद अनि टाउकोमा चस्मा र पछाडि ट्रेकिङका झिटीझाम्टा कोचेर भरेको ठूलो झोला बोकेका मान्छे देखे त विदेशी आए भन्दै हेर्न हतार-हतार गर्दै निस्किहाल्न मन लाग्ने बाल वय।

उसले सुनेको थियो, विदेशीलाई देखे नमस्कार गर्नुपर्छ, पैसा दिन्छन् भनेर। उस बखत सुन्तला रंगका केस्रे मिठाइ र दाम्ले मिठाइ बजारमा खुब चलेका थिए। दाम्ले मिठाइ औधी मन पर्थ्यो पीताम्बरलाई। विदेशीले कतै पैसा दिइहाल्छन् र मिठाइ किनेर खान पाइएला भनेर घरमा आएका आफन्तलाई 'बाबु नमस्कार गर्नुपर्छ है' भनी हजारौं पटक सिकाउँदा पनि टेरपुच्छर नलाउनेले बाटोमा विदेशीलाई देख्यो की अरुभन्दा पहिलो बन्न तँछाड मछाड गरी दौडेर बाटै छेकेर 'नमस्कार' भन्थ्यो।

विदेशीहरूले उसले बेजोड उत्साहका साथ गरेको नमस्कारको जवाफमा हात उठाउँदै फगत मुस्कान फर्काउँथे। ऊ जिल्ल पर्थ्यो। उसलाई के थाहा, प्राय: थोरै पैसामा धेरै घुम्न पाइने इरादामा नेपाल घुम्न आएका विदेशीहरुको हैसियत। उसको बबुरो आशा कुहेको कर्कलो जसरी फतक्कै भएर भुईंभरि हुन्थ्यो। मुहार मण्डलमा कालो घटा दौडिहाल्थ्यो।

मिठाइको सपना चक्नाचुर हुँदा माथि डाँडोमा पुगी खाउँला भनी साँचेको हातमा आइसकेको दाम्ले मिठाइ डकेर बसेको स्वयम्भूको भोको बाँदरले उकालोमा सिंढी चढ्दा-चढ्दै खोसेर खाईदिएजस्तै अनुभूतिले विषादित बन्न पुगेथ्यो ऊ।

पैसा भन्ने जिनिस पनि कस्तो! छ्यालब्याल त जेफ बेजोस र बिल गेटसलाई पनि नहुँदो रहेछ।

'पल्टनमा भर्ती हुने हो बा म त' भन्थ्यो। तर पछि छरछिमेकीको संगतले सरकारी जागिर खाने रहर अंकुरण भएको थियो, पीताम्बरको मनको ब्याडमा।

रहरहरु पनि कति अनौठा बनिदिन्छन्। यता एउटा थोकको रहर गर्‍यो, त्यो रहर के पुग्न खोज्ला खोज्ला जस्तो गर्छ, उता अर्को रहर बिना प्रसव व्यथा पत्तै नपाई फुत्त जन्मिहाल्ने। बचपनमा स्कुल जाँदा साइकल देख्यो। अरु साथी साइकल चढेर आउँदा साइकल चढ्न पाए कति भाग्यमानी भइएला भन्यो।

गरिबीको दुष्चक्रबाट सानो छिद्र बनाई उम्केर जेनतेन बाहिर निस्किएर साइकल किन्ने सामर्थ्य बटुल्यो तर त्यतिबेलासम्म साइकलको रहर पातालमा पुगिसक्छ। अनि आवश्यकताले मोटरसाइकल माग्छ। कनीकुथी मोटरसाइकल किन्न सक्ने पाइन जम्मा गर्‍यो, रहर त उकालिएर दुईपाङ्ग्रेबाट चारपाङ्ग्रेमा चढिसक्छ। तर क्यार्नु, घाँटी हेर्दा निल्न नसकिने गरी अनायासै थला पर्छ कारको रहर। अनि बेकार बन्छ।

हजुरबा रसिकलालले बेला बेला आफ्ना अनुभूतिहरु उसलाई सुनाउँथे। 'हेर नाति उबेला बैंस छन्जेल के-के खान मन लाउथ्यो। तर खान त के, हेरेर चित्त बुझाउन पनि पाइन्थेन। अहिले बुढो भइयो। केही खान हुन्न। पाएर नि केही चाहिएन जस्तै हुने रै'च। रहर भनेकै चाहिँदा नपाइने र पाइदा नचाहिने पो रैच।'

'भतिज, तलाई एउटा कुरा था'छ?'

