झन्डै दुई दशकअघि म र मित्र अजित बराल पोखराबारे एउटा लेख लेख्न कस्सिएका थियौं।
लाजिम्पाटको एउटा ग्यालरीमा बसेर लेख लेख्दै थियौं, तर धेरै अगाडि बढ्न सकेनौं। लेख अघि नसरेपछि हामीले पोखराबारे धेरै बुझ्न बाँकी छ भन्ने निष्कर्ष निकाल्यौं।
त्यसपछि पोखराबारे छुट्टाछुट्टै अध्ययन गर्न थाल्यौं। भेटिएका किताबहरू पढ्यौं, मान्छेहरूसँग कुरा गर्यौं।
अजितले लेखको मस्यौदा तयार गरे। त्यसमा मैले थोरै थपेँ।
'सबै चम्किने वस्तु सुन हुँदैन...' भन्ने शीर्षकमा लेख तयार भएर छापियो।
त्यसमा लेखिएको थियो — पोखरा नेपालका नगरमध्येमै चम्किलो छ। जति चम्किलो बाहिरबाट देखिन्छ, त्यति नै भित्रबाट छ त? आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक दृष्टिले साँच्चिकै बलियो छ त?
पोखरामा व्यावसायिक सम्भावना छ? पर्याप्त भौतिक विकास तथा बजार सुविधा छ? विद्यालय, विश्वविद्यालय, अस्पताल, पुस्तकालय तथा सामाजिक उपयोगका अन्य पूर्वाधार पोखरामा छन्? पोखरालाई सांस्कृतिक रूपमा सभ्य सहर भन्न सकिन्छ — यी लगायत प्रश्न त्यो लेखमा थिए।
पोखरा मात्र होइन, नेपालका प्रत्येक पालिकाबारे यस्तै प्रश्न गर्न सकिन्छ।
सामान्यतया हामी 'विकास' को कुरा गर्दा समुदायलाई केन्द्रमा राख्दैनौं। 'विकसित' राष्ट्र भनेको गतिशील समुदायहरूको जोड हो भन्ने कुरा बिर्सिन्छौं। त्यसैले समुदायलाई गतिशील र अग्रगामी बाटोमा के ले डोहोर्याउँछ भन्ने विषयको उठान यो लेखमा गर्न खोजिएको छ।
विचारकहरूले समाजलाई उन्नति र अवनतिको बाटोमा डोहोर्याउने प्रमुख तत्व विचार हो भनेका छन्। कुनै समाज अग्रगामी छ भने त्यसलाई त्यहाँसम्म अग्रगामी विचारले ल्याएको हुन्छ। यस अर्थमा हाम्रो समाजलाई पिछडिएको मान्ने हो भने हाम्रो विचार पनि पिछडिएकै रहेछ भन्ने बुझ्नुपर्छ। यस्ता विचार आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रका हुन्छन्।
म यकिनका साथ भन्न सक्छु — हामीले पछ्याएका विचारहरूमध्ये कम्तीमा पनि आर्थिक विचार सही थिएनन्। हामीले तीव्र उन्नतिको बाटो रोजेका थिएनौं र छैनौं।
हामीले रहर गर्ने विभिन्न मुलुकहरूको उन्नतिको रहस्य बुझ्ने प्रयास गरेका छैनौं। बुझेकाहरूमध्ये केहीलाई उन्नतिशील तौरतरिकामा पत्यार छैन, केहीलाई त्यस्तो तरिका अवलम्बन गरियो भने आफू असान्दर्भिक हुन्छु वा खाइपाई आएको गुमाउँछु भन्ने डर छ।
आम जनतालाई यस्ता कुरा सजिलै बुझाउन सकिँदैन। उनीहरूलाई 'तिमी गलत छौ' भन्ने धृष्टता कसैले गर्दैन। बरू उनीहरूको अज्ञानताबाट आफ्नो लाभ अधिकतम गर्ने धुनमा 'चलाख' मान्छेहरू लागेका हुन्छन्। यसमा राजनीति, न्याय, प्रशासन, प्राज्ञिक, आमसञ्चार, उद्योग–व्यापार सबै क्षेत्रका मान्छे संलग्न हुन्छन्।
हामीले जे गरिरहेका छौं, त्यसलाई पारदर्शी गर्दैनौं। यो हाम्रो सांस्कृतिक विरासत हो। पारदर्शी र जबाफदेही अरू कोही हुनुपर्छ, म हुनु पर्दैन भन्ने संस्कार हामीमा गहिरो गरी बसेको छ। यसलाई राजनीतिक वा आर्थिक हस्तक्षेपबाट मात्र समाधान गर्न सकिँदैन। अनि यसलाई हल गर्ने अर्थ–राजनीतिक संस्कार हामीलाई ग्राह्य छैन।
