आजको विद्यार्थी हिजोको विद्यार्थीभन्दा फरक छ। सूचना, प्रविधि र सामाजिक परिवर्तनले विद्यार्थीको सिक्ने शैली, रूचि, अपेक्षा र ज्ञान प्राप्त गर्ने माध्यममा व्यापक परिवर्तन ल्याएको छ।
पहिले शिक्षक कक्षाकोठामा ज्ञानको प्रमुख स्रोत मानिन्थे र विद्यार्थी मुख्यतः सुन्ने, टिपोट गर्ने र परीक्षामा त्यसलाई पुनरूत्पादन गर्ने भूमिकामा सीमित हुन्थे। अहिलेको विद्यार्थी भने प्रश्न गर्न, छलफल गर्न, खोज्न, प्रयोग गर्न, सिर्जना गर्न र आफ्नो विचार प्रस्तुत गर्न चाहन्छ।
त्यसैले आजको कक्षाकोठामा पुरानै ढाँचाको एकोहोरो व्याख्यान मात्र पर्याप्त हुँदैन।
यो परिवर्तनलाई विशेष रूपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कक्षाकोठामा बुझ्न आवश्यक छ। अझ शिक्षा शास्त्र संकायका कक्षाकोठा त भविष्यका शिक्षक, शैक्षिक नेतृत्वकर्ता, अनुसन्धानकर्ता र शिक्षाविौ तयार गर्ने ठाउँ भएकाले यहाँ प्रयोग गरिने शिक्षण रणनीति आफैमा अनुकरणीय हुनुपर्छ।
भविष्यका शिक्षकलाई पढाउने कक्षामा यदि शिक्षकले केवल व्याख्यान गर्छन् र विद्यार्थीले नोट टिप्छन् भने त्यहाँ सिकाइको विषयवस्तु त पूरा होला, तर प्रभावकारी शिक्षणको नमूना प्रस्तुत हुन सक्दैन।
विद्यार्थी अब 'सुन्ने' मात्र होइन, 'सहभागी' हुन चाहन्छ
आजको विद्यार्थी कक्षामा शिक्षकले बोलेको कुरा सुनेर मात्र सन्तुष्ट हुँदैन। उसले आफ्नो अनुभवसँग विषयवस्तुलाई जोड्न, प्रश्न गर्न, तर्क गर्न र आफ्ना धारणा राख्न चाहन्छ।
त्यसैले कक्षाकोठामा विद्यार्थी सहभागिता शिक्षण रणनीतिको केन्द्रमा हुनुपर्छ। शिक्षकले 'मैले पढाएँ कि पढाइनँ' भन्दा 'विद्यार्थीले के सिके, कसरी सिके र सिकाइमा कति सक्रिय भए' भन्ने प्रश्नलाई प्राथमिकता दिन आवश्यक छ।
समूह छलफल, जोडी कार्य, प्रस्तुतीकरण, समस्या समाधान, केस अध्ययन, परियोजना कार्य, बहस, प्रश्नोत्तर र सहपाठी सिकाइले विद्यार्थीलाई निष्क्रिय श्रोता होइन, सक्रिय सिकाइकर्ता बनाउँछन्।
आजको विश्वविद्यालय विद्यार्थीलाई कक्षाकोठामा निष्क्रिय श्रोता बनाएर राख्न सकिँदैन। विशेषतः शिक्षा शास्त्रका विद्यार्थीले शिक्षण–सिकाइका सिद्धान्त अध्ययन गरिरहेका हुन्छन्। त्यसैले उनीहरूलाई ती सिद्धान्तमाथि प्रश्न गर्ने, आफ्ना अनुभव राख्ने, साथीका विचार सुन्ने र तर्कसहित निष्कर्षमा पुग्ने अवसर दिनुपर्छ।
त्रिभुवन विश्वविद्यालयका कक्षामा विद्यार्थीको पृष्ठभूमि पनि विविध छ। कतिपय विद्यार्थी नियमित रूपमा कक्षामा उपस्थित हुन्छन् भने कतिपय रोजगारीसँगै अध्ययन गरिरहेका हुन्छन्। कसैसँग विद्यालय शिक्षणको अनुभव हुन्छ भने कसैसँग नयाँ शैक्षिक अनुभव मात्र हुन्छ।
यस्तो विविधतालाई कक्षाकोठाको स्रोतका रूपमा उपयोग गर्न सकिन्छ। त्यसैले शिक्षकले एउटै विषयमा सबै विद्यार्थीको अनुभव सुन्ने वातावरण बनाउनुपर्छ। 'शिक्षकले पढाउने र विद्यार्थीले सुन्ने' भन्दा 'शिक्षक र विद्यार्थी मिलेर ज्ञान निर्माण गर्ने' कक्षाकोठा आजको आवश्यकता हो।
शिक्षा शास्त्रका कक्षामा 'गराएर सिकाउने' रणनीति
शिक्षा शास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीले शिक्षणका सिद्धान्त मात्र पढेर पुग्दैन। उसले ती सिद्धान्तलाई कक्षाकोठामा कसरी प्रयोग गर्ने भन्ने पनि सिक्नुपर्छ।
उदाहरणका लागि, निर्माणवादी सिकाइ सिद्धान्त पढाउँदा शिक्षकले केवल यसको परिभाषा र विशेषता व्याख्या गर्नुको सट्टा विद्यार्थीलाई समूहमा समस्या दिएर त्यसको समाधान खोज्न लगाउन सक्छन्।
त्यसपछि उनीहरूले आफ्नो अनुभवबाट निर्माणवादी सिकाइको अर्थ आफै पहिचान गर्न सक्छन्। यस प्रकारको शिक्षणले 'शिक्षणबारे पढ्ने' र 'शिक्षण अनुभव गर्ने' बीचको दुरी घटाउँछ।
शिक्षा शास्त्रका विद्यार्थीका लागि यस्तो अनुभव अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि उनीहरू भोलि आफै कक्षाकोठामा शिक्षक बन्नेछन्। शिक्षा शास्त्रको अध्ययन केवल सैद्धान्तिक ज्ञान प्राप्त गर्ने विषय होइन।
विद्यार्थीले शिक्षण विधि, मूल्यांकन, पाठ्यक्रम, शैक्षिक मनोविज्ञान, शैक्षिक व्यवस्थापन तथा अनुसन्धान विधिजस्ता विषय अध्ययन गर्दा तिनको व्यावहारिक प्रयोग पनि गर्न सक्नुपर्छ।
उदाहरणका लागि, 'विद्यार्थीकेन्द्रित शिक्षण' शीर्षक पढाउँदा शिक्षकले विद्यार्थीकेन्द्रित शिक्षणको परिभाषा लेखेर मात्र पुग्दैन। बरू विद्यार्थीलाई समूहमा विभाजन गरी एउटा विषयको विद्यार्थीकेन्द्रित पाठयोजना तयार गर्न, त्यसको नमुना कक्षा सञ्चालन गर्न र साथीहरूबाट प्रतिक्रिया लिन लगाउन सकिन्छ।
यसरी लर्न — डू — रिफ्लेक्ट — इम्प्रुभ अर्थात् सिक्ने, प्रयोग गर्ने, प्रतिबिम्बन गर्ने र सुधार गर्ने चक्रलाई शिक्षा शास्त्रका कक्षामा प्रयोग गर्न सकिन्छ। यसले भावी शिक्षकमा व्यावसायिक दक्षता विकास गर्छ।
डिजिटल प्रविधि : विकल्प होइन, आवश्यकताको विषय
आजको विद्यार्थी डिजिटल संसारसँग परिचित छ। मोबाइल, ल्यापटप, इन्टरनेट, डिजिटल पुस्तकालय, भिडियो, प्रस्तुतीकरण, अनलाइन स्रोत र कृत्रिम बौद्धिकता जस्ता माध्यमले उसको सिकाइको संसार विस्तार गरेका छन्। त्यसैले विश्वविद्यालयको कक्षाकोठा प्रविधिविहीन रहनु र विद्यार्थीको सिकाइ संसार प्रविधिमय हुनुबीच ठूलो अन्तर पैदा हुन सक्छ।
तर डिजिटल प्रविधि प्रयोग गर्नु भनेको पावरपोइन्ट देखाउनु मात्र होइन। प्रविधिलाई सिकाइको उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ।
कुनै विषयमा भिडिओ उपयोगी हुन्छ भने भिडिओ प्रयोग गर्न सकिन्छ; अनुसन्धानका लागि डिजिटल स्रोत उपयोगी हुन्छ भने विद्यार्थीलाई स्रोत खोज्न लगाउन सकिन्छ; प्रस्तुतीकरण आवश्यक छ भने विद्यार्थीलाई नै डिजिटल प्रस्तुतीकरण तयार गर्न लगाउन सकिन्छ।
यस अर्थमा शिक्षाशास्त्रका कक्षामा टिपिएसिके, ब्लेन्डेड लर्निङ, फ्लिप्ड क्लासरूम, अनलाइन कोलाबोरेटिभ लर्निङ जस्ता अवधारणालाई व्यवहारमा प्रयोग गर्न सकिन्छ।
यसले विद्यार्थीलाई प्रविधि प्रयोग गर्ने मात्र होइन, प्रविधिको शैक्षिक उपयोग गर्ने क्षमता पनि विकास गर्छ। आज विद्यार्थीको सिकाइ कक्षाकोठाको चार पर्खालभित्र मात्र सीमित छैन। युट्युब, गुगल स्कलर, डिजिटल पुस्तकालय, ई–बुक, अनलाइन जर्नल, लर्निङ म्यानेजमेन्ट सिस्टम तथा एआई जस्ता माध्यमले विद्यार्थीको ज्ञानको संसार विस्तार गरेका छन्।
प्रविधि प्रयोग गर्नुको अर्थ कक्षामा प्रोजेक्टर राख्नु मात्र होइन। प्रविधिले विद्यार्थीको सिकाइमा के परिवर्तन ल्यायो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। शिक्षाशास्त्र संकायमा विद्यार्थीलाई डिजिटल स्रोत खोज्ने, स्रोतको विश्वसनीयता परीक्षण गर्ने, डिजिटल सामग्री निर्माण गर्ने, अनलाइन सहकार्य गर्ने र प्रविधिको शैक्षिक प्रयोगबारे आलोचनात्मक दृष्टिकोण विकास गर्ने अवसर दिनुपर्छ।
यससँगै डिजिटल विभाजनलाई पनि बिर्सिनु हुँदैन। सबै विद्यार्थीको उपकरण, इन्टरनेट र डिजिटल दक्षता समान नहुन सक्छ। त्यसैले प्रविधिमैत्री कक्षाकोठा समावेशी र पहुँचयोग्य पनि हुनुपर्छ।
कृत्रिम बौद्धिकताको युगमा शिक्षकको भूमिका
कृत्रिम बौद्धिकता अर्थात् एआईले विद्यार्थीको सिकाइको स्वरूपमा नयाँ प्रश्न खडा गरेको छ। विद्यार्थीले सूचना खोज्न, विचार निर्माण गर्न, भाषिक सम्पादन गर्न र विभिन्न विषय बुझ्न एआईको सहयोग लिन सक्छ। यस्तो अवस्थामा शिक्षकको भूमिका केवल सूचना दिने व्यक्तिको रूपमा सीमित राख्न सकिँदैन।
अब शिक्षकले विद्यार्थीलाई सही प्रश्न गर्न, स्रोतको विश्वसनीयता जाँच्न, प्राप्त सूचनाको आलोचनात्मक विश्लेषण गर्न र मौलिक विचार निर्माण गर्न सिकाउनुपर्छ। एआईले उत्तर दिन सक्छ, तर उत्तर सही छ कि छैन, त्यसको सन्दर्भ के हो र त्यसलाई आफ्नो ज्ञान तथा अनुभवसँग कसरी जोड्ने भन्ने क्षमता विद्यार्थीमा विकास गराउनु शिक्षकको महत्त्वपूर्ण जिम्मेवारी हो।
त्यसैले एआई प्रयोग निषेध गर्नेभन्दा जिम्मेवार, आलोचनात्मक र शैक्षिक प्रयोग सिकाउनु आजको विश्वविद्यालय शिक्षाको नयाँ आवश्यकता हो।
एआईको आगमनले विश्वविद्यालय शिक्षणमा नयाँ चुनौती ल्याएको छ। विद्यार्थीले अब कुनै विषयको प्रारम्भिक जानकारी केही सेकेन्डमै प्राप्त गर्न सक्छ। यस्तो अवस्थामा शिक्षकले सूचनाको पुनरावृत्ति गरिरहनु प्रभावकारी हुँदैन।
अब शिक्षकले विद्यार्थीलाई एआईले दिएको उत्तरमाथि प्रश्न गर्न, तथ्य जाँच गर्न, विभिन्न स्रोतसँग तुलना गर्न र आफ्नै मौलिक तर्क निर्माण गर्न सिकाउनुपर्छ। शिक्षा शास्त्रका कक्षामा एआईलाई अनुसन्धान, पाठयोजना निर्माण, सिकाइ सामग्री विकास, भाषिक सम्पादन तथा विचार निर्माणका सहायक साधनका रूपमा परिचय गराउन सकिन्छ।
तर विद्यार्थीको मौलिकता, शैक्षिक इमानदारी र आलोचनात्मक सोचलाई केन्द्रमा राख्नुपर्छ।
अर्थात् अब प्रश्न 'विद्यार्थीले एआई प्रयोग गर्यो कि गरेन' भन्ने होइन, 'विद्यार्थीले एआई प्रयोग गरेर के सिक्यो, कसरी परीक्षण गर्यो र आफ्नो मौलिक ज्ञान कसरी निर्माण गर्यो' भन्ने हुनुपर्छ।
अबको कक्षाकोठा 'प्रश्न गर्ने कक्षाकोठा' हुनुपर्छ
हाम्रो परम्परागत शिक्षण संस्कृतिमा कहिलेकाहीँ शिक्षकलाई प्रश्न गर्नु भनेको शिक्षकको ज्ञानमाथि प्रश्न गर्नुजस्तो बुझिने गरेको पाइन्छ। तर विश्वविद्यालयको कक्षाकोठा त्यस्तो हुनु हुँदैन। विशेषतः शिक्षा शास्त्रका कक्षामा प्रश्न, जिज्ञासा, असहमति र तर्कलाई सिकाइको आधार बनाउनुपर्छ।
शिक्षकले पनि कहिलेकाहीँ यस्तो प्रश्न गर्नुपर्छ—
'तपाईं यस कुरासँग सहमत हुनुहुन्छ?'
'किन?'
'यसको अर्को व्याख्या हुन सक्छ?'
'नेपालको सन्दर्भमा यो सिद्धान्त कति उपयोगी होला?'
यस्ता विश्वविद्यालयको कक्षाकोठाको गुणस्तर त्यहाँ शिक्षकले बोलेको समयले मात्र निर्धारण गर्दैन; विद्यार्थीले कति गुणस्तरीय प्रश्न गरे भन्ने कुराले पनि निर्धारण गर्छ।
शिक्षाशास्त्रका कक्षामा ह्वाई, हाऊ, ह्वाट इफ अर्थात् किन, कसरी, यस्तो नभए के हुन्थ्यो जस्ता प्रश्नलाई प्रोत्साहन गर्न सकिन्छ।
उदाहरणका लागि, नेपालमा विद्यार्थीकेन्द्रित शिक्षण आवश्यक छ भन्ने कथन राखेर शिक्षकले विद्यार्थीलाई सोध्न सक्छन्—
नेपालका सबै विद्यालयमा यो समान रूपमा सम्भव छ?
ग्रामीण विद्यालयमा यसको चुनौती के हुन सक्छ?
ठूलो कक्षामा विद्यार्थीकेन्द्रित शिक्षण कसरी गर्ने?
यस्ता प्रश्नले विद्यार्थीलाई किताबको उत्तरभन्दा बाहिर सोच्न बाध्य बनाउँछन्। प्रश्नले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर सोच्न प्रेरित गर्छन्।
अनुभव र स्थानीय सन्दर्भसँग जोडिएको शिक्षण
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू विभिन्न सामाजिक, भौगोलिक, भाषिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका हुन्छन्। त्यसैले एउटै शिक्षण रणनीति सबै विद्यार्थीका लागि समान रूपमा प्रभावकारी नहुन सक्छ।
नेपालको शिक्षा प्रणाली, ग्रामीण तथा सहरी विद्यालय, स्थानीय पाठ्यक्रम, बहुभाषिक कक्षा, प्रविधिको पहुँच, शिक्षकको कार्यपरिस्थिति आदिलाई कक्षाकोठाको छलफलसँग जोड्न सकिन्छ।
विशेषतः शिक्षा शास्त्रका विद्यार्थीलाई आफ्नै समुदाय र विद्यालयका वास्तविक समस्या अध्ययन गर्न लगाउनु प्रभावकारी हुन्छ।
उदाहरणका लागि, ग्रामीण विद्यालयमा डिजिटल प्रविधिको प्रयोग किन चुनौतीपूर्ण छ भन्ने प्रश्नमाथि विद्यार्थीले आफ्नो अनुभव, अवलोकन र अनुसन्धानका आधारमा छलफल गर्न सक्छन्।
यसले विश्वविद्यालयको ज्ञानलाई समाजको वास्तविकतासँग जोड्छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्रका विद्यार्थीले अध्ययन गर्ने विषयलाई नेपालको वास्तविक शैक्षिक अवस्थासँग जोड्नु अत्यन्त आवश्यक छ।
विद्यार्थीलाई आफ्नो गाउँ, विद्यालय, स्थानीय तह वा समुदायमा देखिएका शैक्षिक समस्यामाथि छलफल गराउन सकिन्छ।
उदाहरणका लागि— विद्यालयमा विद्यार्थी उपस्थिति किन घट्दैछ? ग्रामीण विद्यालयमा प्रविधिको प्रयोग किन सीमित छ? बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणका समस्या के छन्? स्थानीय पाठ्यक्रम कार्यान्वयनमा के चुनौती छन्?
यसले विश्वविद्यालयको ज्ञान र समाजको वास्तविकताबीच पुल निर्माण गर्छ। शिक्षा शास्त्रका विद्यार्थीका लागि यस्तो स्थानीय सन्दर्भमा आधारित सिकाइ अझ महत्त्वपूर्ण हुन्छ।
मूल्यांकन पनि बदलिनुपर्छ
यदि शिक्षण रणनीति परिवर्तन गर्ने तर मूल्यांकन भने पुरानै शैलीमा राख्ने हो भने परिवर्तन अधुरो हुन्छ। विद्यार्थीलाई वर्षभरि छलफल, अनुसन्धान, प्रस्तुतीकरण, परियोजना र सिर्जनात्मक कार्यमा सहभागी गराएर अन्तिम परीक्षामा मात्र उसको क्षमता मापन गर्नु उपयुक्त हुँदैन।
त्यसैले फर्मेटिभ असेसमेन्ट अर्थात् निर्माणात्मक मूल्यांकनलाई महत्त्व दिनुपर्छ।
कक्षागत सहभागिता, परियोजना, प्रस्तुतीकरण, प्रतिबिम्बात्मक लेखन, पोर्टफोलियो, समूहकार्य, समस्या समाधान र अनुसन्धानात्मक कार्यलाई मूल्यांकनको आधार बनाउन सकिन्छ। यसले विद्यार्थीलाई 'परीक्षाका लागि पढ्ने' भन्दा सिक्नका लागि पढ्ने वातावरण निर्माण गर्छ।
कक्षामा विद्यार्थी केन्द्रित र सिर्जनात्मक शिक्षण गर्ने तर अन्त्यमा केवल परम्परागत लिखित परीक्षाबाट विद्यार्थीको क्षमता मापन गर्ने हो भने शिक्षण र मूल्यांकनबीच असंगति हुन्छ।
त्यसैले शिक्षा शास्त्रका कक्षामा असेसमेन्ट फर लर्निङको अवधारणा व्यवहारमा ल्याउन सकिन्छ। विद्यार्थीले कक्षामा गरेको प्रस्तुतीकरण, समूहकार्य, अनुसन्धान, परियोजना, पोर्टफोलियो, प्रतिबिम्बात्मक लेखन र कक्षागत सहभागितालाई पनि सिकाइको प्रमाणका रूपमा लिन सकिन्छ।
यसले विद्यार्थीलाई अन्तिम परीक्षाका लागि मात्र होइन, निरन्तर सिकाइका लागि अध्ययन गर्ने वातावरण निर्माण गर्छ।
शिक्षक अब 'लेक्चरर' मात्र होइन, 'फ्यासिलिटेटर' हुनुपर्छ
आजको विश्वविद्यालय कक्षामा शिक्षकको महत्त्व घटेको होइन; बरू शिक्षकको भूमिका अझ जटिल र महत्त्वपूर्ण भएको हो। फरक यति हो कि शिक्षक अब ज्ञानको एक मात्र स्रोत होइनन्। उनी सहजीकर्ता, मार्गदर्शक, अनुसन्धानकर्ता, सल्लाहकार र सिकाइको डिजाइनर पनि हुन्।
विद्यार्थीले इन्टरनेटबाट हजारौ| सूचना पाउन सक्छ; तर ती सूचनालाई ज्ञानमा, ज्ञानलाई बोधमा र बोधलाई व्यवहारमा रूपान्तरण गर्ने प्रक्रियामा शिक्षकको मार्गदर्शन आवश्यक हुन्छ।
यही कारण प्रविधिको विकाससँगै शिक्षकको आवश्यकता समाप्त हुने होइन, शिक्षकको भूमिकाको प्रकृति परिवर्तन हुने हो। शिक्षकको भूमिका परिवर्तन हुनु भनेको शिक्षकको महत्त्व घट्नु होइन। बरू शिक्षकको जिम्मेवारी अझ बढ्नु हो।
शिक्षकले कक्षाकोठामा सिकाइको वातावरण निर्माण गर्ने, उपयुक्त प्रश्न सोध्ने, स्रोत उपलब्ध गराउने, विद्यार्थीलाई मार्गदर्शन गर्ने, प्रतिक्रिया दिने र सिकाइको मूल्यांकन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।
शिक्षा शास्त्रको शिक्षक स्वयंले यस्तो अभ्यास गरेमा विद्यार्थीले पुस्तकबाट मात्र होइन, शिक्षकको व्यवहारबाट पनि शिक्षण सिक्छ। यसलाई 'मोडलिङ थ्रू टिचिङ' का रूपमा बुझ्न सकिन्छ।
निष्कर्ष
आजको विद्यार्थीलाई आजकै संसारसँग मेल खाने कक्षाकोठा चाहिएको छ—जहाँ उसले सुन्न मात्र होइन, बोल्न पाओस्; पढ्न मात्र होइन, खोज्न पाओस्; उत्तर मात्र होइन, प्रश्न गर्न पाओस्; सिद्धान्त मात्र होइन, त्यसको प्रयोग गर्न पाओस्; शिक्षकबाट मात्र होइन, सहपाठीबाट पनि सिक्न पाओस्।
विशेषतः त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायले यस्तो परिवर्तनलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ। किनकि यहाँ तयार हुने विद्यार्थी नै भोलिका विद्यालयका शिक्षक, शैक्षिक नेतृत्वकर्ता र अनुसन्धानकर्ता हुन्।
हामीले शिक्षक तयार गर्ने कक्षाकोठा कस्तो बनाउँछौं, त्यसैको प्रतिविम्ब भोलिका विद्यालयका कक्षाकोठामा देखिनेछ। त्यसैले अबको त्रिभुवन विश्वविद्यालयीय कक्षाकोठा व्याख्यान केन्द्रितबाट विद्यार्थी केन्द्रित, सूचना–केन्द्रितबाट ज्ञान–निर्माणमुखी, पाठ्यपुस्तक केन्द्रितबाट अनुभवमुखी र प्रविधि–प्रदर्शनबाट प्रविधि–एकीकृत बन्न आवश्यक छ।
आजको विद्यार्थीले मागेको कक्षाकोठा यही हो— जहाँ शिक्षक बोल्ने मात्र होइनन्, विद्यार्थी पनि सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र सिक्ने अवसर पाउँछन्।
आजको विद्यार्थी एक्लै ज्ञान प्राप्त गर्नेभन्दा सहकार्य गरेर सिक्न बढी अभ्यस्त हुँदै गएको छ। शिक्षा शास्त्रका कक्षामा समूह अनुसन्धान, पियर टिचिङ, पियर रिभ्यु, ग्रूप प्रिजेन्टेसन र कोलाबोरेटिभ प्रोजेक्ट जस्ता गतिविधि प्रभावकारी हुन सक्छन्।
विशेषतः फरक अनुभव र क्षमता भएका विद्यार्थीलाई एउटै समूहमा राख्दा उनीहरूले एकअर्काबाट सिक्ने अवसर पाउँछन्। यसले सञ्चार, नेतृत्व, सहकार्य, समस्या समाधान र सामाजिक सिकाइ जस्ता सीप विकास गर्छ।
भविष्यका शिक्षकका लागि यी सीप विषयगत ज्ञानभन्दा कम महत्त्वपूर्ण छैनन्। शिक्षा शास्त्र संकायको कक्षाकोठा अनुसन्धानसँग जोडिनैपर्छ। विद्यार्थीलाई तयार उत्तर दिनेभन्दा समस्या पहिचान गर्ने, प्रश्न निर्माण गर्ने, तथ्य संकलन गर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने अवसर दिनुपर्छ।
उदाहरणका लागि, 'विद्यार्थीको कक्षागत सहभागिता' विषय पढाउँदा शिक्षकले सिद्धान्त व्याख्या गरेपछि विद्यार्थीलाई आफ्नै क्याम्पस वा नजिकको विद्यालयमा सानो अवलोकन गर्न लगाउन सक्छन्। त्यसपछि प्राप्त तथ्यका आधारमा छलफल गर्न सकिन्छ। यसरी कक्षाकोठा नै सानो अनुसन्धान प्रयोगशाला बन्न सक्छ।
आजको विद्यार्थी आफ्नो पहिचान, अनुभव र विचारलाई सम्मान गर्ने कक्षाकोठा चाहन्छ। त्यसैले शिक्षकले सबै विद्यार्थीलाई समान रूपमा बोल्ने, प्रश्न गर्ने र आफ्नो विचार व्यक्त गर्ने अवसर दिनुपर्छ।
शिक्षा शास्त्रका कक्षामा लैंगिक, भाषिक, सामाजिक, भौगोलिक तथा आर्थिक विविधतालाई सम्मान गर्दै इन्क्लुसिभ पेडागोजी अपनाउन सकिन्छ। विद्यार्थीको विचार शिक्षकसँग नमिल्दैमा त्यसलाई गलत घोषणा गर्नेभन्दा 'तिम्रो तर्क के हो' भनेर थप व्याख्या माग्नु लोकतान्त्रिक कक्षाको संस्कार हो।
विश्वविद्यालय शिक्षाको अन्तिम उद्देश्य परीक्षा उत्तीर्ण गराउनु मात्र होइन। विद्यार्थीलाई आजीवन सिक्न सक्ने, नयाँ ज्ञान खोज्न सक्ने, समस्याको समाधान गर्न सक्ने र बदलिँदो समाजसँग अनुकूल हुन सक्ने व्यक्ति बनाउनु हो।
विशेषतः शिक्षा शास्त्रका विद्यार्थी भविष्यका शिक्षक भएकाले उनीहरूमा 'मलाई सबै कुरा थाहा छ' भन्ने होइन, 'म नयाँ कुरा सिकिरहनुपर्छ' भन्ने दृष्टिकोण विकास गर्नुपर्छ।
त्यसैले आजको त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र कक्षाकोठाले विद्यार्थीलाई केवल डिग्री दिने होइन, दिशानिर्देश, डिजिटल दक्षता, आलोचनात्मक चिन्तन, सिर्जनशीलता, सहकार्य र निरन्तर सिकाइका लागि सक्षम बनाउने दिशामा अघि बढ्नुपर्छ।
यही परिवर्तनले विश्वविद्यालयको कक्षाकोठालाई केवल पाठ पढाउने ठाउँबाट ज्ञान निर्माण गर्ने, अनुसन्धान गर्ने, प्रश्न गर्ने र भविष्यका शिक्षक निर्माण गर्ने जीवन्त शैक्षिक थलोमा रूपान्तरण गर्न सक्छ।
(लेखक डा. मीनप्रसाद अधिकारी धनकुटा बहुमुखी क्याम्पस, धनकुटाका नेपाली शिक्षा विषयका उपप्राध्यापक छन्।)