नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' यसपालि रूकुम पूर्वबाट चुनाव लड्दै छन्। अघिल्लो चुनावमा निर्वाचित गोरखा-२ छाडेर उनी रूकुम पूर्व उक्लेका हुन्।
'जनयुद्ध' को आधार क्षेत्रका रूपमा परिचित यस क्षेत्रमा पूर्वमाओवादीहरूको बलियो पकड छ। त्यही भएर प्रचण्डका लागि यो सबभन्दा सुरक्षित निर्वाचन क्षेत्र रहेको नेकपाको विश्लेषण छ। यहाँ 'जनयुद्ध' को विरासत बोकेको माओवादी केन्द्र मात्र होइन, नेकपा गठन हुँदा सहभागी १८ भन्दा बढी दल र समूहको सामर्थ्य पनि प्रचण्डसँग रहनेछ।
अरू पार्टीले 'हेभीवेट' उम्मेदवार खडा नगर्नू प्रचण्डका लागि रूकुम पूर्व अनुकूल हुनुको अर्को कारण हो। यहाँ नेकपा एमालेले लिलामणि गौतमलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट कुसुमदेवी थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट लखन कुमार थापा उम्मेदवार छन्।
तर यसमध्ये प्रचण्डलाई टक्कर दिइरहेका एक उम्मेदवारको चर्चा यहाँ सबभन्दा बढी छ। उनी हुन्, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सन्दीप पुन।
सन्दीप पूर्वमाओवादीबाट विद्रोह गरेर जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए। अघिल्लो वर्ष प्रचण्ड र हेडक्वार्टर समर्थित उम्मेदवारलाई हराएर अखिल क्रान्तिकारीको उपाध्यक्ष निर्वाचित भएका पुन यसपालि प्रचण्डविरूद्धै चुनाव लड्न लागेका हुन्।
यति मात्र होइन, सन्दीपका आमाबुबा दुवै माओवादी सशस्त्र विद्रोहमा लागेर सहिद भएका लडाकू हुन्।
यही पृष्ठभूमिमा हामीले कुनै बेला आफ्नै सर्वोच्च कमान्डर रहेका प्रचण्डलाई राजनीतिक चुनौती दिइरहेका सन्दीपसँग संक्षिप्त कुराकानी गरेका छौं —
तपाईंले अघिल्लो वर्ष प्रचण्डका एक उम्मेदवारलाई हराउनुभयो। यसपालि उहाँलाई नै हराउँछु भनेर उम्मेदवार बन्नुभएको हो?
मैले यो क्षेत्रबाट चुनाव लड्छु भनेर प्रचण्डभन्दा अगाडि नै घोषणा गरेको हुँ। त्यस कारण म उहाँसँग होइन, उहाँ (प्रचण्ड) मसँग लड्न आउनुभएको हो।
तत्कालीन माओवादीले गरेको 'जनयुद्ध' मा आमाबुबा दुवै गुमाउनुभयो। त्यही जनयुद्धका कमान्डरसँग लड्दै हुनुहुन्छ। कस्तो अनुभव हुने रहेछ?
आन्दोलन र पार्टी सबै समाप्त गरिसकेपछि इतिहास नै मेटिने खतरा देखेर मैले विद्रोहको बाटो रोजेको हुँ। नयाँ बाटो रोजेको मान्छेले पूर्वकमान्डर नै भए पनि प्रतिस्पर्धा गर्न अप्ठ्यारो मान्नु हुँदैन।
त्यसमाथि उम्मेदवारीको घोषणा सुरूमा मैले नै गरेकाले जनयुद्धका कमान्डरलाई हराउन खोजेको हो कि कमान्डरले नै सहिदको छोरा हराउन आएको हो भन्ने प्रश्न उठ्छ।
प्रचण्ड आफैले भेटेर तपाईंलाई उम्मेदवारी फिर्ता लिन भन्नुभएको हो?
उहाँले एउटा भाइ पनि उठ्नुभएको छ, कसले उचालेर उठ्नुभयो भन्नुभएको रहेछ। मैले पनि भिडिओमा हेरेँ। तर मसँग भेट भएको होइन।
तपाईं अहिले प्रचारमै हुनुहुन्छ होला। मतदाताहरू के भन्छन्?
म रूकुम पूर्वकै हुँ। यहाँ सहिद परिवार मात्रै ४०० भन्दा बढी घर छन्। मैले पनि सहिद परिवारकै प्रतिनिधित्व गर्ने भएकाले उहाँहरू खुसी हुनुहुन्छ। बल्ल आफ्नै प्रतिनिधि पायौं भन्नुभएको छ। उहाँहरू उत्साहित हुनुहुन्छ।
अब चिल्ला र खोक्रा आश्वासन जनताले मन पराउँदैनन्। पुरानाहरूबाट आजित भएर नयाँ खोजिरहेका छन्। त्यसैले मेरो जित सुनिश्चित छ भन्ने लाग्छ।
तर चर्चा त प्रचण्डको जित सुनिश्चित भन्ने नै छ नि!
