मझौलो कद, सेतो सर्ट पाइन्ट र कालो इस्टकोट। अनि त्यसमाथि पूर्वेली ढाकाटोपी। यस्तै ६० वर्ष जतिको रसिलो र कसिलो छाला। चिल्लोसँग दारी काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा। आफू हिड्ने बाटोभन्दा बढी दायाँ र बायाँ पट्टि लहरै उभिएका घरहरुमा पल्याक पुलुक हेर्दै हिडिरहेको नेपाली देखेपछि म रोकिएँ।
बाटोको छेउमा उभिएर दुई हात जोडी नमस्कार गरेँ। एक्कासी अपरिचित मान्छेले नमस्कार गरेको देखेर होला उहाँ एकैछिन अलमल पर्नु भयो। सात समुन्द्रपारिको यो अपरिचित ठाँउमा यसरी खाट्टी नमस्कार पाइएला भनेर उहाँले सोच्नु भएको पनि थिएन होला।
'नमस्कार... बाबुको घर कहाँ पर्यो होला?' उहाँले अलि संकोच माने जस्तै गरेर सोध्नु भयो।
'नेपालमा बुटवल हो बुवा। हजुरले ढाकाटोपी लगाएकोले पक्कै पनि नेपाली हुनुहुन्छ भनेर रोकिएको,' मैले भनेँ।
'हजुर त बिहान बिहान हिड्नु हुँदो रैछ। अरु कोही पनि हिडेको देखिनँ मैले। सबै गाडी चड्दा रहेछन्। बाबुको काम पनि नजिकै छ जस्तो लाग्यो नि हिडेरै पुगिने।'
'हैन बुवा, काम त टाढै छ। अहिले त यतिकै बाहिर निस्केको। यही चार, छ महिना हो यहाँ यसरी बाहिर हिड्न सकिने। अर्को महिनाबाट हिउ झर्न सुरु भैहाल्छ। अनि हजुरको शुभनाम?'
'मेरो नाम रुमाकान्त सिग्देल हो। म छोरी ज्वाइले बोलाएर अघिल्लो महिना यहाँ आएको हुँ। निराजनलाई चिन्नु हुन्छ त बाबुले? नेपालमा चाहिँ पाल्पा हो। रामपुर नाम सुन्नु भएको छ?'
'थाहा छ बुवा नगए पनि। मैले क्याम्पस तान्सेन मै पढेको हो। रामभक्त पराजुली भन्ने मेरो मिल्ने साथी हुनुहुन्थ्यो रामपुरको। अहिले पनि एक/दुई जना यतै पनि हुनुहुन्छ। तर निराजनलाई भने मैले चिनेको रैनछु।'
'उहाँलाई कसरी चिन्नु हुन्छ खै, जतिबेला पनि काम भन्दै दौडेको दौडै गर्नुहुन्छ। मैले पनि झल्याक झुलुक मात्रै देख्छु। छोरी पनि कहिले राति, कहिले दिउसो काममा जान्छे। खै बाबु, मैले त यहाँ केही पनि राम्रो मानिनँ,' उहाँले मुख धमिलो पार्दै भन्नु भयो।
'सबैको त्यस्तै हो बुवा यहाँ। सबै कुरा महँगो छ। काम नगरी कसरी बाच्ने?' मैले भनेँ।
हिड्दै गर्दा उहाँले धेरै कुराहरु सोध्नु भयो। बाबुले के गर्नुहुन्छ? काम कतिको सजिलो छ? छोराछोरी कति छन्? नेपालमा बुवा-आमा के गर्नुहुन्छ? नेपाल फर्किने मन छ कि अब यतै बस्ने सोच्नु भएको छ? उहाँका प्रश्नहरु त्यति जटिल त थिएनन् तर मलाई ती प्रश्नहरुको उत्तर दिन अत्यन्त गाह्रो भयो।
'बुवा आमा खेती किसानी गर्नुहुन्छ,' मैले भनेँ।
'काम ठिकै छ बुवा। जस्तो भएपनि देश छोडेर आइसकेपछि गर्नै पर्ने। जनतन चलिरहेको छ। सुरुसुरुमा सबैको यस्तै हो। पछि पछि सबै व्यवस्थित हुँदै जाला। धेरैले राम्रो प्रगति पनि गरेका छन्। पढेर सरकारी जागिर गर्नेहरु पनि छन्। सानो तिनो रेस्टुरेन्ट चलाएर बस्नेहरु पनि थुप्रै छन्। काम त सानो भएपनि ठूलो भएपनि गर्नै पर्छ। आफ्नो आफ्नो क्षमता र सीप अनुसारको काम पाउछ। मिहेनत र भाग्य दुवै कुराले साथ दिन पर्दो रहेछ,' मैले भनेँ।
