भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार नुवाकोटको बेत्रावतीमा एउटा अप्रत्यासित घटना भयो।
बाढीपछि माटो र गेग्रानले पुरेको चारतले घरको चौथो तलाबाट ६४ वर्षीया चण्डिका श्रेष्ठ जीवितै उद्धार भइन्।
यो घटनाले बाढीपछिको खोजी तथा उद्धार अभियानमा एउटा नयाँ प्रश्न थपिदिएको छ — बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा र गेग्रानले पुरिएका अरू संरचनाभित्र पनि कोही फसेका छन् कि?
र, यो प्रश्न अब घरमा मात्र सीमित छैन।
रसुवागढी नाका आसपास बाढीमा बगेका वा पुरिएका सयौं गाडी र कन्टेनरतर्फ पनि खोजीको नजर पुग्नुपर्ने आवाज उठ्न थालेको छ।
भदौ १० गतेको बाढीले नाका आसपासबाट करिब २०० वटा सामान बोकेका गाडी र २०० देखि २५० वटा खाली कन्टेनर बगेको वा पुरिएको हुनसक्ने हिमालय सिमापार व्यापार संघको अनुमान छ।
अर्थात्, ४०० भन्दा बढी सवारी साधन तथा कन्टेनरको अवस्था अझै यकिन छैन।
बाढीको तीव्र बहावले धेरैलाई बगाएको हुनसक्ने अनुमान छ। तर तीमध्ये १० देखि २० वटा गाडी माटो र गेग्रानमा पुरिएको हुनसक्ने सम्भावना संघका अध्यक्ष रामहरि कार्कीले औंल्याएका छन्।
अध्यक्ष कार्कीले औंल्याएको यो सम्भावना अहिलेको खोजी अभियानका लागि महत्त्वपूर्ण छ।
किनकि, हराएका गाडीमध्ये कुन बगे, कुन कहाँ पुगे र कुन माटोमुनि पुरिए भन्ने पत्ता लगाउनु आर्थिक क्षतिको हिसाबका लागि मात्र होइन। त्यहाँ मानिस पनि हुनसक्ने सम्भावनाका कारण यो खोजी मानवीय उद्धारसँग जोडिन्छ।
चालकबाहेक ७६ जना बेपत्ता
हिमालय सिमापार व्यापार संघका अध्यक्ष कार्कीका अनुसार हराएका गाडी तथा कन्टेनरसँगै चालकबाहेक ७६ जना व्यवसायी तथा सहयोगीसमेत फसेका वा बेपत्ता छन्।
उनीहरू सामान छुटाउन, भन्सार प्रक्रिया पूरा गर्न, प्याकिङ लिस्ट बनाउन तथा सामान इन्ट्री गर्न नाका क्षेत्रमा जाने व्यक्ति हुन्।
अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली पुगेको छ। उनीहरूबाट खोजी तथा उद्धार भइरहेको छ। उनीहरूको ध्यान माटोमुनि पुरिएका गाडी खोज्न र त्यसमा जीवित व्यक्ति फसेका छन् कि छैनन् भन्ने पत्ता लगाउनमा पनि केन्द्रित हुनुपर्ने व्यवसायीहरूको जोड छ।
'केही साना गाडी र एउटा बस देखिएका छन्। भ्यान भने अहिलेसम्म देखिएका छैनन्,' उनले भने, 'बाढी आएको ११ दिन बितिसकेको छ। त्यसैले यस्ता हराएका गाडी वा कन्टेनर जति छिटो खोज्न सक्यो त्यसमा फसेका व्यक्तिलाई उद्धार गर्ने सम्भावना उति धेरै हुन्छ।'
माटोमुनि पुरिएको गाडी कसरी खोज्ने?
यहीँबाट अहिलेको खोजी अभियानमा अर्को चुनौती आउँछ।
माटोमुनि पुरिएको घर खोज्नु र बगेको गाडी खोज्नु एउटै काम होइन।
गाडी बगेको भए त्यसको सम्भावित बहाव क्षेत्र, नदीको गति र बाढीले छाडेको चिह्नबाट खोजीको दायरा निर्धारण गर्न सकिन्छ। तर गाडी वा कन्टेनर माटो, बालुवा र ढुंगाको बाक्लो तहमा पुरिएको छ भने सतहबाट हेर्दा त्यसको कुनै स्पष्ट संकेत नदेखिन सक्छ।
त्यसैले पहिले सम्भावित क्षेत्र छुट्याउनुपर्ने हुन्छ।
बाढीअघि गाडी कहाँ पार्क थिए?
बाढीको मुख्य बहाव कुन दिशाबाट आयो?
बाढीपछि कुन क्षेत्रमा कति गहिरो माटो र गेग्रान थुप्रियो?
कुन ठाउँमा गाडी हराएको सूचना छ?
बाढीअघि र बाढीपछि खिचिएका ड्रोन तथा स्याटलाइट तस्बिरमा के फरक देखिन्छ?
यी सूचनालाई एकै ठाउँमा राखेर 'यहाँ गाडी पुरिएको सम्भावना बढी छ' भनेर क्षेत्र निर्धारण गर्न सकिन्छ।
त्यसपछि मात्रै भौतिक रूपमा माटो हटाउने, संरचना जाँच्ने वा आवश्यक प्रविधि प्रयोग गरेर खोजी अघि बढाउन सकिन्छ।
'कन्टेनरमा फसेका मानिस जीवित हुन सक्दैनन् भन्ने अवस्था छैन'
घरभित्र मानिस बाँच्न सक्ने सम्भावना र बन्द कन्टेनरभित्र लामो समय मानिस बाँच्न सक्ने सम्भावना फरक हुन्छ। त्यसमा हावा, पानी, तापक्रम, चोटपटक, संरचनाको अवस्था र अन्य धेरै पक्ष निर्भर हुन्छन्।
त्यसैले चण्डिका श्रेष्ठ जीवित भेटिएको घटनाले कन्टेनरभित्र मानिस जीवित छन् भन्ने प्रमाण दिँदैन।
यसले एउटा कुरा भने सम्झाउँछ — सम्भावना असाधारण भए पनि खोजी नगरी त्यसलाई शून्य मान्न मिल्दैन।
हामीले यसबारे सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापासँग कुरा गर्दा उनले माटोमुनि पुरिएका घर तथा कन्टेनरमा मानिस फसेको हुनसक्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न नमिल्ने बताएका छन्।
'कन्टेनरमा फसेकाहरू जीवित हुन सक्ने कुरा कल्पनाभन्दा बाहिर भए पनि त्यहाँ कुनै जीवन छैन भन्ने अवस्था चाहिँ आजको घटनापछि रहेन,' उनले बेत्रावतीमा शनिबार महिलाको जीवित उद्धारपछि सेतोपाटीसँग भनेका थिए।
खोजी अब कहाँ–कहाँ केन्द्रित गर्ने?
बेत्रावतीको सफल उद्धारपछि खोजीको प्राथमिकता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
खासगरी माटो र गेग्रानले पूर्ण रूपमा ढाकिएका घर; मुख्य संरचना उभिएका तर तल्ला पुरिएका भवन; पसल, होटल, गोदाम तथा अन्य व्यावसायिक संरचना; बाढीको नयाँ सतहमुनि परेको बस्ती; नदी किनारमा पुरिएका सवारी साधन; हराएको विवरणसँग मिल्ने सम्भावित गाडी पार्किङ क्षेत्र; माटो र गेग्रानको बाक्लो थुप्रो बनेका स्थान लगायतलाई बेपत्ता व्यक्तिको खोजीको नक्सामा राख्नुपर्ने देखिन्छ।
यसका लागि स्थानीयले दिने यस्ता सूचना निकै महत्त्वपूर्ण हुन सक्छ —
कुन घरमा को थियो?
कुन ठाउँमा कुन गाडी थियो?
बाढी आउनुअघि कुन सडक वा पार्किङ क्षेत्रमा सवारी साधन थिए?
कुन ठाउँबाट गाडी हराएको देखियो?
यी सूचनाले खोजीको दायरा निकै सानो बनाउन सक्छन्।
आँखाले नदेखिने वस्तु खोज्ने प्रविधि
यो खोजीमा मुख्य समस्या के हो भने, बाढीले यसपटक जमिनको पुरानो सतह नै बदलिदिएको छ।
त्यसैले अहिलेको सतहलाई आधार मानेर मात्रै खोजी गर्दा पुरानो भूगोलसँग जोडिएका संकेत छुट्न सक्छन्।
यसमा बाढीअघि र बाढीपछिका स्याटलाइट तथा ड्रोन तस्बिर, स्थलको उचाइसम्बन्धी तथ्यांक, स्थानीय नक्सा र सवारी साधन हराएको विवरणलाई जोडेर सम्भावित स्थान पहिचान गर्न सकिन्छ।
त्यसपछि आवश्यकता र भूगर्भीय अवस्था अनुसार ग्राउन्ड–पेनेट्रेटिङ राडारजस्ता उपकरणले जमिनमुनिको असामान्य संरचना पहिचान गर्न सहयोग गर्न सक्छन्।
तर लेदोयुक्त, पानीले भरिएको वा धेरै गहिरो गेग्रानमा यस्ता उपकरणको प्रभावकारिता स्थान अनुसार फरक पर्न सक्छ।
त्यसैले कुनै एउटै प्रविधिलाई 'समाधान' मान्नुभन्दा ड्रोन/स्याटलाइटबाट क्षेत्र पहिचान, सम्भावित स्थानको भौतिक परीक्षण, आवश्यक परे आधुनिक उपकरण, त्यसपछि सुरक्षित रूपमा माटो हटाउने जस्ता चरणबद्ध खोजी बढी व्यावहारिक हुन सक्छ।
***