उसलाई काका मुनीश्वरले नौ कक्षामा पढ्दा भनेको कुरा दिमागमा कोडाक क्यामराको रिल जसरी घुम्न थाल्छ।

'जति-जति उमेर, पढाइ र अनुभवका सिंढीहरु चढ्दै जान्छ नि, त्यति त्यति हिल चप्पल र जुत्ताको उचाइ ‌ओरालिंदै जानेरहेछ।' उसले निकै पछि आएर काकाले भनेको सही रहेछ भन्ने महशुस गरेथ्यो।

बैंसालु वय पनि बडो गज्जबको हुने। यसो घाँटीको लेघ्रो तानेर गीत गाउन थाल्यो, गायक बनूँ-बनूँ लाग्ने। उत्निखेरै ऐना हेर्‍यो, कता कता के-के मिलेको जस्तो देखिन्छ, नायक पो बनौँ की जस्तो लाग्ने। बल्लतल्ल उम्रेका जुँगाका टुसाले नायक बन्ने रहरमा बाँध बनाउँछन् र तगारो हाल्छन् की भनेर बलात् निमोठ्थ्यो उसले। चिम्टीले मज्जैले उखेल्थ्यो। विचरा जुँगाका त्यान्द्राको नजन्मिदै इहलीला नै समाप्त पारिदिन्थ्यो।

ऐना हेर्दाहेर्दै ऐनाले नै गिज्याएर ऐना हाँसेको होकी आफू हाँसेको हो, पत्तै नहुने। कहिले सबैथोक मैमा छ की जस्तो लाग्ने। कहिले सबैथोक भुइँमा छ की जस्तो लाग्ने। रहरको कुटोले भित्र-भित्रै खोज्यो र छाम्यो, कताकता के के डल्ला भेटिने। भरोसाको डल्लेठोले तिनै डल्ला फुटाएर मनका गह्रासम्म बनायो। कहिले सबै चिज पुगेजस्तै लाग्ने, कहिले अभावै अभाव सर्वत्र।

गैरीगाउँ र लाकुरीबोटको बीचको सानो सेपिलो वस्ती भैरवी गाउँमा जन्मेको थियो ऊ। गाउँभरि येनकेन प्राइमरी स्कुलसम्म पढ्यो। पैसा चिन्ने भयो अनि पैसा कमाउन पल्टनमा भर्ती भएर लाहुरे बन्ने लहर थियो। 

लाकुरीबोटतिर मुन्टो फर्कायो जिल्ला सदरमुकाममा अग्ला घर बनाएर भाडामा लगाएर गाउँमा त्यही भाडाले आनन्दले परिवार चलाएका झिल्के लाहुरेहरु। छुट्टी आउँदा'नि काँधमा नेशनल प्यानासोनिकको टेपरिकर्डमा दोहोरी गीत घन्काउँदै, भरियालाई भारी बोकाई तामझामका साथ रमका किरीमिरी बोतल (जसलाई लाहुरेहरुले रेगुलर युज इज मेडिसिन भन्थे) ले टम्म भरेर ल्याएका अटैंचीदेखि त्यही रमको आशामा दुईचार जना गाउँलेहरु पछि लगाउँदै आउने।

लाहुरे आयो भने'सी सेता तिल मिठाइको आशामा मुख मिठाउँदै वरपरका भुराभुरीहरु धुइरिने हङ्कङ, मलाया र इण्डियाका लाहुरेहरुको गाउँ र रवाफिला गाउँलेहरु। उता गैरीगाउँतिर फर्क्यो, राजधानीमा चार आना चार बित्तामा घर बनाई त्यही घरसँग लिसोझैं टाँसिएर बसिरहेका नेपालमै जागिर खाएका मास्टर र कर्मचारीहरु सहितका जवाफिला गाउँलेहरु।

केही दिनसम्म पीताम्बरले दुवैतिरका गाउँलेहरुको चुरीफुरीलाई मनको तुलोमा जोखेर हेर्‍यो। स्कुल जीवनमा अरुको बहकाउमा परेर म फलानो तँ तिलानो पार्टीको भन्दै हिड्न लागेको पीताम्बरले पछि अर्थशास्त्र पढेपछि बल्ल महशुस गरेथ्यो।

'आखिर भौतिक सुख र समुन्नत जीवन नै मान्छेका हरेक संघर्षको गन्तव्य हो रहेछ त केलाई पुँजीवादी, केलाई साम्यवादी भन्नुपर्‍यो। समाजमा मान्छेबीच कित्ता काँट किन? यही वादका नाममा शिखण्डीहरुका पछि लागेर विखण्डित किन हुनुपर्‍यो?'