गफ गर्दा गर्दै हामी ब्रिम्ले र लरेन्सको जक्सनमा पुग्यौँ। एकैछिन रोकिएपछि पैदल यात्रीलाई बाटो खुलेको संकेत आयो पारिपट्टिको ट्राफिक पोलमा। बाटो काटेर बेरिमोरको भित्रि बाटो हुँदै उहाँको घर पुग्यौँ।
'रुमाकान्त सर छोरीको करले गर्दा अघिल्लो महिना नातिनी हेर्नको लागि आएका रहेछन् क्यानडामा। टोरोन्टो डाउनटाउनदेखि अठार किलोमिटर पूर्व स्कार्बोरोमा थियो छोरी ज्वाइको घर। उनी कति खुसी थिए वा थिएनन्, त्यो उहाँको अनुहारको भावले प्रष्ट देखाउथ्यो। उहाँलाई खुसी हुनुपर्ने हाम्रो जस्तो बाध्यता थिएन। खुसी हुनु र दुखी, समयको कुरा पनि हो।
'नेपालमा के थिएन र उनीहरुलाई? स्थाई जागिर थियो। बाउआमाले जोडेको थोरधेर सम्पति थियो। साथीभाइ, इस्टमित्र, नाता सबै थिए। जे भएपनि आफ्नो ठाउँ हो। यसरी कता हो कता, न जात मिल्ने, न भाषा मिल्ने ठाँउमा आएर गोरु जोतिए जसरी जोतिएर कति दिन पो चल्ला र बाबु,’ उहाँले मेरो आँखामा गहिरोसँग हेरेर भन्नु भएको थियो।
यहाँ नयाँ आउनेहरुको कथा एउटा हुन्थ्यो भने पुराना मान्छेहरुको कथा अर्कै थियो। आर्थिक रुपमा सम्पन्न धेरै भेटिए पनि सामाजिक र मानसिक रुपमा बलियो कोही सायदै होलान्। मनमा अनेक कुराहरु खेलाउदै म कोठामा पुगेँ। कोठा सुनसान थियो। फ्रिजमा अघिल्लो दिन पकाएको चिकेन र दाल थियो। राइसकुकरमा थोरै टिल्डा बास्मती चामल बसाले। ज्यानले एकछाक भात नखाइ मान्दै मान्दैन।
खाना खाइसकेपछि धेरै बेरसम्म कम्प्युटरमै बसेँ म। केही न केही काम भैराखेको हुन्छ। ठ्याक्कै यो काम भन्ने चाहिँ केही हुँदैन। साँझपख रुमाकान्त सरको घरतिर निस्केँ। उहाँ घर बाहिरै हुनुहुँदो रहेछ।
'म फुर्सदमा थिएँ। हजुरसँग यसो गफ गरौँ भनेर निस्केको,' मैले नमस्ते गर्दै भनेँ।
'चिसो चिसो पनि छ। भित्रै जाउँ न। म चिया पनि बसाल्छु। ज्वाइ त अलि राति आउनुहुन्छ। छोरी आउने बेला हुन लाग्यो,' रुमाकान्त सरले ढोका खोल्दै भन्नु भयो।
उहाँ बाथरुमतिर छिर्नु भयो। म बैठक कोठामा सजाएर राखिएको सोफामा गएर बसेँ। भुइभरि सानी नानीको खेलौनाहरु यत्रतत्र छरिएका थिए। सोफाको अगाडि भित्तोमा ५४ इन्चको सोनी स्मार्ट टिभी अडाइएको थियो।
टिभीको माथिपट्टि नेपालको नक्सा सहितको ठूलो फोटो फ्रेम झुन्डिएको थियो। त्यसैको ठिक विपरित भित्तोमा परिवारको फोटो टांगिएको थियो। कर्नरको टेबलमा एउटा गमला थियो। त्यो गमलामा हरियो बाँसको पात जस्तै देखिने बिरुवा राखिएको थियो।
एकैछिनमा रुमकान्त सर मेरो छेउ आउनुभयो र मलाई बस्दै गर्न भनेर चिया बनाउन किचन तिर लाग्नु भयो। म एकछिन सुनसान वातावरणमा यसै रुमलिएँ। केहीबेरमा सरले चिया लिएर बैठक कोठामा आउनुभयो।
चिया पिउदै गर्दा मैले यताको बसाइ के-कस्तो लाग्दैछ भनेर सोधेँ।
'कस्तो लागेको छ भन्नु बाबु, सबै ठिकै चलिराको छ। बिरामी भयो भने गाह्रो छ भन्छन्। भाषा बुझिदैन यताउति जाउँ भने। दिनभरि यही झ्यालखानामा बस्यो, नातिनी हेर्यो, यस्तै हो बाबु। हामीलाई त उतै ठिक छ। कमसेकम आफ्ना मान्छेहरुसँग गफ गर्न त पाइन्छ। आफ्नो इस्टमित्र भनेपनि साथिभाइ भनेपनि सबै उतै छन्। यहाँ छोरी ज्वाइसँग बोल्ने त फुर्सद हुँदैन, अरु को के कुरा गर्नु।'
