कविता
बाढीपछि
अब सबभन्दा खतरनाक कुरा
पहाडमाथि चढ्दै गरेको
त्यो भेल थिएन।
न त्यो पहाड
जो अचानक भत्किएर
नदीमा खस्यो,
न त्यो हिलो
जसले घर, पुल, सडक
र वर्षौंको कमाइलाई
एकै सासमा निल्यो।
सबैभन्दा भयानक थियो
अस्पतालको भित्ताअगाडि
उभिएको एउटा मानिस—
हातमा आफ्नो भाइको तस्वीर,
र आँखामा
यस्तो एउटा प्रश्न
जसको उत्तर
कुनै डाक्टर वा अधिकृतसँग थिएन।
ऊ सूची पढ्छ।
एउटा नाम। अर्को नाम। तेस्रो नाम।
हरेक नामपछि
उसको मनले भन्छ—
सायद यो होइन।
अनि ऊ अर्को पङ्क्तिमा जान्छ।
कुनै आमाले आफ्नो छोराको नाम
यति धेरैपटक दोहोर्याएकी छिन्
कि त्यो नाम अब प्रार्थना बनेको छ।
कुनै बच्चाले सोध्छ—'बुबा भेटिनुभयो?'
आमाले केही भन्दिनन्।
किनकि आमालाई थाहा छ—
यस्तो बेला
झूट बोल्नु पनि
एक किसिमको माया हो।
बाहिर नदी बगिरहेकी थियो—
मानौँ उसलाई केही थाहा नै थिएन।
उसले खेत लग्यो, पसल लग्यो,
घर लग्यो, मानिसहरू लग्यो।
तर नदीले
कसैको नाम लिएर लगेन।
उसले त केवल नामहरू मेटाउँदै गयो।
अनि अहिले एउटा टेबलमाथि
भिजेका तस्वीरहरू छन्—
एउटा विवाहको तस्वीर,
एउटा विद्यालयको तस्वीर,
एउटा पासपोर्ट,
एउटा बच्चाको जन्मदिनको तस्वीर।
अनुहारहरू बाँकी छन्, शरीरहरू छैनन्।
कुनै बाबुले आफ्नी छोरीको तस्वीर
दुवै हातले समातेका छन्,
जस्तो कि तस्वीर होइन, उनकै औँला समातेका हुन्।
उनी त्यसलाई छोड्न चाहँदैनन्।
किनकि सायद
अर्को सूचीमा
उनको नाम भेटिएला।
वा नभेटिएला पनि।
यही हो ‘हराएकाहरू’ शब्दको सबैभन्दा क्रूर अर्थ—
जहाँ मृत्युले पनि
अझै फैसला सुनाएको हुँदैन।
तपाईं पूरै रून सक्नुहुन्न।
शोक मनाउन सक्नुहुन्न।
तपाईं अन्तिम संस्कार गर्न सक्नुहुन्न।
तपाईं बस
हरेक नयाँ हेलिकप्टरको आवाजमा
बाहिर निस्केर आकाश तिर हेर्नु हुन्छ,
हरेक फोन बज्दा मुटु थाम्नु हुन्छ,
हरेक तस्वीरमा
आफ्नो मान्छे खोज्नु हुन्छ।
र राति सुत्नुअघि
एउटै कुरा दोहोराउनु हुन्छ—
भोलि सायद भेटिएला।
तर बिहान, नदी अझ तल झरिसकेको हुन्छ।
हिलो सुक्दै गएको हुन्छ।
शवहरूको सङ्ख्या बढ्दै गएको हुन्छ।
हराएकाहरू नामहरूको सूची
लामो हुँदै गएको हुन्छ।
र बाढीमा परेको देश एउटा देशजस्तो होइन,
एउटा विशाल प्रतीक्षालयजस्तो उभिएको हुन्छ—
जहाँ हजारौँ मानिसहरू, आफ्ना-आफ्ना नाम
कुनै चमत्कारको अन्तिम पङ्क्तिमा
खोजिरहेका हुन्छन्।
भनिनेछ—प्राकृतिक विपत्ति थियो।
हिमनदी फुटेको थियो।
जलवायु परिवर्तन भइरहेको छ।
होलान्, सबै सत्य होलान।
तर कुनै आमाका लागि
यी कुनै शब्दले पनि
त्यो खाली ठाउँ भर्न सक्दैन
जहाँ उनको छोराको नाम हुनुपर्ने थियो।
त्यसैले आज म तथ्याङ्क गन्न चाहन्नँ।
म केवल ती नामहरूको छेउमा बस्न चाहन्छु
जसको अगाडि लेखिएको छ— 'हराएकाहरू'
किनकि कहिलेकाहीँ सबैभन्दा ठूलो त्रासदी
मृत्यु होइन—
सबैभन्दा ठूलो त्रासदी त यो हो—
जब बाँचेकाहरू अन्त्य र आशाको डोरीमा
झुन्डिरहेको हुन्छन।
र यो समेत थाहा हुँदैन
कि उनीहरूले आफ्ना प्रियजनहरूका सम्झनामा
कहिलेदेखि रून सुरू गर्ने हो।