कुन अर्थ–राजनीतिक विचारले हाम्रो समग्र समाजलाई उन्नतिशील बनाउँछ भन्नेमा हाम्रो चासो कम छ। कस्तो शासकीय व्यवस्थाले हामीलाई आत्मनिर्भर, स्वतन्त्र र उत्पादनशील बनाउँछ भन्ने चेतनाको अभाव छ।
हामी शरण खोजिरहेका हुन्छौं। उद्धारक खोजिरहेका हुन्छौं। हामी सरकारको मुख ताक्छौं। नायक खोजिरहेका हुन्छौं। एउटा नायक आउँछ र उसले हाम्रो समस्या फुमन्तर गर्छ भन्ने आशमा छौं। 'विकास' माथिबाट आउँछ भन्ने ठान्छौं।
यो भ्रम हो। एकल नायक हुने समाजको दिगो उन्नति भएको छैन। यस किसिमको अर्थ–राजनीतिक प्रयोग असफल सिद्ध भएका छन्। सोभियत संघ, पूर्वी युरोप, दक्षिण अमेरिका, अफ्रिका, भारत र चीनसहित एसियाका थुप्रै मुलुकमा नायककेन्द्रित शासन व्यवस्था टिकेनन्।
स्वतन्त्र र बलिया नागरिक दिगो शासन व्यवस्थाका आधार हुन्। स्वतन्त्र र जिम्मेवार नागरिकले आत्मनिर्भर समुदाय निर्माण गर्छन्। यस्ता समृद्ध समुदायहरूको सामूहिक प्रतिबिम्ब उन्नतिशील राष्ट्रका रूपमा प्रकट हुन्छ। त्यहाँ सबै गाउँपालिका तथा नगरपालिका उपलब्ध विशिष्ट स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी योजना बनाउँछन्।
त्यस्ता योजना समुदायको आकांक्षामा आधारित हुन्छन्। कार्यान्वयनमा गएका ती योजनाहरू सबै सफल हुँदैनन्। त्यसैले सकेसम्म कम क्षति हुने गरी समुदायले योजना बनाउँछन्। जोखिमको वितरण गर्छन्। यसले असफल योजनाबाट हुने दुःखको मात्रा कम गर्छ, दुःख पाउनेको संख्या पनि कम गर्छ।
यसै पनि निश्चित समुदायले बनाएको योजना असफल नै भयो भने पनि त्यसले राष्ट्रिय संकट खडा गर्दैन।
त्यस्तो व्यवस्थाले जोखिमलाई केन्द्रीकृत गर्दैन। एउटा मान्छे वा केही मान्छेको विवेकको अधीनमा सबैलाई राख्दैन। सम्भावित नोक्सानीबाट आफूले केही पनि गुमाउनु नपर्ने मान्छेको विवेकको अधीनमा सम्पूर्ण समाजको भविष्य राखिँदैन। शक्तिको केन्द्रीकरण जस्तो भयानक जोखिम के हुन सक्छ भन्ने ज्ञान हामीलाई विश्व इतिहासले दिएको छ।
त्यसैले आफ्नो परिवेशको यकिन मूल्यांकन गरेर अगाडि बढ्ने आत्मनिर्भर समाज बनाउनुपर्छ। यस्तो समाज पूर्ण हुँदैन। यसका सीमा हुन्छन्। समाजले कुनै पनि चीजको मूल्यांकन गर्दा त्यस बखत उपलब्ध सूचना, तथ्य, प्रमाण तथा घटनाका आधारमा गर्छ। सोही मूल्यांकनका आधारमा भविष्यको अनुमान गर्छ। भोलि सिर्जना हुने सूचना, तथ्य, प्रमाण, घटनालाई समेत समायोजन गरेर आज योजना बनाउन असम्भव हुन्छ।
समाज सूचना सिर्जना गर्दै, त्यस्तो सूचनाबाट प्रभावित हुँदै फेरि अर्को सूचना सिर्जना गर्ने दिशामा बढिरहेको हुन्छ। त्यस कारण हाम्रा योजना, अनुमान वा प्रक्षेपण सही निशानामा लाग्छन् भन्ने ग्यारेन्टी हुँदैन। किनकि हाम्रो समाजको गति यान्त्रिक हुँदैन, जैविक हुन्छ।
