बिहानको आठ बजिसकेको थियो। पोखराको टुरिस्ट बसपार्कबाट काठमाडौँका लागि बस छुट्नै लागेको समयमा समीर हतार-हतार बसमा चढे। आफूले बुक गरेको टिकटको सिट नम्बर पत्ता लागेपछि झोला सिटमाथिको ओभरहेड र्याकमा सिउरेर थचक्क आफ्नो सिटमा बसे।
बस आफ्नै गतिमा अगाडि बढ्न थाल्यो। केही बेर बस आफ्नै गतिमा अगाडि बढेपछि समीरले आफूसँगै अर्को सिटमा झ्यालतर्फ बस्ने एक जना उमेरले परिपक्व र पाका मानिससँग गफगाफ र भलाकुसारी गर्ने विचार गरे।
लामो यात्राको क्रममा कसैसँग नबोली एक्लै बस्नै नसक्ने समीर ती मानिससँग उनका जीवनका भोगाइका अनुभव सुन्ने विचारले सामान्य शिष्टाचारपूर्वक परिचय गर्न खोजे।
‘बुबा, कहाँसम्म जान लाग्नुभयो?’ सामान्य जिज्ञासाबाट समीरले कुराको सुरुवात गरे।
‘छोरी-ज्वाइँ भेट्न काठमाडौँ जान लागेको बाबु। अलिअलि बिरामी पनि छु। उनीहरूले उतै राम्रो अस्पतालमा जँचाउने भनेका छन्। एक-डेढ महिना उतै बस्छु होला,’ बुढा बाले जवाफ दिए।
सोधेकोभन्दा धेरै उत्तर दिएपछि समीरमा ती बुढा बाप्रति थप जान्ने उत्सुकता जाग्यो। उनले घर-परिवार, छोराछोरी, नाति-नातिना सबै सोध्न भ्याए। बुढा बाले पनि उत्साहित हुँदै सबै बेलीबिस्तार लगाउँदै गए।
‘अनि बाबु, काठमाडौँसम्म त होला नि? नाम के पर्यो कुन्नि? घर कहाँ हो नि बाबुको?’
बाले एकै मेसोमा सबै कुरा जान्न खोजेझैँ समीरतर्फ प्रश्नहरूको वर्षा गराए। समीरले पनि आफ्नो नाम, थर र घरको ठेगाना बताए। शालीनतापूर्वक नै सबै प्रश्नहरूको एक-एक गरी जवाफ दिए।
उनको कुरा सुनेपछि ती बुढा बाले उत्सुक हुँदै सोधे, 'फलानोको छोरा हो तपाईं?' समीरले 'हो' भन्दै सकारात्मक रूपमा टाउको हल्लाए।
उहाँ झन् उत्साहित हुँदै भन्नुभयो, 'तपाईंको त घरमा त म आफैँ पुगेको छु नि!'
समीरले अलि अचम्मित हुँदै कुन प्रसङ्गमा, के कामले र कहिले जानुभएको थियो भनी सोधे। उहाँले आफ्नी छोरीको एसएलसीको परीक्षा केन्द्र जिल्ला सदरमुकाममा परेकाले बाबुकै घरमा राखेर परीक्षा दिलाउन छोरीलाई लिएर गएको कुरा बेलिविस्तार लगाउनुभयो।
उहाँको कुरा सुनेर समीरको मुटुको धड्कन अचानक तीव्र भयो। एसएलसी दिन आफ्नो घरमा बसेकी केटी भन्नेबित्तिकै समीरलाई झट्ट प्रभाको याद आयो। तर पूर्ण रूपमा विश्वस्त हुनका लागि सोधे, 'बुवा, हजुरको छोरीको नाम नि?'
