कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा सुरू भएको राहत अभियानमा सुरूका दिन सबभन्दा बढी आवश्यक थिए — खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका सामग्री।
अहिले भने प्रभावित परिवारको आवश्यकता फेरिन थालेको छ।
विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितका अनुसार अहिले उनको वडामा खाद्यान्न र कपडाको अभाव छैन। अस्थायी बसोबासका लागि आवश्यक सामग्रीसमेत विभिन्न दाता तथा संघ–संस्थाबाट आइरहेका छन्।
त्यसैले कसैले 'अहिले के चाहिएको छ?' भनेर सोध्यो भने उनको जबाफ हुन्छ, 'खाद्यान्न वा कपडा होइन। हामीलाई स्टिलका दराज चाहिएको छ।'
'तत्कालका लागि खाद्यान्न, लत्ताकपडा सबै पुग्दो छ। अस्थायी बसोबासका लागि चाहिने सामग्री पनि आइरहेको छ,' वडाध्यक्ष रञ्जितले सेतोपाटीसँग भने, 'यस क्षेत्रका विस्थापित परिवारलाई अहिले स्टिलको दराज चाहिएको छ।'
उनले यसको कारण पनि खुलाएका छन्।
उनका अनुसार बाढीले घरका सामान बगाएका वा घर क्षति भएका परिवारलाई अहिले आफ्ना बाँकी सामान सुरक्षित राख्ने समस्या देखिन थालेको छ। यसमा स्टिलका दराज सहयोगी हुन सक्ने उनको भनाइ छ।
'५–७ फिटका दराज पीडितलाई दिन सकियो भने उनीहरूको सामान राख्न सहयोग पुग्छ। अहिले हामी यसकै खोजीमा छौं,' उनले भने।
भोटेकोशी–त्रिशूली बाढीबाट विदुर–१ मा मात्रै आंशिक र पूर्ण गरी ४०० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान छ। बाढीपछि वडाबाट ७२ जना हराएको विवरण आएकामा हालसम्म १४ जनाको शव फेला परेको रञ्जितले जानकारी दिए।
बाढीबाट विस्थापित केही परिवार होल्डिङ सेन्टरमा छन् भने केही आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
राहतको पहिलो चरण पार भयो, अब पुनर्स्थापनाको आवश्यकता
वडाध्यक्ष रञ्जितका अनुसार राहत वितरणका सुरूआती तीन दिन निकै कठिन थिए।
प्रभावितको संख्या ठूलो र आवश्यकता अनुसार सामग्री व्यवस्थापन गर्नुपर्ने भएकाले त्यस बेला समस्या भएको थियो। अहिले भने अवस्था केही सहज हुँदै गएको उनी बताउँछन्।
'होल्डिङ सेन्टरमा बसुञ्जेलका लागि खाद्यान्न पर्याप्त छ। दाताहरूले अस्थायी टहराका लागि सामग्री दिने प्रतिबद्धता जनाउनुभएको छ। कपडा पनि सबैलाई पुगेको छ,' उनले भने, 'तर राहतको आवश्यकता सकिएको छैन। आवश्यकता बदलिएको छ।'
वडा कार्यालयले प्रभावित परिवारको विवरण संकलन गर्दै राहतलाई आवश्यकताका आधारमा लक्षित गर्ने प्रयास गरिरहेको छ। त्यसै क्रममा पीडितलाई कार्ड वितरण समेत सुरू गरिएको रञ्जितले बताए।
उनका अनुसार पूर्ण रूपमा घर क्षति भएकालाई 'रातो', त्यही घरमा व्यवसाय सञ्चालन गर्दै आएकालाई 'निलो' र भाडामा बस्दै आएकालाई 'पहेँलो कार्ड' वितरण गर्न थालिएको छ।
वडा कार्यालयको भौतिक संरचना समेत क्षति भएकाले क्षतिको विस्तृत विवरण संकलन गर्न अझै समय लागिरहेको उनको भनाइ छ।