म यो ठाउँको घर घर चिन्छु। दैलो दैलो पुग्न सक्छु। यहाँका जनतासँग नयाँ परिचय गराउनुपर्ने अवस्था छैन। रूकुम पूर्व सहिदहरूको जिल्ला हो। सहिद, घाइते र बेपत्ता परिवारको आक्रोश अझै जीवित छ। उहाँ सुरक्षित स्थान खोज्दै यहाँ आउनुभएको हो भन्ने कुरा पनि यहाँका जनताले बुझिसकेका छन्। त्यो आक्रोश मतमार्फत् व्यक्त हुन्छ।
तपाईंको आफ्नै एजेन्डा चाहिँ के हो? मतदाताहरूलाई के भनिरहनुभएको छ?
अहिले निर्वाचन आचारसंहिताका कारण प्रचार प्रसार गर्न पाएका छैनौं। तर आफ्नै जिल्ला भएकाले चिनजानका साथीहरू धेरै हुनुहुन्छ। त्यस माध्यमबाट पनि जनतासँग जोडिइरहेको छु। सामाजिक सञ्जालबाट चिनजान भएकाहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छु।
उहाँहरू पुराना नेताहरूबाट वाक्क हुनुभएको छ। मैले आश्वासनभन्दा ठोस काम गर्ने हो। ठूला र चिल्ला गफ होइन। यहाँका जनताको दैनिक जीवनमा रहेको दुःख कसरी घटाउने भन्ने नै मेरो मुख्य एजेन्डा हुन्छ। विकास निर्माणमा समन्वय गरेर र नीति निर्माणमा जोड दिएर मैले यस्ता एजेन्डामा काम गर्छु।
पारदर्शी र उत्तरदायी शासन, ऊर्जा, कृषि र पर्यटनबाट रोजगारी, युवामैत्री नीति, आत्मनिर्भर अर्थतन्त्र, सडक–स्वास्थ्य–शिक्षालाई पहिलो प्राथमिकता र भ्रष्टाचार, दलाल तथा विचौलियाविरूद्ध शून्य सहनशीलताजस्ता एजेन्डा राखेको छु।
समस्या चाहिँ के देख्नुभयो जिल्लावासीको?
अझै पनि बाटोले नछोएका धेरै गाउँ छन्। कतिपय ठाउँमा फोन टावरले काम गर्दैन। बेरोजगारी, स्वास्थ्य र शिक्षामा समस्या नभएको कुनै बस्ती छैन। यस्ता थुप्रै समस्या छन्।
जित्नुभयो भने समाधान कसरी गर्नुहुन्छ?
समस्या भएको ठाउँमै पुगेर जनतासँगै समाधान खोज्छु। समस्या पनि जनता भन्छन्, समाधान पनि उनीहरूले नै सुझाउँछन्। मेरो भूमिका त्यो प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने हो।
सांसदहरूको प्रमुख काम नीति बनाउने हो। तपाईंले जित्नुभयो भने दुइटा महत्त्वपूर्ण काम के गर्नुहुन्छ?
रूकुम पूर्वमा शिक्षा र स्वास्थ्यको समस्या छ। विद्यार्थी र शिक्षक दुवैलाई घन्टौं हिँड्नुपर्ने अवस्था छ। स्वास्थ्यको पनि त्यही हालत छ। यस्ता यथार्थ समस्या संसदमा उठाएर नीति निर्माणमा जोड दिनेछु।
यी सबै काम त प्रचण्डले जित्नुभयो भने सजिलै गर्नुहोला नि। पहिलो पार्टी बन्ने र नेकपाले नै सरकार चलाउने कुरा गरिराख्नुभएको छ। प्रचण्ड नै प्रधानमन्त्री हुनुभयो भने त यी रूकुम पूर्वको विकास चाँडै होला नि?
यसको जबाफ इतिहासले नै दिन्छ। उहाँ जहाँबाट निर्वाचित हुनुभयो, त्यहाँको विकासका लागि के गर्नुभयो भनेर हेरे मात्र पुग्छ। रोल्पाबाट पनि जित्नुभएकै हो। त्यहाँ के गर्नुभयो?
अहिलेको जुन परिस्थिति देखिएको छ, त्यसले उहाँ फेरि प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सम्भावना देखिँदैन। फेरि कति पटक प्रधानमन्त्री भएपछि उहाँले रूकुम, रोल्पालाई हेर्नुहुन्छ भन्ने पनि हो। योभन्दा अगाडि तीन पटक त भइसक्नुभएको छ त।
अहिलेको प्रणालीको विषयमा जनतालाई के भनिराख्नुभएको छ?
हामीले जनयुद्धपछि जे भनेका थियौं, त्यसैलाई निरन्तरता दिएका छौं। प्रत्यक्ष कार्यकारी हुनुपर्छ र त्यसलाई हामी जोडदार रूपमा अगाडि बढाउँछौं।
समस्या प्रणालीमा कि प्रवृत्तिमा हो?
प्रवृत्तिमा पनि हो। तर काम नगरे जनताले अर्को चुनावमै सजिलै बदल्न सक्छन्। पाँचवर्षे कार्यकाल, अविश्वास प्रस्तावजस्ता संवैधानिक व्यवस्थाले त्यसलाई निरंकुश पनि बन्न दिँदैन। अहिलेको अस्थिर संसदीय अभ्यासभन्दा यो सुरक्षित हुन सक्छ।
कहिलेकाहीँ मनमा हार्ने चुनाव लडिरहेको छु जस्तो लाग्दैन?
जनताले उहाँको चेहरा बुझिसकेका छन्। परिणामले सबै देखाउँछ।