सारा सबै जगतभरि 
एक बबुरो गरिब सरि 
धमिला आँखामा आशा भरी 
हातमा लठ्ठीको आडमा परी 
हिँडिरहेछन् एक वृद्धा 
कुप्रो परी 
गालाका मासु गालामै सुक्यो 
मैलिएको पटुकी पेटमा बाध्यो 
आशाको दियो बोकी बाटो लाग्यो 
हिँडिरहेछन् एक वृद्धा 
स्वा-स्वा गरी 
जवानी बित्यो सन्तति भन्दै 
इच्छा दबियो, पछि गर्छु भन्दै 
गर्यो दुःख रातदिन नभन्दै 
हुर्कायो नालाबाला आफ्नै रगतमै 
आज हेर एक वृद्धा 
हिँडिरहेछन् खाली खुट्टा 
तागत र जोश सबै मरिसक्यो 
तर भोकले बिउझाइरहेछ 
जिउँदो छस् भन्दै 
अनुहारमा दुःख प्रस्ट छ 
भविष्य अन्धकारमय स्पष्ट छ 
एक मुठी सासको लागि 
हात फैलाउन धेरै कष्ट छ 
बोक्रा चाटेर गुदी खुवाएको छोरो 
आफ्नो जीवनमा व्यस्त छ 
दुखेका खुट्टालाई आफैले दबाउँदै 
सहाराका नाउँमा लठ्ठी समाउँदै 
हिँडिरहेछन् एक वृद्धा 
आफ्ना कमजोर खुट्टा कमाउँदै 
हेर हेर एक वृद्धा 
हिँडिरहेछन् खाली खुट्टा।