(केही दिन अगाडि मेरो 'इरान युद्धः के हुँदैछ, अब के होला?' शीर्षक भिडियोसहितको लेख प्रकाशन भएको थियो। त्यो नेपालको शान्तिपूर्ण समाजमा बसेर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका कुरा सुनेर, पढेर टाढाबाट तयार पारिएको सामग्री थियो।
इरानीहरूको आफ्नो अनुभवमा चाहिँ यो युद्ध के हो त? त्यो बुझ्न नेपाली पाठकहरुलाई सहज होस् भनेर इरानबाहिर रहेकी तर इरानमा आयातोल्लाह खमेनीको शासन भोग्ने परिवारकी एक महिलाको यो लेख प्रस्तुत गरेको छु। उनले आफ्नो सब्स्ट्याक न्युजलेटरमा खमेनीको मृत्यु भए लगत्तै यो लेख प्रकाशन गरेकी थिइन्– अनुवादक)
मलाई यो जीवनमा जे भए पनि, म जहाँ बसे पनि वा जुन भाषा बोले पनि, म सधैं एक इरानी महिला नै रहनेछु। रोज्ने विकल्प हुने हो भने हरेक जन्ममा म इरानी हुनै रोज्ने थिएँ।
आज विश्वभरका इरानीहरूका लागि ऐतिहासिक दिन हो। लगभग पचास वर्षसम्म हामीले जुन एउटा दमनकारी शासनअन्तर्गत बितायौं, त्यो प्रणालीको मियो अब छैन। हामीमध्ये धेरैका लागि यो भावना सतही उत्सव थिएन। यो एक प्रकारको मुक्ति थियो। दशकौंदेखि दबाएर निचोरिएका फोक्सोमा फेरि हावा भरिएको जस्तो अपरिचित अनुभूति थियो।
तर इरानीहरूले एकछिनका लागि सास फेर्न पाएका के थिए, संसारले हामीलाई सच्याउन सुरू गर्यो।
उही संसार, जुन आयातोल्लाहको शासनले हामीलाई सामूहिक मृत्युदण्ड दिँदा मौन बस्यो। हजारौं राजनीतिक बन्दीहरू मारिँदा मौन रह्यो। महिलाहरूलाई सडकमा कुटिँदा मौन रह्यो। परिवारहरूले आफ्ना अबोध सन्तानका लास गाड्दा मौन रह्यो।
त्यो मौनता अहिले एकाएक नैतिक उपदेशमा बदलिएको छ।
अचानक सबै जना इरानी राजनीतिमा विज्ञ भएका छन्। एउटा लेख। एउटा थ्रेड। एउटा पोस्ट।
अनि अब उनीहरू मज्जाले व्याख्या गर्न सक्छन्— यो सबको अर्थ के हो, अब के हुनेछ, र हामीले कस्तो महसुस गर्नुपर्छ।
म सधैं मध्यपूर्वमा हुने घटनाबाट प्रभावित भएकी छु, केवल म मध्यपूर्वकी भएकी भएर मात्र होइन। किन पनि भने, मलाई लाग्छ कि, संसारले हामीलाई आफूलाई सुविधा हुँदा दानवीकरण गर्छ र हामी डुबिरहेका बेला बेवास्ता गर्छ। यो क्षेत्रलाई एउटा निरन्तर संकटका रूपमा सोलोडोलो चित्रण गरिन्छ। एउटै हेडलाइन। एउटै अदलाबदली गर्न मिल्ने द्वन्द्व।
तर भित्रभित्रै, यो तहहरूमा बाँडिएको र विशिष्ट छ। इरान कुनै विचार मात्र होइन। यो ८ करोड मानिसहरू भएको देश हो, जो निरन्तरको निगरानी, कैद, यातना र मृत्युदण्डमार्फत शासन गरिएको व्यवस्था अन्तर्गत बाँचिरहेका छन्।