लाकुरीबोटका लाहुरे गाउँलेहरुको रवाफले जितेपछि एसएलसी परीक्षा दिएपछि एकाबिहानै कागले बिस्टा नखाँदै उठेर आँखा मिच्दै, चोचो पनि नभिजाइकन लाहुरे हुने ध्याउन्नमा ऊ तिघ्रा बजार्दै दौडिन थाल्यो। पुस-अप, सेट-अप र चिन-अप जस्ता अनेक अभ्यास गर्दै जाँदा लखतरान पर्दै सम्झिन्थ्यो 'खै, मेरो कर्ममा त लाहुरे बन्न लेखेको छैन की क्या हो?'

हरेस खाँदै लाहुरेले के-के काम गर्नुपर्छ भन्ने सबै कुराहरु जान्न ऊ इण्डियन आर्मीबाट अवकाशप्राप्त सुवेदार रिट्ठे बाको घरमा पुगेथ्यो। घर छेउमा रिट्ठाको बोट र सानो छदाँ सधैँ तिनै रिट्ठाले मात्रै नुहाउने भएकोले उनको नाम रिट्ठे भएको रे। लाकुरीबोटमा देखेजानेका कुराहरु सही सलामत् बताउनेमा पर्थे रिट्ठे बा।

'पाँच किलोका बुट लाएर पिठ्यूँमा पैतीस किलोको पन्तुरो बोकेर दिनमा पन्ध्र किलोमिटर कुद्नुपर्छ केटा। सके दौडने, नसके बाटोमै बल्ड्याङ्ङ पल्ट्यो, पछाडिबाट ड्याम्-ड्याम् बुटले ढाडमा बजार्छन् बाबै। के लाहुरे बन्छस् र यस्तो सिसाकलम जस्तो खिरिलो मान्छे? सके त यहीं पढ्। देशमै केही गर्। लाहुरे त देख्दा मात्रै त टिलिक्क होनि। भित्र कति पीडा हुन्छ बाबु के थाहा। म त आफ्ना सन्तानलाई लाहुरे नबन्न भन्छु।'

रिट्ठे बाले मर्ममा नै छुने गरी सुनाउँदा पीताम्बर बक्क परेथ्यो। उसको मन अचानक मोडियो। मुन्टो एक सय असी डिग्रीको कोणमा गैरीगाउँतिर घुमायो। एकलब्य बनेर टुप्पी कसेर पढ्ने र स्वदेशमै जागिरका माथिल्ला सिढीँ चढ्ने निधो के गरेथ्यो, जागिरे घरको भर्‍याङ उक्लेर माथिल्लो आटीमा पुगेको गैरीगाउँका राइलालाई सम्झ्यो। मुखियाबाट जागिर खाएर माथिल्लो पदमा पुगेको राइलाको मुहार उसको मानसपटलमा रिँग्न थाल्यो।

जहाँ पुगे पनि माथि पुगेपछि त तल झर्नु नै त होनि। गैरीगाउँको राइलो पढ्दा-पढ्दै बुढो हुनै आँटिसकेको थियो। उमेर ढल्दै जाँदा बल्ल माथिल्लो ओहदामा पुगेको थियो। बिजुली अड्डामा वरिष्ठ अधिकृत भएको केही वर्षमै उसले केश राशी सेतै फुलेर पुस माघमा पानी पर्दा फुसफुस् हिउँ खसेर हिमाच्छादित फुल्चोकीको डाँडाजस्तै देखिने शिर र देहमा बुढ्यौलीको पर्मानेन्ट मार्करले कोरेका चाउरीका असीमित रेखाहरु सबै नजर अन्दाज गरेर एकदिन आफ्नै कार्यालयकी सहयोगीमाथि पद र प्रतिष्ठाले फर्किएको बैंस पोख्न खोजेछ। जबरजस्ती करणीको उद्योगमा झण्डै कोठरीमा पुगेथ्यो।

जीवनभरि कमाएको इज्जतमा लागेको फेरिक अक्साइड आखिर कुन तेलले नै सफा गर्दोरहेछ र?

