भयानक आन्दोलन चलिरहेछ
मेरो मायाको दुनियाँमा अचेल।
मनका रोड-रोडहरूमा
मुटुका टायरहरू जलिरहेछन्,
आँसुका फोहोराहरू छरिरहेछन्,
वचनका अश्रुग्याँस र
आक्रोशका बन्दुकहरू चलिरहेछन्।
मरिरहेछन्
मनहरू मरिरहेछन्,
खुसीहरू मरिरहेछन्,
जाँगरहरू मरिरहेछन्।
वियोगले म
छटपटाइरहेछु,
बरबराइरहेछु।
देखेर,
शरीरका कुना-कुनाहरूबाट
थकानका शान्तिसेनाहरू आउँछन्,
मलाई सन्नाटाको बिछौनामा सुताउँछन्।
कोल्टे फर्किन्छु
देख्छु जब
अबोध, निर्दोष
मायाका मुनाहरू,
डर-त्रास-भयवित अनुहारमा
रसाएका आँखाका कुनाहरू।
र
हठात् पाउँछु आफूलाई
वार्ताको टेबलमा बरबराइरहेको।
मैले तिमीलाई
धनले माया गरेको होइन, ‘माया’
मनले माया गरेको हुँ मनले,
मुटुले माया गरेको हुँ मुटुले।
ऊ भन्छे
माया
त्यही मन-मुटु चलाउन पनि
खानुपर्छ,
लाउनुपर्छ,
रमाउनुपर्छ।
म निःशब्द भएँ!
अबोध, निर्दोष मायाका मुनाहरू
ओइलाइरहे,
ओइलाई नै रहे।