जब मैले यो (खमेनीको हत्या भएको) खबर सुनेँ, म रोएँ। शालीन भएर होइन। राजनीतिक हिसाबले होइन। मलाई यस्तो अनुभूति भयो जुन पुर्ख्यौली हुन सक्थ्यो। यस्तो लाग्थ्यो, मानौं पुस्तौं पुस्ताका इरानीहरू एकै पटक रोइरहेका थिए। सडकमा गोली हानिएका विद्यार्थीहरूका लागि। कपाल देखाएको आरोपमा पक्राउ परेका महिलाहरूका लागि। संसारले नदेखेजस्तो गरेको पर्खालभित्र यातना भोगिरहेका बन्दीहरूका लागि।
म भोलि के हुन्छ भन्नेबारे बेखबर छैन। म अस्थिरता बुझ्छु। म शक्ति–रिक्तता बुझ्छु। म बुझ्छु कि अधिनायकवादी प्रणालीहरू सजिलै हराउँदैनन्। म युद्ध बुझ्छु। म विदेशी हस्तक्षेप बुझ्छु। म बुझ्छु कि अनिश्चितता रोमान्टिक हुँदैन।
तर पनि खमेनीको मृत्यु सँगै एक निमेषका लागि, दशकौंसम्म हत्या, कैद, बलात्कार, यातना र व्यवस्थित दमनको बर्बर उत्सवको अध्यक्षता गर्ने मानिस गएको जस्तो महसुस भयो।
त्यसपछि मैले इन्स्टाग्राम खोलेँ।
अचानक, सबै जना अमेरिकी अपार्टमेन्टको आरामबाट युद्धविरोधी भएका छन्। यस्तो देशका मानिसहरू, जसले आफूमाथि बम खस्दा कस्तो हुन्छ भन्ने कहिल्यै अनुभव गरेका छैनन्। जसले कहिल्यै विरोध प्रदर्शनको समयमा इन्टरनेट काटिएको अनुभव गरेका छैनन् ताकि संसारले के भइरहेको छ भनेर नदेखोस्। जसले कहिल्यै यस्तो शासनअन्तर्गत बाँचेनन् जहाँ असहमति जनाउँदा मारिन सकिन्छ। जहाँ नाच्दा पक्राउ पर्न सकिन्छ। जहाँ कपाल देखाउँदा कुटिइन सकिन्छ। जहाँ भोलिको कहिल्यै कुनै ग्यारेन्टी हुँदैन।
र, अहिले तिनै मानिसहरूले इरानीहरूलाई कस्तो महसुस गर्नुपर्छ भनेर सिकाइरहेका छन्।
यो हदको हठी अज्ञानता देखेर म चित खान्छु।
एक गैरइरानी पुरूषले मलाई भने, 'लिली डार्लिङ, म तिमीभन्दा यस विषयमा अलि धेरै पढेको छु।'
त्यो स्वरमै सबै कुरा थियो। मानौं ज्यान दिएर भोगेको अनुभवलाई लेखहरूले प्रतिस्थापन गर्न सकिन्छ। मानौं, पीडासँग नजिक हुँदैमा त्यसलाई बुझेर रगतभरि त्यही पीडा भोगिरहेको मानिसलाई बुझाउन सकिन्छ।
हो, म इरानसँगको युद्धको विरोधमा छु। त्यो भनिरहनुपर्ने कुरा हो भन्ने मलाई कहिल्यै लागेन। युद्धबाट वास्तवमा फाइदा उठाउनेहरू भनेका केवल त्यसबाट नाफा कमाउने अर्बपति मात्र हुन्। तर युद्धको विरोध गर्नु भनेको तानाशाहको मृत्युमा शोक मनाउनैपर्छ भन्ने होइन।
इरानी जनता वर्षौंदेखि हतास छन्। यस्तो हतासा, जसलाई कुनै अमेरिकीले पूर्ण रूपमा बुझ्न सक्दैन। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सद्वारा लागू गरिएको अधिनायकवादी नियन्त्रण केवल मानवअधिकार उल्लंघन मात्र होइन। यो मानव अधिकारको प्रलय हो। यो यस्तो प्रणाली हो जसले आफ्नै जनसंख्याको घाँटी अठ्याउँछ, कालकोठरीमा थुन्छ, यातना दिन्छ र बर्बर हत्या गर्छ।
म यो दाबी गरिरहेकी छैन कि बमबारीले मुक्ति ल्याउँछ।
