प्रिय माया,
तिमी सधैं यस्तै बन्नु है,
जसरी मलाई अहिले माया गर्छौ, सधैं त्यसरी नै माया गर्नू है।
परिवर्तनशील यो संसारमा, परिवर्तन होलान् धेरै चिजहरू,
शरीर कमजोर होला, छाला चाउरी पर्लान्, उमेर ढल्केला, भोलि हामी नरहौंला,
तर हाम्रो माया कहिल्यै कमजोर नहोस्, विश्वासमा कहिल्यै चाउरी नपरोस्,
साथ कहिल्यै नछुटोस्, हाम्रो यो प्रेम सधैं अमर रहोस्।
यो सुन्दर प्रकृतिले पनि हाम्रो मायाको तारिफ गर्नेछ,
भन्नेछन् सबैले— 'वाह! क्या लोभलाग्दो माया।'
बगिरहेका खोलाहरूले भन्नेछन्— सधैं बगिरहने,
कहिल्यै नरोकिने, कञ्चन र निश्चल छ हाम्रो माया।
त्यो अटल पहाडले भन्नेछ— अटुट साथ अनि विश्वासले भरिएको,
आँधी-बेरीमा पनि नडगमगाउने, दरिलो छ हाम्रो माया।
जून-तारा साक्षी बसून्, हाम्रो यो पवित्र बन्धनको,
धर्ती र आकाशले गीत गाउन्, हाम्रो साँचो मिलनको।
जुगौँ-जुगसम्म यो सृष्टिले हाम्रो नाम लिइरहोस्,
म र तिमी होइन, संसारमा सधैं 'हामी' मात्र बाँचिरहोस्।