उहाँले 'प्रभा' भन्नासाथ वर्षौँपहिले छुटेको अधुरो माया र पुनर्मिलनको एउटा मधुर आशा समीरको मनमा पलायो। उनीसँग यात्रा अवधिभर लामै गफगाफ र भलाकुसारी चल्दा, उनले छोरीको विवाह भएको ठेगाना र ज्वाइँको कामको बारेमा पनि सबै विवरण सुनाए।
प्रभालाई खोज्ने एउटा दह्रो आधार भेटिएको महसुस गर्दै समीर खुसी र उमङ्गका साथ काठमाडौँ ओर्लिए। काठमाडौँ ओर्लिएपछि समीर कलङ्कीको एउटा क्याफेमा पसे। कफीको चुस्कीसँगै प्रभाको यादमा पच्चीस वर्ष अगाडिको त्यो घटना आफ्नो मानसपटलमा दोहोर्याउन थाले।
‘प्रभा ग्रामीण परिवेशमा हुर्केकी सुन्दर र शालीन केटी थिइन्। घरायसी कामकाजमा बुबाआमालाई बिहान-बेलुकी सघाएर स्कुल जानु उनको नियमित दिनचर्या थियो। कक्षा दशसम्मको पढाइ गाउँकै स्कुलमा सके पनि टेस्ट पास भएपछि एसएलसीको परीक्षा दिन भने सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो।
घरबाट परीक्षा दिन आउजाउ गर्न भ्याइँदैनथ्यो। कहिल्यै घर छाडेर बाहिर नबसेकी छोरीलाई कसको जिम्मामा कहाँ लगेर राख्ने र परीक्षा दिलाउने भन्ने चिन्ता बुढा बुबाआमालाई हुनु स्वाभाविकै थियो।
छोरा भएको भए त जेनतेन कोठा खोजेर पनि बस्छन्, छोरीलाई त कसैको जिम्मा नै लगाउनुपर्छ' भन्ने सोचका साथ सदरमुकाम वरपर आफ्ना कोही नातागोता खोज्ने क्रममा प्रभाका बुबा छोरीलाई लिएर समीरको घरसम्म पुग्नुभएको थियो। समीरको परिवारसँग प्रभाको परिवारको नजिकको नाता नभए पनि घुमाउरो नातासम्बन्ध भने थियो। सोही नाता-सम्बन्धका कारण प्रभा समीरको घरमा परीक्षा नसकिउन्जेलसम्मका लागि बसेकी थिइन्।
प्रभासँग एक जना उनको सहपाठी साथी पनि थिइन्। उनको आफ्नो कोही नातासम्बन्धको मान्छे नभएर प्रभासँग साथ लागेर आएकी थिइन्।
समीर, त्यतिबेला उमेरले चौबीसौँ वसन्त पार गर्दै गरेका अविवाहित युवक थिए। उनी आफ्नो पेसा-व्यवसायको सिलसिलामा घरभन्दा प्रायः बाहिरै बस्थे। शनिबारको बिदा पारेर समीर घर गएका थिए। घरमा बुढी आमा एक्लै हुनुभएकाले उनी प्रायः बिदाको समयमा आमालाई भेट्न गइरहन्थे।
समीर घर पुग्दा एक जना अपरिचित किशोरी पिँढीमा बसेर आमालाई सघाउँदै तरकारी काट्दै थिइन्। त्यस दिन शनिबार भएकाले परीक्षा दिन आएकी उनकी साथी भने अघिल्लो दिन नै आफ्नो घर गएको कुरा समीरले थाहा पाए। निहुरिएर तरकारी काटिरहेकी हुनाले अगाडि झरेको कालो अनि लामो सिल्की कपालसँग अनुहारको सेतो छाला लुकामारी खेल्दै थियो।
छोरालाई देखेर आमाले बोलाउँदा ऊ समीरतिर पुलुक्क हेरेर पुनः निहुरिइन्। एक झल्को उनको आँखा माथिका परेला र सेतो देब्रे गालाको तलपट्टिको कोठीमा नजर पर्यो। 'आमालाई सघाउने यस्ती संस्कारी केटी को होली?' भन्ने विचार उनको मानसपटलमा सलबलायो।
उनी परीक्षा दिन बसेकी हुनाले फुर्सदको समयमा आमालाई सघाउँदी रहिछन्। सानोतिनो काममा आमाको हात बटुल्ने गरे पनि आमाले भने उनलाई समय खेर नफाली पढ्न नै प्रेरित गरिरहनुभएको रहेछ। तरकारी काट्ने काम सकेर खाना नपाकुञ्जेलसम्म पढ्नका लागि प्रभा आफू बस्दै गरेको कोठामा छिरिन्।