त्यसबखत ठूला-ठूला मान्छेका सुरा सुन्दरीका थुप्रै समाचारहरु पत्र-पत्रिकामा छ्यापछ्याप्ती आइरहेका थिए।

पीताम्बरले सम्झिन्छ 'मान्छेलाई सबैथोक पुगिहाल्नु पनि बेमुनासिब रहेछ। केसैको पनि अभावको दबाब नभए'सी मान्छेको जात मैमत्त हुँदोरहेछ। अभावकै अभाव हुनु र दबाबको प्रभाव नहुनु त गतिलो कुरा होइन रहेछ। अभावमै त मान्छे आफ्नै परिवारसँग आजीविकाका लयमा होमा हो गर्दै तन्मय हुँदो रहेछ त।'

गैरीगाउँको नामुद ठूलो नेता केही वर्ष अघि मन्त्री हुँदाकै बखत घरमा राखेकी सुसारेसँग लहसिएको खबरले मन्त्री पद नै चिलिम च्वाँट भएको खबर सेलाइसकेको थिएन। यत्रतत्र ताजै थियो।

गैरीगाउँको प्रभावले ढेपेपछि घनघोर मेहनत गरेर घन घोटी मुखियामा नाम निकालेर सरकारी जागिर सुरु गरेको थियो पीताम्बरले। करारमा कार्यालय सहयोगीबाट जागिरे जीवनमा पदार्पण सुरु गरेको ऊ, मुखिया, डिट्टा, सुब्बा र सेक्सन अफिसरमा उत्तीर्ण हुँदै पदोन्नति भएर निर्देशकमा बहाल हुन पुगेको थियो।

पियनदेखि मुखियासम्म जिल्लाको हुलाक अड्डामा कार्यरत् थियो ऊ। एकदिन मन नलागी नलागी पियन हुँदाको कुरा सम्झिन्छ ऊ। उसबखत अड्डामा साइकल हुनु पनि निकै ठूलो मानिन्थ्यो। त्यहीमाथि कार्यालय सहयोगीले साइकल पाउनु त समाचारको विषय बन्थ्यो। अफिस पुग्न पीताम्बरले साइकल चढेर हिंड्दा थुप्रै मानिसहरु दंग परेर हेर्थे।

जागिर खाएपछि ऊ घर छोडेर लालीगुँरासटोलमा डेरा गरी बस्न थालेको थियो। दाहिने खुट्टाको गोलीगाँठा नै फुस्कने गरी लड्दै सिकेर अड्डाले दिएको साइकल चलाउन सक्ने भएको थियो। शिर नत गरी साष्टाङ्ग दण्डवत नै गरे जसरी झुकाएर प्याडल मजाले थिचेर साइकल चलाउँदै कार्यालयमा पुगी आफ्ना हाकिम मंगलचरणलाई आङ तनक्क तानी तुरुन्तै इन्द्रधनुष बनी आधा मिनेटसम्म नमस्कार मुद्रामा उभीरहँदा पनि बरु ढुंगाले प्रतिक्रिया दिन्थ्यो होला, मंगलचरणको न एक शब्द न कुनै प्रतिक्रिया पाउँथ्यो। र पनि नमस्कार गर्न कहिलै छोडेको थिएन उसले।

उसको नमस्कार फर्काउँदा जात नै पतित हुन्छ की जसरी मंगलचरण जड बनेर कुर्चीमा ढसमस्स बसिरहन्थे। उनको अनुहारको भङ्गिमा हेर्दा रौद्र र भयंकर रसले एकसाथ लुछुप्पै भिजेको जस्तो देखिन्थ्यो।