जैविक समाजको गति पूर्ण रूपमा अनुमानयोग्य र सरलरेखीय हुँदैन। समाज विकासको चरण पहिल्याउने वा गति नाप्ने कुनै वैज्ञानिक उपकरण हुँदैन। यस्तो उपकरण हुन्छ भनेर विश्वास गर्नु मूर्खता हो।
यसबारे अठारौं शताब्दीका जर्मन दार्शनिक हेगेलले एउटा टिप्पणी गरेका छन्।
उनले भनेका छन् — मिनेर्भाको उल्लूले साँझ ढलेपछि मात्रै आफ्नो पखेटा फिजाउँछ।
उनले भनेको मिनेर्भा रोमन पौराणिक कथामा ज्ञानकी देवी हुन्। उल्लू उनको वाहन हो।
अर्थात् कुनै युग सकिएपछि मात्रै मान्छेले त्यो युग ज्ञानवर्द्धक वा सूचनामूलक थियो भनेर थाहा पाउँछ।
हेगेलका अनुसार मान्छेलाई घटना भइसकेपछि मात्र सत्यको बोध हुन्छ। त्यसैले हामीलाई प्राप्त ज्ञान पूर्ण हो भन्ने मान्यतामा समाजको डिजाइन गर्नु गलत हो।
ज्ञान निरन्तर परिमार्जित हुँदै अगाडि बढेको हुन्छ। जुन बेला हामीले तत्त्वबोध गरिसक्यौं भन्ने लाग्छ, जुन बेला हामीले थाहा पाउनुपर्ने कुरा थाहा पाइसक्यौं भन्ने लाग्छ, त्यति बेला त्यो ज्ञान पुरानो भइसकेको हुन्छ, कतिपय अवस्थामा असान्दर्भिक भइसकेको हुन्छ।
तसर्थ हामीले ज्ञानी भनिएकाहरूको ज्ञान, विशेषज्ञहरूको विज्ञता, शक्तिशाली भनिएकाहरूको सामर्थ्यलाई तथ्यपरक ढंगले केलाउनुपर्छ। आर्थिक, राजनीतिक, सामाजिक तथा नैतिक दृष्टिले श्रेष्ठ भनिएको विकल्पलाई शंका गरिरहनुपर्छ।
ती विकल्प अपूरा र अधुरा हुन सक्छन्। बरू प्रत्येक नयाँ विकल्पका बारेमा निर्भीक ढंगले छलफल गर्ने वातावरण हुनुपर्छ।
हेगेल स्वायत्तता र स्वतन्त्रतामा जोड दिन्छन्। स्वायत्त व्यक्ति वा समुदायले आफ्ना लागि आफै नियम बनाउँछ। उनले अघि सारेको विकल्पमा समाजका सदस्य जिम्मेवारीसहितको अनुशासनमा चलायमान हुन्छन्।
मान्छेको प्राकृतिक स्वभाव नै यस्तै हुन्छ भन्ने उनको दाबी थियो। मान्छे प्रकृतिको नियमलाई पछ्याउन बाध्य हुन्छ र त्यसलाई पछ्याइरहेको छु भन्ने कुरामा सचेत पनि हुन्छ। प्रकृतिको नियम पछ्याउने भए पनि मान्छेबाहेक अरू प्राणीमा यस्तो चेतना हुँदैन।
तर हेगेलभन्दा अघिका बेलायती दार्शनिक थोमस हब्सले भने मान्छेलाई डर, त्रास र भयमा राखेर शासन गर्नुपर्छ भन्थे। शक्तिशाली शासक नभएको समाज अराजकतामा फस्छ भन्ने उनको तर्क थियो। सन् १६५१ मा लेखिएको पुस्तक 'लिभियाथन' मा उनले सर्वव्यापी र सर्वशक्तिशाली राज्यको परिकल्पना गरेका छन्।
लिभियाथन हिब्रु पौराणिक कथामा वर्णित एक विशालकाय समुद्री राक्षस हो। यो पुस्तक उनले स्पेन र बेलायतबीच दुई दशक लामो युद्ध तथा बेलायतकै विभिन्न धार्मिक सम्प्रदायबीचको कलहको पृष्ठभूमिमा लेखेका थिए। सरकार लिभियाथनजस्तै यति डरलाग्दो हुनुपर्छ कि कसैले पनि विरोध गर्ने आँटसम्म गर्न नसकोस् भन्ने उनको तर्क थियो।
मान्छे स्वभावैले हिंस्रक हुन्छ, जहिलेसुकै एकअर्कालाई मार्न उद्यत हुन्छ भन्ने मान्यताका आधारमा उनले निरपेक्ष रूपमा शक्तिशाली राज्यको प्रस्ताव गरेका थिए। मान्छेलाई भौतिक सुरक्षाको मात्र डर हुँदैन। आफ्नो राजनीतिक, आर्थिक शक्ति तथा सामाजिक प्रतिष्ठा गुमाउँछु भन्ने डर हुन्छ।
