कर्मकल्चर
यस पटकको निर्वाचनले एक जना मधेसीलाई प्रधानमन्त्री बनाउला! त्यसपछि बन्ने सरकारले कस्तो काम गर्छ — यो नाप्ने एउटा सजिलो तर गहिरो सूचक मधेसमै छ।
त्यो हो — पोखरी।
सरकार जसको बने पनि उस्तै समस्याको घेरामा पर्छ भन्ने अनुभव हामीसँग छ। त्यसैले आज म कुनै जटिल सिद्धान्त होइन, एउटा सरल प्रस्ताव राख्न चाहन्छु — यदि जनकपुरधाम र वरपरका पोखरीमा फेरि सफा पानी भरिन थाल्यो भने, त्यसलाई नेपालको सुशासनको झिल्को ठान्न सकिन्छ। समृद्धिको अनुहार त्यहीँ देख्न सकिन्छ।
तराईका जलाशय, कुण्ड र नदीनालालाई किसानको आँखाबाट दीर्घकालीन रूपमा हेर्ने हो भने राष्ट्रिय अन्न भण्डार बलियो हुन्छ, पर्यटन मौलाउँछ, स्थानीय अर्थतन्त्र सुदृढ बन्छ।
यसको आधारभूत सर्त एउटै छ — चुरे जोगाउनु।
संघीय सरकारले सुरू गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई पुनर्जीवित गर्नु, त्यसलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नु र वैज्ञानिक कार्यान्वयनमा लैजानु — यति भए धेरै कुरा बदलिन सक्छ।
'मैथिली महोत्सव' मा पानीबारे छलफल भइरहँदा हाम्रो तिर्खा मेटाउन टेबलमा प्लास्टिकका बोतल सजिएका थिए।
विडम्बना यहीँ छ।
सत्रको शीर्षक थियो — पाइला–पाइलामा पोखरी, तर जनता प्यासी!
जनकपुरधाम पोखरी र मठमन्दिरको सहर भनेर चिनिन्छ। तर आज ती पोखरी या त सुक्दै छन्, या अतिक्रमणमा हराउँदै छन्, या 'सौन्दर्यकरण' का नाममा कंक्रिटको घेराभित्र बन्दी बनाइएका छन्। जताततै पोखरी छन्, तर मनग्य पानी छैन।
मधेस केन्द्रित दलहरूले हिजो समाधान दिन सकेनन्। आज उनीहरू चुनावी प्रतिस्पर्धामा देखिँदैनन्। राष्ट्रिय दलहरूले पनि मधेसको क्रमिक मरूभूमीकरणलाई कसरी रोक्ने भन्ने स्पष्ट खाका सार्वजनिक गरेका छैनन्।
'बावन कुटी, बहत्तर कुण्ड!' भन्ने कहावत थियो— ५२ आश्रम, ७२ पोखरी। पोखरी हुनु भनेको पानी जम्नु मात्र होइन; स्थानीय जलचक्र कायम रहनु हो, माटोसँगको जीवित सम्बन्ध हो, जैविक विविधताको आश्रय हो।
तर अहिले पोखरीलाई ढलान गरेर 'सुन्दर' बनाउने होड छ। पानीलाई माटोसँग अलग गर्नु सौन्दर्य होइन, जलचक्रको अवरोध हो।
पोखरी आफैमा सुन्दर हुन्छ — त्यसलाई बाँच्न दिइयो भने।
मधेसका मुहान सुक्दै छन्। चापाकल गहिरिँदै छन्। अझ ठूलो संकट चुरेमा छ। ढुंगा–गिटी–बालुवाको अनियन्त्रित उत्खननले त्यो कोमल पहाडी भूभागलाई क्षतविक्षत बनाइरहेको छ। नदी–नाला गेग्रानले भरिँदै तराईको सतहभन्दा माथि उठ्दै छन्। पुनर्भरण क्षमता घट्दै छ।
