विघटन र पुनर्संरचनाको दोसाँधमा पुगेको माओवादी आन्दोलनले २०८२ को निर्वाचन प्रक्रियामा जेनजी आन्दोलनले दिएको शिक्षा र भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने थियो।
तर आधारभूत वर्ग र युवाहरूको आशा तथा मनोविज्ञान बेवास्ता गरियो। जेनजी आन्दोलनप्रतिको ओठे समर्थनमै सीमित रहँदा नेतृत्व संकीर्ण स्वार्थमा अल्झियो र सहयात्रीहरूले गम्भीरतापूर्वक उठाएका विषयहरूलाई अतिसरलीकरण गर्दै बेवास्ता गरियो।
परिणामतः कम्युनिस्ट आन्दोलन गहिरो भूमरीमा फस्दै विघटन र भ्रष्टीकरणतर्फ धकेलिएको छ।
'अघि बूढाले जानेन, पछि बूढाले मानेन, बाघ लाग्यो घिच्याउन, बूढो लाग्यो चिच्याउन' भनेजस्तै अवस्था सिर्जना भएको छ।
माओवादी आन्दोलनको जग कमजोर बन्दै गएको कुरा जेनजी आन्दोलनको निशानामा परेपछि सहजै बुझ्न सकिन्थ्यो। बाहिरबाट हेर्दा सबल देखिए पनि भित्रभित्रै धेरै अघिदेखि छिया–छिया भइरहेको तथ्य सचेत जनताले अनुभूत गरिरहेका थिए।
उनीहरूको मोहभंग हुँदै गइरहेको थियो — तर गर्ल्याम्म ढलेपछि मात्र सबैले महसुस गरे। परिस्थितिको स्वाभाविक परिणति अनुसार, जे हुनुपर्ने थियो, त्यही भयो। यो मूलतः नेतृत्व भिन्न मतप्रति असहिष्णु हुनुको परिणाम हो।
अब रोइलो गर्नु समयको व्यर्थ खर्च मात्र हो; ढिलो नगरी पहल लिनुपर्छ। त्यसैले नयाँ जग हाल्न सर्वप्रथम भग्नावशेष पन्छाउनु आवश्यक छ र काम लाग्ने शक्ति तथा गौरवपूर्ण इतिहासको जगेर्ना गर्नु अपरिहार्य छ।
वास्तवमा, यो दुर्दशाको संकेत अनुभूत गरेर 'डे वान' देखि नै पार्टीका विभिन्न वृत्तबाट सुझाव, आलोचना र खबरदारी हुँदै आएका थिए।
२०७५ सालमा एमाले–माओवादी एकताबाट बनेको नेकपाको अवधिदेखि नै औपचारिक तथा अनौपचारिक रूपमा पार्टी र संसदमा उठाइएका प्रश्नहरूको सूची लामो छ। तर ती विषयलाई गम्भीरतापूर्वक लिनुको सट्टा मुख्य नेतृत्वले समीक्षा र रूपान्तरणको फराकिलो बाटो त्यागेर प्रतिशोधको साँघुरो बाटो रोज्यो।
खरो प्रश्न उठाउनेहरूलाई नेतृत्वले निगरानी र दमनको घेरामा राख्न थाल्यो। नयाँ स्वरूपमा विकसित 'आलोक प्रवृत्ति' (व्यक्तिपूजा र लालफित्ताशाही) को व्यापक प्रयोग गरियो।
ती विषय र पात्रहरू के के थिए भन्ने कुरा भविष्यमा विस्तृत रूपमा उठाउन सकिन्छ। तर अहिले विगतको पुनरवलोकनभन्दा पनि वर्तमानमा 'अब के गर्ने' भन्ने प्रश्नको ठोस जबाफ खोज्नु नै सबभन्दा ठूलो आवश्यकता र साझा चासो बनेको छ।
यस्तो अवस्थामा अबको मूल प्रश्न स्पष्ट छ — अब के गर्ने?