त्यसैले सधैं आफूसँग भएकोभन्दा बढी चिजहरू जम्मा गर्न खोज्छ। बढी धन जम्मा गर्ने, बढी शक्ति सञ्चय गर्न खोज्ने, माथिल्लो ओहोदा खोज्ने, अमर बन्ने चाहना लगायतले मान्छेलाई कुकर्मउन्मुख बनाउँछ।
त्यस्ता कुकर्मलाई नियन्त्रण गर्न राज्य शक्तिशाली हुनुपर्छ। राज्यले जहिल्यैसुकै नागरिकलाई सबै खाले सुरक्षाको प्रत्याभूति दिनुपर्छ। यसका लागि नागरिकले आफूमा भएका सबै अधिकार राज्यमा समर्पण गर्नुपर्छ। सुरक्षाको बदलामा मान्छेले स्वतन्त्रता त्याग गर्नुपर्छ।
अर्का बेलायती दार्शनिक जोन लक भने हब्सको विचारसँग असहमत थिए। मान्छे स्वभावैले स्वार्थी, डर र शक्ति प्राप्तिको चाहनाले निर्देशित हुन्छ भन्ने तर्कलाई खण्डन गर्दै उनले भने— मान्छे विवेकी हुन्छ, उसमा करूणा हुन्छ, सामाजिक र सहयोगी भावना हुन्छ।
हब्सले भनेजस्तो भयावह अवस्थामा समाज नभए पनि क्रमिक सुधारको आवश्यकता सधैं हुने लकको भनाइ थियो।
उनका अनुसार राज्यले केवल मान्छेको नैसर्गिक अधिकारको रक्षा गर्नुपर्छ। जीवन, स्वतन्त्रता र सम्पत्ति मान्छेका नैसर्गिक अधिकार हुन्।
लकले यस्तो विचार 'गौरवमय क्रान्ति' को पूर्वसन्ध्यामा व्यक्त गरेका थिए। रक्तपातविहीन उक्त क्रान्तिले तत्कालीन निरंकुश राजा जेम्स द्वितीयलाई संसद्को अधीनस्थ बनाएको थियो।
शासकले जनताको सहमतिबाट नै शासन गर्ने अधिकार प्राप्त गर्छन्। कुनै शासकले अत्याचारी व्यवहार देखाउँछ, जनताका नैसर्गिक अधिकारहरूको रक्षा गर्न असफल हुन्छ र जनतासँगको करार तोड्छ भने त्यस्तो सरकारले वैधता गुमाउँछ भन्ने लकको तर्क थियो।
हब्सले अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद र स्थिरता कायम राख्न बलियो, केन्द्रीकृत राज्यको पक्षमा बौद्धिक ढाँचा प्रदान गरेका थिए भने लकले सीमित सरकार, शक्तिको पृथकीकरण र निजी सम्पत्तिको सुरक्षाका लागि वैचारिक आधार प्रदान गरेका थिए।
दार्शनिकका विचारहरूले निःसन्देह शासन व्यवस्थामा प्रभाव पार्छन्। कार्ल मार्क्सको नाममा त धेरै देशमा शासन नै गरियो। त्यसरी शासन गर्नेहरूले औपचारिक रूपमा कम्तीमा पनि हामी मार्क्सको विचारका अनुयायी हौं भनेका थिए।
अरू थुप्रै दार्शनिकहरूको विचारबाट प्रेरित भई शासन गर्नेहरू पनि थिए, केही अद्यापि छन्। तथापि उनीहरूले मार्क्सको जस्तो नामै जोडेर शासन गरेनन्।
उदाहरणका लागि संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता र त्यसपछिको शासन हो।
अमेरिकामा संस्थापक नेताहरूले 'डिक्लेरेसन अफ इन्डिपेन्डेन्स' लेख्दा जोन लकको विचारलाई जस्ताको तस्तै ग्रहण गरेका थिए।
त्यसमा उनीहरूले लेखेका थिए — सृष्टिकर्ताको नजरमा मान्छे सबै एकसमान हुन्। जीवन, स्वतन्त्रता र सुखको खोजी मान्छेबाट अलग गर्न नसकिने अधिकार हुन्।
तर उनीहरूले हामी जोन लकका अनुयायी हौं वा हामी शास्त्रीय उदारवादमा आधारित शासन व्यवस्थाका पक्षपाती हौं भनेर लेखेनन्।