तर हामी अहिले स्वतन्त्र र ठीकठाक छौं भनेर देखाउनु पनि सही होइन। हामी पहिले नै दासवत् अवस्थामा छौं। आफ्नै शासनको दासताको जुवामा छौं। जब बहसहरू सम्भावित भावी अराजकतामा केन्द्रित हुन्छन्, तर वर्तमानको असहनीय दमनलाई स्वीकार गर्नसम्म सक्दैनन्, तिनले हामीले पहिल्यैदेखि भोगिरहेका कुरा मेटाइदिन्छन्।
इसराइली नीतिको आलोचना गर्नु र इरानी शासनको निन्दा गर्नु एकै पटक सम्भव छ। यी दुई कुरा परस्पर निषेधकारी होइनन्। तर जब इसराइल विरोधी भावना इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई बचाउन वा उसका अपराध चोख्याउनमा प्रयोग हुन थाल्छ, तब बहस हामीले बाँचेको यथार्थबाट विच्छेदित हुन्छ।
आइआरजीसी हाम्रो लागि प्रतिरोधको प्रतीक होइन। यो त त्यो शक्ति हो जसले हामीलाई जेल हाल्छ, यातना दिन्छ, मृत्युदण्ड दिन्छ र गायब बनाउँछ।
इरान इराक होइन। अफगानिस्तान होइन। यो कुनै साटासाट गर्न मिल्ने चेतावनीको किस्सा होइन। यो धेरै ठूलो र जटिल क्षेत्रीय शक्ति हो, गहिरो राजनीतिक चेतना र ठूलो रणनीतिक महत्त्व भएको।
यो स्ट्रेट अफ होर्मुज नजिक अवस्थित छ, जुन विश्वको सबभन्दा महत्त्वपूर्ण तेल यातायात मार्गमध्ये एक हो, जहाँबाट विश्वको लगभग पाँच भागको एक भाग तेल ओसारपसार हुन्छ। यससँग विशाल ऊर्जा भण्डार छन्। यसको भूराजनीतिक अवस्थितिले यसलाई किनाराको होइन, केन्द्रको देश बनाउँछ।
यी कुनै पनि कुराले युद्धलाई वाञ्छनीय बनाउँदैन। यीमध्ये कुनैले सुरक्षा सुनिश्चित गर्दैन। तर यसले के माग गर्छ भने इरानीहरूको पीडालाई अरू कसैको विचारधाराको बहसको फुटनोटमा सीमित गर्न हुँदैन।
हो, आज एउटा विद्यालयमा बम खसेको, पचास बालिकाहरू मारिएको, साना केटीहरू फेरि पीडा र अन्यायको अग्रपंक्तिमा पुगेको तथ्यले मेरो हृदय चरक्क चिरिन्छ। बच्चाहरूको मृत्यु मेरा लागि राजनीतिक कुरा होइन। त्यो हृदयविदारक कुरा हो।
तर ती मृत्युहरू तुरून्तै प्रयोग गरेर इरानीहरूको दुःख र इरानीहरूको राहतलाई अमान्य बनाउने प्रयास, त्यो बिल्कुलै फरक कुरा हो। हजारौं इरानीहरू निर्ममतापूर्वक मारिँदा मौन बसेका मानिसहरू अचानक अहिले आवाज उठाएर ती बालिकाहरूका लागि मात्र शोक गर्नु, सबै इरानीहरूको पीडाका लागि शोक गर्न छाडेर त्यसलाई अवैध करार गर्न खोज्नु, त्यो यस्तो पक्षपातपूर्ण नैतिकता हो जसलाई बेवास्ता गर्नु कठिन छ।
जब हजारौंलाई मृत्युदण्ड दिइयो, त्यो बेला यो हतारो र उद्वेलन कहाँ थियो? जब प्रदर्शनकारीहरू सडकमा गोली हानेर ढालिए, त्यो बेला यो आक्रोश कहाँ थियो? जब परिवारहरूले महिनैपिच्छे आफ्ना सन्तानका क्षतविक्षत लाशहरू गाडिरहेका थिए, त्यो बेला? जब इन्टरनेट बन्द भएर हामी परिवारसँग सम्पर्क गर्न पनि सक्दैनथ्यौं, त्यो बेला?
