नवलपरासीका युवा हरि परियार (थर यथावत, नाम परिवर्तित) काठमाडौंको एउटा काठ क्षेत्रमा टिपर व्यवसाय सञ्चालन गर्छन्। उनकी श्रीमतीको सानो टेलर पसल छ।
कोभिड लकडाउनका कारण घाटा खाँदै र निर्माण व्यवसायका तमाम बेथिति र विकृति झेल्दै परियार जसोतसो आफ्नो व्यवसाय अगाडि बढाइरहेका छन्। समग्रमा जीवन राम्रै चलेको छ।
तर जातको आतंकले सधैं सताइरहन्छ!
उनका साना छोरा डेरा नजिकैको स्कुल जान्छन्। स्कुलमा हरिको परिवार चिन्ने केही विद्यार्थीहरू पनि पढ्छन्। तीमध्ये कसैले स्कुलमा छोराको वास्तविक जात बताइदिन्छ कि र सबैले बच्चालाई हेप्न थाल्छन् कि भन्ने कुराले हरिलाई 'टेन्सन' भइरहन्छ।
जातका कारण बाल मनोविज्ञानमा प्रहार हुन सक्ने खतराले उनको मनमा हरपल डर र त्रास छ।
काठमाडौं निवासी धेरै दलितहरूजस्तै हरिको परिवारले पनि जात ढाँटेर डेरा लिएको छ, व्यवसाय चलाएको छ। दलित हुन् भन्ने थाहा पाए भने अपमानपूर्वक डेराबाट निस्किनुपर्ने लगभग निश्चित छ। व्यापारमा पनि जातकै कारण घाटा लाग्ने खतरा रहन्छ।
मानौं ठूलै अपराध गरे जस्तो, जन्मकै कारण हरि र उनको परिवार आफ्नो पहिचान लुकाउन विवश छ। जतिखेर पनि कोही गाउँले वा आफन्ती वा चिनेका मान्छे आएर जात खुलाइदेलान् कि भन्ने डरै डरमा उनीहरू बाँचेका छन्।
एक पटक श्रीमतीको पसलमा एक जना बाहुनी कालिगढ काम गर्थिन्। उनको सिलाइ सीप राम्रो थियो, कमाइ पनि राम्रै गर्थिन्। तर एक दिन कसैबाट साहुनी दमिनी हो भन्ने थाहा पाइन् र कामै छाडेर हिँडिन्।
ढुवानी व्यवसायमा पनि काम जातिवादी नहुने कुरै भएन।
'कामी, दमाई, सार्की यस्ता हुन्छन्, उस्ता हुन्छन्' भनेर हरिसँगै कति ठेकेदार, ड्राइभरले कुरा गरिरहन्छन्। मजाक बनाएर हाँसोठट्टा पनि गर्छन्।
जे गर्दा पनि 'जाँड खाको सार्की जस्तो', 'कामी–दमाईको जस्तो बोली' आदि भनेर जातीय घृणा अभिव्यक्त गर्छन्।
यस्ता विभेदी जातीय बोलीले हरिको मुटुमा फलामको सुइरोले घोचे जस्तो हुन्छ। पीडाले शरीर पूरै पसिनाले भिज्छ। तर उनी म पनि त्यही जातको हो भन्न सक्दैनन्। कसैसँग प्रतिकार गर्न सक्दैनन्।
समाजमा व्याप्त जातिवादको प्रतिवाद गरून् पनि कसरी?
ज्ञानको कमी छ— उनले ५ कक्षा पनि पास गरेका छैनन्। कुनै राजनीतिक दलमा आबद्ध पनि छैनन्। दलीय राजनीतिमा नलागेपछि सशक्त ढंगले बोल्ने बानी परेन। अनि कसैले पिट्यो भने पनि न्याय मिल्ने सम्भावना रहेन!
त्यसपछि जातीय समस्याबारे ज्ञान बढाउने हेतु उनी भ्याएसम्म दलित भेला, सभा, सम्मेलनहरूमा जान थाले। केही दलित नेता अगुवाहरूसँग भेटघाट, चिनजान पनि भयो। तिनको विचार बुझ्ने प्रयास गरे।
दलित भेलाका लगभग सबै वक्ताहरूले राज्यविरूद्ध, पार्टीहरू विरूद्ध, नेतृत्वहरू विरूद्ध, प्रहरी र अदालतविरूद्ध आक्रोश पोख्थे। जातीय विभेद अन्त्य गरिएन, कानुनको प्रभावकारी कार्यान्वयन भएन, दलित कोटा पुगेन, दलितलाई प्रभावशाली पदहरू दिइएन भनेर सबै कराउँथे।
तर उनीहरू तिनै दलको सेवामा तल्लीन रहन्थे!