समीरको कोठा र प्रभा बस्ने कोठा आमनेसामने थिए। त्यस दिन प्रभाकी साथी घर गएकी हुनाले प्रभा एक्लै थिइन्। समीरले पनि घरमा पाहुना बनेर आएकी आफ्नी नातागोताकी मान्छेसँग सामान्य परिचय गर्नु नै उचित ठाने।
प्रभा एउटा साँघुरो खाटमा बसी किताबहरू असरल्ल पारेर भोलिको परीक्षाको तयारी गर्दै थिइन्। पल्लो कोठामा गएर समीरले शिष्टाचारपूर्वक प्रभासँग परिचय गरे। उनले नाम, थर र केको परीक्षा दिँदै गरेको भनेर सोधे। घर कहाँ हो, अनि घरमा को-को हुनुहुन्छ भन्नेसम्मका कुरा सोध्न भ्याए।
एउटा अपरिचित युवकले यसरी आफ्नो बारेमा सोधखोज गरेपछि प्रभा लाजले भुतुक्कै भइन्। लाजले उनको शिर निहुरिइरह्यो। तैपनि लाजले समीरको मुखमा नहेरी उनले सोधेका प्रश्नहरूको उत्तर भने शालीनतापूर्वक नै दिइन्। म त्यही घरको सदस्य हुँ भन्ने कुरा उनले पहिल्यै आमाबाट थाहा पाएकी रहिछिन्।
भोलिपल्ट परीक्षाको अन्तिम दिन उनको अर्थशास्त्रको परीक्षा रहेछ। समीर पनि अर्थशास्त्रकै विद्यार्थी भएकाले उनले 'कुनै कुरामा समस्या भए सोध है' भने। प्रभाले बिस्तारै टाउको हल्लाएर साङ्केतिक रूपमा 'हुन्छ' भनिन्।
उनले पढ्दै गरेको गेसपेपर समीरले आफ्नो हातमा लिए र परीक्षामा सोध्न सक्ने केही सम्भावित प्रश्नहरूका बारेमा प्रभालाई सोधपुछ गरे। तर प्रभा लाजले बोल्नै सकिनन्। उनका हातहरूले खाटको छेउलाई कसिलो गरी समातेका थिए भने खुट्टाका औँलाहरूले अञ्जानमै भुइँ कोट्याइरहेका थिए।
समीरले प्रभालाई नआत्तिन भन्दै उनको सिल्की कपालयुक्त शिरमा हात राखेर थपथपाएको समीर आफैँले पत्तो पाएनन्। उनीहरू दुवै केही नबोली, केही समय त्यही अमूक अवस्थामा हराइरहे।
दुवै एकअर्कामा हराइरहेका बेला भान्छाबाट आमाले खाना पाकेकाले खान आउन बोलाउनुभयो। आमाको आवाज सुनेर दुवै झसङ्ग भए। समीर आफ्नै कोठामा गएर 'आउनै लागेँ' भनी जवाफ फर्काए।
आमाले प्रभालाई पनि खाना खान बोलाउनुभयो। असरल्ल छरिएका किताबहरू र आफ्नो कपाल मिलाउँदै प्रभा पनि खाना खान भान्छातिर लागिन्। प्रभाले 'दाइले खाएपछि खान्छु नि आमा' भन्दै थिइन्, तर आमाले सँगै बसेर खान भनेपछि उनले नाइँ भन्न सकिनन् र दुवैले सँगै खाना खाए।
खाना खाँदा पनि प्रभालाई लाजले छाडेको थिएन। उनले निकै अनुशासित र शालीनतापूर्वक खाना खाइन्। समीरसँग आँखा जुधाउन पनि सकिनन्। खाना खाइसकेपछि प्रभाले आमालाई भाँडा माझ्न र भान्साको काम सघाउन थालिन्।
समीरलाई भने अलि ननिको लाग्यो। कस्तो-कस्तो भयो। एउटी फुच्ची केटीले परिपक्व रूपमा आमालाई सघाइरहेको देख्दा मनमा एक किसिमको मायाको बिजारोपण भए जस्तो महसुस भयो।
हिउँदका छोटा दिन, छिट्टै रात परिहाल्ने। त्यसै पनि गाउँघरतिर खाना खाएपछि सुत्नकै हतारो हुन्छ। रात परेसँगै चिसो बढेकाले समीर सुत्न गएँ भने प्रभा पातलो खास्टो ओढेर खाटमा बसी पढ्न लागिन्। यता समीर आफ्नो ओछ्यानमा पल्टिन त पल्टिएँ, तर निद्राको भने कुनै छाँटकाँट (चाइँचुइँ) नै थिएन। बिस्तारै आफ्नो कोठाको टुकी निभाएर समीर प्रभा बसिरहेको कोठातिर लागेँ। समीरलाई देख्नासाथ प्रभाको अनुहार फेरि लाजले रातोपिरो भयो।
