अमेरिकी र इरानी सेनाले इरान वरपरका समुद्री क्षेत्रमा रहेका पानीजहाजमाथि शनिबार आक्रमण गरेका छन्।
यसक्रममा अमेरिकी सेनाले तीनवटा इरानी तेलवाहक जहाजमा प्रहार गरेको छ भने इरानले स्ट्रेट अफ हर्मुजमा चलिरहेका तीनवटा जहाजलाई निशाना बनाएको जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले (आइआरजीसी) दुईवटा अमेरिकी युद्धपोतमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।
त्यसपछि इरानको तेल निर्यात हब मानिने खर्ग टापुको तटनजिकैको एक जहाजसहित तीनवटा इरानी तेलवाहक आक्रमण गरिएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।
'आइआरजीसीलाई यो सन्देश स्पष्ट रहोस् यदि तिमीले हाम्रा दुईवटा जहाजमा प्रहार गर्यौ भने हामी तिम्रा तीनवटा जहाज ध्वस्त पारेर अझ ठूलो आर्थिक क्षति पुर्याउनेछौं,' अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले भने।
सेन्ट्रल कमान्डका अनुसार कुनै पनि अमेरिकी सैनिकलाई क्षति पुगेको छैन।
जवाफमा आइआरजीसीले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य जहाजमाथि थप कडा आक्रमण गर्ने धम्की दिएको छ।
पछि उसले तीनवटा तेलवाहक जहाज र अन्य क्षेत्रमा रहेका तीनवटा अमेरिकासँग सम्बद्ध जहाजलाई पनि निशाना बनाएको छ।
इरानी सरकारी टेलिभिजनमा जारी आइआरजीसी नौसेनाको विज्ञप्तिमा भनिएको छ, ‘आतङ्ककारी’ अमेरिकी सेनाको भ्रममा नपर र अनधिकृत जलमार्गबाट अघि बढ्ने उद्देश्यले गरिने कुनै पनि शङ्कास्पद गतिविधिबाट टाढा बस। अन्यथा, तिमीहरूलाई निशाना बनाइनेछ।'
इरानको अर्ध-सरकारी समाचार संस्था तस्निमले खर्गको लंगरगाह क्षेत्रमा एउटा जहाजमा चारवटा अमेरिकी मिसाइल खसेको पुष्टि गरेको थियो।
स्थानीय स्रोतलाई उद्धृत गर्दै तस्निमले घटनामा कुनै मानवीय क्षति नभएको र ट्याङ्करका चालक दलका सदस्यहरूलाई उद्धार गरिँदै गरेको जनाएको छ।
अमेरिकी र इसराइलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि जारी द्वन्द्वलाई थप बढाउने गरी विगत साता तनाव बढेको थियो।
यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुर्याएको छ भने नोभेम्बरमा हुने अमेरिकी संसदको निर्वाचनअघि अधिकांश अमेरिकीले यसको विरोध गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)