सोभियत संघमा जोसेफ स्टालिनले मार्क्सवादी विचार र लेनिनवादी संगठनको नाममा तीन दशकभन्दा बढी शासन गरे। तर उनलाई मनपर्ने पुस्तक माकियाभेलीको 'द प्रिन्स' थियो। हरेक रात सुत्नुअघि सिरानीमा राखेको त्यो पुस्तक पढेर मात्र स्टालिन सुत्थे।
पुस्तकको निचोड थियो — शासन सिंहले जसरी शत्रुलाई वशमा पारेर होइन, स्यालले जसरी एकअर्कालाई जुधाएर गर्नुपर्छ।
सोभियत संघ र स्टालिनको शासनबारे जानकारी राख्नेहरूले सजिलै भन्न सक्छन् कि उनले मार्क्सलाई आदर्श बनाएका थिए कि माकियाभेलीलाई।
औपचारिक रूपमा एडल्फ हिटलरको राजनीतिक संगठन 'राष्ट्रिय समाजवादी' पार्टी थियो। तर शासन भने हिटलरको व्यक्तिगत कुण्ठा र महत्त्वाकांक्षाबाट निर्देशित थियो। हिटलरको व्यक्तिगत कुण्ठा र महत्त्वाकांक्षा फ्रेडरिक नित्सेका कृतिहरूमा वर्णित एउटा औसत मान्छे र शक्तिशाली मान्छेका चरित्रसँग तादात्म्य राख्थ्यो।
चीनमा माओत्से तुङको कम्युनिस्ट पार्टीले सामन्ती समाजको अवशेष पनि बाँकी नराख्ने भन्दै सत्तारोहण गरेको थियो। तर जनक्रान्तिपछि माओले अँगालेको जीवनशैली पहिलेका चिङ वा मिङ बादशाहहरूको भन्दा फरक थिएन। भारतमा समाजवादी नेता जवाहरलाल नेहरूको राजनीतिक उत्तरार्द्ध परिवारवादमा टुंगिएको थियो।
कांग्रेस, एमाले, माओवादी लगायतका हाम्रा दलहरूको राजनीतिक आदर्श र अभ्यासबीचको दरारका बारेमा हामी जानकार छौं, त्यसैले यहाँ धेरै व्याख्या आवश्यक छैन।
माथिका उदाहरणले हामीलाई कस्तो विचार र शासन पद्धतिले मुलुकलाई समृद्धिको बाटोमा लैजान्छ र कस्तोले अस्थिरता र नागरिक असन्तुष्टिलाई मलजल गर्छ भन्ने निष्कर्ष निकाल्न सजिलो हुन्छ।
यस्तो शासन व्यवस्था टिकाउ हुन्छ, जसमा करोडौं निर्णयकर्ता हुन्छन्। उपलब्ध नियम र सूचनाका आधारमा उनीहरू निर्णय गर्न स्वतन्त्र हुन्छन्। यस्तो व्यवस्थामा व्यक्तिगत निर्णयकर्ताहरूले खुला प्रतिस्पर्धाबाट निर्धारण गरेको मूल्यमा आर्थिक तथा गैरआर्थिक सम्पत्तिको कारोबार हुन्छ। यस्तो व्यवस्थामा श्रम, पुँजी र मानवीय प्रतिभाको आदर्शतम परिचालन हुन्छ।
जतिसुकै विलक्षण प्रतिभाले युक्त केन्द्रीय योजनाकार होस्, उसले दिने नतिजा हरेक नागरिकले गर्ने निर्णयमा आधारित व्यवस्थाको जस्तो हुनै सक्दैन। बलियो केन्द्र होइन, समुदायलाई सम्पन्न बनाउने हाम्रो ध्येय हुनुपर्छ।
समुदायलाई सम्पन्न र आत्मनिर्भर बनाउने विचारलाई अँगाल्यौं भने हाम्रा सबै पालिका पोखराजस्तै चम्किला हुनेछन्।
बिर्सिन नहुने कुरा– पोखरालाई भित्रैबाट चम्किलो बनाउन कार्यभार बाँकी नै छ भन्ने हो। कुनै पनि समुदायलाई परिष्कृत गर्दै लैजाने कुरा एक पटकको मात्र होइन, निरन्तरको हो।
यसरी परिष्कृत हुँदै जाने स्वायत्त, आत्मनिर्भर, एकआपसमा सहकार्य र प्रतिस्पर्धा गर्ने समुदायहरूको समष्टिगत प्रगतिले राष्ट्रिय समृद्धि सुनिश्चित गर्छ।
एक्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)