'तिमीसँग केही बेर गफ गर्न मन लागेर आएको। जाऊँ कि बसूँ?' समीरले शिष्टतापूर्वक सोधेँ।
कोठामा बस्ने अरू कुनै साधन नभएकाले उनी अलि पर सर्दै समीरलाई खाटमै बस्न अनुरोध गरिन्।
उनीहरू दुवै जना केही बेर चुपचाप रहे। मधुरो टुकीको उज्यालोमा समीरले प्रभालाई पटक-पटक हेर्ने कोसिस गरेँ, तर उनी निहुरिएर बसेका कारण उनको पूरा मुहार देख्न सकेनन्। प्रभाले त झन् शिर ठाडो पारेर समीरतिर हेर्दै हेरिनन्।
केही बेरको मौनतालाई तोड्दै समीर थोरै प्रभातिर सरेँ र उनको दाहिने हात बिस्तारै समातेँ। प्रभाको लाजको पारो झन् बढ्दै गयो र काखको किताब भुइँमा फुत्कियो। आफ्नो शिर बिस्तारै समीरको काँधमा राखेर उनी निकै बेरसम्म मौन बसिन्। समीरले दाहिने हातले उनलाई अङ्गालोमा बाँधेँ र पहिलेझैँ उनको कोमल केश सुमसुम्याउन थालेँ।
प्रभा पनि निश्चल भएर समीरका हरेक गतिविधिलाई मौन समर्थन गरिरहेकी थिइन्। दुवैले आफ्नो ढुकढुकी बढेको र एकअर्काको सामीप्यतामा महसुस गरिरहेका थिए। समीरले त्यही मधुरो टुकी पनि बिस्तारै फुकेर निभाए। टुकीको उज्यालो हटेसँगै झ्यालबाट छिरेको शीतल जूनको प्रकाशले कोठामा ठाउँ पायो।
अठार वर्षको ऊर्जावान् जवानीमा भएकी प्रभा र चौबीस वर्षको अविवाहित समीर दुवै एकअर्काको अङ्गालोमा निकै बेर हराए। दुवैका ओठहरू एकअर्कामा समाहित भए। एउटै सानो खाटमा, पातलो ऊनीको खास्टो ओढेर दुवै जना एकअर्काको आलिङ्गनमा जोडिँदा उत्पन्न भएको तातो श्वासले रातको चिसो मौसमलाई चुनौती दिइरहेको थियो। संवेगको त्यो उत्कर्षमा समीरले अगाडि बढ्न प्रभाको मन्जुरी मागेँ।
समीरको प्रश्नले प्रभा झसङ्ग भइन्। भर्खरै एक दिनको चिनजानका आधारमा उनले आफूलाई पूर्ण रूपमा सुम्पन सकिनन्, उनको मनमा अविश्वास र संकोच जाग्यो। समीरले चाहेको भए बल प्रयोग गर्न सक्थेँ होला, तर आफ्नो संस्कारले समीरलाई रोक्यो; समीरले आफ्नो इमानदारिता र अनुशासन कायम राखेँ। रातको करिब एघार बजेतिर दुवै जना छुट्टिए र आ-आफ्नो बिस्तरामा गएर सुते।
प्रभा बिहान सबेरै उठिन्। सात बजेदेखि उनको परीक्षा थियो। सबै तयारी गरेर हिँड्ने बेलामा प्रभाले समीरको कोठाको ढोका बिस्तारै अलिकति धकेलिन् र ढोकाको चरबाट समीरलाई नियालिन्। समीर बिउँझिएका त थिए, तर ओछ्यानबाट उठेका थिएनन्। उनले समीलाई नियालेर हेरेको कुरा समीरले चाल पाएँ, तर कुनै प्रतिक्रिया जनाएनन्। यो नै उनीहरूको अन्तिम मौन संवाद बन्यो।
प्रभा परीक्षा दिएर त्यतैबाट आफ्नो गाउँ फर्किन्, समीर पनि आफ्नो काममा व्यस्त भएँ। त्यो समय आजको जस्तो मोबाइल फोनको जमाना थिएन। चिठीपत्र पठाउनका लागि न स्पष्ट ठेगाना थियो, न त सामाजिक परिवेश नै त्यति उदार थियो। फलस्वरूप, एकअर्काको सम्पर्कबिना नै पच्चीस वर्षसम्म उनीहरू दुवै अलग रहे। त्यस अवधिमा उनीहरू दुवैको घरबार अन्तै जोडियो। छोराछोरी भए, माया गर्ने परिवारहरू थपिए र आ-आफ्नै हाँसो-खुसीमा जीवनको गाडी गुडिरह्यो।