तेल अफिसमा वरिष्ठ सहायकका रुपमा कार्यरत् गैरीगाउँका माइला र बिजुली अड्डाका वरिष्ठ अधिकृत माथ्लाघरे राइलाबीच एकदिन धान खेतमा पानी लगाउने विषयमा भएको गालमुखाल तेरो पद ठूलो की मेरो पद ठूलो भन्नेतर्फ मोडिदाँ माइलाले बोलेको कुरा पीताम्बरको श्रवेन्द्रियमा गुन्जिरहन्छ।

'जतिसुकै महंगो लुगा लगाए पनि आवरणभित्र त मान्छे नाङ्गै हुन्छ। के फुर्ती छाँटेको छस् तँ जाबोले? तेरो पद अगाडि पनि वरिष्ठ, मेरो पदको अगाडि पनि वरिष्ठ। पद भन्ने त दुई दिने रामछायाँ हो भाइ हेर्, मान्छे ठूलो त विवेकले हुन्छ बुझिस्?'

पीताम्बरले मनमनै तर्कना गर्थ्यो 'मान्छेहरु किन आफ्नो कम्पोस्ट स्वरुप छिपाएर रासायनिक रुप देखाउँछन् कुन्नि?' स्मृतिको चर्खामा मथिङ्गल घुमाउँदै जागिरका सुरुमा मंगलचरणले आफ्नो घरमा समेत लगेर घरको काम गराएको सम्झिन्छ ऊ।

अफिसमा एकदिन फाइल बोकेर मंगलचरणको कार्यकक्षमा पुगेको थियो ऊ। 'सर, यो ईश्वर खरदार सा'पले पठा'को फाइल।'

'उसलाई नै नपठाएर किन तिमी आ'को हँ, प्रोटोकल ख्याल गर्नुपर्दैन?' मंगलचरणले पारा देखाउँदा ऊ नाजवाफ भएथ्यो। कुन चराको नाम हो प्रोटोकल, त्यतिबेलासम्म ऊ पूरा अन्जान थियो। कहाँ कोरिन्छन् ती परिसीमाहरु, ऊ बेखबर थियो।

'हिजो एउटै कुवामा अञ्जुलीले उबाएर सँगै पानी खाएको किन बिर्सिन्छन् होला मान्छेहरु? सँगै हिँडेको त्यो बाटो, सँगै खोस्रेको त्यै माटो। आखिर कुन तत्वले यति छिट्टै बिर्साउँछ मान्छेलाई आफ्नो धरातल? पदको खोलले नतग्दासम्म मान्छेको जीउको मूल्य त कपासको थुप्रो जति नि नहुने रहेछ' मनमनै ठहर गर्छ ऊ। र, इखालु बन्छ।

पियनबाट सिधैँ मुखिया सिफारिस हुँदा कम्ति हौसेको थे'न। तर जति माथि हेर्‍यो आफू त नाङ्गैजस्तो लागेपछि, आफूले आर्जन गरेको पद लिलिपुटियन जस्तै देखिएपछि र सँगै रिट्ठाका गुच्चा खेलेको साथी डिट्ठा भएको खबरले पीताम्बरलाई पनि डिट्ठा बन्न घचेटिरहेथ्यो।

अन्ततोगत्वा डिट्ठा पनि बनेर अदालतमा समेत काम गरेको थियो। जुनसुकै तन्त्र आएपनि अदालती अड्डामा मौजुद गह्रौ भाषा शैली उसलाई पेटै पोल्ने गरी निकै पिरो र मुख बटार्ने गरी टर्रो लाग्थ्यो।

जिल्ला हुलाकमा छदाँ 'पीताम्बर' भनी बोलाउने पुरानो हाकिमले मुखिया भएपछि 'पिताम्बरजी' भन्न थालेका थिए। डिट्ठा भएर अदालतमा आएपछि झुक्किएर हो वा के हो थाहा थिएन, उसलाई इजलासका हाकिमहरुले पनि 'पीताम्बर सर' भनी पुकार्दा 'हैन आज के हुँदै छ यहाँ' भनी सोच्न विवश हुन्थ्यो।

कुमालेको चक्र जस्तै घुमिरहने रहेछ समय। पीताम्बर डिट्ठामा डिट्ठिएको अढाई वर्ष नहुँदै नायब सुब्बामा सिफारिस भएको थियो। त्यसको तीन वर्ष नहुँदै फेरि सेक्सन अफिसरमा छलाङ मारेको थियो।