शोक ससर्त हुनु हुँदैन। आक्रोश रणनीतिक हुनु हुँदैन।
यो मेरा लागि कुनै अमूर्त कुरा होइन।
मेरो परिवारले यसलाई भोगेको छ, योसँगै बाँचेको छ।
यो कुनै राजनीतिक सिद्धान्तको कुरा होइन। यो जेलका कालकोठरीहरूको कुरा हो। यो यातनाको कुरा हो, बलात्कारको कुरा हो। यो मृत्युदण्डको कुरा हो।
मेरो आफ्नै परिवारका सदस्यहरू जेलमा थुनिएका छन्। उनीहरूलाई कुटियो। यातना दिइयो। मेरो परिवारमा त्यस्ता मानिसहरू छन् जसका नङ एक एक गरेर सोधपुछका क्रममा जरैदेखि उखेलिएका छन्। हिरासतमा महिलामाथि यौन हिंसा गरिएको छ। यातना दिएर जबर्जस्ती अपराध स्वीकार गर्न लगाएर प्रोपागान्डाका लागि प्रसारण गरिएको छ।
उनीहरू केवल डर देखाउँदैनन्। उनीहरू हत्या गर्छन्। उनीहरू प्रदर्शनकारीहरूलाई सडकमा गोली हान्छन्। उनीहरू किशोरहरूलाई घिसार्दै भ्यानमा हालेर गायब बनाउँछन्। उनीहरू पत्रकारलाई जेल हाल्छन्। उनीहरू वकिललाई चुप गराउँछन्। उनीहरू डाक्टरहरूलाई मार्छन्। उनीहरू फरक मतलाई मृत्युदण्ड दिन्छन्।
यो धर्म होइन। यो आस्थाको आवरणमा लुकेको बर्बरता हो।
त्यसैले जब इरानीहरूले दशकौंसम्मको यस्तो बर्बर हिंसाको आयोजन गर्ने मानिसको मृत्युमा राहत महसुस गर्छन्, त्यो राहत अज्ञानता होइन। त्यो अन्धोपन होइन। त्यो भूराजनीतिक गडबडी होइन।
त्यो मानवीय कुरा हो।
जब जनतालाई चुपचाप सहन भनिन्छ र उनीहरू त्यसै गरी ज्यान बचाउँछन्, त्यसपछि हुने त्यही हो।
जब पुस्तौंसम्म थुनिएका, कुटिएका र गाडिएका मानिसहरूलाई अन्ततः एउटा खुला सास फेर्न दिइन्छ, तब हुने त्यही हो।
राहतको अर्थ हामी भोलिका बारेमा केही नबुझ्ने 'नादान' छौं भन्ने होइन।
राहतको अर्थ हामी बमको वर्षा मागिरहेका छौं भन्ने होइन।
राहतको अर्थ हामीले अस्थिरताको मूल्य बिर्सेका छौं भन्ने होइन।
यसको अर्थ के चाहिँ हो भने, हामी दशकौंदेखि अस्थिरतामै बाँचिरहेका छौं।
केही मानिसहरूले यो क्षेत्रको अध्ययन गरे।
केही मानिसहरूले रणनीतिक बहस गरे।
केही मानिसहरूले चासो देखाउन 'ठीक समय' पर्खेर मात्रै बसिरहे।
हामीले भने प्रिय परिवारजनलाई गाड्यौं।
जब संसारले सिद्धान्त कोरिरहेको थियो, हामीले उनीहरूलाई गाडिरहेका थियौं।
जब अरूलाई मौनता सजिलो लागिरहेको थियो, हामीले उनीहरूलाई गाडिरहेका थियौं।
र, अब आएर हाम्रो भविष्यबारे चारैतिर सिफारिस र निर्देशनहरू छन्।
अहिले हामीलाई के राम्रो हुन्छ भनेर दिइने भाषणहरू छन्।
तर तपाईंले कुनै देशलाई केवल समाचारको शीर्षक सुनेको भरमा त्यहाँका मानिसहरूको मुक्तिको नक्सा बनाउन सक्नुहुन्न।
तपाईंले बचेर बाँचेका मानिसहरूलाई कसरी बाँच्ने भनेर निर्धारण गर्न सक्नुहुन्न।
तपाईं हाम्रो बारेमा बोल्नुहुन्छ।
तपाईं हाम्राबारे विश्लेषण गर्नुहुन्छ।
तपाईं हामीलाई काटेर आफुलाई मन र्ने आकारमा ढाल्नुहुन्छ।
तर तपाईं हामीलाई चिन्नुहुन्न।
यो लेखको मूल पाठ अंग्रेजीमा पढ्नका लागि: About Iran, From an Iranian Woman