कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी–त्रिशूली बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका गाउँहरू सडक र विद्युत सञ्जालबाट विच्छेद भएका छन्।
त्यसैले पालिकाले राहतका रूपमा खाद्यान्न र औषधिसँगै सोलार प्यानलसमेत माग गरेको छ।
गाउँहरूमा विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न र टेलिफोन सम्पर्क गर्नसमेत समस्या भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले जानकारी दिए।
'सदरमुकाम धुन्चे बाहेक अन्यत्र सडकबाट पहुँच छैन,' भट्टराईले सेतोपाटीसँग भने, 'हेलिकप्टरबाट सामान पठाउनुको विकल्प छैन। हामी थोरै–थोरै सामान पठाइरहेका छौं।'
विद्युत नहुँदा कतिपय गाउँमा टेलिफोन सम्पर्क हुन नसकेको उनले बताए।
'सोलार प्यानल भयो भने त्यसबाट मोबाइल चार्ज गर्न सकिन्थ्यो। कुराकानी हुनसक्थ्यो,' भट्टराईले भने, 'त्यसैले हामीलाई सोलार प्यानल पनि चाहिएको छ।'
बाढीपछि राहतको आवश्यकता खाद्यान्नमा मात्र सीमित नरहेको उनको भनाइ छ। पालिकाले औषधि, विशेषगरी नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि आवश्यक औषधि पनि माग गरिरहेको छ।
'प्रेसर र सुगरका नियमित औषधि सेवन गर्नेहरूको सूची बनाउँदै छौं। उहाँहरूका लागि औषधि आवश्यक छ,' भट्टराईले भने।
खाद्यान्नसँगै पोषणयुक्त सामग्रीको आवश्यकता पनि रहेको उनले औंल्याए। तर राहत सामग्री उपलब्ध भए पनि प्रभावित गाउँसम्म पुर्याउनु अर्को चुनौती बनेको छ।
'सडक छैन। ढुवानीका लागि हेलिकप्टरको भर छ,' भट्टराईले भने, 'हेलिकप्टरले धेरै सामान एकैपटक बोक्न नसक्ने भएकाले ढुवानीमा कठिनाइ छ।'
त्यसमाथि मौसमले पनि राहत ढुवानी प्रभावित गरिरहेको छ। मौसम खराब हुँदा हेलिकप्टर उडानमा समस्या हुने र राहत पुर्याउन ढिलाइ हुने गरेको उनले बताए।
पालिकाकै कार्यालय बग्यो
बाढीले गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेसीमा रहेको कार्यपालिकाको भवनसमेत बगाएको छ। टिमुरे र स्याफ्रुबेसीमा रहेका वडा कार्यालयहरू पनि बाढीले बगाएको छ।
पालिका भवन बगेपछि अहिले सदरमुकाम धुन्चेमा रहेको स्वास्थ्य चौकीको एउटा कोठाबाट गाउँपालिकाको कार्यालय सञ्चालन भइरहेको छ।
गाउँपालिकाका सूचना अधिकारी अर्जुनप्रसाद डोटेलका अनुसार कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचर लगायतका सामग्रीसमेत बाढीले बगाएको छ।
'हाम्रो कार्यालय नै छैन। बाढीले सबैथोक बगाएर लग्यो,' डोटेलले भने, 'धुन्चेबाट एउटा कोठामा कार्यालय सञ्चालन गरिरहेका छौं।'
प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार गाउँपालिकाले फर्निचर, कम्प्युटर लगायत कार्यालय सञ्चालनका आवश्यक सामग्री माग गर्दै सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको छ।
धुन्चेमा रहेको वन तथा भूसंरक्षण विभागको पुरानो भवन मर्मत गरेर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
भौतिक संरचना बगाए पनि पालिकाले वडा तहबाट बाढीका कारण भएका घर क्षति, मानवीय क्षति र बेपत्ताको प्रारम्भिक विवरण संकलन गर्न थालेको छ।
'वडा तहबाट सबै सूचना आएपछि राहत वितरण लगायतमा सहजता होला,' भट्टराईले भने, 'कति घरमा क्षति पुग्यो भन्ने तथ्यांक संकलन गर्नुपर्नेछ।'
राहत आयो, तर गाउँसम्म पुर्याउनै कठिन
गाउँपालिकालाई विभिन्न संघ–संस्था र व्यक्तिबाट खाद्यान्न सहयोगको प्रतिबद्धता आइरहेको छ। तर प्रतिबद्धता गरिएको सामग्री प्राप्त भएर गाउँसम्म पुर्याउनु अर्को चुनौती बनेको छ।
डोटेलका अनुसार जर्मनीको एउटा संस्थाले एक हजार बोरा चामल सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पालिका अहिले उक्त सहयोग प्राप्त हुने प्रतीक्षामा छ।
गाउँपालिकाले बाह्य सहयोग स्वीकार गर्न आवश्यक अनुमति र समन्वय गरिरहेको उनले बताए। तर राहत सामग्री प्राप्त भएपछि पनि त्यसलाई प्रभावित बस्तीमा पुर्याउन हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था छ।
'ठाउँ–ठाउँमा हेलिकप्टरबाट सामान पठाउनुपर्छ,' डोटेलले भने, 'बाटो छैन। त्यसैले राहत प्राप्त भए पनि पुर्याउन सजिलो छैन।'
गोसाइँकुण्डको अहिलेको समस्या यसरी राहतको अभावभन्दा पनि राहत पुर्याउने पहुँचको अभावमा केन्द्रित हुँदै गएको छ।
बाढीले सडक र पुल मात्र बगाएको छैन; विद्युत, सञ्चार र स्थानीय सरकारका कार्यालयसमेत प्रभावित भएका छन्। त्यसैले प्रभावित गाउँमा अहिले चामल, दाल र औषधिसँगै मोबाइल चार्ज गर्ने सोलार प्यानल, सञ्चारको पहुँच र स्थानीय प्रशासन सञ्चालन गर्ने आधारभूत संरचनासमेत राहतको आवश्यकता बनेका छन्।
(बाढी प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा खाद्यान्न र औषधिसँगै सोलार प्यानल सहयोग गर्न चाहनेले प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9841421988)