कब्जियतलाई धेरैले सामान्य स्वास्थ्य समस्या ठान्छन्।
दिसा राम्रोसँग भएन, पेट फुल्यो वा केही दिन दिसा भएन भने खानेकुरा मिलाउने, पानी बढी पिउने वा फार्मेसीबाट औषधि किनेर खानेसम्म चलन छ।
समस्या निको भएन भने पनि धेरैले यसलाई ठूलो रोगका रूपमा लिँदैनन्।
तर यही सामान्य ठानिएको समस्या संसारभर ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ।
नयाँ अनुसन्धानहरूले बालबालिकादेखि वृद्धवृद्धासम्म ठूलो संख्यामा मानिस कब्जियतबाट प्रभावित रहेको देखाएका छन्।
महिलामा पुरूषको तुलनामा यसको समस्या बढी देखिएको छ। उमेर बढ्दै जाँदा पनि जोखिम बढ्ने देखिन्छ।
सन् २०२६ मा प्रकाशित दुई वटा विश्वव्यापी अध्ययनले कब्जियतको व्यापकता र यसका जोखिमबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्।
क्लिनिकल एन्ड ट्रान्सलेसनल ग्यास्ट्रोएन्टेरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले संसारभर करिब १२.१४ प्रतिशत मानिसमा 'फङ्सनल' दीर्घकालीन कब्जियत रहेको अनुमान गरेको छ।
यो भनेको आन्द्रामा कुनै स्पष्ट संरचनात्मक समस्या वा अवरोध नभए पनि दिसा त्याग गर्न कठिनाइ हुने अवस्था हो।
अनुसन्धानकर्ताले ४४ देशमा भएका १२८ वटा अध्ययन समेटेका थिए। ती अध्ययनमा चार लाख ५९ हजार ६१ जना सहभागी थिए। यो अध्ययन सन् १९९९ देखि २०२५ सम्म प्रकाशित अनुसन्धानलाई समेटेर गरिएको थियो।
यस अनुसार प्रत्येक सय जनामध्ये करिब १२ जनामा फङ्सनल कब्जियत देखिन्छ। अर्थात् विश्वभरका करिब आठ जनामध्ये एक जनामा यो समस्या हुन सक्छ।
अध्ययनले महिलामा १४.६ प्रतिशत र पुरूषमा १०.६२ प्रतिशत कब्जियत भएको देखाएको छ। उमेर समूह अनुसार हेर्दा ६५ वर्षमाथिका व्यक्तिमा १९.८९ प्रतिशत, बालबालिकामा १२.०६ प्रतिशत र १८ देखि ६४ वर्षका वयस्कमा ९.५ प्रतिशत देखिएको छ।
यसले कब्जियत बालबालिका र वृद्धवृद्धामा पनि महत्त्वपूर्ण स्वास्थ्य समस्या भइरहेको देखाउँछ। विशेषगरी वृद्धवृद्धामा बढी हुनु थप चुनौती हो।
यसैगरी, फ्रन्टियर्स इन मेडिसिन जर्नलमा प्रकाशित अर्को विश्वव्यापी समीक्षाले कब्जियतको औसत प्रचलन २४.१ प्रतिशत रहेको अनुमान गरेको छ। अर्थात् करिब चार जनामध्ये एक जनामा कब्जियत हुन सक्ने यसको निष्कर्ष छ।
यस अध्ययनमा ३ हजार ६४९ अनुसन्धानका अभिलेख परीक्षण गरी ४८ वटा अनुसन्धान समावेश गरिएका थिए।
यी अध्ययनहरूले कब्जियत सामान्य ठानेर बेवास्ता गर्न मिल्ने समस्या होइन भन्ने देखाउँछन्।
विश्व ग्यास्ट्रोइन्टेस्टाइनल अर्गनाइजेसनको सन् २०२५ को विश्वव्यापी निर्देशिकाले पनि दीर्घकालीन कब्जियतलाई विश्वभर देखिने र जीवनको गुणस्तरमा असर पार्ने पाचनसम्बन्धी समस्याका रूपमा व्याख्या गरेको छ।
कब्जियत भनेको के हो?