'हो नि बुवा। आफ्नो देश, भाषा, संकृति भनेको धेरै ठूलो कुरो रहेछ। त्यसको महत्व यहाँ आएपछि बल्ल थाहा भयो। हामी पनि हुँदाखाँदाको जागिर, पूर्खेली सम्पति, परिवार सबै छोडेर के के न होला भनेर हाम फालियो। खै राम्रो गरियो, नराम्रो गरियो छुट्याउनै सकेको छैन मैले त। कहिले फर्किउँ कि क्या हो भन्छ यो मनले। फेरी के के सोचिन्छ र मन बुझाइन्छ।
फेरी अर्को मनले भन्छ, के नै पो गुमेको छ र यहाँ आएर? नेपालमा पनि काम नगरी त्यसै चल्ने हैन। त्यसमा पनि पढाउने कर्मलाई त जागिरै हैन पो जस्तो गर्छन् मान्छेहरु। पाँच/सात वर्ष कलेज पढाएर घरमा जाँदा, जागिर गर्न सुरु गरिस् कि अझै स्कुल पढाउदै छस् भनेर सोध्नुहुन्थ्यो आँमा।’
मेरो कुरा सुनेर उहाँको ओठ र जुँगा एकैचोटी चलेका थिए।
'आफ्नै देश हो, अब फर्किदा पनि त के बित्छ र बाबु? गर्ने ले उता पनि दुई/चार वर्षमा बिल्डिङ खडा गरिसकेका छन्। धेरैले प्रगति गरे बाबु। पहिला पहिला पैसो कमाउन विदेश जानु पर्छ भन्थे सबैले। अहिले त ठिक उल्टो पो छ। घरजग्गाको दलाली गर्नेहरुले त मनग्गै जोडे बाबु।
जताततै बाटो हालेका छन्। अलिअलि धाँन रोप्ने खेत पनि टुक्रा टुक्रा पारेर कतै बाँकी छैन। मेरो छोरो पनि अस्ट्रेलियामा छ। एउटा बस्ने बास त जोड नेपालमा त्यहाँको कमाइले भन्छु। पैसो बच्दै बच्दैन भन्छ ऊ। जाबो एउटा घडेरी पनि किन्न सकिन्न भने यत्रो वर्ष विदेशमा बसेर केको लागि रात दिन मेसिनले झैँ काम गर्ने हो,' उहाँले दुवै हातले टोपी मिलाउदै भन्नु भयो।
'हो नि बुवा। तर के गर्नु, सोचेजस्तो हुँदैन सबैलाई। कसै कसैले राम्रै पनि गरिराका छन्। 'लिखितम ललाटे' भनेको त्यही होला,' मैले चियाको सुर्को तान्दै भने।
'गेंजाको घनश्याम पनि मिसिसागा भन्ने ठाँउमा रैछन्। अस्ति खाना खान बोलाएका थिए। सबैजना गएका थियौँ। घर किनेका रैछन्। बैँकमा ऋण छ रे। ऋण तिर्नै पच्चिस वर्ष लाग्छ बुवा भन्थे। घरमा बस्ने फुर्सद मिल्दैन रे। खाली कामको काम। म त कुरा सुन्दै छक्क पर्छु बाबु,' उहाँले अर्कोपट्टिको भित्तोमा हेर्दै भन्नुभयो।
'हो नि बुवा। घर भनेको बैंकले अलि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर महिनै पिच्छे किस्ताबन्दीमा तिर्ने सर्तमा लिने हो। यदि बेलामा बैंकको किस्ता तिर्न सकेन भने घर बैंकले लिलामी गर्दिन्छ। आफ्नो लगानी सबै डुब्छ।
जसरी तसरी काम गरेर बिसौँ वर्षसम्म किस्ता तिर्न सक्यो भने बल्ल घर आफ्नो हुन्छ। नेपाल सरकारको जस्तो कहिले नफुस्कने जागिर हुँदैनन्। अर्कोतिर एउटाको जागिरले घरको किस्ता तिर्न पनि मुस्किल हुन्छ। त्यसैले धेरैजसोले डबल शिफ्ट काम गर्छन्। धेरैले शनिबार र आइतबार पनि काम गर्छन्।'
'हैन बाबु, मैले नबुझेको कुरा नि, न आफूलाई सुख छ, न परिवारलाई समय दिइएको छ। न टाइममा खाना खानु छ। न टाइममा सुत्नु छ। खालि कुदेको कुदै गरेर कहिलेसम्म चल्छ? यो सब आखिर के को लागि? राम्रो गाडी, ठूलो घरले सुख दियो कि झन् दु:ख?’