चुरे जैविक करिडोर मात्र होइन, मधेसको जलभण्डार हो। चुरे नष्ट भए मधेस मरूभूमितर्फ धकेलिन्छ।
हामी त्यही बाटोमा हिँडिरहेका छौं, तर यो प्रमुख राजनीतिक मुद्दा बन्न सकेको छैन।
गत वर्ष प्रदेश र संघीय सरकारले एकपछि अर्को सुख्खाग्रस्त घोषणा गरे, प्रधानमन्त्रीले हवाई निरीक्षण गरे, डिपबोरिङ राहत वितरण गर्ने भने — यी सबै लक्षणको उपचार थिए।
रोगको जरो चुरेमा छ। दमकललाई पानी–ट्यांकर बनाएर गाउँ–गाउँमा पानी बाँडेको उपलब्धिका रूपमा मुख्यमन्त्रीले विवरण दिए, जबकि त्यो त असफल व्यवस्थापनको संकेत थियो।
मिथिला सभ्यताको ज्ञान पोखरीसँग जोडिएको थियो — पानी जम्मा गर्ने, जोगाउने, माटोसँग सन्तुलनमा राख्ने। तर आज हामी पानीलाई बजारको वस्तु बनाउँदै छौं। पोखरीछेउ बसेर पानीबारे बहस गर्दा पनि बोतलको पानी घुटुघुटु पिउँछौं।
हाम्रो छलफल सकिनै लाग्दा सञ्चारकर्मी नित्यानन्दले एउटा झटारो मतिर हान्दै सोधे, 'मैथिल महाकवि विद्यापतिको ठाउँमा तपाईं नेपालीका आदिकवि भानुभक्तको घाँसीकुवाबाट आउनुभयो, कस्तो लाग्दैछ?'
हो, मेरो घर भानुभक्त आचार्यलाई प्रेरणा दिने घाँसीले खनाए भनिएको तनहुँको घाँसीकुवाबाट भित्र लाग्नुपर्छ।
पहाडमा पनि त विकासको उस्तै लहर छ, जसले प्रकृतिको पुकार सुन्दैन। पहिले राजमार्ग खन्दा पनि त्यही कुवा सारिएको थियो।
मैले भनेँ, 'अहिले राजमार्ग विस्तार गर्दा त्यो कुवा (फेरि) सारिएको छ। सडकलाई प्राथमिकता छ, पानीलाई होइन!'
तिनै प्रश्नकर्तासहितका साथीहरूसँग धनुषा डुल्ने क्रममा उनले आफ्नो गाउँनजिकको एउटा भव्य सार्वजनिक ठाउँ लगे, जहाँ विशाल पोखरी खुम्चिरहेको थियो। पानीको सतह घटेको थियो नै।
पहिले नुहाइ–धुवाइ र पियाइ गर्ने पोखरी अहिले भैंसी आहाल बन्दै थियो। छेउका विशाल वरपीपलका रूखमध्ये एउटालाई पूरै ढलान गरिसकिएको थियो। अर्को पनि कंक्रिटको कंकाल बन्नेवाला थियो। धन्य, स्थानीयबासीको प्रकृति–चेत जागृत भयो र रोकियो।
पानीमाथि ठूलो राजनीति भइरहेको छ, तर घोषणापत्रहरूमा संरचनात्मक समाधानको संकेत छैन।
त्यसैले प्रश्न सरकारभन्दा पहिले हामी नागरिकतर्फ फर्किन्छ। सरकारले गर्ला नगर्ला, हामी प्रश्न धारिलो बनाऔं।
पहिले पानीलाई जीवन दिऔं। पोखरीलाई माटोसँग जोडौं। चुरेलाई दोहन होइन, संरक्षणको विषय बनाऔं।
भोलि नयाँ सरकार आएपछि मूल्यांकन गर्न सजिलो हुनेछ — मधेसका पोखरीमा पानी भरियो कि भरिएन?
यदि भरियो भने सुशासनको प्रतिबिम्ब त्यहीँ देखिनेछ।
यदि सुकिरह्यो भने भाषण मात्र बदलिएको हुनेछ, शासन होइन।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle