नेपाली समाज अधिकांश ग्रामीण क्षेत्रमा विस्तारित छ। विविधता बिचमा एकता, आपसी सामाजिक भाइचाराको सम्बन्ध, सदियौँदेखिको मेलमिलाप, सहयोग र सद्भाव नै ग्रामीण क्षेत्रका विशेषता हुन्।
ग्रामीण विकासलाई राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, नैतिक, वातावरणीय लगायतका बहुआयामिक कोणबाट बुझ्नुपर्ने हुन्छ। संख्यात्मक तथा गुणात्मक रूपमा ग्रामीण क्षेत्रमा भएको सकारात्मक परिवर्तन नै ग्रामीण विकास हो।
समग्र आयामलाई व्यक्तिको सोचले नै ठुलो भूमिका खेलिरहेको सन्दर्भमा आफ्नो ग्रामीण क्षेत्र, समुदायलाई प्रतिनिधिको रूपमा ग्रहण गरी ग्रामीण विकासका विविध आयामभित्रका केही वास्तविक पक्षलाई देखाउँदै यो लेख लेख्दै छु।
राजनीतिक विचारधाराको विविधता लोकतान्त्रिक समाजको स्वाभाविक विशेषता हो। तर राजनीतिक आस्थाले सामाजिक सम्बन्धलाई समेत प्रभावित गर्न थालेपछि ग्रामीण समाजको परम्परागत एकता र सद्भाव कमजोर हुँदै गएको देखिन्छ।
सदियौँदेखिको आत्मीयता र भाइचाराको सम्बन्धमा फाटो गहिरिँदै गएको देखिन्छ। जसले सामाजिक द्वन्द्वलाई प्रशय दिइरहेको छ। महिलाहरूको वनपाखा, मेलापात, रोपाइँमा समेत पार्टीगत गुट हुनु, मलामी जाँदा, औसर (भोजभतेर) मा समेत पार्टीकै कारण केही समूह उपस्थित हुने त केही समूह नहुने अवस्था पनि सृजना हुँदै आएको छ।
समाजमा हुने चोरी तथा गलत क्रियाकलापमा समेत राजनीतिक पार्टीगत पक्ष र विपक्ष भएको हुन्छ। फरक पार्टीगत विचारधाराले एउटै परिवारमा समेत मौन मनमुटावको अवस्था सृजना गरिदिएको छ। राजनीतिक पार्टी अस्थायी र तत्कालीन कुरा हो तर सामाजिक सम्बन्ध स्थायी र दीर्घकालीन हुने भएकाले सामाजिक सद्भावना, एकता, भाइचाराको सम्बन्धलाई जहिले पनि अग्रणी रूपमा लिनुपर्छ।
समाजको नेतृत्वकर्ताले सार्वजनिक अभिव्यक्ति दिँदा सामाजिक मर्यादा र सद्भावलाई ख्याल राख्नुपर्छ जसले गर्दा पनि सामाजिक एकतालाई बलियो बनाउँछ। कार्यकर्ताहरूले आपसी सामाजिक भाइचाराको सम्बन्ध नै पहिलो र बलियो सम्बन्ध हो भन्ने हेक्का राख्नुपर्छ। यसले ग्रामीण विकासलाई एक गतिशील रूप प्रदान गर्छ।
ग्रामीण तहमा सञ्चालित पूर्वाधार विकासका योजनाहरू सन्तुलित र प्राथमिकता अनुसार छनौट हुनुपर्छ। गाउँमा योजना पार्ने कुरालाई मात्र ध्यान नदिईकन वास्तविक आवश्यकता र त्यसको दिगो विकासलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। मुहानको स्रोत सुनिश्चित नगरी स्थानीय कुला पोखरी निर्माणले दिगो प्रतिफल सुनिश्चित गर्छ गर्दैन भन्ने कुरालाई स्थानीय नेतृत्वकर्ताले ध्यान दिनुपर्छ।
धर्म र संस्कृतिको नाममा ग्रामीण स्तरमा विकास बजेटको दुरूपयोग बढ्दो स्तरमा छ। कुनै परिवार, गाउँ विशेषको निजी पितृदेव (मुइयाँ/देउती)को नामका मन्दिर निर्माणमा समेत सार्वजनिक वित्त परिचालन भएको छ। स्थानीय प्राथमिकता अनुसार योजना हुनुपर्नेमा देवताको नामको मन्दिर निर्माण भएकाले कसैले पनि यस्तो कुरा विरोध गर्न वा योजना रुद्ध गर्न आँट गर्न सकिरहेका छैनन्।
आफ्नो मौलिक पहिचानयुक्त मन्दिर निर्माणको लागि समुदाय स्तरमा स्थानीय विकास व्यवस्थापन कोषको स्थापना गरी प्राथमिकता अनुसार स्थानीय स्तरमै पाउने सामाग्रीको प्रयोग गरी परम्परा झल्किने र पर्यटनका लागि आकर्षक हुने खालको निर्माण गरिनुपर्छ।
स्थानीय चरन क्षेत्र, पाटन तथा खुला ठाउँमा पेय पदार्थ खाएर काँच सिसा जथाभाबी रूपमा फालेकाले घाँस काट्न, गोरुभैँसी चराउन र सुरक्षित हिँड्नमा समेत कठिनाइ देखिँदै छ। आजैदेखि यस्ता गतिविधि नियन्त्रण गरी ग्रामीण वातावरणलाई स्वस्थ राख्न सकिन्छ।
स्थानीय स्तरमा प्रचलित देउडा, झोणा, मागल तथा नाचलाई प्राथमिकता दिने प्रचलन हराउँदै निश्चित व्यक्तिलाई बोलाई खर्चिलो र देखासिकी गर्ने प्रवृत्ति बढिरहेको छ।
विविधतायुक्त समाजमा एकले अर्काको अस्तित्व स्वीकार गर्दै, एकआपसमा प्रत्यक्ष खुला छलफल र समन्वयले वैमनस्य हटाउन प्रेरित गर्छ।
मानिस आफूले गल्ती गर्ने तर गल्तीबाट उम्किन देवताको नाममा कसम खाएर, मेरो छोरो नरहोस् जस्ता शब्दहरू बोलेर भ्रम र विवाद सृजना गरिराखेका हुन्छन्। यस्तो सोचलाई निवारण गरिनुपर्छ। आफ्ना कमजोरी र गल्तीलाई स्विकार्न सक्नुपर्छ। आफूले गरेको गल्तीलाई निर्दोष भावी पुस्तालाई बोकाउनु हुँदैन।
स्थानीय स्तरमा कार्यरत कतिपय संघ-संस्थाहरूको उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम सञ्चालनले प्रभावकारिता ल्याएको छैन। त्यो मिटिङमा जाँदा भत्ता, खाजा मिल्छ कि मिल्दैन भन्ने आवाज स्पष्ट सुनिन्छन्। यस्तो प्रवृत्ति निराकरण गर्न सम्पूर्ण सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने गर्छ।
विकासका राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, धार्मिक, वातावरणीय, सोच, संस्कार लगायत हरेक आयाममा पवित्र रूपले आफू सक्षम हुने त्यसपछि आफ्नो परिवारलाई सक्षम बनाउने अथवा सक्षम बनाउन वातावरण सृजना गर्ने। यसरी परिवार परिवार सक्षम भए समग्र गाउँ सक्षम हुँदै जान्छ।
बाजे पुस्ताभन्दा बुवा पुस्ता, बुवा पुस्ताभन्दा हाम्रो पुस्ता, हाम्रो पुस्ताभन्दा भावी पुस्ता संख्यात्मक तथा गुणात्मक सक्षम हुनु नै ग्रामीण आर्थिक विकास हो। ग्रामीण विकासको वास्तविक मापन निर्माण भएका संरचनाको संख्याले मात्र होइन, त्यहाँका नागरिकको चेतना, क्षमता, सामाजिक सद्भाव, आत्मनिर्भरता र जीवनस्तरमा आएको सकारात्मक परिवर्तनले गर्नुपर्छ।