प्रश्न विगतको पुनरावृत्ति होइन, सही दिशामा नयाँ आरम्भ कसरी गर्ने भन्ने हो।
पहिलो— वैचारिक स्पष्टता र आत्मसमीक्षा
कम्युनिस्ट आन्दोलन किन विचलित भयो, कहाँ चुकियो र कसरी सुधार गर्ने भन्ने विषयमा निष्कपट समीक्षा बिना ध्रुवीकरण र पुनर्संरचना सम्भव छैन। जनयुद्धको प्रक्रियामा विकास गरेका तर वर्तमानमा ओझेलमा परेका विचार, नीतिलाई नयाँ परिवेश अनुरूप परिमार्जन गरी पुनर्स्थापित गर्नुपर्छ।
इतिहास बोकेका तर संसदवादमा फिट हुन नसकेर ओझेलमा परेका कमरेडहरूको खोजी गरी उपयुक्त भूमिकासहित स्थापित गर्नुपर्छ।
दोस्रो— संगठनात्मक पुनर्गठन
व्यक्ति केन्द्रित, गुटगत र अवसरवादी प्रवृत्तिबाट मुक्त भई विचार, नीति र क्षमतामा आधारित नेतृत्व विकास गर्नुपर्छ। समाजवादको चरणमा नेतृत्वमा ज्ञान, इमान्दारिता र चातुर्यताको स्तर उच्च हुनुपर्छ। अन्यथा ज्ञान र इमान्दारीको स्तर खस्किँदै जाँदा बाँकी रहेको चातुर्य फट्याइँमा परिणत हुन्छ भन्ने कुरा व्यवहारले प्रमाणित गरिसकेको छ।
त्यसैले जनवादी केन्द्रीयताको सन्दर्भमा मेरिटोक्रेसी र डेमोक्रेसीको सन्तुलित संयोजनलाई व्यवहारमा लागू गर्दै नेतृत्व निर्माणमा आन्तरिक जनवाद (लोकतन्त्र) लाई जीवन्त बनाउनु आवश्यक छ।
तेस्रो— जनतासँगको सम्बन्ध पुनर्स्थापना
आन्दोलनको वास्तविक शक्ति सत्तामा होइन, जनतामा निहित हुन्छ। त्यसैले भ्रष्टाचारमुक्त सुशासन, सामाजिक न्याय र जनजीविकाका सवाल (रोजगारी, शिक्षा, स्वास्थ्य) लाई केन्द्रमा राखेर जनविश्वास पुनर्निर्माण गर्नुपर्छ।
'जनता जहाँ पीडामा छन्, त्यहाँ नेता–कार्यकर्ता' भन्ने मान्यतालाई कडाइका साथ लागू गर्नुपर्छ।
चौथो— नयाँ पुस्तासँग संवाद र सहकार्य
जेनजीले देखाएको ऊर्जा, उठाएको प्रश्न र परिवर्तनको चाहनालाई बेवास्ता होइन, रूपान्तरणको स्रोतका रूपमा ग्रहण गर्नुपर्छ। जनयुद्धको प्रत्यक्ष अनुभूति नभएको नयाँ पुस्तालाई आकर्षित गर्दै उनीहरूलाई जिम्मेवारी र नेतृत्वमा विकास गर्नु समयको माग हो।
पाँचौं— संघर्ष र रूपान्तरणको नयाँ शैली
पुराना मूल्य–मान्यता र विधिमा सीमित नभई वर्तमान यथार्थअनुसार नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्छ। संगठनात्मक नीति र विधिलाई परिमार्जन र विकास नगरी वर्तमान समाजलाई नेतृत्व गर्न सकिँदैन।
वर्ग सम्बन्ध र वर्ग संघर्षलाई केन्द्रमा नराखी रूपान्तरण सम्भव हुँदैन; अन्यथा यो कागजमा सीमित नारा मात्र हुन्छ।
तीन गर र तीन नगर — १. मार्क्सवाद लागू गर, संशोधनवाद होइन २. स्पष्ट र खुला होऊ, षड्यन्त्र र जालझेल नगर ३. एकजुट होऊ, नफुट— को मूल भावनालाई व्यवहारमा उतार्न सक्नुपर्छ।
छैटौं— सूचना, सञ्चार र सामाजिक सञ्जालको सदुपयोग
सूचना–सञ्चारको वैज्ञानिक तथा योजनाबद्ध प्रयोग अपरिहार्य छ। झुट बारम्बार दोहोर्याएर सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिबाट बच्न मात्र होइन, त्यसलाई परास्त गर्न सचेत रणनीति आवश्यक छ।
राम्रो काम गरेर त्यसको प्रभावकारी प्रचार गर्ने, गल्ती–कमजोरीलाई पनि पारदर्शी रूपमा प्रस्तुत गर्ने अभ्यासले अवसरवादी र विरोधी शक्तिहरूको खेल्ने ठाउँ साँघुरो बनाउँछ। 'बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने' भन्ने प्रवृत्तिलाई सचेत रूपमा व्यवस्थापन गर्नुपर्छ।
प्रतिबद्धता
संक्षेपमा, अबको बाटो स्पष्ट छ — पार्टीमा स्पेस नपाउनेहरूले बाहिरबाट र पार्टीभित्र रहनेहरूले भित्रै रहेर विषय केन्द्रित बहस चलाउँदै आजको आवश्यकता अनुरूप वैचारिक दृढता, संगठनात्मक सुधार, जनआधारको पुनर्निर्माण र नयाँ पुस्ता, विशेषतः जेन जीसँगको सहकार्य र एकतामा जोड दिनुपर्छ।
यो पुरानो पुस्ताको रूपान्तरणको प्रभावकारी माध्यम बन्न सक्छ। यो पुष्पलालले आफ्नो जीवनको उत्तरार्धमा देखाएको मार्गचित्रकै विकसित रूप हो। यही मार्गले मात्र कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्दै भविष्यतर्फ अग्रसर गराउन सक्छ।