'यो घनचक्कर हो बुवा। यो जालो भित्र फसेपछि परिस्थितिले मान्छेलाई घुमाएको घुमाइ गर्छ। घर, गाडी, फोन, बिजुली, पानी सबैको बिल तिर्ने पर्यो। त्यसको लागि काम नगरी सुखै छैन। नेपालमा त काम नगरेपनि दुई/चार महिना चल्छ जस्तो लाग्छ। तर यहाँ त एक महिना पनि चल्दैन बुवा।'
रुमाकान्त सर धेरै बेरसम्म केही बोल्नु भएन। चियाका कपहरु उठाएर किचनतिर लाग्नु भयो। म पनि अर्को दिन भेट्ने वचन दिँदै निस्केँ घरबाट।
म घर पुग्दा रात परिसकेको थियो।
'सरी आलोक जी, म एकैछिन बाहिर निस्कनु पर्यो। एकजनालाई घर देखाउने टाइम दिएको थिएँ, भसक्कै बिर्सेको पो रैछु। के गर्नु यस्तै छ काम। हजुरहरु बस्दै गर्नुस म पुगेर आइहाल्छु नि,' भन्दै निराजन घरबाट निस्के। म पुगेको करिब पाँच सात मिनेटजति भएको थियो।
रुमकान्त सर अलि मनिलो अनुहारमा देखिनु हुन्थ्यो। 'बुवालाई अलिक सन्चो छैन कि कसो? त्यति फ्रेस देखिनु हुन्न,' मैले बुवा तिर फर्किदै भनेँ।
'ठिकै छ बाबु। छाती अलि भारि भारि जस्तो भाको छ हिजोदेखि। डाक्टरसँग चेक गराउन जाने कि भन्दै थिइ छोरी। हामीलाई त हेरेको पनि धेरै पैसो लाग्छ रे। तातो पानी खाइराको छु। निको होला नि एकदुई दिनमै।'
'हेल्थ इन्सुरेन्स गर्नु भएको होला नि। खर्च धेरै आयो भने इन्सुरेन्सले तिर्छ। एकपल्ट देखाउनु भए हुन्छ। स्वास्थ्य जस्तो कुरामा हेल्चेक्राइ गर्नु हुँदैन है। धेरैजसो बुवा आमाहरु यहाँ आएर बिरामी भएका घटनाहरु छन्। नेपाल र यहाँको हावापानी, खानपिन फरक पर्ने हुँदा छिटो बिरामी पर्ने सम्भावना हुन्छ,' मैले भनेँ।
उहाँ केही पनि बोल्नु भएन। धेरैबेरसम्म वातावरण शून्य भयो। सानी नानी दौडिदै हजुरबाको काखमा आएर बासिन्। हातभरि खेलौना बोकेकी नातिनी हजुरबालाई के के भन्दै थिइन्।
'ऊ अंकललाई नमस्ते गर,' हजुरबाले आदेश दिनुभयो। नानीले पुलुक्क मेरो मुखमा हेरिन् र घोप्टो परिन्।
'हजुरबालाई नसता है। सन्चो छैन,' कोठाभित्रैबाट नलिना भाउजूले भन्नु भयो। म गएदेखि नै कोठाभित्रै हुनुहुन्थ्यो उहाँ।
'अनि बुवा अझै कति समय बस्नुहुन्छ त यहाँ?'
