न राति निद्रा, न त भोक दिनमा
बढ्दै छ बेचैनी, हर छिन-छिनमा
हिजोसम्म दुनियाँ, बलेको थ्यो धप्प
लौ हेर आज, जगतै छ ठप्प
उस्तै छ सूर्य, जलवायु उस्तै
उस्तै छ आकाश, धर्ती दुरुस्तै
न स्वर ठुलो, न बारुद अस्त्र
के ले बनायो जगलाई त्रस्त?
के रोग हो यो? के हो निदान?
लाखौँ छन् विज्ञ तर छैन ज्ञान
निहार्छ मान्छे, डर बोकी मनमा
शत्रु छ भन्छन्, हर कण कणमा
न रोक्न सक्छ कुनै वीर जण्ड
उतार्यो सहजै सबैको घमण्ड
कति गर्व गर्थे विज्ञानमाथि
ठुला राष्ट्र भन्दै, अनेक भाँती
कहाँ गए यिनका, परमाणु अस्त्र
कठै भुसुनाले, गर्यो निशस्त्र
इन्साफ गर्दा एकै तुलोमा
लुके राजा रंक, सबै दुलोमा
न रैछ ठुलो धन जेबरात
थुपारी हिरा, मणी खात खात
के रैछ आखिर, जगमा यो सत्य
सिवाय बाच्नु, किन मरिहत्ते?