हुलाकमा हुँदा साइकल चढी मुख लुकाइ, शिर झुकाइ-झुकाइ हिंडेको सम्झ्यो उसले। 'पदको खोल ओढी माइकल भइसकेपछि केको साइकल चढ्नू' गम्दै जान्छ मनमनै। अब त साइकल चलाउनै परे पनि ठाडो शिर लाएर चलाउँछु। पाइडिल मजाले थिच्छु।'

हजुरआमा देउमायाले घरीघरी भन्ने गरेको कहावत सम्झ्यो- 'हेर नाति केटो, समय सबैको आउँच र समय आउँदा स्याल पनि घोर्ले हुन्च। कहिले सासुको पालो आउँच, कहिले बुहारीको पालो भैरन्च।' एक्काइस वर्षे जागिरका दौरान उसले सिकेको महान् पाठको अन्तर्य पनि यही उक्तिभित्र भेट्थ्यो उसले।

पीताम्बर सेक्सन अफिसरबाट माथिल्लो तहमा पदोन्नति हुँदाको महिना, हुलाकका निर्देशक मंगलचरणले अनिवार्य अवकाश पाएर निवृत्त जीवनको अध्याय आरम्भ गर्न थालेका थिए। तुरुन्तै काकताली मिलाएर ऊ त्यही पियन र मुखिया हुँदा आठ वर्ष जागिर खाएको अड्डाको प्रमुख बनेर आयो।

शनै:शनै उसको बोलीचाली, व्यवहार फरक हुँदै गएको होकी जस्तो भान पर्न थालेको थियो उसको मातहतमा काम गर्नेहरुलाई। मान्छे उही रहन्छु भन्दाभन्दै कुर्चीले कुर्चा ख्वाउँदो रहेछ। पीताम्बर हाकिमको कुर्चीमा बहाल भएको भोलिपल्टको कुरा। कतैबाट उपहार पाएको महंगो मोबाइलमा फेसबुकको पेज स्क्रोल गर्दै मनमोहक तस्बिरहरुमा नजर केन्द्रित गर्दै थियो।

मुहारपुस्तिकाको बायाँ कुनामा रहेको फोटो एल्बममा संचित तिनै तस्बिरहरु अल्लि पहिला डिट्ठा हुँदा एक थरी, सुब्बा हुँदा अर्कै थरी र हाकिम भए'सी त झन् बेग्लै हुँदा रहेछन् जस्तो लाग्ने। कार्यालयको पुरानो पियन आइतलाल नयाँ हाकिमको कक्षमा बधाइ दिन पुग्यो।

दश कोस परबाट पायल चप्पल प्याट्प्याट् पड्काउँदै कार्यालयमा आइपुग्ने विचरो पियन आइतलालको एक/दुई दिन बिराइ चप्पल नचुँडिएको दिन नै हुन्थेन। आफ्ना चप्पल जोगाउने ठूलो अभिलाषा बोकेर नयाँ हाकिम समक्ष बिन्ती बिसाउन के खोजेथ्यो, आठ रेक्टर स्केलको भुइँचालोले काँपेको धरातलजस्तै कम्पित हुँदै शब्दोच्चारणको कोशिस गर्नुपरेथ्यो।

'हाकिम सा'प, एउटा कुरा बिन्ती गर्न आएको।'

तत्कालीन ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिलले दोस्रो विश्वयुद्धताका आफ्ना सेनालाई आदेश दिंदै 'युद्धका बेला तिमी बाघ बनेर जाइ लाग' भनेको उक्ति लेखिएको पोस्टरमुनिको घुम्ने कुर्चीमा विराजमान हाकिम पीताम्बरले निकै थर्थराउँदो आइतलालको आवाजलाई झन् घबराउने गरी निकै ठूलो काममा लागेको छ की जसरी सोध्यो।

'के हो भन त छिट्टो, मेरो मिटिङ छ।'

'तल स्टोरमा एउटा पुरानो साइकल रहेछ। यसो बनाएर चलाउन पाए हुन्थ्यो की भनेर हजुर। टाढाबाट हिँडेर आउँदा-आउँदा मुस्किल भयो हजुर' लर्बराउँदै बिन्ती बिसाउँदा बल्ल जीउ नै हलुका भएजस्तो लाग्यो आइतलाललाई।

उसले देखेको त्यो त्यही साइकल थियो जुन पीताम्बरले पन्ध्र वर्ष अगाडिसम्म घिसार्दै हिँड्थ्यो।

'साइकल चलाउन आउँछ आइते तिमीलाई?'