'कति बस्नु बाबु, यस्तै भयो भने जानुपर्ला। अलि प्रेशर पनि बढेको छ रे। हिजो ज्वाइले नाप्नु भाथ्यो। बुढेसकालमा यहाँ बसेर काम छैन बाबु। मर्नु परे पनि आफ्नै ठाउँमा मरौँला। यहाँ त मरेपछि पनि गाह्रो छ रे।'
'कहाँ मर्ने कुरा गर्नु भएको। यहाँ झन् राम्रो राम्रो हस्पिटलहरु छन्। केही भयो भने तुरुन्त उपचार हुन्छ।'
'खै केको उपचार हुनु बाबु। अघिल्लो महिना चितवनको एकजना महिला क्यान्सर लागेर हस्पिटल भर्ना भएकी समयमा उपचार नपाएर बितिछन्। सुरु सुरुमा केही देखाएन रे। एक्कासी अति भएपछि हस्पिटल भर्ना गरेको निको नभएर मृत्यु भएछ। भिजिट भिसामा आएकी रैछ। हस्पिटलले बिल पनि थुप्रै पो पठाएको छ रे।
परिवारलाई धेरै गाह्रो भएर खै के जाति संस्थाहरुले पैसो उठाउदै पो छन् रे। यहाँ त केही भैहाल्यो भनेपनि डाक्टरलाई भेट्न पनि महिनौँ कुर्नु पो पर्छ भन्छन्। सानो तिनो रोगलाई मात्र हेर्छन् रे यिनी क्लिनिकहरुमा। ठूलो रोग लाग्यो भने मात्र असली डाँक्टरसँग पठाउछ रे। त्यो पनि महिनौ दिन कुर्न पर्छ रे। नेपालमा पैसो भयो भने कमसेकम समयमै उपचार त पाइन्छ। विदेशको सुविधाहरु भनेको पनि हाम्रो लागि त सपना जस्तै हो।'
कुरा गर्दा गर्दै समय बितेको पत्तै पाइनँ मैले। नलिना भाउजू अझैसम्म आफ्नै कोठामा खोइ के के गर्दै हुनु हुन्थ्यो। सायद नेपालमा कसैसँग कुरा गर्दै हुनुहुन्थ्यो कि। म यतिकै बुवासँग बिदा भएर निस्केँ।
त्यो दिनपछि धेरै दिनसम्म रुमकान्त सरसँग भेट भएन। मैले पनि काम सुरु गरेँ। कामको व्यस्तताले गर्दा चाहेर पनि लामो समयसम्म भेट हुन पाइनँ। निराजनसँग भने बेलाबेला कुराकानी हुन्थ्यो।
धेरै दिनपछि, एक बिहान म काममा निस्कदै थिएँ। निराजनको फोन आयो। 'बुवालाई अचानक हस्पिटलमा भर्ना गरेको छ। एक हप्ता जति भयो। हिजो हजुरलाई सोध्नु भएको थियो, त्यसैले फोन गरेको’ भन्दै।
मन झसँग भयो। एकछिन के भन्ने सोच्न पनि सकिनँ। छोटै समयमा पनि उहाँसँग निकै आत्मियता बढेको थियो। उहाँको हँसिलो अनुहार आफ्नै अनुहार ऐनामा देखेजस्तै आँखामा नाच्न थाल्यो। अघिल्लो महिना उहाँसँग कुरा गर्दा विदेशमा बिरामी पर्दा गाह्रो पर्ने कुरा आफैले गर्नु भएको थियो।
यहाँ भिजिट या सुपर भिसामा बस्नेहरु बिरामी पर्दा आइपर्ने झंझटको बारेमा उहाँ आफैले मलाई सुनाउनु भएको थियो। आज आफू बिरामी हुँदा कस्तो मन आत्तिएको होला। मन मनै कुराहरुको हुन्नरी मच्चिन थाल्यो।
'के भयो उहाँलाई? कुन हस्पिटलमा हुनुहुन्छ?,' मैले हतारमा सोधिहालेँ।
स्कार्बोरो जनरल हस्पिटलमा उहाँको भर्ना गरेको रहेछ। एकहप्ता अघि अचानक छाती दुखेर सोफाबाट लड्नु भएको थियो रे। त्यो दिन भाग्यबस निराजन घर भएकोले एम्बुलेन्स बोलाएर इमार्जेन्सीमा भर्ना गरेकोले उहाँको ज्यान बाचेछ। तर मुटुको भल्व फेर्न पर्ने भएकोले तुरन्त अर्को मेजर अपरेसन गर्नु परेछ।
मैले धेरै कुराहरु फोनमा सोध्न चाहिनँ। तुरुन्त अफिसमा फोन गरेर बिरामी भएकोले काममा आउन नसक्ने भनी त्यो दिनको बिदा स्वीकृत गराएँ र सरासर हस्पिटलतिर लागेँ। सूर्य, बिनोद र आलोक पहिले नै त्यहाँ पुगेका रहेछन्। उनीहरु बाहिर क्यान्टिनमा बसेका थिए।