सामान्यतया सातामा तीन पटकभन्दा कम दिसा हुनु, दिसा कडा र सुख्खा हुनु, दिसा गर्दा धेरै बल लगाउनुपर्ने वा दिसा गरेपछि पनि पेट सफा नभएको महसुस हुनुलाई कब्जियतका लक्षण मानिन्छ।
तर कब्जियत भन्नाले दिसा कम पटक हुनु मात्रै होइन। नियमित दिसा भए पनि दिसा गर्न गाह्रो हुने, धेरै समय लाग्ने वा पूरा दिसा नभएको महसुस हुने समस्या पनि यसमा पर्छन्।
कब्जियत लामो समयसम्म रहँदा पेट दुख्ने, पेट फुल्ने, दिसा गर्दा चिरा पर्ने, पायल्स हुने र दिसा अड्किने समस्या देखिन सक्छ।
यसले दैनिक कामकाज, खानपान र जीवनको गुणस्तरमा समेत असर पार्छ।
कब्जियत हुनुका कारण
कब्जियत एउटै कारणले हुँदैन। खानपान, शारीरिक गतिविधि, औषधि र विभिन्न स्वास्थ्य समस्याले यसको जोखिम बढाउन सक्छन्।
प्रमुख कारण यस्ता छन्।
♦ रेसादार खानेकुरा कम खानु— सागसब्जी, फलफूल, गेडागुडी र पूर्णअन्नमा पाइने फाइबरले दिसालाई नरम र ठूलो बनाउन मद्दत गर्छ। यस्ता खानेकुरा कम खाँदा कब्जियत हुन सक्छ।
♦ पानी कम पिउनु— शरीरमा पानीको मात्रा कम हुँदा दिसा कडा र सुख्खा हुन सक्छ।
♦ शारीरिक गतिविधि कम हुनु— लामो समय बसिरहने र व्यायाम नगर्ने बानीले आन्द्राको गतिविधिमा असर पार्न सक्छ।
♦ दिसा लाग्दा रोक्नु— दिसा गर्ने इच्छा हुँदा पनि बारम्बार रोक्ने बानीले समस्या बढाउन सक्छ।
♦ केही औषधिको प्रयोग— आइरन, क्याल्सियम, केही रक्तचाप नियन्त्रण गर्ने औषधि, दुखाइ कम गर्ने ओपिओइड औषधि र केही डिप्रेसन विरूद्धका औषधिले कब्जियत गराउन सक्छन्।
♦ अन्य रोग— मधुमेह, थाइराइडको समस्या, पार्किन्सन रोग र आन्द्राको चाल वा मलद्वारका मांसपेशी सम्बन्धी समस्याले पनि कब्जियत हुन सक्छ।
♦ उमेर र गर्भावस्था— उमेर बढ्दै जाँदा शारीरिक गतिविधि, खानपान र औषधिको प्रभावका कारण कब्जियतको जोखिम बढ्न सक्छ। गर्भावस्थामा हुने हर्मोनल परिवर्तनले पनि दिसा त्यागमा समस्या ल्याउन सक्छ।
कब्जियतबाट कसरी बच्ने?
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ डायबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिजेसका अनुसार खानपान र दैनिक व्यवहारमा सुधार गरेर धेरैजसो सामान्य कब्जियत नियन्त्रण गर्न सकिन्छ।
♦ फाइबरयुक्त खाना खाने— सागसब्जी, फलफूल, गेडागुडी, ओट्स, गहुँ र अन्य पूर्णअन्न नियमित खाने। वयस्कले उमेर र लिंगअनुसार दैनिक २२ देखि ३४ ग्राम फाइबर लिनु उपयुक्त हुन्छ।
♦ पर्याप्त पानी पिउने— फाइबरयुक्त खाना बढाउँदा त्यसलाई काम गर्न पर्याप्त पानी पनि चाहिन्छ। शरीरमा पानीको कमी हुन दिनु हुँदैन।
♦ नियमित शारीरिक गतिविधि गर्ने— दैनिक हिँड्ने र नियमित व्यायाम गर्ने बानी बसाल्ने।
♦ दिसा लाग्दा नरोकिने— दिसा गर्ने इच्छा हुँदा सकेसम्म तुरून्तै शौचालय जाने।
♦ नियमित समय मिलाउने— बिहानको खाना खाएपछि दिसा गर्ने बानी बसाल्न सकिन्छ। खानाले आन्द्राको गतिविधि बढाउन मद्दत गर्छ।
♦ औषधिबारे चिकित्सकसँग सल्लाह लिने— कुनै औषधि खाएपछि कब्जियत भएको हो भने आफै औषधि बन्द नगरी चिकित्सकसँग परामर्श गर्ने।
♦ आवश्यक परे औषधि प्रयोग गर्ने— खानपान र जीवनशैली परिवर्तनले सुधार नभए चिकित्सकको सल्लाहमा फाइबर सप्लिमेन्ट, पोलिइथिलिन ग्लाइकोल (पिइजी) वा अन्य उपयुक्त औषधि प्रयोग गर्न सकिन्छ।
अमेरिकन ग्यास्ट्रोएन्टेरोलोजी एसोसिएसन र अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीले सन् २०२३ मा जारी गरेको संयुक्त निर्देशिकाले दीर्घकालीन कार्यात्मक कब्जियतमा फाइबर सप्लिमेन्ट र पिइजीको प्रयोग गर्न सकिने भनेको छ।
अन्य औषधि पनि बिरामीको अवस्था हेरेर प्रयोग गर्न सकिने निर्देशिकामा उल्लेख छ।
तर कब्जियत लामो समयसम्म रहिरहेमा वा दिसामा रगत देखिएमा, अनायासै तौल घटेमा, पेट निरन्तर दुखेमा, बान्ता भएमा वा दिसा र ग्यास दुवै ननिस्किएमा चिकित्सकसँग जाँच गराउनुपर्छ।
यस्ता लक्षण सामान्य कब्जियत ठानेर बेवास्ता गर्नु हुँदैन।
कब्जियत सामान्य समस्या भए पनि यसको असर सामान्य नहुन सक्छ।
त्यसैले दिसा नियमित नहुनुलाई लाज वा सामान्य असुविधाको विषय ठानेर लुकाउनुको सट्टा कारण पहिचान गरी समयमै समाधान खोज्नु आवश्यक छ।
***