समीरले आफ्नो जीवनमा कुनै पराई केटीलाई प्रेमपूर्वक छोएको त्यो नै पहिलो पटक थियो। प्रभासँग बिताएका ती संक्षिप्त पलहरू समीरको मुटुको कुनै कन्दरामा अदृश्य रूपमा सुरक्षित बसिरहेका थिए। परीक्षाको त्यो अघिल्लो साँझ उनले आफूले खाना खाएको थाल माझिदिँदा अङ्कुराएको प्रेमको त्यो सुकुमार बिरुवा, नफुल्दै त्यसै ओइलाएर गएको महसुस गरे।
तर आजसम्म पनि कतै सामाजिक सञ्जालमा 'पहिलो प्रेम' को प्रसङ्ग चल्दा वा कुनै विछोडको कथा सुन्दा, समीरका ती आँखाहरूले अझै पनि त्यही कोठा, त्यही टुकीको मधुरो उज्यालो र त्यही शालीन प्रभालाई नै खोजिरहन्थे।
बसको लामो यात्राको कारण थकाइ लागेकोले केही बेरको विश्रामपछि बेलुका समीरले प्रभालाई सामाजिक सञ्जालमा खोज्न थाले। प्रभा नाम गरेका मानिसहरू धेरै हुने भएकाले उनलाई सामाजिक सञ्जालमा खोज्न समीरलाई निकै गाह्रो भयो।
उनको अनुहारको धमिलो आकृति मात्र समीरको दिमागमा अवशिष्ट थियो। त्यसैलाई आधार मान्दै समीरले लामै समयसम्म खोजतलास गरिरहे। 'म्युचुअल फ्रेन्ड्स' मार्फत पनि उनलाई पत्ता लगाउने भगीरथ कोसिस गरे। जति गर्दा पनि फेला पार्न नसकेपछि निराश हुँदै टोलाइरहेको बेला, अचानक समीरलाई प्रभाका बुबाले आफ्ना ज्वाइँका बारेमा बोलेका कुराहरू झलक्क सम्झना आए।
ज्वाइँको नाम र पेसाका माध्यमबाट खोजी गरेपछि भने उनलाई पत्ता लगाउन कत्ति पनि गाह्रो परेन। समीरको झिनो स्मृतिमा रहेको उनको बाल्यकालीन अनुहारलाई त्यहाँ उपलब्ध तस्बिरहरूसँग भिडाएर हेर्दा, 'ऊ नै प्रभा हो' भन्ने कुरामा कुनै दुविधा रहेन। समीरले तुरुन्तै फेसबुकबाट उनलाई 'फ्रेन्ड रिक्वेस्ट' पठाए।
अर्को दिन समीरको अनुरोधलाई उनले स्वीकार गरिन्। त्यसपछि म्यासेन्जरमा उनीहरूबीच लामै कुराकानी भयो। उनले पनि समीरलाई धेरै सम्झिरहने गरेको र पहिलो प्रेमको झझल्कोले बेलाबेलामा सताउने गरेको भावना पोखिन्। आफूले समीरको घरमा बिताएको त्यो अविस्मरणीय रातलाई मुटुको एउटा कुनामा निकै जतनका साथ कैद गरेर राखेको कुरा उनले सुनाइन्।
दुवै जना पच्चीस वर्षअगाडिको त्यो सुनौलो रात सम्झेर निकै बेरसम्म अतीतको गहिराइमा डुबे। कुराकानीकै क्रममा एकपटक समीरले प्रभालाई भिडियो कलमा आउन आग्रह गरेँ। तर प्रभाले यो पच्चीस वर्ष लामो प्रतीक्षापछिको ऐतिहासिक भेटलाई सस्तो भिडियो कलमा सीमित गर्न चाहिनन्; बरु प्रत्यक्ष भेटेर, एकअर्कालाई अङ्गालोमा बाँधेर यो क्षणलाई सधैँका लागि यादगार बनाउने इच्छा व्यक्त गरिन्।
जीवनको उकाली-ओराली पार गर्ने लामो यात्राका क्रममा भेटिएका कतिपय यात्री आज स्मरणमा छैनन्, तर पनि कहिलेकाहीँ खास समयमा, खास मान्छेसँग भएको छोटो भेट जीवनको एउटा स्थायी अङ्ग बन्न पुग्ने रहेछ।
आज समीर त्यही अधुरो प्रेमको पूर्णता र पुनर्मिलनको पर्खाइमा प्रभासँग भेट्ने उत्कट अभिलाषा लिई उनी आउने बाटो नियाल्दै आँखाहरू बिछ्याएर बसिरहेका छन्।