मैले सबभन्दा पहिले निराजन कता हुनुहुन्छ भनेर सोधेँ। ऊ अफिसको कामले गर्दा बाहिर गएको र छिटै आउने कुराको जानकारी बिनोदले दिए। मैले यताउति हेर्दा नलिना भाउजूलाई पनि साथमा देखिनँ। पछि सूर्यले भने, ‘एकहप्ता जति काममा जानु भएको थिएन। आज स्टाफ नपुगेर बोलायो रे। छोरी पनि साथीको घरमा छोड्नु भएको छ रे।’
उनीहरुले रुमाकान्त सरलाई ४२ नम्बरको कोठामा राखिएको कुरा गरे। म सरासर उहाँलाई राखेको कोठामा पुगेँ। एउटा महिला भित्रबाट निस्कदै थिइ। उसले मलाई हेरेर मुस्कुराइ र 'हाइ’ भनी। म पनि खिस्स दाँत देखाउदै भित्र पसेँ।
उहाँलाई बेडमा सुताइएको थियो। बेडको बायाँपट्टि अक्सिजनको सिलिन्डर झुण्डाइएको थियो। सिलिन्डरबाट दुई वटा पाइप लगेर उहाँको नाक र मुखमा जोडिएको थियो। मैले उहाँलाई 'नमस्ते ' भनेँ। उहाँले आँखामा अलिकति उज्यालो निकालेर पुलुक्क हेर्नु भयो। कति छिटै उहाँको कसिलो अनुहार झोलिएर हाडछाला मात्र भएको थियो।
'मलाई चिन्नुभयो त बुवा,' मैले उहाँको आँखामा हेर्दै सोधेँ। उहाँले तलमाथि मुन्टो हल्लाउनु भयो। म बेडको पुछारमा राखिएको एउटा कुर्सीमा बसेँ। उहाँलाई बोल्न गाह्रो भएकोले धेरै कुरा सोध्न चाहिनँ। केहीबेरमै एउटा डाक्टरहरुको टोली आयो। म कोठाबाट बाहिरिएँ।
क्यान्टिनमा आउदा निराजन पनि आइपुगेका थिए। सधैँ सुटमा चिटिक्क परेर हिड्ने निराजन खरानी रंगको ज्याकेटमा निन्याउरो देखिएका थिए। छुस्स दारी त्यो पनि सेतै फुलेको उनको अनुहार उदेक लाग्दो थियो। मैले नमस्कार गरेँ। सायद उहाँ अरु कुनै सोचमा हुनुहुन्थ्यो होला, कुनै प्रतिक्रिया देखाउनु भएन। एकछिनपछि मात्र हात मिलाउनु भयो।
सबैजना बसेर गफ गर्यौँ। डाक्टरले अझैँ दुइवटा अपरेसन गर्न पर्ने बताएको रहेछ। हस्पिटलको खर्च धेरै हुँदो रहेछ। अझै दुई वटा अप्रेसन गर्दा खर्च निकै हुने देखिन्थ्यो। छातीमा इन्फेक्सन अलि बढी भइसकेकोले स्थिति जटिल हुँदै गएको कुरा पनि निराजनले गर्नुभयो।
सबैजनाले के कसरी हुन्छ, उपचारलाई रोक्न भएन भन्ने कुरा गर्यौं। आफ्नो ठाउँबाट जेजस्तो सहायोग गर्न सकिन्छ र नपुग भएको खण्डमा के कसरी सहयोग जुटाउने बारेमा पनि केहीबेर सल्लाह गर्यौँ। त्यसपछि म त्यहाँबाट निस्केँ।
भोलिपल्ट कामबाट फर्केपछि निराजनलाई फोन गरेर रुमाकान्त सरको स्वास्थ्य अवस्थाको बारेमा बुझेँ। उहाँको अवस्था झन् झन् नाजुक हुँदै गएकोले गर्दा डाक्टरहरु अर्को सर्जरी गरिहाल्नु पर्ने बताएको जानकारी उनले दिए।
मैले 'पैसो के कति लाग्छ? केही सहयोग गर्नु परे भन्नुस है' भनेको थिएँ तर उहाँले 'पैसोको कुरा पछि गरौँला। अहिलेलाई उहाँको स्वाथ्यलाभको कामना मात्र गरौँ' भन्नुभयो। मैले नलिना भाउजूलाई पनि फोन गरेर कुराकानी गरेँ। योभन्दा अघि मैले कहिले पनि फोन गरेको थिइनँ। उहाँ धेरैबेरसम्म रुनुभयो।
'मैले परिवारमा को-को कहाँ कहाँ हुनुहुन्छ?' भनेर सोधेको थिएँ। रुमाकान्त सरका दुई छोराहरु र एउटी छोरी मात्रै रहेछन्। एउटा छोरा अस्ट्रेलिया र अर्को छोरा जापानमा रहेछन्। नेपालमा नलिनाकी आमा एक्लै हुनुहुँदो रहेछ।
'अझैसम्म बुवा बिरामी भएको खबर दिएका छैनौँ। यतिका दिन भयो, नराम्रो खबर हावाले पनि पुर्याउछ भन्छन्। आमाको हालत के होला यो खबर सुनेर?' भन्दै हिक्क हिक्क गर्दै रुनुभयो नलिना भाउजू।
'छोराहरुलाई नि?' मैले सोधेँ। 'दाइहरुलाई त उसैदिन खबर गरेको हो। के गर्ने उहाँहरुले नै आमालाई खबर नगरौँ भन्नु भएको थियो। 'बुवा आमालाई सँगै बोलाएको थियौँ। तर उहाँ दमको रोगी भएकोले आउन मान्नु भएन। अहिले यस्तो बित्यास पर्यो।'
अर्को दिन सार्बजनिक बिदा थियो। म खाना खाएर हस्पिटलमा पुगेँ। निराजन र नलिना भाउजू सँगै हुनुहुन्थ्यो। बिदाको दिन भएपनि खासै मान्छेहरु आएका थिएनन्। निराजनको अनुहारमा अत्यास लाग्दो रंग पोतिएको थियो। मैले सामान्य 'हाइ हेलो' बाहेक अरु कुरा सोधिनँ।
‘बैंकसम्म पुगेर आउछु' भन्दै निराजन बाहिर निस्के। उनी निस्केको केहीबेरमै सूर्य र रमेश आइपुगे। हामी गफ गर्दै थियौँ, ठिक त्यतिबेला नलिना भाउजूलाई नेपालबाट फोन आयो। फोनमा कुरा गर्दा गर्दै उहाँ रुन थाल्नु भयो। एकैछिनमा भुइमा गर्लम्म ढल्नुभयो। निधारमा चिट् चिट् पसिना थियो भने आँखाको मुभमेन्ट रोकिएको थियो। हामी सबै अत्यासमा पर्यौँ। हस्पिटलकै स्टाफले उहाँलाई तुरुन्त ह्विलचियरमा राखेर आकष्मिक सेवा कक्षमा लागि भर्ना गरे।
मैले निराजनलाई फोन गरेर तुरुन्त हस्पिटल आउन भने। अर्को दुर्घटना हुने हो कि भन्ने डर लागेको थियो मलाई। 'दशा लाग्यो भने दश थोक हुन्छ भनेको यही हो।'
पछि थाहा लाग्यो, नेपालबाट नलिनाको अंकलले फोन गरेर आमा बिरामी परेर काठमाडौँ टिचिङ हस्पिटलमा भर्ना गरेको कुरा सुनाएका रहेछन्। फोनमा कुरा गर्दा गदै ढलेकी थिइन् उनी। केही घण्टा भित्रै सामान्य अवस्थामा आएकी नलिनाको अनुहार फ्युज गएको बल्ब जस्तै भएको थियो। यस्तो विपदको बेला सम्पूर्ण परिवार नै छिन्न भिन्न थियो। पाँच जनाको परिवार पाँच देशमा जस्तै भएको थियो।
भोलिपल्ट रुमकान्त सरको मुटुको प्रत्यारोपण गरियो। लगभग तीन घण्टा जति लगाएर गरेको अपरेसन सफल भयो। तर उहाँलाई एक हप्तासम्म त्यही राख्नु पर्ने रहेछ। भाग्यवश उहाँले जीवनदान पाउनुभयो। उहाँको जीवनदानले सबैको आँखामा अलिकति भएपनि घाम लाग्यो।
रुमाकान्त सरको हस्पिटलबाट डिस्चार्ज भएपछि म अपर्झट नेपाल जानु परेको थियो। नेपालबाट फर्केको अर्को दिन रुमाकान्त सरलाई भेट्न म निराजनको घर पुगेको थिएँ। उहाँ अत्यन्त कमजोर भएको देखेँ। सधैँ चिटिचट्ट परेर बस्ने रुमाकान्त सरको दारी झुस्स परेको थियो। मासु सुकेर आँखामुनि तिर छाला लत्रक्क झुन्डिएको थियो। निधारमा भाविका रेखाहरु एकैठाउँ गुचुमुच्च परेको देखेँ।
'बुवा साह्रै दुब्लाउनु भएछ। त्यस्तो कसिलो छाला झोल्लिएको पो देखेँ मैले त। अझै निको भैसक्नु भाछैन हो?,’ मैले उहाँको दुब्लो शरीर नियाल्दै भनेँ।
'खै कसरी निको भएँ भन्नु बाबु, अझै पनि छाती दुख्न छाडेको छैन। झन् पिर थपिएको छ,' उहाँले मनै अमिलो बनाएर भन्नुभयो।
त्यसै बेला नलिना भाउजू पनि आइपुग्नु भयो। उहाँ अलि दुब्लाएको देखेँ। अनुहारमा पहिलेको जस्तो चमक थिएन। सन्चो विसन्चो सोधेर उहाँ चिया बनाउछु भन्दै किचनतिर जानु भयो।
'खै बाबु, मलाई कहिले घर जाउँ भन्ने लागिराछ। आजकल किन किन एकैछिन पनि बस्ने मन छैन। यही नातिनीको पिरले मात्रै हो अडिएको। ज्वाइ पनि राम्रोसँग बोल्नुहुन्न आजकाल। पहिले पहिले साँझ टाइममै घरमा आउनुहुन्थ्यो। आजकल राति अबेर आउनुहुन्छ। झन् म आएर छोरी ज्वाइलाई सजिलो होला भनेको उल्टै दु:ख दिन आएजस्तो भयो,' उहाँले भुइमा मुन्टो निहुराएर भन्नु भयो।
'त्यस्तो सोच्नु हुँदैन बुवा। हजुरले जानेर बिरामी भएको हैन। भैपरी आउने कुराहरुलाई कसैले रोक्न सकिदैन। निराजनको काम व्यस्तताले होला, घरमा अबेर आउने। सबै ठिक हुन्छ। आत्तिनु भएन।'
'म त्यसै आत्तिएको हैन बाबु। मैले गर्दा यिनी बुढाबुढीको ठाक्क ठुक्क परेजस्तो लागेको छ। कसैलाई नभन्नु होला। मेरी छोरी हो। उसले जति कुरा लुकाए पनि मैले थाहा पाइहाल्छु। जति व्यस्त भएपनि सधैँ उज्यालो हुन्थ्यो त्यसको अनुहार। आजभोलि बुढाबुढी राम्रोसँग बोलेको पनि सुन्दिनँ।
पहिले पहिले बाहिर निस्कदा 'बुवा राम्रोसँग बस्नुहोला, म छिटै फर्किन्छु' भन्दै निस्कने मान्छे आजकल गमक्क परेर हिड्नुहुन्छ,' उहाँले भन्दै गर्दा आँखाको कोसबाट आँसु रसाएको मैले देखेँ। उहाँले नजानिँदो तरिकाले हातले पुछ्नु भयो। मेरो गलामा अबरोध महसुस भयो। बोल्न सकिनँ। त्यतिकैमा भाउजूले चिया लिएर आउनुभयो। चिया पिएर म फर्केँ।
एकदिन साँझ कान्तिपुर टिभीमा कमेडी च्याम्पियन हेर्दै गर्दा नलिना भाउजूको फोन आयो। 'बुवा पर्सि नेपाल जाँदै हुनुहुन्छ। साह्रै भेट्न खोज्नु भएको छ। जसरी भएपनि आउनुहोला' भन्नु भयो। बुवाकै कारणले गर्दा हामीहरु बीच चिनजान भएको थियो। एकपल्ट बुवालाई भेट्न त जसरी पनि जानुपर्छ भन्ने लाग्यो।
हड्सन बेमा गएर एउटा न्यानो खालको सुइटर किनेँ। बेलुका पाँच बजे निराजनको घर निस्केँ। निराजन घरमा थिएनन्। बुवासँग धेरैबेर बसेँ। हातमा 'मेरो यो सानो सम्झना मात्र हो। लाइदिनुहोला' भन्दै सुइटर हाँतमा थमाइदिएँ। सायद घर फर्किन पाएकोले होला पहिलेभन्दा अलि उज्यालो थियो उहाँको अनुहार। नलिना भाउजूको अनुहार झन् गएको जस्तो लाग्यो।
उहाँ नेपाल फर्कने दिनभर आकाशमा डम्म कालो बादल बसेको थियो। बेलुका चार नबज्दै हिउ पर्न सुरु भयो। मैले सूर्यलाई फोन गरेर एअरपोर्टसम्म जानको लागि आग्रह गरेँ। एअरपोर्ट पुग्दा निराजनहरु पुगिसकेका रहेछन्। यात्रुहरुले हतार हतार गर्दै चेक इन गरिरहेका थिए। बाहिर सिमलको भुवा झैँ हिउ झरिरहेको थियो।
निराजन, नलिना भाउजू र रुमाकान्त सर भित्र छिरिसक्नु भएको रहेछ। हतार हतार सेक्युरिटी चेक गर्ने ठाँउसम्म पुग्यौँ। निराजन बाहिरै थिए। सेक्युरिटी चेकजाँच गर्ने ठाउँभन्दा अलिपर नलिना भाउजू उभिएको देख्यौँ। हामीलाई भित्र पस्न दिदैनथ्यो। रुमाकान्त सर भर्खर अपरेशन कक्षाबाट निकाले झैँ गरी ह्विलचियरमा बस्नुभएको थियो।
नलिना भाउजूका हात घरि घरि आँखामा गइरहेका थिए। हामीलाई देखिहाल्नु भयो। त्यसपछि ह्विलचियर हामीतिर घुमाएर हातले देखाउनु भयो। हामीले हात हल्लायौँ। उहाँले देख्नु भयो कि भएन, हामीले भने उहाँको मनोदशा आँखामा प्रष्ट देख्यौँ। युद्ध हारेको घाइते सिपाहीको जस्तो शिर झुकेको थियो। हामीले बाहिरैबाट धेरैबेरसम्म हात हल्लाइ रह्यौँ।