हरिलाई सबभन्दा अचम्म के कुरा लाग्छ भने दलित नेता, अगुवाहरूको आफ्नो वैचारिकी, दार्शनिकी छैन। जातीय समस्या समाधान कसरी गर्ने भन्ने प्रस्ट भिजन छैन। मात्रै राज्यले अवसर दिएन भन्ने कुराको गुनासो मात्रै छ।
थोरै पढे पनि हरिले भोगेरै बुझेका छन् — विभेदको बिउ धर्म, संस्कार, संस्कृतिमा छ।
तर अचम्म, दलित नेता, अगुवा, बुद्धिजीवीहरूले सितिमिति धर्मको 'ध' पनि उच्चारण गर्दैनन्! किन होला?
हरिलाई पत्तो छैन।
एक पटक कसैले हरिलाई भारतीय संविधानका निर्माता तथा प्रसिद्ध दलित नेता डा. भीमराओ अम्बेडकरबारे बताइदियो। त्यसपछि हरि अम्बेडकरका विचारहरू सुन्न थाले। पुस्तक र लेख पढ्न नसके पनि उनले अडिओ–बुक सुनेर विचार बुझ्दै गए।
यसबाट झनै जातीय समस्या धर्मशास्त्र र परम्परामै उल्लेखित रहेछ भन्ने हरिले बुझे।
उनले यो पनि बुझे— अम्बेडकरको नामै नलिने मूलधार दलित नेता, अभियानीहरूले उनले दैनिक भोगिरहेको पीडा हल गर्न सक्दैनन्। धार्मिक मान्यताकै कारण दलित सांसद र मन्त्रीहरूले समेत राजधानीमा डेरा नपाउने परिस्थिति प्रति चासो र चर्चा छैन।
यो तरिकाले यो जुनीमा जातीय अपमान र घृणाबाट मुक्ति पाइँदैन भन्ने हरिलाई लाग्यो। अम्बेडकरकै विचारको प्रभावले उनी नास्तिक बने। यति धेरै विभेद गर्ने देउतालाई किन पुज्ने?
पछिल्लो समय हरिले थर बदल्ने निधो गरे। जातीय मुक्तिकै खातिर धेरै दलितले धर्मान्तरण गरेको कुरा उनलाई थाहा थियो। तर दैनिक जीवनमा विभेद भोग्ने धर्मका आधारमा नभएर थरका आधारमा थियो। सैद्धान्तिक, वैचारिक कुरातिर उनले सोच्ने कुरो भएन। उनले व्यावहारिक पक्ष सोचे। थर परिवर्तन गरियो भने केही पुस्तापछि त हामी दलित थियौं भन्ने समेत बिर्सिएला र भावी पुस्ता समाजमा इज्जतका साथ बाँच्न पाउला भन्ने उनको विचार भयो।
त्यसपछि हरि सिंहदरबारस्थित पन्जीकरण विभाग पुगे। त्यहाँ उनले आफ्नो नागरिकतामा परियारको सट्टा गौतम लेख्न मिल्छ कि मिल्दैन भनेर सोधे। सरकारले सूचीकृत गरेको थर भए फेर्न मिल्छ भनेपछि उनी आफ्नो जिल्ला प्रशासन कार्यालयमा निवेदन गर्न पुगे।
फाइल सर्दैसर्दै सिडिओको डेस्कमा पुग्यो।
सिडिओले उनलाई भने — परियार कुनै अपमानजनक थर होइन, त्यसैले यो परिवर्तन गर्न मिल्दैन, परियारको सट्टा दमाई हुन्थ्यो भने बदल्नुको अर्थ हुन्थ्यो।
हरिलाई सम्झाउने क्रममा सिडिओले गायक राजु परियार, शिव परियार लगायत केही प्रसिद्ध नामहरू पनि लिए र तिनले समाजमा प्रशस्त इज्जत र सम्मान पाएको जिकिर गरे।
कसैगरी जिल्ला प्रशासनले नटेरेपछि हरि ललितपुरस्थित दलित आयोगको कार्यालय पुगे। त्यहँ एक जना आयुक्तले पनि सिडिओ जस्तै 'परियार थर त्यति नराम्रो नभएकाले फेरिरहनु आवश्यक छैन' भन्ने राय दिए।
तैपनि हरिले आफ्नो थर गौतम बनाएरै छाड्ने अडान लिए। यसपछि आयोगका कर्मचारीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखलाई फोन गरिदिए।
दलित आयोगले सबै दलित जातिका थरहरूको सूची प्रकाशन गरेको र परियार जातिका सूचीकृत थरहरूमा एउटा गौतम पनि परेकाले कानुनतः हरिले थर बदल्न पाउने अधिकार छ भनेर सम्झाएपछि हरिको नागरिकता बदलियो।
यसरी, केही दिनअगाडि मात्रै हरि परियारको आधिकारिक नाम हरि गौतम बन्यो।
पढाइका प्रमाणपत्रहरू नभएकाले पनि अब उप्रान्त नयाँ थरका साथ काम गर्न उनलाई धेरै सजिलो हुने भन्दै उनी ढुक्क छन् — कमसे कम अब डेरा सर्नुपरे चिन्ता हुने भएन। कतै भाडामा सटर लिँदा पनि सहज हुने भयो। किनकि डेरा लिँदा नागरिकता सहित वडामा दर्ता गर्नुपर्ने कडा नियम काठमाडौं महानगरपालिका (अन्य पालिकाले पनि) ल्याएको छ।
तर जात थाहा पाउने बित्तिकै डेरा नदिने समस्याको हल चाहिँ के त?