'अलि अलि आउँछ, चलाउँदा-चलाउँदै सिकूँला नि हजुर।'

आइतलाल सँगैको अर्को पियन राघवरत्न ठूलै ठेकेदार थियो। आफ्नै स्कार्पियो गाडी आफै हाँकेर हिँड्थ्यो। बेलाबेला के-के पाहुरका पोका ल्याएर हाकिमका डेस्कमा टक्र्याउँथ्यो। अफिसमा उसको अनुहार एकैपटक शुक्रबार मात्र देख्न पाइन्थ्यो। उसको विषयमा कोही चुइँक्क बोल्दैनथ्यो। तर आइतलालले हनहनती ज्वरो आएर दुई दिन अफिस नआउँदा पनि थुप्रै स्पष्टीकरण दिनुपर्थ्यो।

हाकिमको अगाडि नमस्कार मुद्रामा उभिरहेको आइतलालले मनमनै सोच्छ 'यो नाथे पिउनको झुत्रे जागिर पनि नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाको अनुहारजस्तो रहेछ। त्यै साइकलजस्तो त रै'छ नि जागिर खाने कला पनि। माथि ह्याण्डिल बलियो समाएर शिर झुकाउने, तल खुट्टाले मज्जैले पाइडिल थिचेर फनफनी पाङ्ग्रा घुमाउने। विचरो पाइडिल थिचिइरहनुपर्ने।'

पल्लाघरे छिमेकी रामलालले अस्तिभर्खर वैशाखमा कान्छा छोराको बिहे गराएर नयाँ बुहारी भित्र्याएका थिए। छिमेकीकी नौलीपौली बुहारीको फूर्तिफार्ती नजिकबाट नियालेको आइतलालले आफैसँग तर्कना गर्छ- 'निकै कामदारी देखाउन चराले आफ्नो नाम किरीमिरी पारी लेखेर रुखबाट फुत्त खसालेका सालका पातहरु बटुलेर ल्याउने र रुखमै चढेर हातैले टिपेर ल्याएको पार्ने। निँगालोको सिन्काले खुटेर चुहिएलाजस्तै टपरी बनाउने, अनि त्यही टपरी टाल्न फेरि सिन्का भाँच्दै सिलाएका दुना सोझ्याउने।'

नयाँ कार्यालयमा नयाँ पदमा जाँदा नयाँ-नयाँ काम गरी नयाँ विरासत छोड्नुपर्छ भन्ने तालिमका क्रममा सिकेका कुराहरु पीताम्बरले हाकिम भएर आएको पहिलो हप्तामै कार्यान्वयन गर्न थालेको थियो। आफू बस्ने कुर्ची पूर्वबाट उत्तरतर्फ घुमाउन लगायो। कुर्चीमा राख्ने टावेल तुरून्तै फेर्न अर्‍हायो। पुरानो डेस्क फेरियो। नयाँ कम्प्युटर मगायो। पुरानो गाडी के चढ्नू भनेर आफ्नो लागि गाडी समेत नयाँ खरिदको व्यवस्था मिलायो।

आइतलालले पुरानो साइकलका लागि बिसाएको बिन्ती तीन महिनापछि बल्ल सदर भयो।

अफिसको बाहिरी भित्तामा अरुलाई कुदाउन जति सुई दौडाए पनि आफू भने जहाँको त्यहीं झुण्डिरहने पेण्डुलम घडीले साँझको सात बजाइसकेको थियो।

'माथिल्लो हाँगामा टेके भन्दैमा सुँगाले तल फेदमा चारो चर्दै गरेको जुरेलीलाई, तँ त चरै हैनस् भनेर भन्ने कुरा कतै लेख्या हुन्छ र?'

आफैसँग प्रश्न गर्दै पुरानो साइकलको आफ्नो माग सुनुवाई भएको खबरले अब त आफ्ना पायल चप्पलले सुख पाउने भए भनी खुसी हुँदै गरेको आइतलाल कार्यालय परिसरबाट बाहिर निस्कियो।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १४:३९
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP