कविता
लोभको ढ्याङ्ग्रो ठटाउँदै,
समृद्धिको धूप सल्काएर
पुर्दै गयो—
नदीको सभ्यता।
अन्त्यहीन इच्छाको
ओदानमा पकाउँदै गयो
बिरबलको खिचडी।
भोकको ज्वालामा अन्धो भएर
दधिचिको खप्परलाई थाल बनाउँदै
चपाउन थाल्यो—
अश्वत्थामाको नलीहाड।
तिर्खाको व्याकुलतामा
पिउन थाल्यो
सभ्यताको आलो रगत।
फतक्कै गलेको
चट्टानको बोनम्यारो चाख्दै,
सागरको गहिराइ पुरेर
हात चुठ्दै
अन्धवेगमा सम्पन्न हुँदै
फोड्दै गयो
हिमालका कोखहरू।
आदिम हिमका तन्तुहरू
तनक्क तन्क्याएर
सुत्यो— सुरक्षित तन्नामा
विश्वजित सेपियन्स।
पश्चिमी भूगोलबाट उठेको
कार्बनको हातमा
विनाशको छिनो बलियो भएर
अट्टहास गर्दैछ—
संकटको समय।
निस्तेज नयन लिएर नदी
भन्दैछ—
'बिन्ती छ,
बचाऊ आफ्नो सभ्यतालाई!
शिरको हिमाल सुरक्षित राख।
प्रलय हाम्रो स्वभाव होइन,
विनाश हाम्रो बाध्यता होइन।
चाहन्छौं—
बग्न आफ्नै बाटो,
तिम्रो बस्तीलाई वरदान दिँदै,
निर्मल पानी छातीमा बोकी,
स्वच्छ शीतलता छर्दै,
मानव सभ्यताको सिँचाइ गर्दै
तल—
तल—
निकै तल
बग्न चाहन्छौं।
उखेल्दै रूख,
मथ्दै पहाड
बाक्लिनु छैन।
गाउँ टोकेर
सहर खाने हाम्रो
भोक जागेको छैन।
तिम्रै संरचनामा
तिमीलाई नै गाड्ने
रहर कदापि होइन।
तिम्रो बस्तीमा
हाहाकारको नाद
छर्ने चाहना पनि छैन।
बिन्ती छ—
पुर्खाहरू
शान्त हुँदै
गर्भभरी हरियाली बोकेर
बगेझैँ
बग्न मन छ।
बिन्ती हाम्रो—
हाम्रो बाटो नछेक!'
यति बुझ
प्रार्थना परित्याग गर्दै
उर्लिएको आँधी
पक्कै नदी होइन।
ढुंगा, हिलो र
मृत्युको दलदल बोकेर
शक्ति प्रदर्शन गर्दै
सन्तानको भविष्य निल्ने
नदी हुँदै होइन।
नजिकै गएर हेर,
ए मानव!
प्रलय बनेर आएको
आफ्नै रूपलाई—
आफ्नै कर्मलाई।
त्यहाँ
निर्दोष नदीमाथि
क्रूर दाह्रनङ्ग्रा
धसिरहेको
तिम्रै स्वार्थी रूप देखिनेछ।