प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ४५ मिनेट कुराकानी भएको छ।
अध्यक्ष ओली बिहान १० बजे पार्टी नेता विष्णु रिमाललाई लिएर बालुवाटार पुगेका थिए।
छलफलमा प्रधानमन्त्री कार्कीका अतिरिक्त उनका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस सल्लाहकार राम रावल पनि थिए।
संवाद क्रममा अध्यक्ष ओलीले निर्वाचन एकै चरणमा होस् भनेर सरकारको ध्यानाकर्षण गराएका थिए।
'निर्वाचन दुई चरणमा हुने भनेर सरकारकै जिम्मेवार अधिकारीले भनेको सुनिन्छ, एकै चरणमा होस्,' ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो।
मनाङ, मस्ताङ, डोल्पा, मुगु, हुम्ला लगायत कतिपय हिमाली जिल्लामा फागुनमा हिमपात भइरहेको हुन्छ। उपल्लो भेगका मानिसहरू हिउँ नपर्ने ठाउँ झरेका हुन्छन्। हिमपात भए कतिपय मतदान स्थलमा कर्मचारी पुग्नै कठिन हुने भनेर त्यहाँका स्थानीय तह प्रमुखहरूले ध्यानाकर्षण समेत गराएका छन्।
प्रधानमन्त्री कार्कीले हिमपातकै कारण रोकिने अवस्था आए त्यो स्थलको मतदान अर्को दिन गर्न सकिने आसय राखेकी थिइन्।
राजनीतिक दलका नेताहरूले पनि दुई चरणमा निर्वाचन गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष ओलीले दुई चरणमा निर्वाचन गर्न नहुने बताइरहेका छन्। ओलीले आज पनि त्यही कुरामा जोड दिएको बालुवाटार स्रोतले बतायो।
'आजको कुराकानीमा अध्यक्ष ओलीले दुई चरणमा निर्वाचन गर्न नहुने बताउनुभयो। प्रधानमन्त्रीज्यूको कुरा पनि त्यही छ,' बालुवाटारसम्बद्ध स्रोतले भन्यो।
त्यस्तै, प्रधानमन्त्री कार्कीले निर्वाचन क्रममा दलहरूबीच प्रचार–प्रसार सौहार्द हुनुपर्ने बताएकी थिइन्। झापा लगायत कतिपय संवेदनशील जिल्लाबारे प्रधानमन्त्रीले चासो राखेकी थिइन्।
जबाफमा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण, स्वच्छ, स्वस्थ र धाँधलीरहित निर्वाचनको पक्षमा रहेको धारणा राखेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयले पनि बिहीबार प्रधानमन्त्रीलाई भेटेर तोकिएकै मितिमा एकैदिन सबैतिर चुनाव गर्ने गरी प्रबन्ध मिलाउन र दुई चरणमा निर्वाचन नगर्न ध्यानाकर्षण गराएको जानकारी दिएको छ।
'निर्वाचन तोकिएकै मितिमा एकैदिन हुनुपर्छ, दुई चरणमा गर्न मिल्दैन भनेर ध्यानाकर्षण गराइएको छ,' ओलीको सचिवालयले भन्यो।