यसबारे पालिका र पालिका प्रमुखहरूलाई कुनै मतलब छैन!
म आफैले हाम्रो अभियानका तर्फबाट काठमाडौंका मेयरलाई प्रत्यक्ष भेटेर दलितको डेरा समस्याबारे अवगत गराउन र केही सुझाव–सल्लाह दिन पत्र लेखेर अनुरोध गरेको थिएँ। तर काठमाडौंका मेयरलाई भेट्न सकिँदो रहेनछ!
हरि परियार (गौतम) को कथाबाट बुझ्न सकिन्छ — राज्यले छुवाछुतजन्य अपमान, घृणा र हिंसा रोक्ने दिशामा ठोस काम केही नगरे पनि कमसे कम दलितलाई आफ्नो पहिचान लुकाउन चाहिँ बाटो खोलिदिएको रहेछ।
दलित आयोगका अनुसार पछिल्लो समय दलितहरूले आफ्नो पहिचान बदलेर कथित 'उपल्ला' जातको थर राख्ने क्रम निक्कै बढेर गएको छ।
तर के थर बदल्नु वास्तविक मुक्तिको बाटो हो?
यसबारे दलित समुदायभित्र र बाहिर पनि विवाद कायमै छ।
यो विषयलाई कुन कोणबाट हेर्ने भन्ने कुराले पनि निर्धारण गर्छ। सामूहिक रूपमा हेर्दा थर अदलबदलले केही गतिलो गर्दैन। जातिवादी सामाजिक संरचना ज्युँका त्युँ रहन्छ। दलितमाथिको घृणा अन्त्य हुँदैन। समग्र दलित मुक्तिको बाटो पक्कै खुल्दैन।
तर व्यक्तिगत जीवनमा थर फेरेपछि अवश्य सजिलो हुन्छ। कमसे कम अपरिचित समुदायमा दलितले सम्मानित जीवन जिउने आधार बन्छ।
मेरा एक जना आफन्ती छन्, जो काठमाडौंमा एउटा नेताको घरमा गौतम बनेर डेरा लिएका छन्। उनी र उनको परिवारलाई उच्च जातीय घरबेटीले झन्डै नाताकुटुम्ब सरह व्यवहार गर्छन्। मिठो–मसिनो पाक्दा बाँडेर खान्छन्। त्यही घरको भुइँतलामा एउटा विश्वकर्मा परिवार बस्छ, जसलाई छतमा जान दिइँदैन। बच्चाहरू बगैंचामा खेल्न पनि पाउँदैनन्।
यो थर बदली खेलबाट बुझ्नुपर्ने हो— जात भनेको देउता, कुल, पितृले छुट्ट्याउने होइन। ईश्वरीय शक्तिले कसैलाई विभेद गर्दैन।
राम्रो अध्ययन–अनुसन्धान नभए पनि मेरो अनुमानमा क से कम ६०–७० प्रतिशत दलित काठमाडौंमा जात ढाँटेर डेरा बसेका छन्। आफ्नो जात थाहा पाएर घरबेटीले अपमानजनक ढंगले निकाल्छन् कि भन्ने त्रासमा बाँचेका छन्। तर यसबारेमा कुनै तहको सरकारलाई कुनै चासो छैन।
मेरो व्यक्तिगत विचारमा दलितले थर बदल्नु राम्रो होइन। हामीले त्यसरी लुक्नुपर्ने गरी कुनै अपराध गरेका छैनौं। बरू हामीले धर्मसंस्कार र संस्कृति सुधार गर्दै जातिवाद कम गर्नेतर्फ हरतरिकाले राज्यलाई झक्झक्याउनु पर्छ। परियार बाध्यताले गौतम बन्ने भन्दा पनि परियार र गौतम दुवै समान हुन् भन्ने भाव फैलाउनु पर्छ। यही नै दीर्घकालीन समाधान हो।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियानी हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स- @MitraPariyar