'राहत लिन लाइनमा बसेका सबै पीडित हुँदैनन्'
बाढी प्रभावित क्षेत्रमा राहत वितरणको अर्को चुनौती भनेको वास्तविक पीडित पहिचान गर्नु रहेको रञ्जितको अनुभव छ।
एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भनिएपछि सुरूका दिनमा वास्तविक पीडितसम्म राहत पुर्याउन कठिन भएको उनले बताए। अहिले पनि केही दाताले आफै राहत वितरण गर्न खोज्दा समस्या हुने गरेको उनको अनुभव छ।
'हामी जनप्रतिनिधिलाई कति पीडित छन् भनेर थाहा हुन्छ। हामीले राहत वितरणमा तलमाथि गर्यौं भने त्यसको जिम्मेवारी हामी लिन्छौं। तर दाताहरूले पनि हामीलाई विश्वास गर्नुपर्छ,' उनले भने।
उनका अनुसार राहत नपाएको गुनासो गर्ने सबै व्यक्ति वास्तविक पीडित हुँदैनन्। कतिपयले उल्टै विभिन्न ठाउँबाट राहत लिइरहेको पाइएको उनले बताए।
'अहिले राहत पाइनँ भनेर बोल्नेहरूमध्ये धेरै पीडित नभएको र उनीहरूले उल्टै राहतसमेत पाइरहेको देखिन्छ,' उनले भने, 'यस्ता कुरामा मिडिया र दाताले पनि ख्याल राख्न जरूरी छ।'
उनको अनुभवमा दाताहरू सुरूमा सीमित परिवारलाई आफ्नै हातबाट राहत दिने र बाँकी सामग्री जनप्रतिनिधिमार्फत वितरण गर्ने योजना बनाएर आउँछन्। तर राहत लिएर प्रभावित क्षेत्र पुगेपछि लाइन बसेका सबैलाई सामग्री बाँड्ने अवस्था बन्ने गरेको उनी बताउँछन्।
'राहतका लागि लाइन बसेका सबै पीडित हुँदैनन् भन्ने यथार्थ हामीलाई मात्र थाहा हुन्छ,' उनले भने।
'साँच्चिकै पीडितलाई दिन चाहनुहुन्छ भने दराज दिनुस्'
अब राहत दिन चाहने दातालाई रञ्जितको आग्रह छ — खाद्यान्न र कपडाको भीडमा अर्को एउटा सामान थप्नुभन्दा पीडित परिवारको दीर्घकालीन आवश्यकतातर्फ ध्यान दिनुस्।
'यदि तपाईंहरूलाई साँचिकै पीडितलाई राहत दिन मन छ भने अब दराज दिनुहोला,' उनले भने।
उनका अनुसार दाताले उपलब्ध गराएका दराज वडा कार्यालयले संकलन गरेर राख्नेछ। आवश्यक संख्यामा दराज जम्मा भएपछि सम्बन्धित दातालाई बोलाएर वास्तविक पीडित परिवारलाई आफ्नै हातबाट हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने उनको प्रस्ताव छ।
'तपाईंहरूले दिएको दराज हामी जम्मा गरेर राख्छौं। पीडितलाई दिन पुग्ने दराज संकलन भएपछि तपाईंहरूलाई बोलाउँछौं। अनि आफ्नै हातले पीडितलाई दराज हस्तान्तरण गर्नुहोला,' रञ्जितले भने।
उनको यो भनाइबाट के बुझिन्छ भने, बाढीपछि प्रभावित क्षेत्रमा राहतको पहिलो आवश्यकता थियो — बाँच्नका लागि खाना, लगाउन कपडा र ओत लाग्न छानो।
अब बिस्तारै प्रश्न बदलिँदैछ — बाढीले बगाउन नसकेको वा उद्धारपछि जोगिएको सामान कहाँ राख्ने?
विदुर–१ का वडाध्यक्षले मागेको स्टिलको दराज त्यही बदलिँदो आवश्यकताको एउटा सानो तर अर्थपूर्ण संकेत हो।
(बाढी प्रभावित विदुर नगरपालिका–१ मा स्टिलको दराज सहयोग गर्न चाहनेले वडाध्यक्ष लेनिन रञ्जितलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9851264001)